शक्तिशाली अम्पुन चक्रवात आउँदै, नेपालमा प्रभाव पर्न सुरु 

समाज जेठ ६ 2077 ekhabarnepal
5ec322dd8dd2e untitled 1

काठमाडौँ, जेठ ६ गते । बङ्गालको खाडीबाट अम्पुन नामको शक्तिशाली चक्रवात नेपाल आउँदैछ । यतिबेला दक्षिण बङ्गालको खाडीको मध्य भागमा अम्पुन चक्रवातले आफ्नो शक्ति बटुलेर अघि बढेको छ । अम्पुन चक्रवात धेरै शक्तिशाली भइसकेकाले त्यसको असर नेपालमा केही दिन तीव्र रूपमा पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


चक्रवात अझ शक्तिशाली हुने क्रममा मङ्गलबारबाट पूर्वी नेपालको मौसममा बदली हुँदै नेपाल प्रवेश गर्ने महाशाखाकी मौसमविद् गङ्गा नगरकोटीले बताउनुभयो । उहाँका अनुसार त्यस चक्रवातको गति उत्तरपश्चिम हुँदै अघि बढिरहेको छ ।


उहाँले भारतको पश्चिम बङ्गाल क्षेत्र हुँदै पूर्वी नेपालको पहाडी भूभागमा असर पार्नेछ, त्यसपछि मध्य र पूर्वी नेपालका भूभागमा असर गर्नेछ, जसका कारण त्यस क्षेत्रमा वर्षा हुनेछ भन्नुभयो । पश्चिम भूभागमा भने त्यसको तुलनामा कम वर्षा हुनेछ । त्यस पछिको दुई÷तीन दिनसम्म देशैभरि बदली भई केही स्थानमा भारी वर्षाका साथै उच्च हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपातका साथै एक÷दुई स्थानमा भारी हिमपातसमेत हुने सम्भावना छ ।


यस चक्रवातले भुइँ छोएपछि भने यसको असर न्यून हुँदै जाने मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । बङ्गालको खाडीबाट आउँदै गर्दा पूर्वी नेपालको उच्च पहाडमा ठोक्किँदै यो मध्य नेपालमा झर्ने छ । उहाँका अनुसार अम्पुन चक्रवात भारतको उडिसा हुँदै प्रतिघण्टा १३ किलोमिटरको गतिमा उत्तरपश्चिमको बाटोमा अघि बढ्दै छ । उहाँले मङ्गलबार यसको गति १८० किलोमिटर प्रतिघण्टासम्म पुग्न सक्छ भन्नुभयो । भारतीय क्षेत्रमा यस चक्रवातको क्षति रोक्न पूर्व तयारी थालिएको छ । जसका लागि पश्चिम बङ्गालमा सात र उडिसामा १० वटा रक्षा टोली परिचालन भइसकेका छन् ।


पूर्व मनसुन जाँदै गर्दाको अवस्थामा नेपाल छिर्ने यस चक्रवातले अन्य मौसम प्रणालीलाई समेत सक्रिय बनाउन सक्ने मौसमविद्को अनुमान छ, जसले नेपालमा मनसुन भिœयाउने आवश्यक वातावरण बनाउने छ । यो सँगै आउने हावाहुरी असिनापानीले जनजीवनमा थप असर गर्न सक्ने भएकाले सतर्क रहन भनिएको छ । पूर्वी पहाडी भेग हुँदै आउने भएकाले विशेषगरी पूर्वी तथा मध्य पहाडी भेगका बासिन्दाले बढी सचेत रहनुपर्ने सुुझाव मौसमविद्को छ ।  

नेपालमा प्रभाव पर्न सुरु 
बंगालको खाडीमा विकसित शक्तिशाली आँधी अर्थात् चक्रवातको प्रभाव नेपालमा पर्न सुरु भएको छ।

यसैको अप्रत्यक्ष प्रभावले आज (मंगलबार) बिहानै काठमाडौं उपत्यकासहित देशको मध्य क्षेत्रमा वर्षा भएको मौसम पूर्वानुमान महाशखाकी मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन्।

‘यो अप्रत्यक्ष प्रभाव मात्रै हो,’ मंगलबार बिहान मौसमविद् नगरकोटीले भनिन्, ‘अब यो बिस्तारै बढ्दै जाने देखिन्छ।’

उनका अनुसार त्यस शक्तिशाली चक्रवातको बाहिरी घेराको बादल मात्र अहिले नेपाल आइरहेको छ।

‘अहिले त्यो चक्रवात बंगालको खाडीमै छ, जमिनमा प्रवेश गरिसकेको छैन,’ उनले भनिन्, ‘यो भारतको जमिनमा प्रवेश गरेपछि यसको असर ठूलो हुनेछ र नेपालमा पनि बढी प्रभाव पर्नेछ।’

उनका अनुसार अहिले त्यस शक्तिशाली चक्रवातको बाहिरी घेराको बादल काठमाडौंलगायत देशको मध्य भागमा मात्रै आइपुगेको छ। सोही कारण आज बिहानै काठमाडौंलगायत आसापासका क्षेत्रमा वर्षा भएको हो।

‘अहिले वर्षा रोकिएको भए पनि पुनः बदली भई वर्षा हुने सम्भावना छ,’ मौसमविद् नगरकोटीले भनिन्, ‘आजलाई अम्पुनको प्रभाव देशका मध्य र पूर्वी भूभागका थोरै स्थानमा पर्ने देखिन्छ।’

त्यसको प्रभावले आज देशका मध्य र पूर्वी क्षेत्रका केही स्थानमा हावाहुरीसहित वर्षा हुने सम्भावना छ।

‘यसको प्रभाव बिस्तारै आजभन्दा भोलि बढ्दै जान्छ,’ उनले भनिन्, ‘यसले वर्षा तथा हिमपातसमेत गराउनेछ।’

प्राप्त प्रतिकृयाहरू

To Top