पेन्सन क्याम्पको फुलबारीद्धारा विरोध

समाज भाद्र १८ २०७४ .

बुटवल, भदौ १८ । मणिमुकुन्द सेन उद्यान संरक्षण समिति (फुलबारी) ले
भारतीय पूर्वसैनिक स्थाथी पेन्सन क्याम्पको विरोध गरेको छ । फुलबारीले
चर्चेको ऐतिहासिक तथा पुरातात्विक महत्वको जग्गा समेत अतिक्रमण गर्नेगरी
पेन्सन क्याम्प निर्माण गर्न थालिएको भन्दै समितिले त्यसको विरोध गरेको हो
। समितिको आईतबार बसेको बैठकले सो क्याम्पलाई अन्यत्र सार्न सम्बन्धित
पक्षको ध्यानाकर्षण गराएको छ ।
क्याम्पको शिलन्यास गर्न सोमबार भारतीय राजदुत मन्जिव सिंह पुरी बुटवल
आउँदै छन् । त्यसको पूर्वसन्ध्यामा आईतबार बसेको फुलबारीको कार्यसमिति
बैठकले फुलबारीको ऐतिहासिक महत्वलाई ध्वस्त पार्नेगरी पेन्सन क्याम्प
निर्माण गर्न लागिएको भन्दै त्यसप्रति कडा आपत्ति प्रकट गरेको हो । जीतगढी
सुरुङ मार्ग उत्खनन् गर्ने प्रक्रियामा रहेकोमा त्यसलाई समेत प्रभावित पार्नेगरी
पेन्सन क्याम्पका स्थायी संरचना बनाइँदा ऐतिहासिक तथा पुरातात्विक धरोधहर
नष्ट हुनेतर्फ समितिको बैठकले सम्बद्ध सबैको ध्यानाकर्षण गराएको छ ।
पेन्सन क्याम्पका लागि बुटवल–११, देविनगरमा वैकल्पिक जग्गा रहेको भन्ने कुरा आईरहँदा फुलबारीले बनाउन थालेको एनिमल कर्नरको जग्गा अतिक्रमण गर्नेगरी बाटो निकासलाई समेत आफ्नो तारबारभित्र पारेर पेन्सन क्याम्प निर्माण गर्न थाल्नु आपत्तिजनक रहेको ठहर बैठकले गरेको छ । बैठकले भारतीय पेन्सन क्याम्पले बुटवल सामुदायिक वन उपभोक्ता समूहसँग भएको सहमति विपरीत तारबार गरेको सन्दर्भमा गत साउन २६ गते सरोकारवालाहरुले गरेको निर्णयलाई अनुमोदन समेत गरेको अध्यक्ष खेमप्रसाद लुइँटेलले जानकारी दिए ।
 गत साउन २६ गते स्थानीय जनप्रतिनिधि, मणिमुकुन्द सेन उद्यान संरक्षण समिति,वन उपभोक्ता समूहका प्रमुख÷प्रतिनिधिहरुको संयुक्त बैठकले क्याम्पका तर्फबाट भैरहेको निर्माण कार्य तत्काल रोक्न सम्बिन्धित पक्षको ध्यानाकर्षण गराएको थियो । क्याम्पबाट अहिले भैरहेका कामले स्थानीय पक्की बाटो, मणिमुकुन्द सेन राजाको पुरातात्विक दरबार समेत संकट गर्ने भएकाले सो निर्माण कार्य तत्काल रोक्न सम्बन्धित कार्यालयलाई माग गर्ने संयुक्त निर्णय सरोकारवालाहरुको बैठकले गरेको हो ।
यस निर्णयको बोदार्थ बुटवल उप–महानगरपालिका, जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, भारतीय राजदूतावास, सेक्टर वन कार्यालय, जिल्ला सैनिक बोर्ड, ईलाका प्रहरी कार्यालयमा पठाइएको छ । पेन्सन क्याम्पले मणिमुकुन्द पार्कको निकासको पक्की बाटो समेत अवरुद्ध पार्नेगरी जग्गा तारबार गरेपछि यसको विरोध भएको हो ।


        

प्राप्त प्रतिकृयाहरू

To Top