कोरोना भाइरस बाघ झैं झम्टन आउँदैन

बिचार भाद्र ८ 2077 ekhabarnepal
Dr ghimire

डी.आर.घिमिरे
आज क्वारेन्टाइनको दशौं दिन । विहान उठेदेखिनै एउटा आलेख तयार गर्ने मुडमा थिएँ । नभन्दै उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय अध्यक्ष ज्योति वानियाले म्यासेन्जरमा कल गर्नुभयो र साँझ ६ वजेको गुगल मिटिङमा आइसोलेसनको अनुभूति प्रस्तुत गर्न भन्नुभयो । मैले लेखनै तयार गर्दैछु भनें । संयोग त्यस्तै परेछ ।
सधैभन्दा १५ मिनेट छिटो उठेर छततिर गएँ । क्वारेन्टाइनमा वस्न थालेदेखि विहानी दौड छतमा हुने गरेको छ । आधा घण्टा दौडेपछि ४.२ किमि भएछ । त्यसपछि एकछिन योगा गरें । पहिला हिडडुल गर्दा योगा गरिदैनथ्यो । अहिले थोरवहुत गर्न थालेको छु । यसले मेरो ढाड दुखाई कम भएको छ । अर्थात् ढाड सोझो वनाएर वस्न सक्ने क्षमता वढाएको छ । यो पनि लाभदायकनै भयो ।
वास्तवमा दश दिनसम्म घरको गेटवाहिर ननिस्केर निर्वाह हुँदो रहेछ भन्ने अनुभूति भएको छ । अहिले त वानीनै परेर हो कि निस्कन पाए हुन्थ्यो भन्ने पनि लाग्न छोड्यो । यस अवधिमा प्राप्त केही अनुभूतिजन्य कुरा यस आलेखमा राख्ने विचारमा छु । ता कि सवैले शिक्षाको रुपमा ग्रहण गर्न सकियोस् । आज दशौ दिनको क्वारेन्टाइन । किरियावस्दा पनि १० दिनमा ढिकुरो फोर्ने चलन हुन्छ । ढिकुरो फोरेपछि क्रियापुत्रीवाहेकलाई नुन पनि फुक्छ । त्यसैले आज नुन फुकेको पनि अनुभूति गरेको छु मैले । साँच्चिनै आज गेट वाहिर निस्कन मन लागेको हो विहानै तर, सोंचे कम्तिमा एउटा कर्म त गरु । त्यसैले यो लेखमार्फत् कर्म पूरा गर्दैछु र भोलि विहानदेखि एकछिन हलका दौड्ने प्रयास गर्नेछु । यति भनिरहँदा क्वारेन्टाइन र आइसोलेसनको भिन्नतावारे उल्लेख गरिन । किनकि शायद सवैले थाहा पाइसक्नु भएको छ । 
साँच्चिनै होम क्वारेन्टाइन वा होम आइसोलेसनको कुरा मैले वैशाख जेठतिर एक दिन उठाएको थिएँ । संयोग आफैले प्रयोग गर्ने अवसर मिल्यो । अवसर यस अर्थमा कि केही शिक्षा लिन पाएकोले ।
पहिलो दिनको कुरा हो एक प्रकारको सन्नाटा छायो । केही शुभचिन्तकहरुले गाउँभरी सूचना प्रवाह गर्दै हिड्नुभयो । कतिपयले मोवाइलवाटै खवर गरेर एइ त्यतातिर नजानु, कोरोना आएको छ भनेर सन्देश दिनु भएछ । कुरा आफ्नो मात्र थिएन नगिचका आफन्त इष्टमित्रहरु पनि एक प्रकारले समाजवाटै आइसोलेसनमा पर्नुभएछ । साँध जोडिएकालाई कति समस्या परे होला ? उस्तै परे वच्चावच्ची आउँदा पनि नछुने अवस्था आएछ । हामी त घरभित्रै थियौं । वाहिर हुनेलाई झन् वढी समस्या ।
अनेक कुरा उठेपछि ठोक्किएर कुरा हामीसंग पनि आउँथे । मैले यसलाई सहज रुपमै लिएँ । कम्तिमा जागरण ल्याउन उहाँहरु सवैले प्रयत्न गर्नुभयो । वास्तवमा यसरीनै जागरण ल्याउने हो भने कोरोनावाट धेरैलाई मुक्त गर्न सकिन्छ कि जस्तो पनि लाग्यो ।
यो सवै सुनेपछि थप एउटा कुरा गरेको भए अझै राम्रो हुने थियो कि जस्तो लाग्यो । त्यो के भने मास्क नलगाई नहिडौं । संगै हिडडुल गर्दा नारिएर, जेलिएर वा गला मिलाएर नहिडौं । कानेखुशी त ठ्याक्कै नगरौं । अव एकान्त वस्ने वा खुराफात गर्ने जमाना गए । जे हुन्छ खुलेआम हुन्छ । यस्तो भनेको भए अझै प्रभावकारी हुन्थ्यो कि ?
यद्यपि सकारात्मक पाटा धेरै छन् । प्रायः दिनहुँ केही ल्याउन पर्ने भए खवर पाऊ भनेर फोन गर्नेको संख्या धेरै छ । त्यसरी ल्याउनेको संख्या पनि कमी छैन । हरेक दिन केही न केही मगाइएकै हुन्छ र आउँछ पनि ।
माथिका केही कुरा मैले किन भनेको हूँ भने कोरोनाले केही भ्रम सृजना गरेको छ । जस्तो कि संक्रमित ब्यक्तिलाई देख्दासाथ कोरोना भाइरस बाघ झैं झम्टन आउँछ कि भन्ने मनोविज्ञान छ । एउटै घरमा सवै परिवार संगै वस्दा पनि यसले केही गर्दैन । गरेको छैन । मात्र यससंग लसपस हुनुहुन्न । 
बरु सम्झनुपर्ने कुरा के हो भने एक पटक संक्रमित ब्यक्तिको रगत जसलाई मेडिकल भाषामा प्लाज्मा भनिन्छ को प्रयोगवाट अर्को संक्रमितको उपचार हुन सक्छ । जसलाई प्लाज्मा थेरापी भनिन्छ । लुम्विनी प्रादेशिक अस्पतालमा आजैवाट यसको शुरुवात भएको छ । देशका अन्य भागमा सफल परीक्षण भइसकेको छ । त्यसैले संक्रमितलाई हिंसा हैन सुरक्षा गर्दै भोलिका दिनमा अर्को कसैको जीवन वचाउन सक्ने भएको सक्झनुपर्ने हो कि ?
संयोगनै भन्नुपर्छ हिजो मैले जनस्वास्थ्य विज्ञ तथा काठमाडौं विश्वविद्यालयकी सहप्राध्यापक डा. अर्चना श्रेष्ठको एउटा लेख लकडाउन नगरौं, यी दुई काम गरौं भन्ने पढेको थिएँ । यो कुरा मैले पनि सोंचेकै थिएँ तर उनको कोड किन गर्दैछु भने त्यसो गर्दा ममाथि हुन सक्ने आक्षेपवाट वँच्न सकिन्छ ।
उनले भनेका दुइवटा काम अरु केही हैनन् । पहिलो भीडभाड नगर्ने, भौतिक दूरी राख्ने, कसैले कसैलाई प्रत्यक्ष नछुने, मास्क लगाउने र हात धुने । दोश्रो संक्रमितलाई घुमफिर गर्न नदिने । जसका लागि आइसोलेसन र कन्ट्याक्ट ट्रेसिङ । यसका लागि उनले दुइवटा उदाहरण दिएकी छन् ।
पहिलो उदाहरण आफन्तको मृत्यु हुँदा १३ दिने काजकिरियामा जसरी गरिन्छ त्यसरीनै अनुशासित भएर बस्ने । हामीलाई थाहा छ त्यस्तो अवस्थामा कसैलाई छुँदैनौं । कसैले दिएको खाँदैनौं र कसैको कपडा लगाउँदैनौं । कतै बाहिर निस्कदैनौं । क्वारेन्टिनमा पनि गर्नुपर्ने त्यही हो ।
दोश्रो आजभोलि कम भएपनि र सवै जातजातिमा नभएपनि हाम्रो समाजमा रजस्वला हुँदा जसलाई चलनचल्तीको भाषामा नछुने पनि भनिन्छ, हो त्यस्तै गर्ने । यसलाई त्यस अवस्थामा पनि गर्नुपर्छ भन्न खाजिएको भने हैन । अर्थात् त्यो पनि भौतिक दूरी कायम राख्ने उपाय हो । अहिले गर्नुपर्ने यही हो । रजस्वला हुँदा घरबाहिर निस्के पनि अरूलाई नछुने गरिन्छ । मानिसको मृत्यु हुँदा १३ दिनसम्म घरमै बसेर बार्ने चलन छ । 
गैर संक्रमितले रजस्वला हुँदा जे गरिन्थ्यो त्यही गर्ने र संकमितले किरिया वसेजस्तो गर्ने । यति हुँदासाथ समस्याको समाधान हुन्छ ।
त्यसोत विभिन्न समयमा डाक्टरहरुसंग ब्यक्तिगत सल्लाह पनि लिइएकै हुन्छ । चैत्र महिनादेखिनै म विभिन्न चिकित्सकसंग परामर्समै छु । प्रायः पहिलोपटक स्वास्थ्य सल्लाह लिने मैले बाबुराम भट्टराईसंग हो । कुन रोगका लागि कुन डाक्टरसंग जाने भनेर म आफु स्पष्ट नभएमा उहाँलाई सोध्ने गर्छु । सोझै सम्पर्क गर्दा डा. नन्दु पाठक, डा.कृष्ण खरेल, डा. सन्तोष पोख्रेल, डा. सुदर्शन थापा, डा. कृष्ण खनाल, डा. प्रायश्चित श्रेष्ठ, डा. विवेक मल्ल आदि हुनुहुन्छ । यसका साथै प्राकृतिक चिकित्सकसंग पनि मेरो राम्रै हिमचिम छ । तीन वर्ष अगाडि रजहर गएर एक हप्ता वसेपछि मलाई त्यसले प्रभाव पारेको हो । अहिले मणिग्राम दीर्घायु हस्पिटलमा डा. चन्द्रकान्त वश्यालसंग पनि धेरै सल्लाह लिने गर्छु । प्राकृतिक चिकित्साको सन्दर्भमा नारायण भुषालसंग पनि सल्लाह हुने गर्छ ।
चैत महिनामा लकडाउन शुरु भएपछि छोरा रोशन लामो समय विरामी भए । घरमै एन्टीवायोटिक औषधि एकपछि अर्को खुवाउँदा हैरान वनायो । करिव तीन महिनासम्म निको नभएपछि मणिग्राम डा. वश्यालसंग गएँ । उनले ग्याष्ट्रिक भएको अनुमान गरे । संयोग अघिल्लो दिन हरिप्रसाद घिमिरेमार्फत् पञ्जाव मेडिकल कलेजका डाक्टरलाई सम्पूर्ण परीक्षण गरेका डकुमेन्ट पठाएकोमा त्यहाँवाट पनि सोही आशंका गरेर औषधि सिफारिस गर्नुभएको थियो ।
ग्याष्टिक वा यस्तै सामान्य हुनुपर्छ भन्दै वुटवल दीक्षा आयुर्वेदका डा. दीपक धितालले पनि सल्लाह दिनु भएको थियो ।
एकदिन कुरैकुरैमा नेकपाकी जिल्ला नेतृ मधुकला कुँवरले पनि त्यस्तै हो कि भन्नुभएको थियो । उहाँ कुनै वेला क्यान्सर हो कि भनेर चिकित्सकको सल्लाहमा भरतपुर क्यान्सर असपतालमै जानुभएको रहेछ । आखिरी ग्याष्ट्रिक रहेछ । पछि शोभाखर पोख्रेलले पनि वुटवल र काठमाण्डौका सवै चिकित्सकसंग देखाउँदा पनि निको नभएपछि काठमाण्डौमै एक जनाले ग्याष्टिकको टुंगो लगाएर कुनै औषधि विनानै पठाएछन् र त्यसै गरी निको भएछ । यस्ता धेरै अनुभव प्राप्त भएपछि मैले सवै प्रकारका विशेषज्ञसंग सल्लाह लिने गर्छु ।
आयुर्वेदको हकमा काठमाण्डौका डा. वीपी तिम्सिनासंग मोवाइलवाटै पनि सल्लाह लिने गर्छु । उहाँको पनि असाध्यै प्रभावकारी तरिका छ । आफैले संकलन गरेर वनाएका औषधिको प्रयोग गरेर विरामीलाई सहजै निको पार्ने गर्नुहुन्छ । 
भैरहवामा डा. वद्री गौतम त्यस्तै प्रभावशाली हुनुहुन्छ । एक दिन कुरै कुरैमा जण्डिसको तीन खुराकमा निको हुने दवाई भएको वताउनुभयो । मेरो भाञ्जा जण्डिस पीडित भएकोले केही उपाय छ कि भनें । उहाँले घरै ल्याएर तीन पोका  दिनुभयो । ५.८ भएको जण्डिस पाँच दिनपछि जिरोमा झर्यो । अहिले कोरोनाको औषधि पनि उहाँले वनाउनु भएको छ । सरकारले कानुनका कुरा गरेर मान्दैन । तर, स्वाद विहिन भएका दुइजनालाई मैले दुई खुराक खुवाउँदासाथ स्वाद आउन थाल्यो । कैयौं ब्यक्तिलाई निको भएको छ । यसरीनै डा. वीपीले पनि चार दिनमा निको वनाएका विरामी ५० नाघेको कुरा वताउनु हुन्छ ।
डब्लुएचओका कुरा गरेर यस्ता जडिवुटीको प्रयोगमा सहज वातावरण वन्न सकेको छैन । हाम्रो परम्परागत पद्वति अनुसारका औषधिहरु त्यसै प्रामाणिक हुन् । तर, विभिन्न वहाना गरेर प्रयोगमा ल्याउन दिइदैन । काठमाण्डौ कीर्तिपुरमा पनि ७ दिनमा आयुर्वेदले निको भएको समाचार गोरखापत्रले छापेको थियो । जव अरु कुने औषधिनै छैन र आइसोलेसनमा पनि चिनीलहरो, तुलसीको पात, अदुवा, वेसार, ज्वानो मिश्रितनै खुवाएर सञ्चो वनाइएको छ भने स्वतः थाहा छ कि आयुर्वेद प्रभावकारी छ । के यी सवै कुरा डब्लुएचओलेनै भनिदिनु पर्छ र ?
यीनै अनुभव र अध्ययनको आधारमा अलि सहज वातावरण भएपछि वैकल्पिक चिकित्साकावारेमा एउटा राम्रो गोष्ठि आयोजना गर्ने मन लागेको छ मलाई हेरु के हुन्छ  । कुनै पनि मुलुकका लागि स्वास्थ्यको कुरा अत्यन्तै महत्वपूर्ण हुन्छनै । २५ प्रतिशतलाई मात्र यो विधिवाट उपचार गर्न सक्दा राज्यको र  ब्यक्तिको कति वचत होला ? यसको पनि अध्ययन गर्नुपर्ने छ ।
यसमा केही इगोका समस्या रहेछन् । आजभोलि विकसित मुलुकमा हरेक अस्पतालमा वैकल्पिक उपचारको पनि प्रयोग गरिन्छ । चिनियाँहरु त यसलाई असाध्यै महत्व दिन्छन् । डा. शागर न्यौपानेका अनुसार हरेक ठूला अस्पतालमा चिनियाँ परम्परागत औषधि विज्ञानलाई उत्तिकै महत्व दिइएको हुन्छ । ठूला औषधि पसलहरुमा जडिवुटी, यसवाट निर्मित धुलो, क्याप्सुल वा गोली राखिएका हुन्छन् । पकाउने तरिका सिकाइन्छ । त्यसैले नेपालमा पनि एलोपैथी र अन्य चिकित्सा अभिन्न अंग हुन् भन्ने कुरालाई आत्मसात गर्ने वातावरण वनाउनुपर्छ । 
रोगमाथि राजनीतिकरण नगरौं ः
मान्छे विरामी हुनु रहरको विषय हुँदै हैन । रोग जसलाई पनि लाग्न सक्छ । तर, अहिले वजारमा रोगमाथि राजनीतिकरण गरिएको छ । हल्का टिप्पणी गरेर आत्मतुष्टि लिन जति सहज हुन्छ त्यसको प्रभावका वारेमा सोंचेर निष्कर्षमा पुग्नु सान्दर्भिक हुन्छ । अस्पतालकावारेमा वा चिकित्सककावारेमा अनावश्यक टिप्पणी गरेर उनीहरुलाई हतोत्साहित पार्नुभन्दा मनोवल वढाउनु आवश्यक छ । यो महामारीको समयमा डाक्टरहरु आफै पनि संक्रमित हुन सक्छन् । त्यस्तोवेलामा पनि कसरी खटिएर उपचार गरेका छन् ? कैयौं चिकित्सकहरु, प्राविधिकहरु घर नगएर होटलमा वसेका छन् । स्वाव संकलन पश्चात् एक दिन वेलवासकै रामवहादुर खड्कालाई रिपोर्ट कहिले आउला भनेर फोन गरेको थिएँ । घर वा अस्पताल कता हो भनेर सोधेको होटलमै वस्न थालेको कैयौं दिन भएको रहेछ । यो सानो योगदान हैन । 
दैनिकजसो प्रादेशिक अस्पतालका मेसु डा. राजेन्द्र खनालका स्टाटस हेर्छु । कति लेख्न सकेको हो जस्तो लाग्छ । उहाँका स्टाटसले कहीँ न कहीँ चोट परेको वुझ्दछु । सामाजिक सञ्जालमा एउटाले एक थोक लेख्छ । वस तुरुन्त टिका टिप्पणी शुरु । एकातिर नकारात्मक कुरा वढी विक्ने अवस्था छ भने अर्कोतिर हरेक ब्यक्तिलाई समय विताउनु छ भनेर केही न केही लेख्ने वानी परिसकेको छ । 
म आफै पनि यसको मारमा परें । समाजमा संवेदनशीलता कसरी हराउँदै गएको छ भन्नेवारेमा अनुभूत गर्ने मौका मिल्यो । सामान्यतः मान्छेले मृतक ब्यक्ति र विरामी भएर उपचारमा छ भने त्यस्तो अवस्थामा उसको वदख्वाई गर्दैन । तर, अहिले यो मूल्य मान्यता हराउँदै गएको छ किन होला ? 
अन्तमा आज उपभोक्त हित संरक्षण मंच नेपालको गुगल मिटिङमा धेरै महत्वपूर्ण कुरा भएका छन् । जसलाई भोलिमात्र प्रस्तुत गर्नेछ । 
२०७७ भाद्र ८ 
 

प्राप्त प्रतिकृयाहरू

To Top