बिहे गरेको दुर्इवर्षसम्म पनि बच्चा नभएपछि पत्नीको हत्या

समाज असार १२ २०७४ रासस
90

गौशाला, असार १२ । महोत्तरीमा पत्नीलाई हत्या गरेको आरोपमा प्रहरीले सोमबार एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मटिहानी गाउँपालिका–३ सिरसियाका २५ वर्षीय प्रदीप सहनी रहेको जिल्ला प्रहरी कार्यालय, महोत्तरीका प्रहरी उपरीक्षक राजकुमार लम्सालले बताए।

मटिहानी गाउँपालिका–६ सिमरदहीका जुगेश्वर सहनीकी २० वर्षीया छोरी टिङ्की कुमारीसँग दुई वर्षअघि उनको बिहे भएको थियो । बिहे भएको दुई वर्ष बितिसक्दा पनि सन्तान नभएको तथा पत्नी मन नपरेको भन्दै सहनीले परिवारका अन्य सदस्यसँग मिलेर टिङ्कीको हत्या गरेको आरोप मृतकका माइती पक्षले लगाएका छन् ।

घाँटीमा गम्छाको पासो लगाई झुन्डएको अवस्थामा प्रहरीले शनिवार टिङ्की सुत्ने कोठामा उनको शव बरामद गरेको थियो । घटनापछि युवक सहनी, उनका आमाबुबासहित घरका सबै सदस्य फरार छन् । सहनी परिवारका सबै सदस्य फरार भएपछि स्थानीयले टिङ्कीको माइती पक्षमा खबर दिएपछि मृतकका बुबा जुगेश्वर सहनी र दाजु मनोज सहनी घटनास्थलमा पुगेर प्रहरीलाई घटनाबारे जानकारी गराएका थिए ।

फरार रहेका सहनी सामान लिन घर आएका बेला गाउँलेले उनलाई पक्राउ गरी प्रहरीमा बुझाएका छन् । पक्राउ परेका सहनीलाई हिरासतमा राखी घटनाबारे आवश्यक अनुसन्धान गरिरहको प्रहरीले जनाएको छ । रासस

 

प्राप्त प्रतिकृयाहरू

To Top