काठमाडौं,असोज–३१ प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी मन्त्रीहरुलाई जिम्मेवारीबाट हटाउँदै विना विभागीय बनाउने तयारी गरिरहेका बेला माओवादीले सरकार छाड्ने भएको छ । मंगलवार दिउसो पत्रकार सम्मेलन गर्दै माओवादी सरकारबाट बाहिरिन लागेको हो ।
आगामी चुनावमा दुई बामपन्थी दलले तालमेल गर्ने र चुनाव लगत्तै पार्टी एकता गर्ने निर्णयपछि सरकारको नेतृत्व गरेको कांग्रैसले माओवादीलाई सकारबाट निकाल्न राप्रपालाई सरकारमा सामेल गरेको थियो । माओवादीले सरकारलाई दिएको समर्थन कायमै रहने वताए पनि प्रधानमन्त्री देउवाले सरकारबाट निकाल्न लाग्नुभएको थियो ।
आजै सरकार छाड्न प्रधानमन्त्रीको दबाब,
प्रधानमन्त्री शेरबहादुर देउवाले माअोवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई सरकारबाट बाहिरिन दबाब दिएका छन् ।
प्रधानमन्त्रीको यस्तो दबाब आएपछि प्रचण्डले आन्तरिक र बामगठबन्धनभित्र छलफल शुरु गरेका छन् ।
‘प्रधानमन्त्रीबाट आजै सरकार छाड्न दवाव आएको छ । यस विषयमा अव छलफल शुरु भएको छ,’ स्रोतले भन्यो, ‘आज निर्णय हुन सक्छ । त्यस अगाडि बामगठबन्धनभित्र यो विषयमा छलफल हुन्छ ।’
प्रधानमन्त्रीले सरकार छाडेर सहयोग गर्न आग्रह गरेको प्रधानमन्त्रीका एक सहयोगीले बताए ।
यसअघि माओवादीले चुनावसम्म आफ्नो पार्टीले सरकारलाई दिएको समर्थन कायम राख्ने र मन्त्रीहरु फिर्ता नबोलाउने निर्णय गरेको थियो ।
तर, पछिल्लो पटक प्रधानमन्त्री देउवाले राप्रपा अध्यक्ष कमल थापासहित आठ मन्त्री थपेपछि माओवादी मन्त्रीमाथि नैतिक दवाव शुरु भएको थियो ।
नयाँ मन्त्री सपथ लिएको तीन दिनसम्म पनि विनाविभागीय छन् । प्रधानमन्त्रीले माओवादीका तर्फबाट सरकारमा रहेका मन्त्रीहरु हटेपछि उनीहरुलाई विभाग तोक्ने तयारी गरेको प्रधानमन्त्री निकट स्रोतको भनाई छ ।
प्रचण्ड छलफलमा
त्यसैवीच प्रधानमन्त्रीको दबाब आएपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अहिले छलफल शुरु गरेका छन् । उनले यस विषयमा पार्टीभित्र र बामगठबन्धनभित्र छलफल शुरु गरेका छन् ।
अहिले एमाले माओवादी पार्टी एकता संयोजक समितिको वैठक बसेको छ । र, यो वैठकमा दुवै पार्टीका अध्यक्ष पनि सहभागी छन् । स्रोतका अनुसार यहाँ सरकारमा रहने वा हट्ने भन्ने विषयमा छलफल हुनेछ ।
त्यसपछि देउवाको दवावमाथि प्रचण्डले के कदम चाल्छन् भन्ने जवाफ आउनेछ ।
दुई मन्त्रीले बोलाए पत्रकार सम्मेलन
उता माओवादीका तर्फबाट सरकारमा सहभागी दुई मन्त्रीले आज पत्रकार सम्मेलन बोलाएका छन् । माओवादीका तर्फबाट सरकारमा नेतृत्व गरेको उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले दिउँसो १ बजे पत्रकार सम्मेलन बोलाएका छन् । त्यसलगत्तै गृहमन्त्री जनार्दन शर्माले पनि दिउँसो २ बजे नै पत्रकार सम्मेलन बोलाएका छन् । एकै दिन माओवादीका दुई मन्त्रीको पत्रकार सम्मेलनलाई चासोका साथ हेरिएको छ ।
प्राप्त प्रतिकृयाहरू