काठमाडौं चैत्र १४,
उत्तर कोरियाका नेता किम जोङ उनले बेइजिङमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गरेका छन् । चिनियाँ संचारमाध्यमले नेता किमको चीन भ्रमण पुष्टी गर्दै ऐतिहासिक भएको जनाएका हुन् । यसअघि भ्रमणवारे अनुमानमात्र गरिएको थियो ।
चिनियाँ राष्ट्रपति सीको निमन्त्रणामा नेता उन बेइजिङ पुगेका हुन् । उनको आइतबारबाट शुरु चार दिने भ्रमणलाई चिनियाँ संचारमाध्यमले अनौपचारिक भ्रमण भएको बताएका छन् । चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार, दुई नेताबीच ग्रेट हल अफ द पिपुलमा वार्ता भएको थियो । यो नेता किमको पहिलो चीन भ्रमण हो । ‘यो भ्रमणलाई म उच्च महत्व दिन्छु’ सीले किमलाई स्वागत गर्दै भने ।
एक अर्काको प्रशंसा र बधाई साटासाटपछि बिभिन्न बिषयमा वार्ता भएको थियो । कोरियाली प्रायद्धिपमा विकसित घटनाक्रमका वारेमा व्यक्तिगत रुपमा पनि जानकारी गराउन आफूले चाहेको नेता उनले बताएका थिए । उत्तर कोरियाली किम शासक र चीनबीचमा सौहाद्रपूर्ण सम्बन्ध रहँदै आएको छ भने दुईबीच कतिपय मुद्दामा रणनीतिक साझेदारिता पनि छ ।
चीन र उत्तर कोरियाको परम्परागत र सुदृढ सम्वन्धमा एउटा कुनै घटनाले बदलाव ल्याउन नसक्ने भन्दै राष्ट्रपति सीले द्धिपक्षीय सम्वन्ध थप वलियो बनाइने बताए । ‘हामी उत्तर कोरियाली कमरेडहरुसँग चीन र उत्तर कोरियाबीचको दिगो र स्थायी विकास र क्षेत्रीय शान्ति, स्थायित्वका लागि मिलेर काम गर्न तयार छौं’ राष्ट्रपति सीले भने ।
राष्ट्रपति सीले चार प्रस्ताव किमसँग राखेको पनि समाचारमा जनाइएको छ । त्यसमध्ये एक शान्तिपूर्ण विकास हो भन्दै चिनियाँ बिशेषतासहितको समाजवाद र उत्तर कोरियाको समाजवादी निर्माण नयाँ ऐतिहासिक चरणमा प्रवेश गरेकाले त्यसमा सहकार्य अघि बढ्न सकिने जनाइएको छ । नेता किमले आफू सीबाट उत्साहित भएको भन्दै दुई देशबीचको सम्वन्धलाई कसैले हल्लाउन नसक्ने बताए ।
प्राप्त प्रतिकृयाहरू