लुम्विनी प्रादेशिक अस्पतालमा डेढ करोडको लगानीमा पिसिआर परिक्षण शुभारम्भ

स्वास्थ्य असार १६ 2077 ekhabarnepal
Download


बुृटवल असार १६ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पिसिआर मेसिन जडान गरिएपछि कोरोना परीक्षणमा सहयोग पुग्ने विश्वास गरिएको छ । अहिलेसम्म कोरोना भइहालेमा पिसिआर परीक्षण हुन नसकेकोले सरकारको ब्यापक आलोचना हुँदै आएको थियो । 
पिसिआर मेसिनको शुभारम्भ गर्दै प्रदेश ५ सरकारका सामाजिक विकास मन्त्री सुदर्शन बरालले अस्पताल सुधारका लागि सरकारले कुनै कसर नराखी काम गर्ने वताउँदै यस अस्पतालमा आएपछि विरामी रिफर हुन नदिनका लागि चिकित्सकको अधिकतम प्रयास आवश्यक रहेको वताउनुभयो । 
प्राविधिक रुपमा गर्नुपर्ने काम अस्पताल र अस्पतालका कर्मचारीले गर्नुपर्ने भन्दै मन्त्री बरालले अस्पतालको लागि चाहिने आवश्यक श्रोत साधन सरकारले जुटाउने बताए ।
प्रयोगशाला विज्ञ संघीय स्वास्थ्य मन्त्रालयका प्रयोगशाला ब्यवस्थापन संयोजक पुष्पराज खनालले प्रयोगशालामा राज्यको लगानी धेरै हुन नसकेको बताउँदै यस अस्पतालले विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुरुपको प्रयोगशाला वनाएर स्वास्थ्य सेवा प्रवाह गर्न सकिने अवस्था छ भन्नुभयो । खनालले कोरोना महामारीको विचमा लुम्बिनी प्रादेशिक अस्पतालले शुरु गरेकोे पिसिआर परिक्षणले कोरोनाको निदानमा सघाउ पु¥याउने बिश्वास ब्यक्त गरे ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले कोरोना अस्पताल संचालनका लागि अस्पतालसंग उपमहानगरपालिकाले हातेमालो गरेर अगाडी बढेको बताए ।
मेसिन जडान भएपछि अब कोरोना परीक्षण शुरु गरिने अस्पतालका अध्यक्ष सूर्यबहादुर भट्टराईले जानकारी दिए । एक करोड ५९ लाख बराबरको उक्त पिसिआर मेसिन र उपकरण जडानका लागि प्रदेश ५ सरकारले ६० लाख रुपैयां आर्थिक सहयोग गरेको छ भने बांकी रकम अस्पताल विकास समितिले लगानी गरेको छ ।
अस्पतालमा उपचारका लागि आउने बिरामीहरुको परिक्षणका लागि पिसिआर मेसिन नहुंदा चिकित्सक र अस्पतालमा कार्यरत कर्मचारीहरु जोखिममा रहेका थिए ।
मेसिन जडानपछि विरामीहरुको पिसिआर परिक्षण गर्न सकिने र उपचारको लागि पनि ढुक्क हुने अस्पतालका मेडिकल सुपेरीटेण्डेन्ट डा. राजेन्द्र खनालले बताउनुभयो ।
अस्पतालमा जडान गरिएको मेसिनबाट अस्पतालमा उपचारका लागि आउने बिरामीहरुको परिक्षणलाई पहिलो प्राथमिकता दिइने छ ।
यसका अलावा प्रदेश प्रयोगशालामा आई परिक्षण हुन बांकी रहेका स्वावहरुको परिक्षण गरिने डा. खनालले बताए ।
अस्पतालको सुधारका लागि प्रयोगशालालाई अत्याधुनिक र स्तरीय बनाउन आवश्यक रहेकोले सोही कार्यमा लागेको अस्पतालका अध्यक्ष भट्टराईले बताए ।
अस्पतालको सुधारका लागि अत्याधुनिक भवनसहित करीव १२ अरवको गुरुयोजना अगाडि सारेको लुम्विनी प्रादेशिक अस्पताल विकास समितिले सर्वसाधारणका लागि निजी अस्पताल रोज्नुपर्ने अवस्था अन्त्य गर्ने अभियानमा लागेको छ ।
सो अवसरमा नेकपा रुपन्देहीका सचिव निर्मल जीसी, नेपाली कांग्रेसका विमलराज भट्टराईले पनि शुभकामाना ब्यक्त गरेका थिए ।


 

प्राप्त प्रतिकृयाहरू

To Top