बाँकेमा आइसोलेसनका दुईसय बेड थप्ने निर्णय

समाज जेठ ५ 2077 ekhabarnepal
5ec257f15f14e gala

नेपालगञ्ज, जेठ ५ गते । बाँके जिल्लामा भारतबाट फर्किनेको सङ्ख्यासँगै कोरोना सङ्क्रमितसमेत बढ्न थालेपछि आइसोलेसन वार्ड र क्वारेनटाइनलाई थपेर व्यवस्थित बनाउने निर्णय गरिएको छ ।

जिल्लामा ३४ जना सङ्क्रमित फेला परेको र तीमध्ये एकजना युवकको मृत्यु भएपछि पाँच नम्बर प्रदेशका सामाजिक विकासमन्त्री सुदर्शन बराल नेपालगञ्जमै बसेर कोरानाविरुद्धको अभियानको प्रत्यक्ष निगरानी गरिरहनुभएको छ ।

पाँच नम्बर प्रदेशका सामाजिक विकास मन्त्री बरालको उपस्थितिमा बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको अध्यक्षतामा प्रदेश सांसद तथा स्थानीय तहका प्रमुखसहितको जिल्लास्तरीय कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरको बैठकले जिल्लामा आइसोलेसनका दुई सय बेड थप्ने लगायतको निर्णय गरेको छ ।

बैठकले गरेका निर्णयहरूबारे जानकारी गराउँदै बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बाँकेमा लक्षण नदेखिएका कोरोनाभाइरसका सङ्क्रमित बढ्दै गएकोले उनीहरूलाई राख्नको लागि थप आइसोलेसनका दुई सय बेड थप्ने निर्णय गरिएको बताउनुभयो ।

थप आइसोलेसन अस्पताल निर्माणस्थलको पहिचान गर्न र पहिलेदेखि स्थापना भएका अस्पतालमा बेड थप्नका लागि भेरी अस्पताल, स्थानीय तह र स्थानीय प्रशासनको प्रतिनिधिसमेत रहेको एक टोलीसमेत गठन गरी सम्भावित स्थानको खोजी शुरु गरिएको सहायक प्रमुख जिल्ला अधिकारी प्याकुरेलले बताउनुभयो ।

जिल्लामा रहेका अधिकांश क्वारेन्टाइनको व्यवस्थापन राम्रो नभएको, मानिस कोचाकोच गरेर राखिएको र खानेपानी र खानाको समेत उचित व्यवस्थापन नगरिएको गुनासो आएपछि स्थानीय तहले निर्माण गरेको क्वारेन्टाइनलाई व्यवस्थित गरी झुललगायत अत्यावश्यक सामानको व्यवस्थापन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

बैठकले कोरोनाको सङ्क्रमण देखिएको नेपालगञ्ज–८ जोलहनपुर्वामा सबैले कोरोना परीक्षण गराएको सुनिश्चित भएमा गरिएको सिल खुकुलो पार्दैलैजाने निर्णय पनि गरेको छ ।

मृतक बसेको क्वारेन्टाइनका ३८ लाई त्यहाँबाट सारियो
कोरोनाबाट आइतबार एक युवकको मृत्यु भएको नरैनापुर गाउँपालिका–५ स्थित दीपेन्द्र प्राथमिक विद्यालयकाे क्वारेन्टाइनमा रहेका अन्य ३८ जनालाई त्यहाँबाट सारिएको छ । उनीहरूलाई जयकिसान माध्यमिक विद्यालयकाे क्वारेन्टाइनमा सारिएको गाउँपालिकाले जनाएको छ ।

मृतक बसेको क्वारेन्टाइनमा बस्न नमानेपछि आइतबार साँझ सबैलाई सारिएको गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले बताउनुभयो । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मोहम्मद मोइन खानका अनुसार जयकिसान माविमा यसअघि नै ६० जना छन् ।

दीपेन्द्र प्राविबाट आएकाहरूलाई ठाउँ नपुगेकाले टेन्टमा राखिएको छ । ‘उनीहरू त्यहाँ बस्न नमानेपछि यहीँ टेन्ट बनाएर राखेका छौँ,’ खानले भन्नुभयोे, ‘थप क्वारेन्टाइनका लागि ठाउँ खोज्दैछौँ ।’

नरैनापुरका १२ स्थानमा रहेका क्वारेन्टाइनमा अझै ७५९ जना रहेका छन् । नरैनापुर–५ को उक्त क्वारेन्टाइनमा मुम्बईबाट आएका ती युवकसहित ३९ जनालाई राखिएको थियो ।
सङ्क्रमितहरूको पुनः स्वाब सङ्कलन गरियो

बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसनमा रहेका २३ जना सङ्क्रमितको पुनः स्वाब सङ्कलन गरिएको छ । नेपालगञ्जका पहिलो सङ्क्रमितसहित २३ जनाको स्वाब सङ्कलन गरिएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । उहाँले पछिल्लोपटक सङ्क्रमित भेटिएका दुई जना पुरुषबाहेक अस्पतालमा रहेका नेपालगञ्जका सबैको स्वाब लिइएको बताउनुभयो ।

 

प्राप्त प्रतिकृयाहरू

To Top