नेपाल  न्यून आयवाट निम्नमध्यम आय वर्गमा उक्लियो

राजनीति असार १९ 2077 ekhabarnepal
Nepali aaye.jpg' '.2020 07 03

काठमाडौं, असार १९ 

नेपाल न्यून आय भएको मुलुकबाट इतिहासमै पहिलोपटक निम्नमध्यम आय भएको मुलुकमा उक्लिएको छ । विश्वबैंकले विहीवार सार्वजनिक गरेको तथ्यांक अनुसार नेपाल सन् २०१९ मा निम्नमध्यम आय वर्गको मुलुकमा स्तरोन्नति भएको हो । सन् २०१९ मा १०३६ देखि ४ हजार ४५ अमेरिकी डलरसम्म प्रतिव्यक्ति आम्दानी (प्रतिव्यक्ति कुल राष्ट्रिय आय)  भएका मुलुकहरू न्यूनमध्यम आय वर्गमा पर्छन् । सन् २०१९ मा नेपालको प्रतिव्यक्ति आम्दानी १ हजार ९० अमेरिकी डलर पुगेको विश्वबैंकको तथ्यांक छ ।

विश्वबैंकले १०३५ अमेरिकी डलरभन्दा कम प्रतिव्यक्ति आम्दानी हुने मुलुकलाई न्यून आयवर्गमा राख्दै आएको छ । गत साल नौ सय ७० डलर आय भएको नेपाल यही वर्गमा थियो । सन् २०१९ मा नेपालको आयस्तर बढेपछि मध्यम आयवर्गमा उक्लिएको हो । नेपालमा विगत तीन आर्थिक वर्षमा कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर (आर्थिक वृद्धि) क्रमशः ८ दशमलव २, ६ दशमलव ७ र ७ प्रतिशत हासिल भएपछि प्रतिव्यक्ति आम्दानी पनि सोही अनुपातमा बढेको छ । मुलुकको कुल राष्ट्रिय आयलाई जनसंख्याले भाग गर्दा आउने अंक नै प्रतिव्यक्ति आय (प्रतिव्यक्ति कुल राष्ट्रिय आय) हो । कुल गार्हस्थ्य उत्पादनमा विदेशबाट आउने रकम जोडेपछि कुल राष्ट्रिय आय निस्कन्छ ।

दक्षिण एशियाली मुलुकहरूमध्ये सबैभन्दा उच्च प्रतिव्यक्ति आय भएको मुलुक माल्दिभ्स हो । सन् २०१९ मा माल्दिभ्सको प्रतिव्यक्ति आम्दानी ९ हजार ६ सय ५० अमेरिकी डलर छ । माल्दिभ्स उच्च मध्यम आय वर्गमा भएको दक्षिण एशियाको एकमात्रै मुलुक हो । यसअघि श्रीलंका पनि सोही आयवर्गमा रहेकोमा यस वर्ष उसको प्रतिव्यक्ति आय खस्किएर निम्नमध्यम आय भएको मुलुकमा झरेको छ । गत वर्ष श्रीलंकाको प्रतिव्यक्ति आय ४ हजार ६० अमेरिकी डलर थियो, यो वर्ष ४ हजार २० डलरमा खुम्चेको छ । दक्षिण एशियाली मुलुकमध्ये अब अफगानिस्तान मात्रै न्यून आयवर्गमा छ, जसको प्रतिव्यक्ति आय ५ सय ४० अमेरिकी डलरमात्रै छ । 

विश्वबैंकले उच्च, उच्चमध्यम, निम्नमध्यम र निम्न गरी संसारभरिका मुलुकलाई चार आय वर्गमा वर्गीकरण गर्दै आएको छ । १ हजार ३५ अमेरिकी डलरसम्म प्रतिव्यक्ति आय भएका मुलुकहरू न्यून आयवर्गमा पर्छन् । त्यसभन्दा माथि ४ हजार ४५ अमेरिकी डलरसम्म आम्दानी हुनेलाई निम्नमध्यम आयवर्गमा राखिएको छ । ४ हजार ४६ देखि १२ ३ सय ३५ अमेरिकी डलरसम्म प्रतिव्यक्ति आय हुनेलाई उच्च मध्यम वर्ग र त्यसमाथि जति पनि आय हुनेलाई उच्च आय वर्गमा राखिएको छ । १ जुलाई २०२० को तथ्यांकमा आधारमा विश्वबैंकले विश्वभरका मुलुकहरूको आयस्तर गणना गरेको हो । 

विश्वका २९ मुलुक न्यून आयवर्गमा रहेको विश्वबैंकले जनाएको छ । त्यस्तै, नेपालसहित ५० मुलुक निम्नमध्यम वर्ग, ५६ मुलुक उच्च मध्यम वर्ग र ८३ मुलुकहरू उच्च आयवर्गमा पर्छन् । 
नयाँपत्रिका

प्राप्त प्रतिकृयाहरू

To Top