यसरी चलाउनु पर्छ श्रम सूचना वैंक

बिचार जेठ ३ 2077 ekhabarnepal
Dr ghimire

डी.आर.घिमिरे
जेठ १ गतेका दिन उपभोक्ता हित संरक्षण मञ्चको भर्चुअल वैठक शुरु गर्नु अघि मञ्चका उपाध्यक्ष सूर्यवहादुर थापासंग केही अनौपचारिक कुरा गर्दै थियौं । लकडाउनभन्दा वाहिर गएर कुरा गर्न सम्भव थिएन । त्यसै प्रसंगमा मुलुकको अर्थतन्त्र, वेरोजगारी, मानवीय रहनसहनमा आउनसक्ने परिवर्तन आदि इत्यादि कुरा भयो । त्यस अवसरमा केही आइडियाका वारेमा पनि छलफल भयो । त्यस पश्चात् मैले त्यसै दिन दिउसो श्रम वैंककोवारेमा एउटा फेसवुक स्टाटस राखेको थिएँ । प्रतिक्रिया दिने धेरैले त्यसलाई राम्रै माने । खुशी लाग्यो ।
विदेशवाट आउनेहरुलाई उत्पादनमा लगाउन नसक्ने हो भने देशले धान्नै नसक्ने अवस्था आउन सक्छ । प्रायः एकपटक विदेश गएर आउनेहरुमा एक प्रकारको लगाव र मेहनत देख्दै आएको छु मैले । त्यसैले ति ब्यक्तिलाई विकल्प प्रस्तुत गर्नुपर्ने आवश्यकता छ । यसरी विकल्प प्रस्तुत गर्दा विदेश स्वदेश जहाँ वसेका भएपनि सवै नागरिकले फाइदा लिनेछन् । यो प्रक्रिया शुरु मात्र हुुनुपर्छ ठूलै लहर आउनेवाला छ  । यही प्रसंगमा पहिलो कुरा तथ्यांक संकलन हो । तथ्यांक भनेको केवल डाटा मात्र हैन । 
हामीले अव थाहा पाउनुपर्नेछ नेपालको आवश्यकता के हो ? के गर्दा अर्थतन्त्र चलाएमान् हुन्छ ? रोजगारीका अवसर कहाँ कहाँ छन् ? अवसरलाई कसरी प्राप्त गर्न सकिन्छ ? विदेशतिर जाने पैसा के गरेमा रोक्न सकिन्छ ? श्रमप्रतिको आस्था कसरी जगाउन सकिन्छ ? किसानलाई कसरी सम्मानित वातावरणमा वाँच्ने गराउन सकिन्छ ? स्वदेशमा उत्पादित वस्तुको प्रयोग स्वःस्फूर्त गराउन के गर्नुपर्छ ?
यस्ता अनगिन्ती प्रश्नको उत्तर खोजेरमात्र देशलाई वनाउन सकिनेवाला छ । त्यसैले सूर्यजी र मैले वेरोजगारको तथ्यांक संकलन गर्ने, उनीहरुलाई शिपमूलक तालिम दिने, कुनै एउटा कम्पनीमार्फत् रोजगारदातालाई आपूर्ति गर्ने संयन्त्रको ब्यवस्थापन आदि गर्ने ।  यस्तै कुरा  गरिरहँदा श्रम वैकको स्थापना गर्ने र त्यसले पालिकासंग समन्वय गरेर आवश्यक काम गर्ने हो भने एकै पटक ठूलो संख्यामा वेरोजगारी समस्या हल गर्न सकिन्छ । 
हाम्रो छलफलको निष्कर्ष यही हो र तर, यसको कार्यान्वयनमा जाँदासम्म धेरै गृहकार्य गर्नुपर्छ । त्यतिवेला थपघट गर्न सकिने भएकोले यो अवधारणालाई वृहत् रुपमा तयारी गर्ने टुंगोमा पग्यौं । यद्यपि यसको कार्यान्वयनकर्ता पालिकाहरुनै भएकोले उनीहरुसंग पनि कुरा गर्दै जाऔं भन्ने सोंच गरियो ।
 दोश्रो दिन विहान भूमि ब्यवस्था तथा सहकारी मन्त्रालय कृषि निर्देशनालयका प्रमुख यमनारायण देवकोटासंग यसवारेमा थोरै कुरा गरें । उहाँले पनि असाध्यै जरुरी रहेको र त्यसवारे आफूले पनि महसूस गरिरहेको भन्नुभयो । खासगरि पालिकास्तरमा यो काम गर्न सक्दा उचित हुने भएकोले कुनै एउटा पालिकासंग सहकार्य गर्नु पाए हुन्थ्यो भन्ने आशय ब्यक्त गरेपछि मैले तिलोत्तमा नगरपालिका प्रमुख वासुदेव घिमिरे र कञ्चन गाउँपालिकाका अध्यक्ष गोकर्णवहादुर क्षेत्रीसंग कुरा गरें । तिलोत्तमा प्रमुख घिमिरे तुरुन्तै सहमत भई यसवारेमा एउटा योजना वनाएर मन्त्रालयमा पेश गर्ने प्रतिवद्वता ब्यक्त गर्नुभयो ।
कञ्चन पालिका प्रमुख क्षेत्रीले कामको थोरै चाप कम भएपछि केही दिन भित्रै वसेर योजना वनाउने विचार ब्यक्त गर्नुभयो ।
संयोगवस दिउसो राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा श्रम सूचना बैंकको स्थापना गर्ने भनेर आयो । म एक हिसावले छक्क परें । मैले पालिका तहवाट गर्दा उचित हुने भनेपनि देशैभरी गर्दा अझै राम्रो अवश्यै हुन्छ । संघीय सरकारले सोंच्ने र गर्ने पनि यहीनै हो । यद्यपि यसको कार्यान्वयन पालिका तहवाटै होला जस्तो लाग्छ ।
तर, सरकारले कसरी सोंचेको होला र यसको प्रभावकारिता कसरी हुन्छ भन्नेवारेमा हाम्रा केही दृष्टिकोणहरु छन् । सरकारले नीति ल्याउँदा साथ काम हुन्छ भन्ने छैन । सरकारी प्रक्रिया असाध्यै झन्झटिलो हुन्छ । काम गर्ने कर्मचारीमा प्रो—एक्टिभ भएर गर्नुपर्छ भन्ने चिन्तननै हुँदैन । त्यसैले यो काम गर्नका लागि सरकार र निजी क्षेत्रको साझेदारीवाट मात्र सम्भव हुन्छ भन्ने पनि हाम्रो धारणा हो  । फेरि शुरुमै जति सोंच हुन्छ त्यतिमात्र गरेर पनि हुन्न । हरेक दिन नयाँ नयाँ सोंच आउन सक्छन् । तिनलाई आवश्यकताका आधारमा समावेश गर्दै लैजानुपर्छ । 
सरकारको नीति तथा कार्यक्रममा भएका मुख्य वूँदाहरु निम्न लिखित छन् ।
१. बेरोजगारको तथ्याङ्क लिई उनीहरूलाई दक्षताको आधारमा रोजगारी सिर्जना गराउने ।
२. बेरोजगार युवाको क्षमताअनुसार र रोजगारदातासँग समन्वय गराउने ।
३. वैदेशिक रोजगारबाट फर्केका युवा र नेपालकै शिक्षित युवालाई सीप र क्षमताको आधारमा ब्यवसाय गर्नेलाई सुरुवाती पूँजीको व्यवस्थापन गरिने ।
४. हरेक स्थानीय तहमा त्यहाँका युवाको सीपको आधारमा घुम्ती सीप दिलाउने तालिमको ब्यवस्था गर्ने ।
यी कुरा आफैमा ठिकै छन् । तर, यसलाई अलि खुला राख्न जरुरी छ र कामको दायरा पनि वढाउन आवश्यक हुन्छ । यसले गर्ने काम रोजगारीका लागि समन्वय गर्नेमात्र हैन स्वरोजगार सृजना गर्न पनि सक्नुपर्छ । ब्यवसाय गर्नेलाई सुरुवाती पूँजीको व्यवस्थापन गर्ने भनेर मात्र हुँदैन उनीहरुलाई प्रोत्साहन, सम्भाव्यता अध्ययन र व्यावसायिक योजना वनाउने सम्मका काम पनि गर्नुपर्छ । त्यस आधारमा निम्न लिखित काम गर्न सकिन्छ । यी काम पनि प्रारम्भिक छलफलका लागि मात्र हो ।
१. पालिकाभित्र रहेका वेरोजगार नागरिक, पेशा र व्यवसाय गर्न खोज्ने जनशक्तिको पूर्ण विवरण सहितको तथ्यांक संकलन गर्ने । यसरी तथ्यांक संकलन गर्दा रोजगार छन् भने तिनीहरुको पनि डाटा संकलन गर्दा हुन्छ । यस प्रकारको तथ्यांकले अरु धेरै काममा सहयोग पुर्याउन सक्छ ।
२. तथ्यांक संकलन गर्दा हरेकको शिप, क्षमता, योग्यता, इच्छा सवै कुरा संकलन गर्नुपर्छ । परिवारका हरेक सदस्यको कुरा गर्दा  कुनै एउटाको शिप क्षमतालाई प्रयोग गरेर उद्यमशील वा ब्यवसायी वनाउन सकिने सम्भावना छ कि ? त्यसो भयो भने उसको ब्यवसायवाट अरु धेरै लाई रोजगार दिन सकिन्छ । पारिवारिक विवरण हेरेर कुनै नयाँ योजना वन्न सक्छ कि भनेर पनि अध्ययन गर्न सकिन्छ ।
३. यदि कुनै प्रकारको शिप छैन भने उसलाई रूची अनुसार तालीम र सीप प्रदान गर्ने । 
४. कुनै शिपयुक्त ब्यक्ति छ भने त्यसको मापन गर्ने आधार केही हुन सक्छ कि ? हरेक ब्यक्तिको क्षमता, अनुभव र उसले सो काममा प्राप्त गरेको समयावधिका आधारमा ग्रेडिङ गर्नुपर्छ । मानिलिउँ कि एउटा ड्राइभर छ भने उसको कुन श्रेणी हुन सक्ला ? प्रथम, द्वितीय, तृतीय आदि । यसरी पनि केलाउनुपर्छ । 
५. प्रायः धेरै ब्यक्तिले आफूभित्र रहेको क्षमता पहिचान गर्न नसकेर वा निश्चित समयसम्म धैर्य गर्न नसकेर असफल भएका छन् । आवश्यकता अनुसार यो कुराको पहिचान गरिदिनु पर्छ ।
६. श्रम वैंक मार्फÞत काम गर्न जानेहरूकोे छुट्टा छुट्टै दर्ता नम्वर हुनेछ, परिचय पत्र, ड्रेस हुनेछ र हरेक कामदारको विमा समेत गरिनेछ । 
७. ब्यवसाय गर्न खोज्नेलाई उनीहरुको ब्यावसायिक योजना वनाउन पनि सहजीकरण गर्नुपर्छ ।
८. रोजगारदातासंग नियमित छलफल हुनुपर्छ । यसो गर्दा उनीहरुलाई कस्तो प्रकारको जनशक्ति आवश्यक छ भन्ने कुराको जानकारी लिन सकिन्छ र तदनुसारको तालिम दिएर आपूर्ति गर्न सकिन्छ । 
९. पालिका भित्रको आवश्यकता अनुसारको जनशक्ति त्यहि समुहवाट सप्लाई गरिन्छ र अन्य ठाउँमा आवश्यक भए पठाउन पनि सकिन्छ । 
१०. स्वरोजÞगार वैकमा रोजगारीको आवश्यकता पर्नेहरूले दरखास्त राख्ने छन् भने जस्लाइ कामदारको आवस्यकता परेको छ उस्ले पनि कामदारको विवरण सहित माग फारम भर्नेछ । सोको आधारमा वैंकवाट कमदार आपूर्ति गरिनेछ । 
११.कामदार सप्लाई गर्नु पूर्व कामदारलाइ काम गर्ने कम्पनी, संस्था वा व्यक्तिको कामको विवरण, कामदारको जिम्मेवारी, जवाफदेहिता, अनुशासन, उसले प्राप्त गर्ने सेवा सुविधाको वारेमा प्रशिक्षण दिएर मात्र पठाइनेछ । 
१२. वैक मार्फÞत अधिकतम रोजÞगार प्रदान गर्ने व्यक्ति, संस्था र कम्पनीलाइ सम्मान तथा पुरस्कारको व्यवस्था गरिनेछ भने वैक मार्फत गएर राम्रो काम गर्ने कामदारलाइ पनि पनि पुरस्कार र सम्मान गर्ने । जस्ले गर्दा रोजÞगार प्रदान गर्ने संस्था कम्पनी र व्यक्ति पनि उनीहरूले समाजलाइ पुर्याएको योगदानको कदर भएको महसुस गरी खुशी हुनेछन भने स्वच्छ प्रतिस्पर्धा पनि हुनेछ । कामदारहरूमा पनि इमान्दार र लगनशिल भएर काम गर्नको लागि उत्साहित हुनेछन् । 
१३. वैकवाट समय समयमा पुनर्ताजगीका लागि व्यवसायिक वा शिपमूलक तालिम, व्यवसायिक योजना निर्माण गर्न र आवश्यक सहयोग तथा सहजीकरण समेत गरिनेछ । 
यसको प्रभावकारिता कसरी हुन्छ भन्नेवारेमा विज्ञहरुवाट आवश्यक सुझावको अपेक्षा गरिन्छ । 

  • यो आलेख सूर्यवहादुर थापासंगको पृष्ठपोषणका आधारमा तयार गरिएको हो ।

२०७७ जेठ ३

प्राप्त प्रतिकृयाहरू

To Top