एसिसी यु–१६ पूर्व क्षेत्रीय प्रतियोगितामा नेपालले लगातार तेस्रो जित

खेल मंसिर २८ २०७४ ekhabarnepal
U16

मंसिर २८ ,एसिसी यु–१६ पूर्व क्षेत्रीय प्रतियोगितामा नेपालले लगातार तेस्रो जित दर्ता गराएको छ। नेपालले बिहीबार थाइल्यान्डमा भएको तेस्रो खेलमा म्यानमारलाई ३ सय ३७ रनले पराजित गरेको हो। लगातार तेस्रो जितसँगै नेपाल समूह ‘ए’ को विजेताको रुपमा अन्तिम ४ मा प्रवेश गरेको छ।

नेपालले दिएको ३ सय ५१ रनको लक्ष्य पछ्याएको म्यानमार ११.३ ओभर पिचमा टिक्दै १३ रनमै अलआउट भयो। म्यानमारका लागि हेन आङले सबैभन्दा बढी ३ रनको योगदान गरे। म्यानमारको इनिङ ध्वस्त पार्न नारायण जोशी र मेखबहादुर सेन थापाले ४–४ विकेट लिए। दुवैले ४–४ ओभर बलिङ गरे। नारायणले १ रन तथा मेखले ४ रन खर्चिए। विशाल केसीले १ विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३५ ओभरमा ६ विकेट गुमाएर ३ सय ५० रनको विशाल योगफल तयार गर्‍यो। नेपालका लागि रित गौतमले शतक प्रहार गरे। उनले १ सय ६ रन बनाउने क्रममा ७८ बल खेलेर १२ चौका प्रहार गरे। तीर्थराज दासले ६४ रन तथा प्रतिश जिसीले नटआउट ६३ रनको योगदान गरे। तीर्थले २९ बलमा ७ चौका र ३ छक्का प्रहार गरे। प्रतिशले ३१ बलमा १० चौका र १ छक्का हिर्काए।

यसअघि नेपालले पहिलो खेलमा थाइल्यान्डलाई १ सय ३३ तथा दोस्रो खेलमा हङकङलाई ४ विकेटले हराएको थियो। अब नेपालले सेमिफाइनलमा शनिबार मलेसियासँग प्रतिस्पर्धा गर्नेछ। अर्को सेमिफाइनलमा सिंगापुर र हङकङबीच प्रतिस्पर्धा हुनेछ। 

प्राप्त प्रतिकृयाहरू

To Top