६ जनामा कोरोना पुष्टि, संक्रमित २७३, चन्द्रागिरीमा स्थानीय कर्फ्यु 

स्वास्थ्य जेठ ३ 2077 ekhabarnepal
Eyhm2ueu8aqi9 i

काठमाडौं, जेठ ३
शनिबार ५ जिल्लाका ६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि नेपालमा कोरोना संक्रमितको संख्या २७३ पुगेको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा थप ६ जनालाई कोरोना संक्रमण भेटिएको हो। 

नयाँ संक्रमित पर्साका दुई जना तथा सर्लाही, चितवन, बर्दिया र सिरहाका एक एक जना हुन्। 

शनिबार भेटिएका नयाँ संक्रमित पर्सा, वीरगञ्ज-१२ का २८ र २९ वर्षीय पुरुष, बर्दिया नार्खु-११ का २८ वर्षीय महिला, सिरहा सखुवा-१९ का ३० वर्षीय पुरुष, सर्लाही रामनगर-४ का १८ वर्षीय महिला र चितवन गढौंली-१ का २५ वर्षीय महिला छन्। 

चन्द्रागिरी नगरपालिका सिल
 
चार जना कोरोना संक्रमित फेला परेपछि काठमाडौंको चन्द्रागिरी नगरपालिका चार दिनका लागि सिल गरिएको छ।

आज (शनिबार) दिउँसो १२ बजेदेखि जेठ ७ गते बिहान ६ बजेसम्मका लागि नगरपालिका क्षेत्रलाई सिल गरिएको हो।

‘स्थानीयलाई घर बाहिर हिँडडुल गर्नसमेत रोक लगाएका छौं,’ नगरप्रमुख धनश्याम गिरीले भने, ‘यो भनेको एक खालको स्थानीय कर्फ्यु हो। नगरक्षेत्रमा महामारी फैलिने अवस्था आएपछि यस्तो निर्णय गरेका हौँ।’

अत्यावश्यक कामले हिँडडुल गर्नुपरेमा सामाजिक दूरी कायम गरी माक्स र पञ्जा लगाएर मात्र हिँड्न भनिएको उनले बताए।

‘नगर क्षेत्र भित्रका औषधी पसलबाहेक अन्य सबै खालका पसल, सरकारी, सहकारी, प्राइभिेट सबै खालका कार्यालय सञ्चालन र विकास निर्माणका काममा पनि रोक लगाइएको छ,’ उनले भने।

चन्द्रागिरी नगरपालिकाको यो निर्णयले काठमाडौँ प्रवेश गर्ने मुख्य नाका थानकोटबाट हुने आवागमन पनि प्रभावित हुने भएको छ। मेयर गिरीले मालबाहक गाडीलाई सडकमा गुड्न दिए पनि रोक्न र सामान ओसारपसार गर्न रोक लगाएको बताए।

चन्द्रागिरी नगरपालिका क्षेत्रको मच्छेगाउँ, दहचोक, बलम्बु, सतुंगलमा एक-एक र दुई जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ।

संक्रमित हुनेमा दुई जना सात-सात वर्षीय बालक छन्। उनीहरु सतुंगल र दहचोकका हुन्। चन्द्रागिरिका ३२ वर्षीय पुरुष र ३३ वर्षीया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ।

प्राप्त प्रतिकृयाहरू

To Top