के खाने, के नखाने ?

स्वास्थ्य असार ६ 2077 ekhabarnepal
81682038 2543300345950696 5822854525177823232 n

डा. बीपी तिमिल्सिना

आयुर्वेद भनेको सर्वसम्मत, सर्वप्राचीन, वैज्ञानिक एवं सर्वाङ्गपूर्ण चिकित्सा हो । यो जीवनविज्ञान भएको हुँदा यसका दुईटा उद्देश्य छन् । एउटा, जसरी पनि रोगीलाई निरोगी कसरी बनाउने भन्नेमा यसले ध्यानाकर्षण गर्छ । अर्को, रोगी व्यक्ति हुनबाट कसरी बचाउने, निरोगीलाई यथास्थानमा कसरी राख्ने भन्नेबारे यो विज्ञानले गहिरोसँग अध्ययन गरेको छ ।

मान्छेको जीवन, उसको आहारबिहार, रहनसहन, ऊ बसेको ठाउँ विशेष, उसले गर्ने क्रियाकलापसँग सम्बन्धित रहन्छ, उसलाई लाग्ने रोगहरू । इन्जिनियरलाई ढाड दुख्छ, उसको मिर्गौला बढी जोखिममा हुन्छ, विद्युतीय उपकरणबाट सबैभन्दा बढी मिर्गौलालाई असर पुग्छ । बढी भाषण गर्ने नेताहरूजस्ता व्यक्तिलाई छातीको समस्या भयो भने उसको मुटु हेर्नुपर्छ । मानिसको आहारका हिसाबले उसलाई लाग्ने रोगहरू धेरै खालका हुन्छन् ।

कुन रोगलाई सञ्चो पार्नुपर्ने हो, त्यहीअनुसार आहारबिहार हुनुपर्छ । बेलुका एकदमै कफ बढाउनुपर्‍यो भने अथवा पित्त बढाउनुपर्‍यो, कफलाई घटाउनुपर्‍यो भने त्योबेला अलिकति पिरो चिजहरू, जस्तै मरिचपानी खायो भने पित्त बढ्छ, कफ नियन्त्रण हुन्छ । बेलुका कफलाई नियन्त्रण गर्न अमिलो, तितो चिजहरू खायो भने कफ नियन्त्रण हुन सक्दैन, कफ अनियन्त्रित हुन्छ ।

विविध समय, अवस्था, उमेर, जातिविशेष, धर्मविशेष, उसको रहनसहन विशेष, योगविशेषले मानिसलाई रोग लाग्छ । कुनै योगविशेषले तेस्रो योग उत्पन्न हुने भएकाले रोग लाग्ने समस्या हुन्छ । जस्तै, करेला र रायोको सागसँगै पकायो भने त्यसले मुटुलाई एकदमै छिटो चलाउँछ ।

प्रेसर बढ्ने, धड्कन एकदमै तीव्र हुने, अनियन्त्रित हुने हुन्छ । लामो समयको लागि सातु खायो, सातु पनि दूधसँग खायो भने उसलाई सुगरको समस्या हुनसक्छ । अल्सरले च्याप्न सक्छ । प्रेसरको समस्या देखिन सक्छ । यस्तो रोग लाग्न सक्छ, जसबाट उसले मुक्ति पाउन समस्या हुनसक्छ ।

आयुर्वेदले रोगीको आयुलाई आयु मान्दै मान्दैन । अस्वस्थ्यकर आयु त आयु हुँदै होइन भन्छ, आयुर्वेदले । निरोगी पनि बनोस्, दीर्घायु पनि बनोस् भन्ने आयुर्वेदको मूल ध्येय हो ।
बाह्रैमास सातु खानेलाई पनि यो रोग लाग्छ, बाह्रैमास सातु खानेमात्र नभएर दुई खानाको योग नमिलाउनेलाई पनि यस्तो रोग लाग्न सक्छ । जस्तो सातुसँग मोही एकदमै उपयुक्त हुन्छ । सातुसँग खुदो अथवा सख्खर अत्यन्तै उपयुक्त हुन्छ । तर, सातुसँग दूध भयो भने अत्यन्त हानिकारक हुन्छ । यस्तो योग नमिलाई खायो भने दीर्घ रोगहरू लाग्न सक्छ । जस्तै, करेला र मेवा सँगै खायो भने उसलाई मिर्गौलाको दीर्घरोग लाग्न सक्छ । मिर्गौलाको समस्याले उसलाई गाँजेरै छाड्छ ।

हाम्रो खानपान, बानीव्यहोराले दीर्घ रोग पनि ल्याइदिन सक्छ । ससाना संयोगले अस्थायी रोगहरू पनि निम्त्याउन सक्छन् । घिउ र दूधसँगै खायौं भने तत्काल कफ बढ्छ, एकैछिनमा टाउको दुख्छ । सागमा बेसार मिसायो भने त्यसले दीर्घरोगहरू निम्त्याउँछ । तत्कालका समस्या पनि खानपानबाटै आउँछन्, दीर्घरोग पनि खानपानबाटै आउँछन् । त्यही भएर खानपानमा अत्यन्तै ध्यान दिनुपर्ने हुन्छ । आयुर्वेद विज्ञानको अत्यन्तै महत्वपूर्ण पक्ष हो, खानपान ।

आयुसँग सम्बन्धित भएकाले आयु कसरी दीर्घ बनाउने र दीर्घ आयुभित्र निरोगी कसरी रहने भन्ने आयुर्वेदको मूल उद्देश्य हो । आयुर्वेदले रोगीको आयुलाई आयु मान्दै मान्दैन । अस्वस्थ्यकर आयु त आयु हुँदै होइन भन्छ, आयुर्वेदले । निरोगी पनि बनोस्, दीर्घायु पनि बनोस् भन्ने आयुर्वेदको मूल ध्येय हो । उसको आयुसम्म ऊ निरोगी भएर जिउन सकोस् भन्ने आयुर्वेदको सबैभन्दा ठूलो उद्देश्य हो ।

यो विज्ञानले यो समयमा यो नखाऊ भनेर निर्देशित गर्छ । जस्तै, बेलुकीको समयमा रायोको साग नखाऊ, गुन्द्रुक नखाऊ, बेलुका तोरी नखाऊ, बेलुका तीतेकरेला नखाऊ, मासु नखाऊ, लौका नखाऊ अर्थात कफ वृद्धि हुने वस्तुहरू बेलुका नखाऊ भन्छ, आयुर्वेद विज्ञानले । बेलुका आफैं कफ बढ्ने समय हो ।

खानपानबाट कफलाई अझै बृद्धि नगराऊ भनी आयुर्वेद विज्ञानले भन्छ । बिहान कफ बढ्ने चिज खाऊ । अमिलो, पिरो, चर्को, नुनिलो जे हुन्छ, त्यो खाऊ । बेलुका भने मधुर रसहरू, चिजहरू खाऊ । जस्तै, मह, दूधजस्ता परिकारहरू खानु घाम अस्ताएपछि अत्यन्त फाइदाकारी हुन्छ । तर, मुला, काँक्रोजस्ता चिजहरू बेलुका खानु हुँदैन । त्यस्तो खायो भने उसलाई रोगले त्यही दिनदेखि आक्रमण गर्न थालिहाल्छ ।

फ्रिजमा राखेको बासी खानेकुरा कहिल्यै खानु हुँदैन । यसले अत्यन्त चाँडै रोग निम्त्याउँछ । तीन घन्टाभन्दा बासी खानेकुरा कहिल्यै खानु हुँदैन । अर्को कुरा क्यान्सरजस्तो रोगको जड हामीले घरमै पालेका हुन्छौँ । स्टिलको झुसले भाँडा माझ्नु भनेको आफू र परिवारका सदस्यलाई रोगको घरमा धकेल्नु बराबर हो ।

स्टिलको झुसमा रहेका मसिना स्टिलका कणहरू जति नै धोए पनि भाँडामा रहिनै रहन्छन् जसले घाँटीको क्यान्सर गराउने सम्भावना प्रबल हुन्छ । त्यस्तै, राइसकुकरमा पकाएको खाना पनि कहिल्यै खानु हुँदैन । राइसकुकर पनि रोगको घर हो । क्यान्सरलगायत थुप्रै रोगको घर यो भाँडाभित्र लुकेको हुन्छ । (डा. तिमिल्सिना आयुर्वेद चिकित्सक हुन् ।)

प्राप्त प्रतिकृयाहरू

To Top