गुल्मीमा पहिरोको वितण्डा ः डेड वर्षे शिशु र ७ वर्षीया छोरीको मृत्यु

समाज असार १९ 2077 ekhabarnepal
Gulmi landslide wzr8fwvggh

बुटवल ,असार १९ ।

 गुल्मीको इश्मा गाउँपालिकामा पहिरोमा परेर २ जनाको मृत्यु भएको छ । इश्मा गाउँपालिका–१ हस्तिचौरको सारु गाउँमा गएको पहिरोमा परेर बसन्त सारुका छोरा १८ महिने बालक सिजन सारुको मृत्यु भएको छ । त्यस्तै रिखबहादुर खत्रीकी ७ वर्षीया छोरी अपेक्षा खत्रीको पनि पहिरोमा परेर मृत्यु भएको छ  . अन्य पाँच जना घाइते भएका छन् ।

गुल्मीका डीएसपी केदारराज पन्तका अनुसार सोही ठाउँ बस्ने ईश्वरी खत्रीको घर पहिरोले बगाउँदा उनकी ७ वर्षीया छोरी अपेक्षा खत्री वेपत्ता छिन् भने खत्री गम्भीर घाइते छन् । रातिदेखि परेको अविरल वर्षाका कारण सो ठाउँमा पहिरो गए पछि उद्धारका लागि प्रहरीको टोली परिचालित छ । तर, पानी परिरहेकाले उद्धारमा कठिनाइ भइरहेको वताइएको छ । 
प्रायः सवै बाटाहरु सबै अवरुद्ध हुनु र पानी परिरहेकोले बाटो बनाउँदै जानुपर्दा पनि अप्ठेरो भएकोले अत्यन्तै समस्या उत्पन्न भएको छ ।
इश्मा गाउँपालिका–४ मा रहेको एक सामुदायिक विद्यालय पनि पहिरोले क्षति भएको छ । डीएसपी पन्तका अनुसार पहिरोले कालिका निमाविको नौ वटा कोठा पुरिदिएको छ ।
उनका अनुसार सोही क्षेत्रमा पहिरोका कारण १३ घर परिवार जोखिममा छन् ।
‘हाँडीखोलामा पनि एक जना वेपत्ता’

पहिरोमा पुरिएर मुसिकोट नगरपालिकाको हाँडीखोलामा पनि एक जना वेपत्ता छन् ।  अविरल वर्षासँगै आएको पहिरोका कारण सडक अवरुद्ध भएका कारण उद्धारका लागि घटना स्थलसम्म पुग्न कठिनाइ भइरहेको उनले बताए ।

त्यस्तै गुल्मीकै मुसीकोट नगरपालिका–२ मा पहिरोका कारणले दुई घर परिवार विस्थापित भएका छन् । मुसीकोट नगरपालिका–२ राताचौर बस्ने जनक केसीको घर पहिरोले भत्काईदिँदा उनको ५ जनाको परिवार विस्थापित भएका हुन् ।

यस्तै पहिरोको जोखिमका कारण सोही ठाउँ बस्ने चुमानसिंह बस्नेतको ६ जनाको परिवार विस्थापित भएका छन् । डीएसपी पन्तका अनुसार सोही नगरपालिका अन्तर्गत हाँडीखोलामा हरिप्रसाद घिमिरेको घुम्ती पहिरोले बगाएको छ।

पहिरोले ७ भैंसी र ११ बाख्रा बगायो

मुसीकोट नगरपालिका–२ हरथोक अम्राहीमा तीन वटा गोठ र खोर बगाउँदा सात वटा भैंसी र ११ वटा बाख्रा बगाएको छ । डीएसपी पन्तका अनुसार हरथोक अम्राहीका रामबहादुर सुनारको गोठ पहिरोले बगाउँदा ३ वटा भैँसी र ७ वटा बाख्रा पुरेको छ ।

यस्तै सोही ठाउँका अर्जुन बहादुर सिंहको गोठ बगाउँदा एउटा भैँसी र ४ वटा बाख्रा र टेकबहादुर कार्कीको ३ वटा भैंसी पुरेको उनले बताए ।

प्राप्त प्रतिकृयाहरू

To Top