सजिलै गर्न सकिन्छ डिप्रेसनको उपचार

स्वास्थ्य असार २८ २०७४ डा. प्रदीप पाण्डे न्युरोलोजिस्ट
Depression

आजकल धेरैले डिप्रेसनलाई ठूलो रोगको रूपमा लिने गरेको पाइन्छ । घरपरिवार, समाज आफन्तको डरले गर्दा पनि धेरै मानिस यसबारे खुलेर कुरा गर्न सकिरहेका हुँदैनन् । डिप्रेसन समयमा नै पहिचान गर्न सके सजिलै उपचार पनि गर्न सकिन्छ । तर, सही समयमा उपचार भएन भने कहिलेकाहीँ यसले ठूलो समस्या निम्त्याउन सक्छ । डिप्रेसन विभिन्न कारणले हुन सक्छ । कहिले हाम्रो आफ्नै कारणले हुन्छ भने कहिले बाहिरी कारणले पनि भइरहेको हुन्छ । मानिसलाई हुने डिप्रेसनका कारण र त्यसको उपचार गर्ने तरिकाबारे न्युरोलोजिस्ट डा. दीपेन्द्र पाण्डे यसो भन्छन् :

डिप्रेसन एक मानसिक समस्या हो, जसमा व्यक्ति निराश हुने, थकानको महसुस हुने, आत्मविश्वासमा कमी हुने, नरमाइलो लाग्ने, दिक्क लाग्नेलगायका लक्षण देखिन सक्छ ।

निद्रामा गडबडी, खानाको गडबडी, अरूसँग बोल्न मन नलाग्ने, अल्छी लाग्ने, इच्छाशक्तिमा कमी, आफूलाई दोष दिने बानी, आत्महत्याको सोच आउनेजस्ता लक्षण पनि डिप्रेसन हुन सक्छ । यस्ता समस्या देखिएमा कहिलेकाहीँ काउन्सिलिङबाट मात्र पनि यसको उपचार सम्भव हुन्छ ।

थाइराइडसम्बन्धी समस्या हुने व्यक्तिलाई मानसिक समस्या हुन सक्छ । त्यस्तै, टाउकोमा चोट लागेको, छारेरोगको समस्या भएका, सिएनएस इन्फेक्सन भएका र मुटुको औषधि खाने व्यक्तिहरूमा पनि विनास्ट्रेस डिप्रेसन हुन सक्छ ।

डिप्रेसनको सुरुवाती अवस्थामा नै काउन्सिलिङबाट मात्र पनि उपचार गर्न सकिन्छ । तर, समस्या अलि गम्भीर हुँदै गएमा औषधि नै सेवन गर्नुपर्ने हुन सक्छ ।

सामान्यतया ६ देखि ९ महिना र कसैकसैले एक वर्षसम्म डिप्रेसनको औषधि खानुपर्ने हुन्छ । यस्ता औषधिको अलिअलि साइड इफेक्ट पनि हुन्छ । तर, यसबाट डराउनुपर्ने अवस्था भने हुँदैन ।

विशेषज्ञ चिकित्सक, साइक्र्याटिक र साइकोलोजिस्टको सहयोगले डिप्रेसनबाट हुने समस्याबाट मुक्त हुन सकिन्छ । एटिपिकल डिप्रेसन हुनेहरूलाई बढी निद्रा लाग्ने, बढी भोक लाग्ने, बढी शारीरिक सम्बन्ध राख्न मन लाग्ने, बिहानमा भन्दा साँझमा मन निराश हुने समस्या हुन्छ ।

प्राप्त प्रतिकृयाहरू

To Top