चौरजहारीकाण्ड ः  बञ्चरोले हानेर ६ जनाको हत्या

राजनीति असार ३० 2077 ekhabarnepal
Chaujhari ghatana

काठमाडौँ,असार ३०
 रुकुम पश्चिमको चौरजहारी नगरपालिका सोतीमा  छ साताअघि भएको घटना नियोजित रुपमा भएको निष्कर्ष संसदीय विशेष समितिले निकालेको छ । नवराज विक प्रकरणमा बञ्चरोले हानेर ६ जनाको हत्या गरी भेरी नदीमा फालिएको निष्कर्ष समितिले तयार गरेको प्रतिवेदनमा उल्लेख छ ।  

घटनाबारे छानबिन तथा अनुसन्धान गर्न गठित संसदीय विशेष समितिले मृतक युवाहरुलाई समातेर एकपछि अर्को बञ्चरोले हानेर हत्या गर्दै खोलामा फालिएको प्रतिवेदन सभामुख अग्निप्रसाद सापकोटालाई बुझाइएको छ ।
 नौ सदस्यीय छानबिन समितिका तर्फबाट संयोजक देवेन्द्र पौडेलले  वुझाएको प्रतिवेदनमा घटनाको मुख्य कारण अन्तरजातीय विवाह नै भएको उल्लेख छ।

समितिका अनुसार हत्या सामूहिक र योजनाबद्ध भएको निष्कर्ष समितिले निकालेको छ। प्रतिवेदनमा उल्लेख भएको बुँदा उल्लेख गर्दै एक जना सदस्यले भने, ‘घटनाको मुख्य कारण अन्तर जातीय विवाह नै हो। ६ जना युवालाई सामूहिक र योजनाबद्ध रुपमा हत्या गरिएको हो। बञ्चरोले हानेर मारिएको रहेछ। आधा घण्टाभित्र उनीहरुलाई मारेर भेरीमा फालिएको हो।’

छानबिन समितिले घटनास्थलमा प्रहरी आइपुगेकाले थप युवाहरुको मृत्यु नभएको उल्लेख गरेको छ।

‘आधा घण्टाको अवधिमा प्रहरी नपुगेको भए थप ११ जनाको पनि ज्यान जाने सम्भावना रहेको पनि प्रतिवेदनमा उल्लेख छ ।   मृतकमध्ये केही युवाको मुखमा कपडा कोचेर समेत हत्या गरिएको छानबिन समितिको निष्कर्ष छ।

समितिले घटनाबारे पुनः मसिनो गरी विस्तृत अनुसन्धान गर्न सिफारिस गरेको छ। युवालाई बञ्चरोले हानेर र कपडा कोचेर मारिए पनि प्रहरीले तयार पारेको कागजातमा त्यो कुरा रहेनछ। त्यसकारण हामीले फेरि अनुसन्धान गर्न सिफारिस गरेका छौं,’ समितिका एक सदस्यले भने।

छानबिन समितिले मृतका परिवारलाई राहत, उनीहरुलाई रोजगारीको व्यवस्था गर्न, घाइतेको उपचार गर्न, जातीय द्वन्द्व हटाउने खालका कार्यक्रम गर्न, संविधान र कानुनमा भएका व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न सिफारिस गरेको छ। २५ बुँदे सिफारिसमा समितिले दलितसँग सम्बन्धित निकायहरुको प्रभावकारीता वृद्धि गर्न आवश्यक रहेको उल्लेख गरेको छ।

समितिले घटनास्थल आसपासमा जातीय एकता र सद्भावना झल्किने गरी ६ जनाको नाममा स्मृति पार्क बनाउन पनि बनाउन आग्रह गरेको छ।

संसदमा घटनाबारे कुरा उठेपछि जेठ २६ गते संसदले पौडेलको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो।

समितिमा सांसदहरु एकवाल मियाँ, दुर्गा पौडेल, प्रकाश रसाली स्नेही, विमला विक, पार्वतीकुमारी विशुंखे, महेश्वर जंग गहतराज, मीन विश्वकर्मा र राम साहायप्रसाद यादव रहेका छन्। समितिलाई दिइएको ३० को समय अवधिभित्रै प्रतिवेदन बुझाएको हो।

रुकुम पश्चिम जिल्लाको चौरजहारी नगरपालिका ८ स्थित सोतीमा जेठ १० गते अन्तरजातीय विवाहको विषयमा विवाद हुँदा ६ जना युवाको मृत्यु भएको थियो। घटनामा संलग्न २३ जना जिल्ला अदालतको आदेशअनुसार पुर्पक्षका लागि थुनामा रहेका छन्।

प्राप्त प्रतिकृयाहरू

To Top