कसरी होला राजधानीको क्षतिपूर्ति ? 

राजनीति असोज २५ 2077 ekhabarnepal
Butwal picture

डी.आर.घिमिरे—वसन्तराज खनाल 


राजधानीको विषय जतिसुकै पेचिलो बने पनि टुंगिनुपर्ने थियो टुंगियो । एउटा प्रक्रियाबाट टुँगो लागेपछि अहिलेलाइ यो विवाद समाप्त भएको छ । अब पुराना कुरा भुलेर नयां सिराबाट सोच्नुपर्छ । मुख्यमन्त्री शंकर पोख्रेलले रूपन्देहीलाई  वित्तीय र पर्यटकीय राजधानी वनाउने कुरा गर्दा त्यसलाई धेरैले पत्याएनन् । शायद यो कुरा अरु समयमा गरेको भए धेरैले विज्ञप्ति निकालेर स्वागत गर्ने थिए । यो विषय महत्वपूर्ण भएर पनि कसै कसैलेत ललीपपको रुपमा ब्याख्या गरे ।
अहिले जे जति पूर्वाधार वनेका छन् ती सवै वित्तिय राजधानीका जग हुन् भन्ने कुरालाई पनि किमार्थ भुल्न मिल्दैन । बरु हामीले भन्नुपर्छ रुपन्देही जिल्लालाई वित्तिय केन्द्र वनाउनका लगि प्रदेश, केन्द्र र स्थानीय सरकारहरुले सुस्पष्ट योजना बनाउन् । मुख्यमन्त्रीले यो काम यथाशीघ्र शुरु गरेर रुपन्देहीवासीको विश्वास लिनुपर्ने अवस्था छ ।
आर्थिक केन्द्र त्यसै पनि ठूला हुनेछन् । अमेरिकाको राजधानी वासिँगटन डीसी भन्दा न्यूयोर्क, अष्ट्रेलियाको राजधानी क्यानवेराभन्दा सिड्नी र मेलबर्न, क्यानडाको राजधानी अटवा भन्दा टोरन्टो, भ्यांकुभर र मन्टृअल, भारतको दिल्लीभन्दा मुम्बई धेरै ठुला आकर्षणका केन्द्र मानिन्छन् । 
अमेरिकाको राजधानी वासिंगटन डीसी हो । तर, विश्वका एकसे एक धनी ब्यक्तिहरु न्यूयोर्कमा वस्न चाहन्छन् । अमेरिका सपनाको देश को । न्यूयोर्क स्वयं अमेरिकीहरुका लागि पनि सपनाको सहर हो । यो सहरलाई विश्वको राजधानी मानिन्छ । वसाइ सराई गर्नेहरुका लागि अन्तिम गन्तब्य न्यूयोर्क हो ।   
एकजना उद्योगीले आफ्नो उत्पादनको विज्ञापन न्यूयोर्कको टाइम स्क्वायरमा गर्न सक्दा त्यो विश्वब्यापीकरण भएको ठहरिन्छ जसरी एशियाका लागि सिंगापुरमा सम्पर्क कार्यालय खोल्नुपर्छ भन्ने मान्यता छ । टाइम स्क्वायरको चहलपहल न्युयोर्क जाने जो कोहीले हेर्र्नैपर्ने दृश्य हुन्छ । कुनै उत्पादक कम्पनीले आफ्नो उत्पादनलाई विश्व बजारमा लैजाने हो भने यहीँबाट विज्ञापन गर्नुपर्ने हुन्छ । 
बुटवल स्वःस्फूर्त ढंगले आर्थिक केन्द्रनै हो । अहिलेसम्म आफ्नै सामथर््यले बनेको आर्थिक केन्द्रलाइ अब योजनाका साथ वनाउँदा द्रुत ढंगले कसरी बढ़्दो रहेछ भन्ने अनुभूति यहाँका उद्योगी व्याबसायीले गर्न पाउँछन् कि पाउँदैनन् ? प्रश्न यहाँ छ । यसैका आधारमा विश्वासको वातावरण वन्न सक्छ । सरकार र निजी क्षेत्रले चाहने हो भने बुटवललाई नेपालको न्यूयोर्क र सिंगापुरजस्तै ब्यावसायिक हव वनाउन  सकिन्छ । 
बुटवलको मनोविज्ञान ः 
बुटवलले आबश्यक परे मुलुककै लागि काँध थाप्न सक्छ भन्ने मनोविज्ञान छ । यो सत्य यस अर्थका छ कि खास खास घटनामा विद्रोह गर्नसक्ने औकात छ बुटवलमा । राष्ट्रिय मुद्वालाई उठाएर पनि बुटवलले पहिचान स्थापित गर्नसक्छ । बुटवलले भावना मात्र बोक्दैन, आर्थिक रुपमा काँध थाप्न सक्ने औकात राख्छ । बुटवलले आफै स्थापित गरेका सस्थाहरु लुम्विनी वाणिज्य क्याम्पस, सिद्वार्थ क्याम्पस, गौतमवुद्व मुटु अस्पताल, मणिमुकुन्दसेन पार्क, हिल पार्क, दर्जनौं संघ सस्थाका सुविधासम्पन्न भवन (जसले आबश्यक पर्दा मन्त्रालय स्थापना गर्न दिएर उदारता पनि देखाए) वनाएर नमुना देखाउन सकेको छ । बुटवलका भित्री सडक वा नालीमा जनता आफैले पचास प्रतिशत लगानी गरेर विकासमा साझेदारी गरेका छन् । अहिले देशैभरी टोलटोलमा गठन हुने समुहको पहिलो प्रयोग बुटवलमै भएको हो । जसले अन्तर्राष्ट्रिय रुप लिइसकेको छ । आबश्यक पर्यो भने र सरकारले ब्यवस्था गर्ने हो भने सरकारसंग मिलेर ठूला ठूला परियोजना सञ्चालन गर्ने आँट पनि बुटवलले राख्न सक्छ । यी सव कुरा गर्दा कसैलाई घमण्ड गरेको लाग्न सक्छ तर, यो सत्य कुरा हो । तिलोत्तमाले बनवाटिका, बनवाटिकामा वन्दै गरेको भ्यूटावर पनि यस्तै उदाहरण हुन् ।
 सामुदायिक भावनाका साथ गरिएका यी केही अनुपम उदाहरण मात्र हुन् । यस्ता दुई दर्जन उदाहरणहरु छन् जसले बुटवल यो रुपमा स्थापित गरेको छ ।  
यस अर्थमा बुटवलको मनोविज्ञान हामी केही हौं र राज्यलाई पनि योगदान गरेका छौं भन्ने छ । त्यस अर्थमा राज्यवाट वेला मौकामा विशेष सहयोगको अपेक्षा राख्दछ ।
निश्चयनै समुदायका सिमितता हुन्छन् । त्यस अर्थमा राज्यले पनि नगरेको चाँही हैन । अन्यत्रभन्दा पहिला बुटवल—भैरहवा सडकले जुन रुप लियो, अन्तर्राष्ट्रियस्तरको गौतमवुद्व विमानस्थल र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र जसरी वन्दैछन्, बुटवल—नुवाकोट वा वेथरी—बुटवल सडक, तिनाउ—दानव करिडोर, सिद्वबाबा क्षेत्रमा अन्तिम अवस्थामा पुगेको सुरुङ मार्ग आदि जनप्रतिनिधिको अगुवाइमा भएका उत्कृष्ट उदाहरण हुन् ।  यसका साथै सिद्वार्थ राजमार्गको विस्तार, बुटवल—नारायणघाटको सडक विस्तार र अब बुटवल—चन्द्रौटा देखि कोहलपुरसम्मको विस्तार हुँदा बुटवलले त्यसै पनि छलाङ्ग मार्नेछ । अहिले तोकिएको प्रदेश राजधानीमा १ घण्टामै पुग्न सकिने अवस्था आउँदैछ ।     
देउखुरी राजधानी हुँदा रुपन्देहीले थप अबसर पाउनेवाला छ । यो कुरा मुख्यमन्त्री शंकर पोख्रेलले पनि संकेत गर्नुभएको छ । उहाँले भनेजस्तै ब्यापार गर्नेको क्षेत्र विस्तार भएको छ । लुम्विनीको नामवाट राप्ती र भेरीमा ब्यापार गर्न पाइने अवस्था सृजना हुँदैछ । त्यसैले यो अवसर पनि हुनसक्छ । जहाँसम्म सर्वसाधारणको कुरा हो उनीहरुलाई प्रदेश सरकारको आवश्यकतानै पर्दैन ।    
माननीय विष्णु पौडेलज्यू, 
लुम्विनी प्रदेशको राजधानी वुटवल राख्नका लागि तँपाइले धेरै ठूलो प्रयत्न गर्दा गर्दै पनि देउखरी उपत्यकामा राख्ने निर्णय प्रदेश संसदको दुइतिहाइले गरेको छ । यसवाट बुटवलवासी मात्र हैन सिंगै रुपन्देही, पाल्पा, परासी र गुल्मीका वासिन्दाले चिन्ता र दुःख प्रकट गरेका छन् । त्यसोत प्रदेशको प्रशासनिक संरचना देउखुरी उपत्यका हुनु अस्वभाविक हैन । तैपनि चुनावका समयमा धेरै उठेको र तँपाई स्वयंले यसलाई विशेष जोड दिएका कारणले यस क्षेत्रका मतदाता सवैको मनोविज्ञान त्यसरी वन्दै गयो । 
पञ्चायतकालमा बुटवल अञ्चलाधीश कार्यालय भयो । शाही शासनकालमा अञ्चल प्रशासकको मुकाम  रह्यो । त्यसवाहेक बुटवल कहिल्यै प्रशासनिक केन्द्र बनेको छैन । पाल्पा राज्य  हुँदा तानसेन राजधानी थियो । पाल्पा विभाजित भएर बुटवल छुट्टै राज्य बनेपछि विनायकपुर राजधानी बन्यो र पछि बुटवल पाल्पामै गाभिएपछी तानसेन नै राजधानी भयो । सेन राजाको पालामा बुटवले शितकालिन मुकाम बाहेक अरु कुनै प्रशासनिक केन्द्र बनेन । तौलिहवा, बेथरी र पाल्ही प्रशासनिक केन्द्र हुँदा बुटवल नून र घ्यु साट्ने थलो अथवा खरिद विक्री केन्द्र थियो । प्रदेशको प्रशासनिक केन्द्र नबने पनि यो आर्थिक र शैक्षिक केन्द्र बनिसकेको छ, जसलाई कसैले चाहेर पनि भत्काउन सक्दैन । यसको अर्थ गर्नुपर्ने बाँकी काम छैनन् भन्ने हैन यसलाई अझै समुन्नत वनाउन धेरै काम गर्नुपर्नेछ । 
यस अर्थमा तँपाई विष्णु पौडेल यस क्षेत्रको जनप्रतिनिधि हुनुको कारणले खुम्चिएर वा चाउरिएर राजधानीमा वस्नुपर्ने अवस्था छैन । बरु एकपटक जनताको वीचमा आएर भन्नुस् कि यसको क्षतिपूर्ति यसरी हुन्छ ।
हामीलाई थाहा छ, प्रशासनिक केन्द्र वन्नुको अर्थ वन्दब्यापार र उद्योग धन्धाको विकास रोकिदैन । रुपन्देहीकै सदरमुकाम भैरहवा हुँदा बुटवलको विकास रोकिएन । आखिरी यसको पनि केही अर्थ होला ? स्थानीयले योगदान नगरेसम्म कुनै पनि ठाउँको विकास हुन सक्दैन । स्कुल कलेज बुटवलमै किन धेरै वन्न सके ? वुटवलमा पढ्न, मजदुरी गर्न र पेशा ब्यवसाय गर्न आएको मानिस किन फर्कदैन ? यसका केही विशिष्ट कारणहरु छन् । अहिले ती सवैको ब्याख्या नगरौं । भेटमै सविस्तार गरौंला ।
बुटवल र प्रकारान्तरले रुपन्देही मुख्य रुपमा आर्थिक केन्द्र हो । आर्थिक केन्द्र हुनुको कारणले यहाँ आएपछि कोही कसैले भोको वस्नु पर्दैन । आर्थिक केन्द्र हुनका लागि मान्छेको उपस्थिति बढी हुनु पर्दो रहेछ । मान्छे भएपछि शैक्षिक र स्वास्थ्य केन्द्र पनि वन्ने रहेछ र पर्यटनको लागि पनि उर्वर हुने रहेछ । यसरी हेर्दा रुपन्देही जिल्ला उद्योग, पर्यटन, ब्यापार सवै हिसावले अनुकुल वनेको छ । यो पूर्व पश्चिम राजमार्गको करिव मध्य भाग पनि हो । यस अर्थमा राज्यको तर्फवाट गर्नुपर्ने कैयौं काम भएका छन् । तँपाइ र अरु जनप्रतिनिधिकै पहलमा भएका माथि उल्लेखित कैयौं कामहरु गौरव गर्ने लायकका छन् ।
सुनिदै छ तँपाई अर्थमन्त्री वन्ने सम्भावना छ । यसलाई कतिपयले पदसंग राजधानी साटेको अर्थमा लिइरहेका छन् । यसप्रति हामीलाई रत्तिभर विश्वास छैन । योग्यता पुगेको ब्यक्ति मन्त्री हुने हो ।  त्यसका लागि तँपाई काविल हुनुहुन्छ । यस अघिनै भइसकेको मन्त्रालयमा जिम्मा पाउनु कुनै ठूलो कुरा भएन । प्रधानमन्त्रीले आवश्यक परे बनाउनुहोला । तर बन्दा वा नबन्दा पनि तँपाइले गर्नुपर्ने केही काम छन् । जो अहिलेलाई अरु कसैले गर्न सक्दैनन् । दुई तिहार्ईको सरकार हुनुको कारण प्रधानमन्त्री केपी शर्मा ओली, लुम्विनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेल, कृषि मन्त्री घनश्याम भुषाल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, पूर्व उपप्रधानमन्त्री टोपवहादुर रायमाझी, पूर्व मन्त्री द्वय छविलाल विश्वकर्मा र गोकर्ण विष्ट सवैले कुनै न कुनै रुपमा प्राथमिकता दिनुभएकै छ । विगतमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउँदा तँपाइले हस्ताक्षर संकलन गर्दै हिड्नुभएकै हो । अझै पनि सवैको साथ लिएर हिड्दा कसैले नाइनास्ती गर्ने सवालनै आउँदैन । यस क्षेत्रको विकासका लागि प्रतिपक्षले पनि साथ सहयोग गर्नेनैछ । 
बुटवललाई बृहत् अर्थमा वुझेर मात्र यहाँको वजार विस्तार गर्न र गुल्जार गर्न सकिन्छ । कनेक्टीभिटी यस्तो औजार हो जसले कुनै ठाउँ सुकाउने र उठाउने गर्दछ । रुपन्देही दक्षिणतर्फ जोडिएकै छ, अब यसलाई उत्तरी नाका कोरालासंग जोड्दै लोमाङथाङ, जोमसोङ्ग, वाग्लुङ्गवाट कालीगण्डकी करिडोर र रिडी तानसेन हुँदै बुटवलसम्म जोड्नुपर्छ । यसका लागि सिद्वबाबामा सुरुङ मार्ग वन्ने प्रक्रियामै छ । शायद अब निकट भविष्यमा टेण्डर हुन्छ । पाल्पाको परवासबाट अर्को सुरुङ मार्ग वनाउँदा पोखराको रुट छोटिदै जानेछ । यति मात्र हुँदा दुइवटा प्रदेशका लागि सहज पहुँच हुने क्षेत्र रुपन्देही जिल्ला हुनेछ । दुइ ठूला छिमेकी देशसंगको ब्यापारमा सहजता आउनेछ । ढोरपाटन सडक अर्को आकर्षण हो । सालझण्डी ढोरपाटन सडकले लुम्विनी आउने पर्यटकलाई ढोरपाटन सिकार आरक्षणमा पुर्याउन सकिने अवस्था छ । 
नेपालकै सन्दर्भमा उत्तर र दक्षिण नाका जोडन सकिने एकमात्र स्थान बुटवल हुने देखिन्छ ।
यसवाहेक तँपाइले भनेजस्तै कालीगण्डकी डाइभर्सनको सम्भावना छ भने त्यसलाई पनि कार्यान्वयनमा ल्याउन पहल गर्नुस् । यो तँपाइले भनेकै परियोजना हो । यो त्यस्तो परियोजना हो यसले रुपन्देहीसहित छिमेकी जिल्लाको कृषि र पर्यटनमा कायापलट हुनेछ । यो एक अर्थमा गेमचेन्जरनै हो । वरु चिन्ताको कुरा के छ भने मुलुक संघीयतामा गइसकेपछि यहाँका चालु योजनासमेत ओझेलमा परेका छन् । 
बुटवल—नुवाकोट वा बुटवल—वेथरी सडक दुइ वर्षदेखि अलपत्र छन् । यो काम यथाशीघ्र अगाडि वढोस् । तिनाउ—दानव करिडोर तँपाइलेनै देखाउनु भएको सपना हो । यदि यो सपनालाई पूरा गर्न सक्नुभयो भने यसले पनि रुपन्देहीको कायापलट गर्ने देखिन्छ ।  
 मोतिपुर औद्योगिक करिडोर तँपाइनै अर्थमन्त्री हुँदा प्रक्रिया शुरु भएको हो । त्यसले पनि गति लिन सकेको छैन । यसलाई यथाशीघ्र सञ्चालनमा ल्याउनका लागि पूर्वाधार खडा गर्ने र खासगरी रोजगारी सृजना गर्ने ठूला औद्योगिक घरानालाई रातो कार्पेट विच्छाएर आमन्त्रण गर्ने हो भने जिल्लाको लागि विशिष्ट योगदान हुनेछ । पहिलोपटक आउने उद्योगीलाई ५ वर्षसम्म भाडा र स्थानीय कर मिनाहा गर्ने आकर्षक योजना वनाउनेतर्फ ध्यान दिनु उचित हुन्छ । तिलोत्तमामा लुम्विनी विशिष्टीकृत सहकारीले सञ्चालनमा ल्याउने दूग्ध प्रशोधन केन्द्र पनि कोसे ढुंगा सावित हुँदैछ । 
तँपाइकै योजना अनुसार बुटवल—१६को सेमलार र सैनामैनामा वृहत् कृषिको हब मार्केट वन्दैछ भन्ने कुरा सार्वजनिक भएकै छ । नेपालकै सन्दर्भमा यति ठूलो कृषि योजना सुनिएको छैन । हामीले वुझे अनुसार यो ८÷१० अर्वको  योजना हो । लुम्विनी प्रदेश केन्द्रीत भएपनि यसले सुदुरपश्चिम देखि कर्णालीसम्म र गण्डकी प्रदेशसमेतको कृषि उत्पादन, प्रशोधन, ग्रेडिङ, प्याकेजिङ्ग, ब्राण्डिङ्ग र वजारीकरणका काम गर्नेछ । नेपाली किसानले उत्पादन गरेको एक मुठा सागदेखि स्याउ, सुन्तला, दलहन, अर्गानिक खाद्यान्नलगायत यावत् वस्तुको विक्री गौतमवुद्व विमानस्थलवाट सिधै अरबका वजारमा जानेछन् । यसले सृजना गर्ने रोजगारी र अवसर अहिले कल्पना गर्न सकिन्न । यसमा यूएनको विशिष्टीकृत सस्था आइफ्याडको लगानी रहेको छ । यो वर्षनै १७ मिलियन अमेरिकी डलर अर्थात् करिव २ अर्ब १० करोड विनियोजन भएको छ । 
यसवाहेक वुद्व सर्किटमार्फत् रुपन्देही, कपिलवस्तु र परासीलाई संगसंगंै लैजादा अर्को महत्वपूर्ण काम हुनेछ । यी काम राष्ट्रिय हिसावले उत्तिकै महत्वका छन् । यी सवै कामले तीनै जिल्लाको आर्थिक समृद्विका लागि टेवा पुग्नेछ ।
 प्राविधिक शिक्षाको पहुँच विस्तार गर्दै लैजाने हो भने उद्योगमा चाहिने जनशक्ति यहीँ तयार हुनेछ ।  लुम्विनी वौद्य विश्वविद्यालयलाई स्वदेशी र विदेशीको अध्ययन केन्द्र वनाउने र प्राविधिक शिक्षाको विस्तार गर्ने योजना वनाउने हो भने त्यसले पनि फड्को मार्न सक्नेछ । देवदहमा १०० विगाहा जग्गा प्राप्ति भइसकेकोले यसको माध्यमवाट शैक्षिक क्षेत्रमा फड्को मार्न सक्ने अवस्था छ । विशिष्टीकृत प्राविधिक जनशक्ति तयार गर्ने वीटीआईलाई इन्जिनियरिङ्ग कलेज वनाउने योजना वढेको छ । यो अर्को शैक्षिक क्षेत्रमा क्रान्ति हुनेछ । बुटवल बहुमुखी क्याम्पसलाई केन्द्रीय क्याम्पसको स्तरमा सवै विषयमा एमफिल र पीएचडीसम्मको लागि अध्यापन गर्न मिल्ने गरी पूर्वाधार तयार हुँदैछन् भने तदनुसारको ब्यवस्था गरिनुपर्छ ।
 लुम्विनी प्रादेशिक अस्पतालको गुरु योजना वनेकै छ । तदनुसारको निर्माण गर्न वजेटको ब्यवस्था गर्ने र संघीय सरकारले वनाउने भनेको शिक्षण अस्पताललाई द्रुत गतिमा अगाडि वढाउँदा बुटवल स्वास्थ्य पर्यटनको हव बन्न सक्छ । सामुदायिक रुपमा सञ्चालित सिद्वार्थ वाल तथा महिला अस्पताललाई सिटी अस्पताल वनाउने र गौतमवुद्व मुटु अस्पतालको स्तरोन्नति गर्ने हो भने विशिष्टीकृत स्वास्थ्य सेवालाई सहज वनाउन सकिन्छ र चमत्कारिक परिवर्तन आउनेछ ।
यसवाहेक पर्यटनका पूर्वाधार खडा गर्ने काम अर्को महत्वपूर्ण कार्य हो । प्रदेशकै सवैभन्दा ठूलो रामापिथेकश जुलोकिल पार्क र जियोलोजिकल पार्कको अवधारणा प्रदेश सरकारले ल्याएको छ । यसलाई अगाडि वढाउँदा पर्यटनको क्षेत्रमा उल्लेख्य परिवर्तन हुनसक्नेछ । 
अन्तमा सरकारले एउटा निर्णय गरेर यस क्षेत्रलाई वित्त राजधानी घोषणा गरोस् । यसका अधिकार क्षेत्र, सिमा के के हुन सक्छन् ? त्यसको निक्र्यौल गरोस् । अधिकार सम्पन्न आयोग वनाओस् । उद्योग ब्यापार ब्यवसाय गर्नेलाई सहजीकरण गर्ने काम यसले गरोस् । परियोजना वैंक स्थापना होउन् ताकि नयाँ उद्योग ब्यवसाय गर्नेलाई कुनै अफ्टेरा नआउन् । दु्रत मार्गवाट कम्पनी दर्ता, खारेज, वैंकिङ्ग सुविधा होस् । वन्द हड्ताल निषेधित क्षेत्र वनाइयोस् । कर तिर्दा घुस खुवाउन नपरोस् । र यहाँका ब्यावसायीले पनि विकास निर्माणका काममा अवरोध नगरुन् । जसरी सिद्वार्थ राजमार्गको चौराहा गोलपार्क र कालिका पथमा भएको छ । यस्ता तमाम सुविधा दिएर साँच्चैनै कार्यक्रम वनाउने हो भने राजधानीको क्षतिपूर्ति हुनसक्छ । यो कामको अगुवाई प्रदेश सरकारलेनै गर्नुपर्छ । २०७७ असौज २४

प्राप्त प्रतिकृयाहरू

To Top