रुपन्देहीमा ३ लाख विरुवा रोपिदै

समाज असार २३ 2077 ekhabarnepal
2

बुटवल, असार २३
डिभिजन वन कार्यालय रुपन्देहीले यो वर्ष झण्डै तीन लाख विरुवा रोप्ने तयारी गरेको छ । यो वर्ष मौसम अनुकुल भएकोले पनि वृक्षारोपणका लागि उपयुक्त हुने विश्वास डिभिजन कार्यालय प्रमुख वोधराज सुवेदीको छ ।
असार २१ गते आइतवारदेखि कार्यालयले विरुवा वितरण गर्न शुरु गरेको छ । अहिले शितल चिनी, अमला, अश्वगन्धा, टिक, कपुर, जामुन, अर्जुन, मसला, हर्रो, वेल, कल्कीफूल, कपो (सिमल), टाँकी,  शिरीष, धुपी, कुरिलो, वकाइनो, गोलमोहर, अशोक लगायतका विरुवाहरु तयारी अवस्थामा छन् । 
दक्षिणी क्षेत्रमा वन नभएकोले टिक, मसलाजस्ता विरुवाहरुको उपयोगिता वढी देखिएको छ । डिभिजन कार्यालय प्रमुख सुवेदीका अनुसार यसको प्रयोग दक्षिणतिर वढोस् भन्ने चाहना छ । दक्षिणी भेगका जनता वनको प्रयोगवाट वञ्चित रहेकाले यस प्रकारका विरुवा रोपिए भने गुनासो सुन्नुपर्ने अवस्था आउँदैन, सुवेदीले भन्नुभयो ।   


निजी वनको अवधारणालाई प्रयोगमा ल्याउन पनि विशेष जोड दिइएको सुवेदीको भनाई छ । १० देखि १२ वर्षमा तयार भएर विक्री गर्न सकिने टिक तथा मसलाका विरुवा लगाउन सक्ने हो भने पर्याप्त आम्दानी हुन सक्ने सम्भावना छ ।
यद्यपि आजभोलि किलोको भउमा विक्री हुने विरुवा लगाउने लहर पनि चलेको छ । पहाडी जिल्लामा हुने अगर उड, श्रीखण्ड, वोधिचित्त जस्ता विरुवावाट समय लामो लागे पनि आम्दानी वढी हुने देखिन्छ ।  
जानकारहरु मूल्यको तुलनात्मक अध्ययन गरी कस्ता विरुवा लगाउँदा मुनाफा हुन्छ भन्ने कुराको निक्र्यौल गरी विरुवा उपलब्ध गराउनु उचित हुने राय ब्यक्त गर्दछन् । विरुवा लगाउनुका साथै हुर्काउने र वढाउने कुराको जागरण पैदा गर्न सके उपयोगिता वढ्ने विश्वास गर्न सकिन्छ ।
यो वर्ष शितल चिनी र अमलाका विरुवा समुदायस्तरवाटै माग भए वमोजिम तयार गरिएकोले जनस्तरवाट उत्साहपूर्वक रोपण गरिएको अनुभूति गरेका छौं, डिभिजन प्रमुख सुवेदीले भन्नुभयो । 

प्राप्त प्रतिकृयाहरू

To Top