कोभिड १९ बाट नेपालमा पहिलो मृत्यु, यसरी गरियो दाहसस्कार

स्वास्थ्य जेठ ४ 2077 ekhabarnepal
202d0d937d6a4c21399cf83274aac5d1 w1000 h500 cp

 

काठमाडौं,जेठ ४  गते । 
नेपालमा कोरोना भाइरस (कोभिड(१९) बाट एक जनाको पहिलोपटक मृत्यु भएको छ । सिन्धुपाल्चोक बाह्रेबिसेकी २९ वर्षीया महिलाको कोभिड १९ बाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो ।

उनको १० दिनअघि त्रिवि शिक्षण अस्पतालमा नर्मल डेलिभरी भएको थियो । आमाछोरा दुबैको स्वास्थ्य सामान्य थियो र उनीहरू २५ गते डिस्चार्ज भएर घर फर्किएका थिए ।
तर उनलाई ज्वरो र खोकी लाग्नुका साथै स्वासप्रश्वासमा समस्या आएको थियो । बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गर्दा पनि निको नभएपछि धुलिखेल अस्पताल ल्याउने क्रममा बाटैमा उनको निधन भएको हो ।

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएकोले उनको पीसीआर विधिबाट परीक्षण गरियो र रिपोर्ट पोजेटिभ आयो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पनि उनको रिपोर्ट पोजेटिभ नै आएको छ । यद्यपि उनको मृत्यु कोरोनाकै कारण भएको घोषणा गर्नुपूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार नै अध्ययन टोली धुलिखेल अस्पतालमा पठाएको थियो ।

टोलीको रिपोर्टका आधारमा मन्त्रालयले उनको मृत्यु कोरोनाका कारण भएको घोषणा गरेको हो । मन्त्रालयले हिजो शनिबार साँझ विज्ञप्ति जारी गर्दै भनेको छ, ‘‘ विस्तृत विवरण लिइएको र कोभिड १९ सँग सम्वन्धित थप परीक्षण पश्चात नेपालमा कोभिड १९ बाट मृत्युभएको पहिलो घटना भएको पुष्टि भएको छ ।
 
 काठमाडौंमा तरकारी व्यवसायी गर्दै आएकी उनी गर्भवती भएका कारण लकडाउनको बेला पनि नियमित जाँचका लागि काठमाडौंमै बसेकी थिइन् ।

सरकारले चैत ११ गते लकडाउन घोषणा गर्दा उनको बच्चा जन्माउने मिति नजिकिँदै थियो । त्यही कारण पहिलो सन्तान ११ वर्षको छोरालाई सिन्धुपाल्चोकको बाह्रविसे घरमा पठाएर उनी र श्रीमान काठमाडौंको गोंगबुस्थित डेरामा बसेका थिए।

२९ वर्षीय ती महिलाका श्रीमान पहिले सेनामा थिए भने अहिले काठमाडौंकै एक कम्पनीमा सुरक्षा गार्डका रुपमा काम गर्छन् ।

उनी बैशाख २३ गते गोंगबुदेखि हिँडेरै त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेर २४ गते अप्रेसन गरी बच्चा जन्माएकी थिइन् । 

सुत्केरी भएपछि सिन्धुपाल्चोक जानुअघि उनी काठमाडौंकै टोखास्थित आफन्तकोमा पुगेको जनाइएको छ । उनी पुगेको टोखाको घर पनि शनिबार राती सिल गरिएको छ ।

 वैशाख २५ मा उनलाई एम्बुलेन्सबाट बाह्रविसे नगरपालिकाको वडा नम्बर ९ राम्चेमा रहेको घर लगिएको थियो ।
  सुत्केरी हुँदा प्रायःज्वरो आउँने भएकोले अस्पतालभन्दा आराम गर्नतिर लागेको वताइन्छ । 

तर दुईदिनसम्म पनि ज्वरो कम हुनुको साटो बढेपछि घर नजिकैको प्राथमिक स्वास्थ्य केन्द्रमा लैजादा खासै सन्तोषजनक नभएपछि बिहीबार बेलुका धुलिखेल अस्पताल लैजादा महिलाको मृत्यु भएको अस्पतालले जानकारी दियो ।
स्वास फेर्न कठिन हुने, खोकी लाग्ने र बोली समेत बसेको जस्तो भएकोले कोरोनाको आशंका गरिएको थियो । 
मृत्यु पश्चात् धुलिखेल अस्पतालमै गरिएको पीसीआर परीक्षणमा उनको रिपोर्ट पोजिटिभ आएपछि पुनः यकिन गर्न राष्ट्रिय जनस्वास्थ प्रयोगशाला टेकु पठाइको थियो ।

कोरोनाको कारण निमोनिया भएको र त्यही कारण उनको स्वासप्रश्वासमा समस्या आई मृत्यु भएको निष्कर्ष विज्ञ चिकित्सक टोलीले निकालेको छ  । 

टेकु अस्पतालको ल्याबले पनि कोरोना पोजिटिभ देखाएपछि  शनिबार राती विज्ञप्ती जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको कारण नेपालमा पहिलो मृत्यु भएको जनाएको हो ।

कोरोनाको कारण महिलाको मृत्यु भएपछि उनको माइती गाउँ भट्टे र राम्चे दुबै क्षेत्र सिल गरिएको छ । 

कहाँबाट सर्यो कोरोना?
अहिलेसम्म ती महिलामा कहाँबाट कोरोना सर्यो भन्ने केही खुल्न सकेको छैन ।

यसैबीच वागमती प्रदेश सरकारले जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा सिन्धुपाल्चोक जिल्लामा आवात जावतमा कडाई गरेको छ र दुई वटा गाउँ सिल गरिएको छ, हिंडडुल गर्न रोक लगाइएको छ ।

ती महिलाको शनिबार बेलुका पशुपति आर्यघाटको बिद्युतीय शव गृहमा अन्त्येष्टि गरिएको छ ।

कसरी गरियो अन्त्येष्टि ः

कोभिड १९ का कारण मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनका लागि सरकारले छुट्टै कार्यविधि बनाएको छ ।

त्यसअनुसार नै मृतकको शव धुलिखेल अस्पतालबाट नेपाली सेनाको टोलीले काठमाडौं लग्यो ।  प्रहरीको स्कटिङमा शव बाहनमा मृतकको शव राखेर त्यसपछि फेरि सेनाले स्कटिङ गरेर पशुपति आर्यघाट लगिएको थियो । 
कार्र्यिवधिअनुसार अन्त्येष्टिमा सहभागीहरुले पञ्जा, चस्मा, टोपी, मास्कसहित पीपीई लगाउनुपर्छ । मृतकका आफन्तले शव छुन पाउँदैनन् । आफन्तले हेर्न चाहेमा कम्तिमा एक मिटर टाढाबाट एकएक जनालाई पालैपालो हेर्न दिइन्ेछ भने आफ्नो परम्पराअनुसार शवलार्ए नछोई जल छर्कने, पाठ गर्ने तथा फूलमाला चलाउने जस्ता क्रियाकलाप गर्न पाइन्छ ।

घर र माइती गाउँ सिल

यसैबीच मृतकको घर र माइती गाउँलाई सिल गरिएको छ । मृतकको घर बाह्रबिसे नगरपालिका वार्ड नं. ९ राम्चे र माइती गाउँ बलेफी गाउँपालिका ७ र ८ लाई सिल गरिएको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जानकारी दिए ।
उनकाअनुसार माइती गाउँबाट आफन्तहरु भेट्न गएकाले गाउँ सिल गरिएको हो । सिल गरिएका वडाबाट कोही व्यक्ति बाहिर आउन र वडाभित्र प्रवेश गर्न पाउँदैनन्  ।


 

प्राप्त प्रतिकृयाहरू

To Top