दिल्ली, कात्तिक १८
भारतको राजधानी नयाँ दिल्लीका स्कुले विद्यार्थी छुट्टिमा छन्। यो छुट्टि कुनै चाडपर्व वा उत्सव मनाउन दिइएको होइन, प्रदूषणबाट बच्न हो।
केही दिनयता दिल्लीको आकाश ‘विषालु’ तुँवालोले ढाकेर प्रदूषित भएको छ। स्वास्थ्य जोखिम बढेको भन्दै राज्य सरकारले नै आपतकालीन अवस्था घोषणा गर्दै स्कुल विदा दिने निर्णय गरेको हो। करिब चार हजार स्कुल मंगलबारसम्म बन्द गरिएका छन्।
उडान र रेल तालिका पनि हेरफेर भएको छ। तुँवालोले ढाकिँदा जहाजको उडान र अवतरण प्रभावित छ। आइतबार मात्र ४० उडानको रुट अरू सहरमा बदलिएको थियो। प्रदूषणकै कारण १ हजार ५ सयभन्दा बढी उडान रद्द भइसकेको इकोनोमिक टाइम्सले जनाएको छ। तुँवालो यति बाक्लो छ, गाडी चलाउँदा दुई–तीन मिटर दूरीकै दृश्य देखिँदैन।
विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा ३० गुणा बढी प्रदूषण दिल्लीले झेलिरहेको छ। रूघाखोकी तथा फोक्सोसम्बन्धी बिरामीको संख्या बढेको छ। मान्छेहरू इमरजेन्सीमा भर्ना भएका छन्। यहाँका धूमपान नगर्ने मान्छेको पनि फोक्सो गुलाबी हुन छाडेको डाक्टरहरू बताउँछन्। दिल्लीवासीका फोक्सोमा दाग देखिन चुरोट खानै पर्दैन।
आइतबार दिल्लीका केही ठाउँमा हावामा प्रदूषण मात्रा प्रतिघनमिटर ९ सय ९९ माइक्रोग्रामसम्म पुगेको छ। यो भनेको दैनिक साढे दुई प्याकेट चुरोट खाए बराबर हो।
'हामी धेरै समस्यामा परिसक्यौं,' डा. जिसी खिलनानीले भनेका छन्, 'छाती, फोक्सो, रूघाखोकीका रोगी त कति हो कति।'
छातीका शल्यचिकित्सक अर्विन्द कुमारका अनुसार तीन दशकअघि यहाँ फोक्सोका ९० प्रतिशत बिरामी चुरोट खाने थिए। अहिले फोक्सोका बिरामीमध्ये चुरोट खाने र नखानेको संख्या पचास-पचास प्रतिशत छ।
दिल्लीवासी बिना मास्क हिँडडुल गर्न सक्दैनन्। जाडो याम सुरू भएलगत्तै समस्या झनै चुलिएको छ। दिल्लीको यो प्रदूषण कति भयानक छ भने गत वर्ष मुख्यमन्त्रीले नै सहरलाई ‘ग्यास च्याम्बर’ को संज्ञा दिएका थिए।
यो विषालु तुँवालो दिल्लीमा नयाँ भने होइन। हरेक वर्ष यो याममा छिमेकी राज्य हरियाणा र पञ्जाबमा बाली जलाउँदा निस्कने धुँवाले दिल्लीको हावा प्रदूषित हुन्छ। हरियाणा र पञ्जाबमा बाली लगाएका खेतबारी सफा गर्न जलाउने चलन परम्परागत हो। यी दुई राज्य र दिल्लीबीच अहिले युद्ध जस्तै अवस्था भएको हिन्दुस्तान टाइम्सले लेखेको छ। तीनै सहर एकआपसमा मिलेर समाधान नखोजे समस्या भयानक हुने देखिन्छ।
भर्खरै सकिएको हिन्दुहरूको पर्व तिहारमा पड्काइने पटाकाले पनि वातावरण प्रभावित पारेको विज्ञ बताउँछन्।
यस वर्ष समस्या उत्कर्षमै पुगेको छ। दिल्लीको जनजीवन यति प्रभावित छ, केही स्थानीय सहरै छाड्न चाहन्छन्। सुपरमार्केट चलाएर बसेकी ४७ वर्षीया ज्योति कुमार दिल्लीको हावाबाट विरक्तिएको बताउँछिन्।
'म मेरो व्यवसाय बन्द गरेर सहर छाड्न चाहन्छु,' उनले भनिन्।
चार करोड ५० लाख जनसंख्या रहेको राजधानी दिल्लीको प्रदूषण नियन्त्रण गर्न अधिकारीहरूलाई सकस परिरहेको छ। तिहारमा पटाका पड्काउन प्रतिबन्ध गरे पनि खासै प्रभावकारी हुन सकेन। त्यसमाथि बालीमा लगाइने अवैध आगलागीले तुँवालोको मात्रा बढाउँछ, जुन भर्खरै सुरु भएको छ।
प्रदूषण बढ्नुको कारण आगलागी मात्र होइन। सवारीसाधन र उद्योगबाट निस्कने धुँवाका साथै फोहोरमैला जलाउँदा निस्कने धुँवाले पनि हावा जोखिमपूर्ण बनाएको केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डले जनाएको छ। चिसो मौसमका कारण पनि प्रदूषण बढेको हो।
मेडिकल जर्नल ‘द ल्यान्सेट’ मा गत महिना प्रकाशित एक लेखअनुसार प्रदूषणकै कारण मृत्यु हुने सूचीको अग्रस्थानमा भारत छ। सन् २०१५ मा प्रदूषणबाट लाग्ने विभिन्न रोगले २५ लाख मान्छेको मृत्यु भएको उक्त लेखमा जनाइएको छ। संसारका प्रदूषित सहरको सूचीमा दिल्ली १५ औं नम्बरमा आउँछ।
सन् २०१७ मा पनि प्रदूषणकै कारण १८ सय वटा स्कुल केही दिन बन्द भएका थिए। प्रदूषण नियन्त्रणसम्बन्धी एक स्वतन्त्र अध्ययन समूहका विशेषज्ञ डाक्टर शरत कुमार गुट्टिकुन्डाले स्कुल बन्द गरेर केटाकेटीलाई घरै बस्ने वातावरण बनाउँदा उनीहरू केही हदसम्म सुरक्षित भएको बताएका थिए। खासगरी अत्यधिक सवारी आवागमन हुने ठाउँमा यो विकल्प प्रभावकारी देखिएको उनको भनाइ छ।
त्यस्तै यो वर्ष सरकारले दिल्लीवासीलाई पाँच लाख मास्क बाँड्ने, सबै निर्माण काम बन्द गर्ने र सोमबारदेखि कारमा जोडी-बिजोडी नियम लागू गर्ने भएको छ।
चिकित्सकहरू भने प्रदूषण नियन्त्रणको यो उपायबाट सन्तुष्ट छैनन्। यसलाई ‘टालटुले’ उपाय बताउँदै उनीहरू दीगो समाधान गर्न दिल्लीका सबै जनता मिलेर सरकारलाई दबाब दिनुपर्ने बताउँछन्।
प्राप्त प्रतिकृयाहरू