कोरोनाको परीक्षा दिन किन डराउने ?

बिचार जेठ ३० 2077 ekhabarnepal
Dr ghimire

डी.आर. घिमिरे
लकडाउनको आज ८१ औं दिन । लकडाउन खुकुलो हुन थालेपछि सरकारको आलोचना हुँदैछ । किन खुकुलो ? जनता मार्ने खेल त भएन भनेर भनिदैछ । जवकि वुहानमा ७६औँ दिनमा कोरोनाभाइरस नियन्त्रणमा आएर लकडाउन खोलिएको थियो । 
हो पनि संक्रमितको संख्या वढेको वढ्यै छ । जुनवेला दैनिक एक दुइजना संक्रमित हुन्थे त्यतिवेला लकडाउन अलि कडै जस्तो थियो । टोलटोलमा सडक वन्द गरेर आवागमन रोकिएका थिए । प्रायः घरमै वसेका थिए ।
अहिले दैनिक दुइ शयदेखि तीनशयको वीचमा संक्रमित वढ्दैछन् । लकडाउन खुकुलो हुँदैछ ।
आज विहानै पर्यटन ब्यवसायी कर्ण शाक्यको स्टाटस पढें । उनले लेखेका छन्—
तीन महिना बितीसक्यो, घर भित्र करोनाको कैदी भएर बसीरहेको !!! हरेक दिन शंका उपशंकाको भ्रमको हावामा सास फेरिरहेको ! अब त बाहिर जाँदा पनी कैयौंलाई डर र त्रासले सताउन सक्छ । त्यसैले एउटा कुरा भन्न मन लाग्यो । जिवन भनेको त अन्तहीन परीक्षा हो नी । कोभिड—१९ पनि एउटा परीक्षा त हो ! अव निर्धक्क भएर यो परीक्षामा जाँच दिन जानु बाहेक अर्को बिकल्प छ र हामी सित ? 
कस्तो मिठो प्रश्न ? मलाई पनि यस्तै लागेको थियो । यो कुरा अलि पहिलानै मैले आलेखमार्फत् सार्वजनिक गरेको थिएँ । कुरा यहीनै हो । वरु अवको जीवन कसरी जिउने ? भनेर चर्चा गर्नुपर्ने छ । गाइडलाइन वनाउनु पर्नेछ । गाइडलाइन पनि संघीय सरकारले वनाउला भनेर वस्ने हैन स्थानीय पालिकाहरुले आफ्नो ठाउँ अनुसार वनाउनुपर्ला ।
मैले यो किन भन्दै छु भने दैनिक भारतवाट आउने ठाउँ वा नाका मानौं सुनौली आसपास र वुटवलको अवस्था फरक हुन्छ । त्यो पालिकालाइनै थाहा हुन्छ । मैले यस अघि पनि विद्यालयले कक्षा चलाउने हो भने आफ्नो ढंगले गाइडलाइन वनाएर सार्वजनिक गर्नु पर्यो भनेर केही वूँदा उल्लेख गरेको थिएँ । तर, त्यसमा पर्याप्त छलफल भएन । विद्यालय सञ्चालकहरु वाहिर जति वर्वादै भयो भन्दछन् त्यसको उपाय खोज्ने काममा लाग्दैनन् । 
अव यस्ता कुरामा सरकारले केही गर्ला वा भनिदेला भनेर कुर्ने हो भने त्यसको अर्थ रहनेछैन ।
कर्ण शाक्यको स्टाटसमा धेरैले सहमति जनाएर प्रतिक्रिया ब्यक्त गरेका छन् । त्यसमध्ये शायद एउटा जवाफ शाक्यलेनै दिएका छन् यसो भनेर—   
करोनाको किताप हामीले पढि सक्यौं ,पाठ धोकि सक्यौं, ब्यबहारमा पनि उतारी सक्यौं । भौतिक दुरी कसरी राख्ने, मास्क कसरी लगाउने,  कागती पानी पिउने, लसुन प्याज,मसला खाने, हुलमुलमा नजाने, हातले नछुने आदि कुराहरू त थाहा भैसक्यो । अब कोरोनाको जाँच दिन किन डराउने ? प्रश्नको उत्तर थाहा नभएको भए पो जाँचमा फेल हुने डर । त्यसैले हाँसेर सचेत जीवन बाचौं । सकारात्मक सोच जगाऔं । ढ़ुक्क भएर आफु बचौ र अरू लाई पनि बचाऔं । शुभकामना ! 
  एकजना प्रेम गौतमले कर्णको स्टाटसमाथि टिप्पणी गर्दै भनेका छन् ।
 त्यसै पनि विश्व घुमेर नेपाल आइपुग्दा कोरोना भाइरस कोभिड—१९ थाकिसकेको हुन्छ । त्यसमाथी यो हाम्रो सगरमाथाको चुचुरोमा ठोक्किएर घायल भैहाल्छ । हामी नेपालीको जडिबुटी र हरियो परियो खाएको रोग प्रतिरोधात्मक क्षमतालाई यसले छुन पनि सक्दैन । त्यसैले अब डराएर नबसौ, मसला र जडिबुटी युक्त भोजन गरेर आफ्नो व्यापार व्यवसाय निर्धक्क रुपमा अगाडि बढाऔ । नत्र हामी कोरानाले होइन भोकले मर्न सक्छौं । यहाँ भोका जनतालाई कसैले हेर्ने देखिएन ।
यो कुरा धेरैतिरवाट आएको छ । उद्योगी ब्यवसायी सवैले यही कुरा भनिरहेका छन् । जेष्ठ १८ गतेको कान्तिपुरमा ब्यवसायीहरुले भनेका थिए—अब लकडाउन खकुलो पार्ने बेला भयो । 
उनीहरुले जोखिमको क्षेत्रमा विशेष ध्यान दिएर सुरक्षित विधि अपनाउँदै लकडाउन खोल्नुपर्छ भन्ने आशय ब्यक्त गरेका थिए ।
जनस्वास्थ्य वैज्ञानिक डा. समीरमणि दीक्षितले हामीले संक्रमण फैलन रोकिन्छ भन्ने मनसाय छोडिदिनुपर्छ, यो रोकिँदैन भनेका थिए । उनले करिब २० प्रतिशतमा कडा संक्रमण देखिने अनुमान गर्दै अब लकडाउनले निरन्तरता पाउनु हुन्न, खुकुलो गर्नैपर्छ भनेर जोड दिएका थिए ।
सिनेमा हलजस्ता भीडभाड हुने ठाउँ तत्कालका लागि रोक्नुपर्ने तर्क गर्दै भनेका थिए—कलकारखाना, उद्योग खुलिहाल्नुप¥यो, खुद्रा व्यवसायीलाई चलाउन दिनुप¥यो ।  
उनले हरे नागरिकलाइ सतर्कता अपनाउन आवश्यक रहेकोमा भने जोड दिएका थिए । खासगरी भीडभाडमा नजाने, हात धुने, सेनिटाइजरको प्रयोग गर्ने, ७० वर्ष कटेका र दीर्घरोग भएका जोखिम समूहलाई लकडाउनमै राख्ने र रुघाखोकीझैं कोरोनाबीचमै बाँच्न सिक्नुपर्ने उनको भनाईमा असहमत हुनुपर्ने छैन । 
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले संक्रमित धेरै भएका स्थानमा लकडाउनलाई निरन्तरता दिएर मुख्यतः भारतसँग सिमाना जोडिएका नाकाहरू सिल गर्दै ‘एक्टिभ केस’ कम भएका ठाउँमा खोल्नै पर्नेमा जोड दिएका थिए ।
उनको आशय पनि सवैजनाले सवै कुरा वुझि सके भन्ने थियो । त्यसैले भन्दै थिए—हामी व्यापारीले पनि सुरक्षाको विधि अपनाउनै पर्छ । भौतिक दूरी कायम गर्नुपर्छ, सेनिटाइजरको व्यवस्था गर्नुपर्छ ।नागरिकले पनि बच्ने उपाय जानिसकेका छन् । मास्क सबैले लगाइहाल्छन्, भीडभाड गर्दैनन् । अब कोरोना लाग्दैमा मरिहालिन्छ भन्ने धारणा पनि राख्नुहुन्न । बिफर हामीसँग दुई सय वर्ष बाँच्यो, ‘प्लेग’ पाँच सय वर्ष बाँच्यो, कोरोना पनि केही वर्ष बाँच्ला, भ्याक्सिन बन्नै एक–डेढ वर्ष लाग्छ भनिएको छ, त्यसैले त्यतिबेलासम्म कोरोनासँग बच्दै दैनिक जीवन सहज बनाउनतिर लाग्नुपर्छ ।
नेपाल उद्योग वाणिज्य महासंघका चन्द्र ढकालले पनि लकडाउन नखोलेमा गम्भिर आर्थिक संकट देखिने बताएका थिए । उनले त सुरक्षाको उपाय अपनाएर हवाई यातायात र सार्वजनिक यातायातपनि खोल्नुपर्ने अवस्था आएको निष्कर्ष सुनाएका थिए । 
नेपाल समाजवादी कांग्रेसका अध्यक्ष गोविन्द निरौलाले पत्रकार सम्मेलन गरेरै सरकारले ७० दिनदेखि भोकभोकै मारेको आरोप लगाएका थिए । 
राजेशकाजी श्रोष्ठले पनि खोल्नुपर्ने विचार प्रकट गरेका थिए । अर्थात् सवैजसो ब्यावसायिक सस्थाले एउटै कुरा गरेका थिए ।
कर्ण शाक्यको स्टाटसमा टिप्पणी गर्दै विदेश वस्ने नेपाली लेक योञ्जन तामाङले भनेका छन्—
 म बिदेशमा छु । दैनिक पचासौं ग्राहकसंग हेलमेल हुनुपर्छ । त्यसै क्रममा मलाई पोजिटिभ भयो कि भनेर डर लाग्यो र आत्तिए । तर जब प्रत्यक्ष आफू स्वयं लडे । खासमा यो जति मिडियामा हल्ला छ त्यो पक्कै होइन रहेनछ र डराउनु पर्ने महारोग होइन भन्ने लाग्यो । त्यो पनि नेपाली माटोको लागि यो सामान्य रोग हो । मैले भोगे । निको नि भए । अस्पताल भर्ना गर्नु नि परेन । घरमै तातो पानी पिएर निको हुने रोगलाई के महारोग भन्ने ? अझै पनि मलाई दोस्रो तेस्रो पटक पनि लाग्न सक्छ तर आत्तिएको छैन । एउटा कुरा बढी उमेर र पुरानो रोग हुनेहरुले चाहिँ बढी ख्याल राख्नु पर्छ । जो संग आत्मबिश्वास छैन र भित्रि शक्ति छैन उसको लागि चाहिँ खतरा नै छ ।
यी र यस्तै कुरा ज्यादै उठेपछि सरकार खुकुलो वनाउन वाध्य भएको हो । तर, अहिले  फेरि भन्न थालिएको छ— सर्वश्व हुने भयो ।
निश्चयनै सावधानी अपनाउनुपर्ने कुरामा हाम्रो पर्याप्त ध्यान जान आवश्यक छ । सरकारले शायद यही कारणले हुनुपर्छ कार्यस्थलमा भिडभाड नहोस् भनेर कार्यालयहरुलाई दुई सिफ्टको व्यवस्था गरिएको छ । 
तथापि इपिडिमिओलोजी तथा सरूवा रोग नियन्त्रण महाशाखाका पूर्व प्रमुख डा. बाबुराम मरासीनीले भनेजस्तै चाहिने जति सावधानी अपनाइएको छैन । तर, यो सावधानी हरेक नागरिक आफैले गर्नुपर्छ ।
सरकारले मिडिया मार्फत् भन्नुपर्छ—व्यापार गर्ने मानिसहरूले कसरी गर्ने ? कस्तो कस्तो वेलामा मास्क र पञ्जा लगाउनुपर्छ ? कम्तिमा एक मिटरको दुरी कायम गर्ने कसरी र कुन कुन अवस्थामा ? भिडभाड हुने सरकारी कार्यालय, अस्पताल, सार्वजनिक यातायातहरूलाई कुन कुन विधिवाट चलाउने ? विद्यालय कसरी चलाउने ? पठनपाठन कसरी गर्ने ? ट्याक्सी चलाउनेले कसरी चलाउने ? यसवाहेक भिडलाई न्यूनिकरण गर्ने उपाय के हुन सक्छन् ? अनलाइन ब्यापार वा अरु पनि धेरै कामलाई कसरी अनलाइन गराउने ? यस्ता तमाम विधि र उपाय अपनाउनै पर्छ । अर्गात् अव हाइटेक प्रविधिमा पनि जानैपर्ने ब्यवस्था गर्नु उचित हुन्छ । कलेज, स्कूलहरुले आफैपनि नयाँ नयाँ आइडिया निकालेर काम गर्नेतर्फ लाग्नुपर्छ । यस्तो तयारी अलि कम भएको देखिन्छ ।
विना लक्षणका विरामीमा कोरोना देखाउने काम पनि वेकार जस्तो लाग्न थालेको छ । धेरैजना तातोपानी खाएरै ठिक भएका छन् भने थाहा हुँदा साथ उसमाथि एक खालको हिंसा भएर कमजोर हुने अवस्था आउने देखिएको छ । हामीले रुघाकाँसो लागेपनि तुलसीको पात मिसाएको तातो पानी, वेसार पानी, मह पानी आदि खाइनौ हाल्छौं भने यो माहौलमा चिनी लहरो समेत खाए भइ हाल्यो । यसो गर्दा सवैलाई राम्रै गर्छ । राम्रो नगरेपनि नराम्रो गर्दैन ।
अन्तमा आचारसंहिता आफै वनाएर लागु गर्ने हो । कसैले भनेर वा थर्काएर हुँदैन । के सरकारले निगरानी गरेर लागु गर्न सम्भव छ ? उल्टै जुलुस निकालेर कोरोना फैलाउने काम भइरहेको छ । जसलाई कारवाहीको माध्यमवाट समाधान गर्न सकिदैन । वरु यस्तो वेलामा सवै दलहरुले युवाहरुलाई परिचालन गर्ने, घरघरमा गएर सम्झाई वुझाइ गर्ने र स्व अनुशासनमा वस्ने वनाए कति राम्रो हुने थियो ? 
 

प्राप्त प्रतिकृयाहरू

To Top