देउवा नेतृत्वको सरकार ‘नालायक’ : केपी ओली

राजनीति असार २५ २०७४ .
Kpoli 24 1469377359

असार २५। सरकारप्रति आक्रोशित देखिएका नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले वर्तमान सरकार नेपाली संसद्को उत्पादन नै नभएको बताएका छन् । शेरबहादर देउवा नेतृत्वको सरकारलाई ओलीले नालायक गठवन्धनको संज्ञा दिए । ‘अहिलेको सरकार लोभी पापीहरुको अपराधिक गठवन्धन हो, क्षणिक स्वार्थका लागि बनेको यो सरकारले देशको हितलाई हेर्दैन,’ ओलीले भने, ‘यो सरकार अत्यन्तै अदुरदर्शी छ ।’

स्थानीय तहको निर्वाचनमा एमालेले अग्रता लिएका ठाउँमा कर्मचारी फेरेर सरकारले नांगो नाच देखाएको ओलीको भनाइ थियो । तर, एमालेले सबै चक्रब्यूहलाई फोडेर अगाडि बढेको उनले बताए । चक्रब्यूह एमालेका लागि माकुराको जालोबराबर मात्र भएको उनको कथन छ । ‘एमालेसँग कुनै पार्टीले गफ नगरे हुन्छ,’ उनले भने, ‘मसँगै जेल पर्नुभएको नेता नरेश खरेल १७ वर्ष जेल बस्नुभयो, कांग्रेसमा एकमुष्ठ १७ वर्ष जेल बस्ने कोही छ भने मलाई देखाइदिनुस् ।’

अप्ठ्यारो पर्दा एक मुठी माटो हातमा लिएर छातीमा राख्दै नेपाल आमालाई सोध्ने वीपी कोइरालाको विचार स्मरण गर्दै ओलीले अहिलेका कांग्रेससँग एक मुठी माटो राख्ने छाती पनि नभएको टिप्पणी गरे ।


आफ्नै गृहजिल्ला झापामा एमालेका तर्फबाट नवनिर्वाचित जनप्रतिनिधिहरुलाई झापाको बिर्तामोडमा आइतबार बधाई तथा शुभकामना दिँदै अध्यक्ष ओलीले भने,‘चुनावमा गल्ती गर्नेजतिले एक हप्ताभित्र लिखित रुपमा गल्ती स्वीकारेर माफी माग्नुस्, नत्र नतिजा के हुन्छ एक हप्तापछि थाहा पाइहाल्नुहुन्छ ।’

एमालेले सबैभन्दा मजबुत भनेको कमल गाउँपालिकामा मत बराबर भएपछि एमालेकी उम्मेदवार मेनका काफ्ले गोला तानेर गाउँपालिका अध्यक्षमा विजयी भएकी थिइन् । ‘जिल्ला अध्यक्षले हारे, जिल्ला सचिवले हारे, कसरी यस्तो भयो ?’ अध्यक्ष ओलीले प्रश्न गर्दै भने, ‘एमालेको सबभन्दा मजबुत क्षेत्र तोपगाछी र लखनपुर मिलेर महामजबुत बनेको कमल गाउँपालिकामा एमालेले गोला तान्नुपर्ने ?’

कनकाई नगरमा एमाले उम्मेदवार भारी मतले विजयी भएका थिए ।

 

प्राप्त प्रतिकृयाहरू

To Top