नेपाली मंचमा प्रस्तुति दिन बलिउड कलाकार आउने तरखर ! (यस्तो छ कार्य तालिका)

मनोरञ्जन माघ ६ २०७४ ekhabarnepal
Salman sm 650 052116033030


 माघ ६,

फागुन २५ मा सोहेल खानले सलमान खानसहितका बलिउड कलाकार नेपाली मंचमा आउने भएका छन्। 

बलिउड अभिनेता एवं निर्देशक सोहेल खानले सलमान खानसहितका बलिउड कलाकार नेपाली मंचमा प्रस्तुति दिन उत्सुक रहेको बताएका छन् । आगामी फागुन २५ गते काठमाडौं टुँडिखेलमा आयोजना हुन लागेको दबंग टुरबारे आयोजित प्रेसमिटमा सोहेल बोल्दै थिए । 

उनका अनुसार सोनाक्षी सिन्हा, कृति सेनन, प्रभु देवा, डेजी शाह, मिट ब्रदर, मनिष पौलसहित नेपाली कलाकारले समेत प्रस्तुति दिनेछन् । ‘आउन नपाएपनि अक्षय कुमार, रणवीर कपुर र वरुण धवनले समेत सुन्दर देश नेपालमा फ्यानमाझ पर्फम दिन रेडी छन्’ उनले भने । 

सोल्टी क्राउन प्लाजामा आयोजित प्रेसमिटमा सोहेल आफ्ना प्रतिनिधि, नेपाल आयोजक र अंगरक्षकसहित उपस्थित थिए । आफू १४ वर्षको उमेर हुँदा स्कुल भ्रमणको सिलसिलामा बस चढेर नेपाल आएको स्मरण गर्दै सोहेलले नेपाली सौन्दर्य र नागरिकको खुलेर प्रशंसा गरे । 

दुई घन्टा लामो स्टेज कार्यक्रममा सलमानले आफ्ना चर्चित फिल्मका गीतमा प्रस्तुति दिने समेत सोहलले बताए । यसअघि क्यानिडियन गायक ब्रायन एडम्सलाई नेपाल ल्याएको ओडिसी इन्टरटेनमेन्टले सलमानलाई नेपाल ल्याउन लागेको हो । ओडिसी प्रमुख सीमान्त गुरुङले ५० हजार दर्शकलाई टुँडिखेलमा उतार्ने लक्ष्य राखिएको बताए । उनले चाँडै कन्सर्टमा प्रस्तुति दिने नेपाली लाइनअप रिभिल गरिने जनाए । सोहेल खान इन्टरटेनमेन्ट र जेए इभेन्ट्ससँग मिलेर ओडिसीले कार्यक्रम गर्न लागेको हो । 

राम्रो रकम संकलन भए केही निश्चित रकम सामाजिक कार्यमा समेत खर्चने गुरुङले जनाए । भूकम्प र नाकाबन्दी पछि नेपालको पर्यटनमा परेको नकरात्मक प्रचारलाई न्यूनीकरण गर्दै विश्वमाझ नेपाल सुरक्षित गन्तव्य रहेको सन्देश दिन कन्सर्ट गर्न लागिएको ओडिसीले जनाएको छ । अहिले सलमानका प्रतिनिधिहरु नेपालमा रहेर कार्यक्रम तालिका मिलाइरहेका छन् । सलमानलाई सगरमाथा आधार शिविरसम्म होलिकोप्टरमार्फत अग्ला हिम चुचुरा देखाउने कार्यक्रम समेत छ । अग्लो स्थानमा रहेको खुम्बु क्षेत्रको होटल एभरेस्ट भ्यूमा सलमानले ब्रेकफास्ट लिनेछन् । जसको नाम ब्रेकफास्ट इन एभरेस्ट दिइएको छ । 

सोल्टी होटलमा बस्ने सलमानले चन्द्रागिरी भ्रमण गर्नेछन् । उनलाई होलिकोप्टरमार्फत चन्द्रागिरी लगिने भएको छ । कार्यक्रमको अघिल्लो दिन बेलुका सलमानसहितका कलाकारले टुँडिखेलमा रिहर्सल गर्ने कार्यक्रम छ । 

कार्यक्रममा नेपालीपन झल्कने सगरमाथा, गौतम बुद्ध आदि थिमको स्टेज, लाइट र साउन्ड सिस्टमको व्यवस्था गरिने भएको छ । टिकट दर २ हजारदेखि १० हजारसम्म राखिएको छ । माघ १८ गतेदेखि टिकट विक्री खुला गरिने भएको छ । यसअघि दबंग द टुर भारतको राजधानी नयाँ दिल्ली, लन्डन, अष्ट्रेलिया, न्यूजिल्यान्ड र हङकङमा सम्पन्न भएका छन् । काठमाडौंपछि भारतको पुने, क्यानडा र अमेरिकामा समेत टुर चल्ने सोहेलले बताए । करिब १५ करोडको प्रोजेक्ट रहेको दबंग द टुरले नेपालको पर्यटन प्रवद्र्धन गर्ने आशा पर्यटन बोर्डका सीइओ दीपक जोशीले व्यक्त गरे । 

प्राप्त प्रतिकृयाहरू

To Top