आइसोलेसनको तेस्रो दिन

स्वास्थ्य असोज १० 2077 ekhabarnepal
119609559 3312969002083259 1214814855092196933 n

डा. राजेन्द्र खनाल
बिश्वब्यापी भएको कोरोना संक्रमणको महामारीमा लुम्बिनी प्रादेशिक अस्पतालको प्रमुखको हैसियतमा यस क्षेत्रका जनताहरुको उपचार ब्यवस्थापनमा गरेको नेतृत्वदायी भूमिकालाई कदर गर्दै मलाई प्रदेश ५ को सरकारले क श्रेणीको प्रदेश सेवा समर्पण पदकको लागि सिफारिस गर्यो।प्रदेश ५ को सरकारले यसपटक थुप्रै स्वास्थ्यकर्मि साथीहरूलगायत  यस क्षेत्रको सेवामा समर्पित स्व. डा. चित्र प्रसाद वाग्ले दाई मरणोपरान्त लाई सम्झेकोमा धेरै धेरै धन्यवाद दिनुपर्छ। कोभिड उपचार ब्यवस्थापन अन्य प्रदेशभन्दा फरक मोडलको छ प्रदेश ५ को।
त्यसको १ हप्ता नबित्दै मलाई एक्कासि १२ घन्टा को अवधिमा रुघा खोकीभन्दा अस्वभाविक किसिमको आएको ज्वरो , सुख्खा खोकी र शरीर थिल्थिलो हुनेगरी भएको दुखाइले शंका लागि असोज ८ गते बिहान पी सी आर टेस्ट गराउंदा कोरोना संक्रमणको पुष्टि भयो । असोज ७ गते दिउसोतिर कता कता जीउ दुखेजस्तो त भएको थियो । अघिल्लो दिन दौडेर कडा एक्सर्साइज गरेको भएर होला भनेर शुरुमा त्यति वास्ता गरिन । काममा खटिंदा भएको मानसिक र शारीरिक थकानले पनि होला भन्ने सोंचे।तर त्यस दिन घरतिर अफिसबाट चांडै आएं। बेलुकीको खानापछि १० बजेतिर सुतेको मान्छेलाई एक्कासि घांटी कोक्क्याएजस्तो गरेर सुख्खा खोकीले मध्य राति १ बजेतिर उठायो। खोकी संगै ब्युझिंदा ज्वरो आएको महशुस भयो , शरीर पूरै थकित छ। कता कता ज्वरो र दुखाई कम गर्न एउटा ट्याब्लेट खाएर निदाउन कोशिस गरें।बिहान उठ्दा ज्वरो अझै बढेको थियो, खोकी छंदै थियो। बिहान नै स्वाब निकालेर टेस्ट गर्न पठाइयो। अफिस गइन। दिउसो ज्वरो १०३ डिग्री सम्म रेकर्ड भयो , खाना हेर्नै मन लागेन। खोकीले बोल्न पनि गार्हो भएकोले फोन स्विच अफ पनि गरें। तर स्वास प्रश्वासमा भने समस्या महशुस थिएन। 
बेलुकी पोजिटिभ रिपोर्ट आएपछि फेसबुक स्ट्याटसमै राख्दिएं। समाचार फ्ल्यास भयो।धेरै धेरै शुभेच्छुकहरुबाट चांडै निको हुनुसू भन्दै शुभकामना  सन्देशहरु प्राप्त भए, अझै प्राप्त भै राखेका छन।कति मित्रहरुले हाम्रा परम्परागत आयुर्वेदिक पध्दतिका औषधिको पनि ट्रायल गरेर पनि हेर्ने कि डाक्टर साब भन्दै सेवनको लागि घरमै आई भेटेर छाड्नुभएको छ। हिंजो स्वयं माननीय सामाजिक बिकास मन्त्री सुदर्शन बरालज्यू मेरो स्थिति बुझ्न घरमै आउनुभयो, स्वास्थ्यलाभको कामनासहित हौसला बढाएर जानुभएको छ।मलाई लाग्छ, यी सबै शुभेच्छा र सदभाव मेरा लागि सम्मानका अलंकारहरु हुन। म र मेरो टीमले बिषम परिस्थितिमा पनि जीवन रक्षाको लागि गरेको प्रयासको उच्च मुल्यांकन हो। 
मेरो स्वास्थ्य स्थिति सुधार हुंदै गएको महशुस भएको पनि छ। सबैलाई थाहा छ यो भाइरसको संक्रमण रुघाखोकी लगाउने भाइरसको संक्रमण जस्तै हो।तर , मेरो भोगाइले सामान्य रुघाखोकि भन्दा  अस्वभाविक लक्षण हुंदोरहेछ।यसको संक्रमण क्षमता जसलाई एउटा ब्यक्ति संक्रमित भए उबाट कति नयाँ ब्यक्ति संक्रमित हुन्छन भन्ने सन्दर्भमा सामान्य रुघाखोकी  फ्लु को भन्दा दोब्बर दुइ देखि तीन ब्यक्त्ती औसतमा संक्रमित हुने रिसर्चले भनेका छन। अर्को यसमा चुनौती भनेको लक्षण नदेखिंदै पनि संक्रमित ब्यक्तिले अरुलाई भाइरस सारेको हुन सक्ने भयो। हुन त लक्षण देखिने मान्छेमा भाइरसको संख्या तुलनात्मक बढी होला । तर लक्षण भन्ने कुरा पनि शरीरभित्र भाइरस प्रबेश गरेपछि सेता रक्तकोषहरुको प्रतिक्रिया पछि निस्किने रसायनका कारणले हुने हो, जुन कुरा अर्थात प्रतिरोधात्मक क्षमता ब्यक्ति पिच्छे फरक हुन सक्छ भनौं भने मान्छे जन्मिंदै लिएर आएको जेनेटिक बिशेषतामा पनि भर पर्छ। यो भाइरसले नाक, मुख ,आंखाका झिल्लीलाई प्रवेश बिन्दु बनाए पनि प्रमुख शिकार  फोक्सोलाई बनाउने हो। छातिको एक्स रे गर्दा आउने फोटोमा सी टी स्क्यानमा भने त्यस्ता परिबर्तन अलिक देख्न सकिने हुन्छ आउने परिबर्तन अगाडि नै रगतमा अक्सिजनको मात्रा घट्न सक्ने रहेछ।
मलाई अंस्ति धेरै नै अप्ठ्यारो भएको थियो  उच्च ज्वरो, खोकी र शरीर दुखाइले। तर श्वास प्रश्वासमा गार्हो भएको थिएन र, अहिले पनि छैन।अंस्ति रगतमा भएको अक्सिजनको मात्रा ९४–९५ प्रतिशत थियो। हिंजो बिहान मापन गर्दा ९३–९४ प्रतिशत भएकोमा दिउसो खिंचेको एक्सरे ठिकै भए पनि श्वास फेर्न अप्ठ्यारो नभए पनि  फिजिसियनबाट निरन्तर मोनिटरमा रहन सल्लाह र चुपचाप यो घट्ने क्रममा रहे मेरा अमेरिका र यु के मा भएका साथीहरूसंग कन्सल्टेशन गरेर अन्य इन्टेन्सिभ औसधि जस्तै स्टेरोइड र ह्रेपारिन चलाउन पर्ने पो हुन्छ कि सुझाव रह्यो।बेलुकि अक्सिजनको मात्रा हेर्दा ९५ प्रतिशत भन्दा तल झरेको थिएन।आज बिहान उठ्दा अलिक फ्रेश महशुस भएको छ। ज्वरो छैन, खोकी हराएको छ, जीउ दुख्ने धेरै कम भएको छ।मात्रै जिब्रोको स्वाद क्षमतामा फरकपना लाग्दैछ। अक्सिजनको मात्रा ९६–९८ प्रतिशत छ। अब यो अचम्मले अक्सिजनको मात्रा घट्ने  साइलेन्ट हाइपोक्सियाको खतराबाट बाहिर निस्किएजस्तो लागेको छ। हिंजो मलाई मोनिटरले देखाएको अक्सिजन लेभल आफूलाई सास फेर्न गार्हो नभएकोले त्यति महत्व दिएको थिइन, जसलाई कोभिडको सन्दर्भमा ह्याप्पी हाइपोक्सेमिया पनि भनिन्छ।
यसले झुक्क्याउने पनि हुंदा लक्षण भएका होम आइसोलेशनमा रहेका कोभिड्का बिरामीले ९५ प्रतिशत बाट अक्सिजनको मात्रा ओरालो लागेको खन्डमा  तुरुन्त रिपोर्ट गर्न नयाँ दिल्लीस्थित एम्सका डाक्टरले सुझाएका छन्। किन हुन्छ त यस्तो ? यो जटिल प्रक्रिया छ बुझ्नको लागि । खासमा भाइरसले फोक्सोका मसिना रक्तनलि अर्थात् केशिकाको भित्री तहलाई क्षति पुर्याउंछ र नलिहरुमा रगत जम्न गई फोक्सोमा पुगेको बायुबाट अक्सिजन राम्ररी रक्त संचार प्रणालीमा पूरा मात्रामा आउन पाउंदैन।तर फिजिसियनको सल्लाह र थप अध्ययन अनि आफैंमा देखिएको परिबर्तन मेरो लागि शिक्षा हो। र, अरुले पनि बुझ्न पर्ने कुरा जस्तो लागेको छ।यसदेखि बाहेक पनि शरीरमा अरु जटिल प्रतिक्रिया  जस्तै हाम्रो भाषामा ूसाइटोकाइन स्टोर्म भएर पनि अझ अप्ठ्यारो हुन सक्ला ? अहिल्यै  पूरै खतरा मुक्त छु पनि नभनौं।
४ दिन २२ सेप्टेम्बरमा गरिएको अमेरिकाको हारवार्ड मेडिकल स्कूलको अपडेटमा यो भाइरसको नयाँ रुपान्तरित म्युटेन्ट भाइरस  D 614 G को बारेमा जानकारी दिइएको छ। यो भाइरस कतै मानव समुदायको लागि कतै ज्याद्रै रुपमा रहिरहने हो कि ? सबैमा संत्रास छ।भ्याक्सिन २०२१ सम्म उपलब्ध हुने बिश्वास गरिएको छ। भाइरसको लागि पक्का यहीं औषधि भनेर किटिएको छैन। सबै रिसर्च र ट्रायलमा छन।अहिलेसम्मको सबै उपचार बिधि शरीरलाई सुबिस्ता बनाई  जस्तै अक्सिजन, नशामा पानी , भेन्टिलेटर इन्जिन चालु अवस्थामा रहने बनाउने हो।
यता मैले पनि परम्परामा चलेको तातो पानीको बाफ, नेपालीको खेतबारीमा हुने दालतरकारीमा प्रयोग भएका औषधीजन्य भनेर बिश्वास गरिएका तर बैज्ञानिक हिसाबले टेस्ट नगरिएका  एन्टि अक्सिडेन्ट इम्युन बुस्टर भनेर कहलिएका मसलाहरुको आफैमा ट्रायल गरिराखेको छु।
सामान्यतस् मैले आधुनिक औषधि बिज्ञान एलोप्याथिक मेडिसिनको बिध्यार्थी भएर बुझ्दा धेरै जसो भाइरसको संक्रमणलाई शरीरको आफ्नो आन्तरिक संयन्त्रले निश्चित समय अवधिमा आफैं काबुमा ल्याइदिन्छ, त्यसमा सपोर्ट मात्र चाहिन्छ। नेपाल औषधिजन्य जरीबुटि हुनेमा संसारकै अग्र स्थानमा छ होला। तर, खै तरु आयुर्वेद क्षेत्रका बिज्ञहरुले गरेको बैज्ञानिक अनुसन्धान । कतै यहीँ मेलोमेसोमा सन १९२७ मा अलेक्ज्यान्डर फ्लेमिङ्ले शुरुको एन्टिबायोटिक औषधि  पेनिसिलिन पत्ता लगाए जस्तै कोभिडको औषधी नेपालमै  पत्ता लाग्छ कि ?

प्राप्त प्रतिकृयाहरू

To Top