प्रदेश १, २, गण्डकी र प्रदेश नम्बर ५ का एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना 

समाज असार ९ 2077 ekhabarnepal
Pahiro palpa


बुटवल, असार ९
केही दिनदेखि जारी वर्षा अझै तीन दिनसम्म नरोकिने अनुमान मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज मंगलबार बिहान पनि देशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ।
महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार अहिले विशेषगरी पूर्वी तराई तथा सुदूरपश्चिमका केही स्थानमा वर्षा भइरहेको छ।

महाशाखाले मंगलबार बिहान प्रकाशन गरेको मौसमी बुलेटिनअनुसार आज दिउँसो प्रदेश १, २, बागमती, गण्डकी, ५ नम्बर र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ।

यसैगरी राति पनि सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। साथै प्रदेश १, २, गण्डकी र प्रदेश नम्बर ५ का एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।

महाशाखाले मंगलबार बिहान ६ बजे जारी गरेको आगामी २४ घण्टाका लागि चेतावनी तथा आवश्यक सतर्कता अपनाउन भनेको छ ।
देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनाका साथै प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश ५ एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ। तसर्थ ती क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

यस्तै बाढी पूर्वानुमान महाशाखाले पनि पछिल्लो ३ घण्टामा इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, कैलाली कञ्चनपुर र आसपास क्षेत्रमा मध्यमदेखि भारी वर्षा भइरहेकाले कन्काईलगायत झापा, मोरङ, सुनसरी भई बहने साना नदीमा बाढी आउने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ।

यही जुन १२ मा नेपाल प्रवेश गरेको मनसुन जुन २१ देखि देशव्यापी रूपमा सक्रिय भएको हो। अझै तीन दिन वर्षा रोकिने सम्भावना नरहेको मौसमविद्ले बताएका छन्।

प्राप्त प्रतिकृयाहरू

To Top