कोरोना वढ्ने अनुमान ः परीक्षण, ट्रेसिङ र जीवनशैलीमा परिवर्तन गरौं

बिचार भाद्र ९ 2077 ekhabarnepal
Dr ghimire

डी.आर. घिमिरे
मैले हिजोनै भनेको थिएँ । उपभोक्ता हित संरक्षण मञ्चले आयोजना गरेको गुगल वैठकमा भएका महत्वपूर्ण विषय उठाउने छु । खासगरी राष्ट्रिय रुपमा कोरोनाको अवस्थावारे हिजोको वैठकमा धेरै कुरा जान्ने अवसर मिल्यो । मञ्चको केन्द्रीय समितिप्रति त आभारीनै छु । त्यसवाहेक महासचिव बाबुराम हुमागाई जसले समग्रतामा भएगरेका तथ्य तथ्यांक प्रस्तुत गर्नुभयो र मलाई पनि भोक जगाउनु भयो उहाँप्रति पनि आभार प्रकट गर्दछु । म आफुलेपनि क्वारेन्टाइन वसाईका अनुभव प्रस्तुत गर्न पाएँ जुन कुरा यस अघिनै मैले सार्वजनिक गरिसकेको छु । 
आज एउटै विषयमा केन्द्रीत भएर नलेखेकोले टिपनटापनको रुपमा पाँच वटा शिर्षकमा उल्लेख गरेको छु । पाठकको न्यानो मायाँ र उर्जा प्राप्त भएकै छ । आवश्यक सुझाव र प्रतिक्रियाको अपेक्षा छ ।

१. आइसोलेसन पश्चात्को परीक्षण नहुँदा भयावह हुनसक्छ ः

प्रारम्भिक दिनमा नेपालमा मृत्यु दर अत्यन्तै कम थियो । त्यो देखेर हामी खुशी भयौ र स्वअनुशासनमा रहन सकेनौं । जसको परिणाम क्रमसः देखिन थालेको छ । अहिले त विश्वको तुलनामा नेपालमा कोरोना निको हुने दर १० प्रतिशत कम भइसकेको तथ्यांकले वताएको छ ।
सरकारी तथ्यांक अनुसार १ महिना पहिला साउन ७ गते संक्रमणमुक्त भएर जाने ७०.१ प्रतिशत थिए । १ महिनाको बीचमा निको हुने दर ११.२ प्रतिशतले कमी आयो । भदौ ५ गते ५९.८ प्रतिशत रह्यो ।  
विश्वमा अहिले २ करोड ३४ लाख ९०० जना संक्रमित छन् भने १ करोड ५९ लाख ३५ हजार ४७३ जना निको भएर घर फर्किसकेका छन् । अर्थात् निको हुनेको संख्या ६८.१ प्रतिशत हो । नेपालमा ६ लाख ४४४ जनामा पीसीआर परीक्षण गर्दा ३१ हजार ९३५ जनामा संक्रमण देखिएको छ । सोमध्ये १८ हजार ६३१ जना संक्रमणमुक्त भइ घर फर्किसकेका छन् । जुन ५८.३ प्रतिशत हो । 
विश्वमा अहिलेसम्म ८ लाख ९ हजार ९८६ जनाको कोभिड–१९ संक्रमणबाट मृत्यु भइसकेको छ । यो भनेको मृत्युदर ३.५ प्रतिशत हो । नेपालमा अहिलेसम्म १४९ जनाको संक्रमणबाट ज्यान गइसकेको  जुन ०.४७ प्रतिशत हो । नेपालमा ११ हजार ४१४ जना क्वारेन्टीन र १३ हजार १५५ जना आइसोलेसनमा रहेका छन् । यसरी हेर्दा मृत्यु हुनेको संख्या विश्वको तुलनामा कमनै छ तथापि एक दुइ हप्ता यता जसरी वढ्दै गएको छ त्यस आधारमा वढ्न सक्ने अनुमान गर्न सकिन्छ ।
जहाँसम्म निको नहुनेको संख्या वढ्दै गएको देखाइएको छ, यसमा गडवडी छ कि भनेर भन्न सकिने अवस्था यस कारणले सृजना भएको छ कि संक्रमित ब्यक्ति जव आइसोलेसनवाट निस्कन्छ उसलाई सिधै घर पठाइन्छ । ठिक भयो वा भएन ? के अनुमान मात्र गर्नु उचित हो ? मैले यसवारे लुम्विनी प्रादेशिक अस्पतालका मेसु डा. राजेन्द्र खनाललाई सोध्दा उहाँले पनि आइसीयूमा रहेकालाई वाहेक अन्यलाई परीक्षण नगरिएको वताउनुभयो । परीक्षण नगरिएकालाई निको भएको भनेर गणना गर्ने कुरा भएन । वा गरिएको होला ? कथं गरिएको छ भने त्यो पनि गलतनै भयो ।
यसवाहेक कैयौं जना होम आइसोलेसनमा छन् । उनीहरुको गणना झन् कसरी भए होला ? त्यसैले सरकारले तयार गरेको सम्पूर्ण तथ्यांकनै गलत छ कि ? यसवारेमा सरकारको ध्यान जान जरुरी छ । यसवारे मैले एकजना स्वास्थ्य मन्त्रालयका अधिकारीसंग कुरा गर्दा यस्तो नहुनु पर्ने भनेर उल्टै मेरो कुरा सुनेर आश्चर्य प्रकट गरे । 
अव अर्को एउटा समस्या पनि देखिनेवाला छ । त्यो के भने अव विस्तारै गंभीर अवस्था नआएसमम परीक्षणनै नगर्ने । यो अवस्था आइसकेको छ । भैरहवामा एक दुइजनाले लक्षण देखिएपछि           स्वआइसोलेसनमा वसे । आयुर्वेद औषधिको प्रयोग गरे । कसैलाई भनेनन् । नत परीक्षणनै गरे । रुपन्देहीकै फर्साटिकर क्षेत्रमा परीक्षण गर्दा पोजेटिभ देखियो । सामान्यतः नाम सार्वजनिक नगरिने भएकोले घरमै आइसोलेसनमा वसे । आयुर्वेद औषधि खाए । एक हप्तापछि निजी रुपमा परीक्षण गरे । नेगेटिभ आयो । कसैले थाहा पाएनन् ।
मलाई लाग्छ अव यस्तो संख्या बढ्नेवाला छ । यसका पछाडि दुईवटा कारण छन् । पहिलो समाजले गर्ने ब्यवहारका कारणले पनि यो प्रवृत्ति आउने संकेत देखिएको छ । सामाजिक हिंसा सहनुभन्दा चूप लागेर वस्नु ठिक भन्ने अवस्था आउँदा त्यो खतरा हुनेछ । दोश्रो होम आइसोलेसनमा वस्नेहरु कतिसम्म सचेत् होलान् ? अलग कोठा र शौचालयको ब्यवस्थापन, घरायसी वातावरण सवैमा भर पर्ने भएकोले त्यसप्रकारको ब्यवस्थापन होला कि नहोला ? घरभित्रै भुषको आगो लागेजस्तै लाग्ने हो कि ? यिनको निगरानी कसले गर्ने ? छिमेकीहरु त्यो क्षेत्रमै नगएपछि उनीहरुमा समाजप्रति उत्पन्न हुनसक्ने वितृष्णा तथा गैरजिम्मेवारीले कहाँ पुर्याउला ?

२. युवाहरुमा वढ्दो संक्रमण ः 
नेपालमा कोरोना (कोभिड–१९) संक्रमितको संख्या हेर्दा युवाहरुको संख्या वढी देखिदै जान थालेको छ । अन्य देशमा वृद्वहरुको संख्या र विभिन्न रोगवाट पीडितहरु छन् भने नेपालमा ठिक यसको विपरित । पछिल्ला दिनमा दैनिक ७÷८ शयको हाराहारीमा संक्रमित देखिनु चिन्ताको विषय हो । यो संख्या त्यतिन्जेल वढ्ने छ जतिन्जेल मान्छेले लापरवाही गर्दै जानेछ । वढ्ने संख्या हेर्दा केवल कन्ट्याक्ट ट्रेसिङका आधारमा मात्र हैन त्योभन्दा वाहिरकानै धेरै रहेको पाइएको छ ।
हिजो उपभोक्ता हित संरक्षण मञ्चको भर्चुअल वैठकमा महासचिव बाबुराम हुमागाईले वडो रोचक तथ्यांक प्रस्तुत गर्नुभएको थियो । त्यसले डरलाग्दो संकेत गरेको पाइन्छ ।
सवैभन्दा वढी प्रतिरोधात्मक क्षमता हुनुपर्ने २१ वर्षदेखि ३० वर्षसम्मका युवानै सवैभन्दा धेरै अर्थात् ३६.६ प्रतिशत संक्रमित छन् । ३१ वर्षदेखि ४० वर्षसम्मका युवा २४.६ प्रतिशत हुनु भनेको जम्माजम्मी ४० वर्षभित्रका युवाहरुको संख्या ६१ प्रतिशत हुनु हो । ४१ देखि ५० वर्षका १२.४ र ६१ देखि ८० वर्षको हेर्दा ३.६ प्रतिशतमात्र देखिन्छ । यसले राम्रो संकेत गर्दैन ।
यसको मूल कारण के होला ? मेरो विचारमा १८—२० वर्षदेखि ४० वर्षसम्मको ब्यक्ति वढी घुमफिर गर्छन् । अझै ३१ वर्षभन्दा कमका युवा सवैभन्दा वढी घुम्छन् । प्रायः अविवाहित उमेरका यो समुहका युवा घरभन्दा साथीहरुसंगै रमाउँछन् । प्रायः अभिभावकले भनेको मान्दैनन् । 
यो तथ्यांकका आधारमा अनुमान गर्न सकिने के छ भने त्यस्ता युवाहरुले घरमा रहेका ज्येष्ठ नागरिक वा वुढावुढीलाई संक्रमित गराउन सक्छन् । विना लक्षणका संक्रमितले यस्तो गर्ने सम्भावना कैयौं गुना वढी हुने भएकोले संक्रमितको संख्या थप हुने अुनुमान गर्न सकिन्छ । 
यसका लागि युवाहरुमा वढी जागरण ल्याउन जरुरी छ । यद्यपि यो उमेर समुहकै ब्यक्तिहरुमा छिटो निरासा आउन पनि सक्छ । डिप्रेसनको सम्भावना पनि वढ्न सक्छ । कलेज पढ्ने उमेरका युवाहरुमा समय विताउने समस्या पनि हुनसक्छ । अलिकति समय कलेजले लिन्थ्यो त्यो पनि ठप्प छ । त्यसैले भर्चुअलनै भएपनि कलेजको पठनपाठनलाई अगाडि वढाउनुपर्छ ।
मृत्युको अवस्था हेर्दा भने २१—३० को ०.०९ प्रतिशत, ३१—४० को  ०.१९ प्रतिशत छ । सवैभन्दा वढी मर्नेहरु ८० वर्षभन्दा माथिकै छन् । धेरैजसो अन्य रोगका कारणलेनै मृत्यु भएको छ । यो समुहको मृत्यु दर १२.३५ प्रतिशत छ ।

३. पुरुष संक्रमित दुइतिहाईभन्दा वढी ः 
तथ्यांकले महिलाभन्दा पुरुष दुइतिहाई भन्दा वढी संक्रमित देखिन्छन् । अर्थात् ८० प्रतिशत पुरुष र २० प्रतिशतको हाराहारीमा महिला । कहिलेकाँही ९२ प्रतिशतसम्म पुरुष देखिएका छन् ।
 यसको कारण के होला ? मेरो विचारमा लकडाउन भएपछि महिला घरमै वसे । पुरुष वाहिर निस्के । महिलाभन्दा पुरुषको हिडडुल वढीनै छ हाम्रो समाजमा । जागिरे महिला पनि घरवाट निस्केपछि कार्यालय र त्यसपछि घरमै आउँछन् शायद । पुरुष साथीहरुसंग रम्छन् । त्यसैले पुरुषको संख्या वढी भए होला । संवेदनशलिताको हिसावले पनि महिला वढी देखिए । उनीहरुले नियम पालना वढी गरे र धेरै समय घरलाईनै दिए । 

४.कोरोना र प्रदेश ५ ः
प्रदेश ५ कोरोना महामारीका हिसावले चौथो नम्वरमा आउँछ । अथवा ठिक्क वीचमा छ । अहिलेम्म मृत्युको गणना गर्दा सवैभन्दा धेरै २ नं. प्रदेशमा ६४ जना छन् । वाग्मतिमा ३१ जना, १ नं. र ५नं. मा १७÷१७ जना, सुदुर पश्चिममा ८ र कर्णलीमा ४ जना छन् ।
त्यस्तै संक्रमणका हिसावले जनसंख्यालाई आधार मान्दा प्रति १ लाखमा प्रदेश १ नं. मा ५६.७, प्रदेश २ मा १५३.४, बाग्मति प्रदेशमा ७५.३, गण्डकी प्रदेशमा ८०.१, प्रदेश नं.५ मा ११२.५, कर्णलीमा १३२ र सुदुर पश्चिममा १८८ छन् । यो हिसावले जनसंख्या कम भएका कारण सुदुर पश्चिममा धेरै देखिए । 
तर, जिल्लामा गएर हेर्दा काठमाण्डौ हटस्पट हो । पाँच शयभन्दा वढी संक्रमित भएका जिल्लामा त्यसपछि क्रमसः पर्सा, बारा, रौतहट र मोरंग छन् । 
गर्नुपर्ने के हो ?
मुख्य रुपमा कन्ट्याक्ट टे«सिङनै यसको प्रभावकारी उपाय हो । दक्षिण कोरिया, भियतनाम र जर्मनले राम्रो गरी नियन्त्रण गर्न सकेको पाइएको छ । उनीहरुले टे«सिङनै राम्रो गर्न सकेकाले सफल भएको वताइएको छ । हामीकहाँ टे«सिङनै गर्दा संक्रमित ब्यक्तिसंग जोडिएका मात्र खोजिन्छ भने ती देशहरुमा संक्रमतसंग जोडिएकाको पनि टे«सिङ गरिदो रहेछ ।
यद्यपि यो अनावश्यक रुपमा गर्नुपर्ने विषय हैन । तर, नेपालमा अहिले पछिल्लो पटक श्रोतनै थाहानै नभएका ब्यक्तिलाई पनि संक्रमण भइरहेको छ । यसले गर्दा मास्कलाई राम्रोसंग प्रयोग गर्नु उचित हुनेछ ।

५. चिनी लहरो कोरोनाको औषधि हैन
चिनी लहरो वढी खाने गरेका कारण बुटवलका एकजना संक्रमितलाई अस्पताल लैजानुपर्यो । ज्वरो वढेपछि कोरोना विशेष अस्पतालमा लगिएकोमा प्रेसर लो भएको पाइयो । वुझ्दै जाँदा चिनी लहरो अथवा गुर्जो वढी खाएको अनुमान गरियो । मसंग यसवारेमा हिजोनै डा. वद्री गौतमसंग कुरा हुँदा ठ्याक्कै यही भन्नुभएको थियो । 
खासमा चिनी लहरो डेंगुमा प्लेटलेस वढाउनका लागि प्रभावकारी हो । कोरोनाका लागि वरु अश्वगन्ध खानुपर्छ । चिनी लहरो खाँदा धेरै नोक्सान नगर्ने भएपनि दिनमा दुइ पटक विहान वेलुका मात्र खाए हुन्छ भन्ने सल्लाह पाएको थिएँ । त्यो पनि कति खाने भन्ने हुन्छ । यसका लागि ठिक्क चिया कपमा एक कप खानु ठिकै होला । संगसंगै तातो खाने नाममा धेरै तातो खाने अर्को चलन छ । यो पनि गलत हुँदो रहेछ । तातो भनेको शरीरको तातो वरावर अथवा शरीरले सजिलो गरी सहन सक्ने मनतातो खानु पर्ने रहेछ । यसमा पनि अतिवाद छ । यस्ता अतिवाद हटाउनुपर्छ ।
त्यसपछि मलाई एक जना प्राकृतिक चिकित्सक डा. चन्द्रकान्त वश्यालले भनेको कुरा याद आयो । उहाँले भन्नुभएको थियो । शरीरलाई चाहिनेभन्दा वढी कुनै पनि चिज दिनु हुँदैन । शायद मैले शरीरलाई खासै असर नपर्ने कुनै आयुर्वेदजन्य वस्तु खाँदा के भो र भनेको थिएँ । विषय ठ्याक्कै के थियो अहिले भुलें । अनि उहाँले भन्नुभएको थियो—नचाहिने चिज शरीरलाई किन दिने ? बरु सादा पानी पिउनुस् । वढी भएपछि जुनसुकै कुराले पनि असर गर्छ । मलाई त्यो कुरा ठिकै लाग्यो । अहिले चिनी लहरोको सन्दर्भमा यो कुरा लागु भएजस्तै लाग्यो । यसैले त भनिएको होला नि धेरै खायो भने गुण पनि तितो हुन्छ भनेर । त्यसैले जुनसुकै चिज पनि ठिक्क खाऊँ ।
२०७७ भाद्र ०९


 

प्राप्त प्रतिकृयाहरू

To Top