होलाको भरमा लाशमाथिको राजनीति 

राजनीति जेठ ९ 2077 ekhabarnepal
Krimpsomn

डी.आर.घिमिरे
गुल्मीका कोरोना संक्रमित ४१ वर्षिय शिक्षकको दुःखद मृत्यु बुटवल मणिग्रामस्थित क्रिमशन अस्पतालमा भयो । हुनत उनको दुइपटक मृत्यु भयो तर, पछिल्लोपटक साँच्चैनै अर्थात् पुनः नफर्कने गरि मृत्यु भयो । महामारीको यो अवस्थामा दुनियाभरी धेरै मान्छे मरेका छन् तैपनि नेपालमा तुलनात्मक रुपमा मृत्यु दर कम छ । यसो भनेर सन्तोष लिने कुरा भएन । किनकि  एकजना पनि रोग लागेर नमरोस् भनेर कामना गर्नु हरेक नागरिकको कर्तब्य हुन्छ । 
मानिसको मृत्यु त्यसैपनि दुःखद हुन्छ त्यसमा पनि मृत्यु पश्चात् विभिन्न झन्झटमा फस्नुपर्ने अवस्था आउनु अर्को महा दुःखद कुरा हो ।
तर, अहिले क्षतिपूर्तिको कुरा पनि एक खालको फेसन भएको छ । मान्छे त्यसै पनि अकालमा मर्नुपर्ने अवस्था आइसकेको छ । अकालमा कोरोना संक्रमित हैन अरु रोगीहरु अकालमा मर्दैछन् । मैले हिजोमात्र वीरगंजको प्रतिक दैनिकमा यस्तै समाचार पढेको थिएँ । मेडिकल कलेजमा मिर्गौलारोगीहरू धमाधम मर्दै शीर्षकको समाचारले मन उद्वेलित वनायो ।
   नारायणी अस्पताललाई आइसोलेशनमा परिणत गरेपछि त्यहाँका विरामीहरु स्थानान्तरण गरि नेशनल मेडिकल कलेजमा गएका मिर्गौलारोगीहरूमध्ये सात हप्तामा छजनाको मृत्यु भएको छ । अहिले नेशनल मेडिकल कलेजविरुद्ध परिवारजनले कारबाईको माग गर्दै उजूरी दिने तयारी समेत गर्दैछन् । उनीहरुको आरोप छ—मिर्गौलारोगीहरूको डायलोसिस गर्नेक्रममा चरम लापर्बाही भयो । 
चिकित्सकहरूको लापर्बाही, उचित स्याहार सुसारको अभाव, नारायणी अस्पतालबाट गएका बिरामीलाई मेडिकल कलेजमा हीन दृष्टिले व्यवहार गर्ने र कुसमयमा डायलोसिस गर्ने आरोप छन् ।
 चालीसजना मिर्गौलारोगीमध्ये छजनाको मृत्यु हुनु सामान्य विषय हैन । उता अस्पताल प्रशासनले आफुसंग दशवटा मेशिन रहेको र सोको क्षमता चालीसजना बिरामी रहेकोमा नब्बेजना बिरामीको उपचार गर्नुपरेको वताइन्छ । यो एउटा उदाहरण मात्र हो । यस्तो अवस्था देशैभरी छ । भरसक उपचार गर्न डाक्टरहरु तयार हुँदैनन् यस्तो वेलामा । विरामीहरु डाक्टरसंग जाँदा डाक्टरकै कारणले असुरक्षित हुन सक्छन् र विरामीवाट पनि डाक्टरहरु असुरक्षित हुन सक्छन् । दुवै सम्भावना हुन्छन् ।
हरेक पेशामा पहिला आफु सुरक्षित हुनुपर्ने आचारसंहिता हुन्छ । डाक्टरहरुमा पनि यो नहुने कुरै भएन । तर कसैको मृत्यु हुँदासाथ क्षतिपूर्तिकै कुरा उठ्ने हो भने भोलि डाक्टरहरुले विरामी हेर्दैनौं भन्न पनि त सक्लान् । यसको अर्थ लापरवाही गर्दा पनि चूप लाग्नुपर्छ भन्ने मेरो मनसाय हुँदै हैन । लापरवाही हो या हैन भन्ने निष्कर्षमा पुग्नुभन्दा पहिला तत्सम्वन्धी अनुसन्धान हुनुपर्छ ।
जहाँसम्म गुल्मीका विरामीको कुरा हो, उनी यो महामारीमा नआइ नहुने भएरै आएका हुन् । जसले रिफर गर्यो होला उसले पनि गारो सारो भएरै पठाएको हुनुपर्छ । विरामीको लक्षण हेरेरै कोरोनाको परीक्षण गराएको हुनुपर्छ । त्यसभन्दा अगाडिनै शरीरका मल्टिपल अर्गान फेलियर भएको भनेर अस्पताललेनै जनाएको थियो । यही कारणलेनै भेन्टीलेटरमा उपचार गरिएको थियो । 
मणिग्राम आउनुभन्दा पहिलाको इतिहास हेर्दा यस्तो देखिन्छ— 
सामान्यतः ज्वरो आउँदा सञ्चो नभएपछि पहिला मदाने पोलिक्लिनिकमा गएर जांच गराई २ दिनसम्म टाइफाइडको औषधि खाएको त्यसपछि बान्ता भएको, पुनः देखाउँदा जन्डिस भएको र किड्नी खराब भएको भनेर अर्घाखाँची पठाइएको । अर्घाखाँचीको छायाँ पोलिक्लिनिकले पनि टाइफाइड बिग्रेको, किड्नीको समस्या भएको भनेरै क्रिम्सन अस्पतालमा पठाएको विवरणले गंभीर प्रकारकै समस्या रहेको अनुमान गर्न सकिन्छ ।
महामारी विज्ञ डा. रवीन्द्र पाण्डेका अनुसार नेपालमा कोरोनावाट मृत्यु भएका तीनजनामध्ये बरु पहिलो र दोस्रो मृत्यु टार्न सकिने प्रकृतिका थिए । किनकी उनीहरुको समयमै परिक्षण गरिएको थिएन । तेस्रो यो केस अलि फरक देखिन्छ । फरक यस अर्थमा कि समयमै परिक्षण भयोे र भेन्टिलेटरको सुबिधा प्राप्त भयो । 
तर, उनी पटकपटक जन्डिस भएका विरामी थिए । यसको अर्थ कलेजो, पित्तथैली वा पित्तनलीको कुनै दीर्घरोग हुनसक्ने सम्भावना थियो । अस्पतालले सुरुमा शंका गरेजस्ते मुटुको रोग पनि हुन सक्ने सम्भावना थियो । निमोनियाको हिस्ट्री पनि थियो । यी सवै कारणवाट विरामी जोखिम बर्गमा थिए । 
निश्चयनै ट्राभल हिस्ट्री तथा कन्ट्याक हिस्ट्री नभएको तथा आफै सचेत र सजग व्यक्ति भएको कारणले कसरी सर्यो भनेर भन्न सकिने अवस्था छैन र यो खोजीको विषयनै हो । कोरोना सर्छ मात्र कि यतै कतै उत्पन्ननै हुन्छ ? यो प्रश्न पनि उठेको छ । विश्वब्यापी रुपमा जसरी फैलिएको छ के चिनको वुआनवाट मात्र सरेको होला ? यो प्रश्न मैले यस अघि पनि उठाएको थिएँ । निमोनिया वा रुघाकाँसोको लक्षण देखिने भएकोले यस्तो संक्रमण भइरहने र सञ्चो हुने पो हो कि ? जव परीक्षणनै हुँदैनथ्यो भने के भन्न सकियो र ?
तैपनि अहिले परिवारका सदस्य र आफन्तहरुले उठाएका दुइवटा तर्क छन् । 
पहिलो, बिरामीलाई कोरोना पोजिटिभ देखिएपछि उपचारनै गरिएन । विरामीका आफन्तले एउटा मिडयासंग भनेका छन्—
‘रिपोर्ट नआउञ्जेल उपचार ठिकै थियो । उहाँलाई भेन्टिलेटरमा रेखदेख गर्न डाक्टरहरु गएका थिए तर, ४ गते दिउँसो कोरोना पोजिटिभ देखिएपछि कोही पनि गएनन् जस्तो देखिन्छ,’ उनले भनेका छन्, ‘सीसीटीभी फुटेजमा हेर्दा पनि त्यो कुरा देखिन्छ होला– डाक्टरले हेर्दै हेरेनन् ।’
माथिको भनाइवाट के वुझिन्छ भने उनले पनि अनुमान लगाएका छन् । गएनन् जस्तो देखिन्छ । सीसीटीभी फुटेजमा देखिन्छ होला । यस्तो होलाको भरमा लाशमाथि राजनीति गर्न सुहाउँछ ? 
 दोस्रोे, कोरोना पुष्टि भएपछि बिरामीलाई हेलिकोप्टरबाट काठमाडौं लैजान खोज्दा अस्पतालले दिएन । भेन्टिलेटरमा राखिएको बिरामी निकाल्न नमिल्ने भनेर अस्पतालले भनेको भनिएको छ । त्यो हो भने यो साँचो होला । किनकि भेन्टिलेटरवाट निकाल्नु भनेको जिउँदै मार्नु हो । यो कुरामा अन्यथा लिन मिल्दैन । सामान्य अवस्था रहेको भए विरामी लैजान डाक्टरहरुले खुशीनै भएर दिन्छन् । कसैले पनि धेरै रिस्क लिन मान्दैनन् यो वेला । यो सत्य हो । त्यसैले वरु रिफर हैन उपचार गर भन्नुपर्ने अवस्था छ अहिले ।
यसरी हेर्दा दुइवटै तर्क कमजोर छन् । मुख्य तर्क पहिलो हो, जो अनुमानको भरमा छ र दोश्रो जे भनिएको छ त्यो ठिकै छ । त्यसका आधारमा लापरवाही भन्न मिल्दैन ।
केही सामाजिक सञ्ञ्जालमा उठेका विषय ः
मृत्यु पश्चात् दुइवटा कुरा उठेका छन् । एउटा क्षतिपूर्तिको कुरा र अर्को अन्त्येष्ठी गर्ने स्थान हुँदैन भनेर । 
  यी दुवै कुरा वेमौसमी वाजा र असामाजिक हुन् । माथि उल्लेखित तथ्यका आधारमा क्षतिपूर्तिको सम्भावना देखिन्न । यसले परिवारका सदस्यलाई उल्टै पिडा दिन्छ । लाख कोशिस गर्दा पनि निको भएन भन्नु र लापरवाहीले मृत्यु भयो भन्नुमा धेरै फरक छ । 
क्षतिपूर्तिको माग उठेपछि सामाजिक सञ्जालमा पनि विभिन्न प्रतिक्रिया देखापरेका छन् । त्यसमध्ये एकजना शिक्षक मणि भण्डारीले मृतकलाई श्रध्दाञ्जलि र परिवारमा समवेदना प्रकट गर्दै भनेका छन्—
 ‘आफन्तजनले लास माथिको राजनिति नगर्दा राम्रो, यसले परिवारमा थप पिडा थपिन्छ । मिडियाले उचाल्ने काम पनि बन्द गरौं । नजिककाले गतिलो सुझाव दिने हो, नकि थप जटिल बनाउने । त्यसै पनि मणिग्रामका सबै जसो घरका मानिस र यस बिचमा अस्पताल पुगेका हरेक मान्छे त्रसित छन् ।’ 
त्यस्तै एकजना निजामति कर्मचारी गिरीप्रसाद गैरेले पनि स्मरणीय प्रतिक्रिया राख्दै यसो भनेका छन्—   
‘राम राम अब यस्तै हो भने कोरोना हैन अरु बिरामी भए नि उपचार पाइदैन । एउटा सत्य घटना भनौं । दाङ घोराहीबाट तुल्सीपुर जाँदै गरेको गाडीमा अत्यधिक भिड भएपनि छतमा बसियो । कालेखोलामा उकालो रहेछ । गाडीले तान्न सकिरहेको थिएन । माथिबाट बुढो गोरु धकेल्यो एकजनाले । गोरु तल बाटोमा खस्यो गाडी रोके ब्याक हुन्छ । ड्राइवरले बल्ल बल्ल खुट्टा पेलेर गाडी डाँडामा ल्याए । हामी बाँच्यौ भन्ने लाग्यो । तेत्तिकैमा भिड आयो र भन्यो — गोरु किन मारेको ? खुट्टो भाँचियो । अव जालास् भने । बबाल भयो हामी तमासा हेर्दै थियौ । गोरु धकेल्नेलाइ मैले चिनें । अलि किनारमा लगेर जिस्काउँदै भनें—के हो पापको डर छैन ? त्यसपछि उसले भन्यो—मर्न लागेको गोरु अब पैसा दिन्छ नयाँ गोरु आउँछ । पैसा गाडीवालाले दिने होइन समितिले हो के के .... । 
पछि त्यस ठाउमा ड्राइवरले गाडी नै रोक्न छोडेछन् । जनता हैरान भए । अनि प्रशासनमा बसेर कुनै त्यस्तो भए गाउँभरिकाले जिम्मेबारी लिने सर्त समितिले तेर्सायो । गाउँ मान्न बाध्य भयो । कतै हामी त्यतै त जादै छैनौ ? उचाल्न सजिलो हुन्छ पिर पर्नेलाइ......’
यस्ता घटना हामीले देखेका र भोगेका छौं । हामी कता लाग्ने ? निर्णय आफै गर्ने हो । एकातिर यो अवस्था छ अर्कोतिर दाह सस्कारकै समस्या छ । 
स्थानीय प्रशासनले सुरक्षाकर्मीले शवलाई अस्पतालबाट लगेर तिलोत्तमा नगरपालिका–३ स्थित मगरघाटमा व्यवस्थापन गर्ने तयारी गरेपनि स्थानीयले विरोध गरेको समाचार वाहिर आएको छ । ढिलो चाँडो यसको ब्यवस्थापन होला तर, मरेर पनि जलाउने ठाँउ पाइरहेका छैनन् । ओ हो कति चिन्ताको विषय ।
विषय गंभीर त यो पो हो । यसतर्फ धेरैको शायद ध्यान गएको छैन । लाश जलाएपछि वा गाडेपछि भाइरस पनि मर्दछन् । तर, यो कुरा कस्ले वुझाउने ?
 

प्राप्त प्रतिकृयाहरू

To Top