जोर्नी मजबुत बनाउन पन्छी आसन

स्वास्थ्य असार १२ २०७४ दीपक नेपाल योग प्रशिक्षक
Birdasana 768x429

शरीरको आन्तरिक तथा बाहिरी स्वास्थ्य कायम राख्न योगको भूमिका महत्वपूर्ण हुन्छ । यही कारण पछिल्लो समय सहरीकरण र सेवासुविधाले अल्छी भएका मानिसहरूको योगप्रतिको आकर्षण बढ्दो छ । विभिन्न सेवासुविधाले धेरै मानिस आफ्नो शरीरलाई खासै वास्ता गर्दैनन् । हामीले गर्ने कतिपय काम एकै स्थानमा लामो समय बसेर गर्ने प्रकृतिका हुन्छन् । जसले गर्दा हाम्रो शरीरमा विभिन्न प्रकारका शारीरिक तथा मानसिक रोग लाग्ने गर्छ । हाम्रो छातीलाई बलियो बनाउन, हत्केलाका जोर्नीलाई मजबुत राख्न, घाँटीमा हुने जोर्नीहरू बलियो बनाउनुका साथै फोक्सोमा देखापर्ने समस्याहरू समाधान गर्न पन्छी आसन उपयोगी मानिन्छ । चराको जस्तै शरीरको ढाँचा बनाएर गरिने भएकाले यो आसनको नाम पन्छी आसन भएको हो । यो आसन गर्दा उच्च रक्तचाप भएकाहरूले भने विशेषज्ञको सल्लाहमा मात्र गर्नुपर्दछ । पन्छी आसन गर्ने तरिकाबारे योग प्रशिक्षक दीपक नेपाल यसो भन्छन् :

सबैभन्दा पहिले आफ्नो योग गुन्द्रीमा आरामसँग बस्नुहोस् । त्यसपछि आफ्नो श्वासप्रश्वासलाई ध्यान दिनुहोस् । अब गर्न लागिएको आसनको तस्बिर दिमागमा लिनुहोस् र श्वासप्रश्वासमा ध्यान दिनुहोस् ।

अब आरामसँग आफ्नो म्याटमा उभिनुहोस् । त्यसपछि खुट्टालाई दायाँ–बायाँ कुमको दूरीमा फैलाउनुहोस् । अबको चरणमा आफ्नो दुवै हत्केलालाई अगाडि एक–आपसमा जोड्नुहोस् ।

बिस्तारै श्वास लिँदै दुवै हत्केलालाई दायाँ–बायाँ  फैलाउनुहोस् ।

अबको चरणमा मलद्वारलाई खुम्च्याएर दुवै हात पछाडि लिएर जानुहोस् । यस्तो गर्दा छाती तन्केको हुनुपर्छ भने घाँटी हल्का पछाडि गएको हुनुपर्छ ।

यो अभ्यासलाई ३० सेकेन्डदेखि एक मिनेटसम्म निरन्तरता दिन सकिन्छ । अभ्यासको अन्त गर्ने क्रममा श्वास पूरा लिनुहोस् र श्वास छोड्दै दुवै हत्केला अगाडि लैजानुहोस् । त्यसपछि केही समय आराम गरेर बस्न सकिन्छ । अभ्यासपछिको परिवर्तनलाई आत्मसात् गर्न सकिन्छ ।

यो प्राणायाम जुन समयमा गर्दा पनि हुन्छ । सकेसम्म बिहान र बेलुका प्राणायाम गर्नु शरीरका लागि फाइदाजनक हुन्छ । हामीले दैनिक रूपमा योग गर्न सके हाम्रो शरीर  स्वस्थ हुन्छ ।

 

प्राप्त प्रतिकृयाहरू

To Top