काठमाडौं चैत्र २८,
हामीले ‘ब्ल्याक होल’ बारे धेरै सुनेका छौँ तर बुधबार इतिहासमै पहिलो पटक ब्ल्याक होलको तस्बिर सार्वजनिक भएको छ ।
ब्ल्याक होल पृथ्वीबाट पाँच करोड ५० लाख प्रकाश वर्ष टाढा सुदूर आकाशगङ्गामा देखिएको थियो । यसको आकार सूर्यभन्दा ६५ अर्ब गुना ठूलो छ । ब्ल्याक होलको तस्बिर विश्वका आठवटा टेलिस्कोपको नेटवर्कबाट खिँचिएको थियो । सो बारे एस्ट्रो फिजिक्स जर्नलमा विस्तृत समाचार छापिएको छ ।
नेदरल्यान्ड्सको रोडबाउन्ड विश्वविद्यालयका प्राध्यापक हेइनो फेल्किलेसो अनुसन्धानको प्रस्ताव गर्नु भएको थियो । उनले भने,‘‘हामीले जे देख्यौँ त्यो हाम्रो पूरै सौर्यमण्डलभन्दा ठूलो छ ।’’
के हो ब्ल्याक होल ?
ब्ल्याक होल अन्तरिक्षमा भएको यस्तो गुरुत्वार्कषण क्षेत्र हो जहाँ अत्याधिक गुरुत्वबलका कारण प्रकाश पनि बाहिरिन सक्दैन । वैज्ञानिकहरूका अनुसार अन्तरिक्षमा रहेको उच्च घनत्व भएको पिण्डबाट ब्ल्याक होलको निर्माण हुन्छ । ब्ल्याक होलको वरिपरि गणितीय हिसाबका आधारमा प्रमाणित गरिएको काल्पनिक सतह हुन्छ र त्यसलाई ‘इभेन्ट होराइजन’ भनिन्छ । यो क्षेत्रमा पुगेपछि कुनै पनि वस्तु बाहिर आउन सक्दैन । त्यसैले यो क्षेत्रलाई ‘प्वाइन्ट अफ नो रिटर्न’को संज्ञा दिएको छ ।
ब्ल्याक होलले ग्रह र ताराहरू नष्ट पार्छ तर त्यसले ग्रह र ताराहरू कता छ भनि खोजी गर्दै नष्ट गर्दै हिँड्ने गर्दैन । कुनै पनि ग्रह अथवा ताराहरू आफ्नो बाटोमा हिँड्ने क्रममा ब्ल्याक होलमा पर्ने हो । पृथ्वीको घुम्ने रेखाहरूमा ब्ल्याक होल छैन । र पृथ्वीले कुनै ब्ल्याक होललाई परिक्रमा पनि गर्दैन ।
हाम्रो ग्यालेक्सीमा ठुल्ठुला ब्ल्याक होल भए पनि ती पृथ्वीभन्दा धेरै टाढा छन् । अझै केही लाख वर्ष पृथ्वीको भेट कुनै पनि ब्ल्याक होलसँग नहुने वैज्ञानिकहरूको भनाइ छ । वैज्ञानिकहरूले अन्तरिक्षमा ब्ल्याक होलको अध्ययनका लागि विभिन्न किसिमका यानहरू पठाएका छन् ।
प्राप्त प्रतिकृयाहरू