नेपालका कोरोना प्रभाव र सार्वजनिक सेवा प्रबाह ब्यबस्थापन—१

बिचार जेठ २ 2077 ekhabarnepal
87541545 862390087542814 1516070180713660416 n


 डिल्लीराज आचार्य
वरिष्ठ न्यायाधीश 
एकपछि अर्को गर्दै आहार, बिहार र ब्यबहारमा मानिस प्रकृतिभन्दा क्रमशः फरक हुदै गयो । त्यही कारणले हुनसक्दछ, प्रकृति रिसाउँदै आयो । एकपछि अर्को गर्दै डरलाग्दा र कहर जाग्दा रोगहरु देखापर्न थाले । हैजा, टि.बी., स्पेनिस फ्लू, इन्फुलयन्जा हुदै कोरोना भाइरसको महामारी मानिसले बेहोरी रहेको छ । सुरु सुरुमा देखिएका हैजा र टि. बी. हरु क्रमशः नियन्त्रण हुदै गए । हैजा र टि.बी.बाट मर्नेहरुको सँख्या कम हुदै गयो । सुगर ब्लड प्रेसर जस्ता रोगहरु बढदै गएर मुटु हान्ने, दिमाग ब्लक हुने समस्याहरु झेल्नमा मानिसहरुलाई कठीन हुदै गयो । ब्याक्टेरियन रोगहरुको जमातमा स्वास प्रश्वासमा समस्या ल्याउने इन्फुयन्जा र मच्छ्डबाट सर्ने जिका भाइरसजन्य रोगहरुको लामबन्दी नै हुन थाल्यो । यसक्रममा वर्तमानमा देखिएको कोरोना भाइरस (कोभिड(१९) यसको पछिल्लो कडी हो । विश्वब्यापी रुपमा महामारी रुप लिएको कोरोना भाइरसको असर नेपालभूमी र नेपाली जनजीवनमा क्रमशः बढिरहेको छ ।
नोबल कोरोना भाइरस चीनको हुआनमा पहिलो पटक देखिएको हो । यो प्राकृतिक हो वा कृत्रिम भन्ने बिबाद समाधान भइसकेको छैन । यो त अमेरिकाले बनाएको जैविक हतियार हो भन्ने एकथरि र होइन होइन यो त चीनले बनाएको जैविक हतियार हो भन्ने अर्कोथरीहरु सतहमा आए । बेप्रमाणित हल्लाहरुका पछाडि लाग्नु हुदैन । धेरैको बुझाइछ, यो प्राकृतिक रोग (महामारी) नै हो । जहाँबाट जसरी आएपनि यो वर्तमानमा मानव काल बनेर आएको छ । सम्भवतः प्राणी जातिकै काल र पृथ्वीकै सँरचनाको लागि चुनौती बनेर आएको छ ।
कोरोना सङ्क्रमित हुनु आफैमा दुःख लाग्दो बिषय, त्यसमापनि बिरामी भएर अस्पताल बस्नुपर्दा घरका आफन्त कोही हेर्न वा हेरचाह गर्न आउनै नपाउने ? अझ मृत्युको मुखमा पर्नेबेलामा कोही आफन्त नजिक नहुने ? सदाका लागि सँसार छोडेर जान लागेपनि आफन्त कसैबाट अन्तिम बिदाइ हुन नसक्ने ? सम्झौ त, कति कहालिलाग्दो अवस्थासम्म पुरयाउदो रहेछ यसले ? मान्छेले गौरवताकासाथ देखाउँने भनेकै मुख (अनुहार) हो तर यसले गर्दा त्यही अनुहारपनि लुकाएर हिड्नुपरेको छ ।  मान्छेको सबैभन्दा ठूलो सम्पत्ति स्वाभिमान हो तर यससँग झुकेर हिड्नुपर्ने भएको छ ।
शक्ति र स्रोतले सँसारकै मसिहा हुँ भन्ने स्वयम् अमेरिका नै सबैभन्दा बढी प्रभावित बनी आच्चु आच्चुमा परेको छ । बेलायत, फ्रान्स, इटली, रुस, चीन, भारत आदि ठूला देशहरु नै यसको समस्याबाट स्याँ स्याँ गरिरहेका छन । यसबाट आजसम्म विश्वभरका करिव त्रिचालीस लाख मानिसहरु सक्रमणित भइसकेका र त्यसमध्ये करिब ३ तीनलाखले ज्यान नै गुमाइसकेको आजको स्थिति नै एकप्रकारले भयावह रुपमा छ भने बढ्दै जादाँ भयाबहको रुपमा कस्तो लिएर आउँला ?
भौगोलिक रुपमा सानो, आर्थिक स्रोत एवम सामरिक शक्तिका दृष्टिबाट कमजोर, आत्मनिर्भरताका समेतका धेरै कोणबाट कमजोर मुलुक नेपालसँग कोरोना भाइरस बिरुद लड्ने सामर्थ्यता धेरै कम छ । सबैतिर अन्यौलता, अनिश्चिता र उपचारविहिनता रहेको स्थितिमा नेपालपनि अछुतो रहन सक्ने भएन । अँध्यारोमा छामछुम गर्दै सम्भावित खतराबाट जोगिन प्रतिरोधका उपायहरुको खोजिमा नेपालपनि बामे सरिरहेको छ ।
नेपालमा पहिलो पटक २०७६ साल माघ महिनाको ९ गते देखिएको कोरोना भाइरसको प्रभाव ५० जनामा पुग्न ३४ दिन लाग्यो । ५० बाट १०० जनामा पुग्न ११ दिन लाग्यो । १०० बाट १३४ हुन ४ दिन लाग्यो र १३४ बाट २१७ एकैदिनमा पुग्यो र ततपश्चात २६ थपिएर २४३ पुग्यो ।
यसबिच ब्यक्तिबाट परिवार वा सम्पकर्मा आएका नजिकका मान्छे हुदै अब समुदायमा नै सँक्रमित हुने क्रम सुरु भयो भनिएको छ । यसबाट कोरोनाको जोखिममा नेपाल परिसक्यो भन्ने बुझ्नुपर्ने हुन्छ । सुरुदेखिनै लकडाउन गरियो तर हुनुपर्ने जति र जसरी परीक्षण नै हुन पाएन । अर्थात परिक्षणका सामाग्रीहरु नै आएनन अथवा ल्याइएन अथवा पाइएन । ‘’लकडाउनमा ब्यस्त, परीक्षणमा सुस्त’’ ब्यबस्थापनमा प्रारम्भिक कमजोरी देखियो । कोरोना बिदेशबाट आयो वा ल्याइयो । त्यसलाई राजधानी हुदै गाँउ वस्तीमा पुरयाइयो । दक्षिणबाट ओइरिने क्रम सुरु भएकोपनि धेरै भयो । दक्षिणको खुला सिमाको दुःख पुर्खयौलीदेखिको दुःख हो, जो अब चरमदुःखको कारक बन्ने दिशामा द्रुत गतिमा दौडिरहेको छ ।
कामको खोजिमा दक्षिण पुगेका नेपालीहरुलाई यतिवेला सिमामा ल्याएर १४ दिनसम्म बिना परिक्षण वा उपचार भोक प्यासकै बिचमा राख्ने अनि रातबिरात दशगजा हुदै नेपाल लखेट्ने एकातिरको दुःख र अर्को्तिर नेपाल प्रबेश गर्न नपाउने महादुःखमा पर्ने नेपालीहरुको सँख्या दिनहूँ बढिरहेको छ । यो क्रम अझ बढ्ने निश्चित प्रायः छ । सुरक्षित रहन अभिप्रेरित गर्ने परिस्थितिका बारेमा सहज रहने र राख्ने एकपछि अर्को सामुहिक प्रयासकासाथ नेपालीहरुको स्वास्थ्य र जीवनको सुरक्षाको दिशामा दिनरात लाग्नुपर्ने दायित्व विशेषत सार्वजनिक प्रशासनको हो । चारमहिना बितिसक्दा पनि समुचित अध्ययन र ब्यबस्थित सँवोधन हुन वा गर्न नसक्नु सम्बन्धित सबैको कमजोरी हो । परिणामतः एकातिर ज्यानको सुरक्षा र अर्को्तिर जहानको सुरक्षामा एकपछि अर्को गर्दै हरेक नेपालीहरु पर्दै गएका छन । एकपछि अर्को गर्दै भौतिक एवम मानसिक रुपमा आक्रान्त बन्दै गएका छन । कोरोना भाइरस यतिवेला बनको डर मात्र होइन, मनको डरको आगोपनि बनिरहेको छ ।

(प्राकृतिक न्यायको सिदान्त समेतका विविध १० वटा पुस्तक प्रकाशित गरेका लेखक उच्च अदालत जनकपुर, अस्थायी इजलास विरगन्जका वरिष्ठ न्यायाधीश हुन । )

प्राप्त प्रतिकृयाहरू

To Top