सिमानामा वगेको आँशु ः रातभर निदाउन सकिन

समाज जेठ २ 2077 ekhabarnepal
95143973 1121919578171957 433229906583748608 n


लक्ष्मण पौडेल
भारतमा रहेका नेपालीहरु चोर बाटोबाट आउँदा कोरोना भाइरसको संक्रमण बढ्दै जान थालेपछि जिल्ला सुरक्षा समितिले मुख्य बाटोबाटै नेपालीहरुलाई ल्याउने निर्णय मंगलबार गरेको थियो । प्रवासी नेपालीहरुको व्यवस्थापनका लागि स्थानीय तहले पनि प्रतिवद्धता जनाएका थिए । सोही अनुरुप बिहीबार सीमा क्षेत्र सुनौली नाकामा अलपत्र नेपालीहरु ल्याइने भन्ने कुराको जानकारी आयो । सीमा क्षेत्रमा कति नेपाली छन् भन्ने स्पष्ट जानकारी थिएन ।

तिलोत्तमा नगरपालिकाको टोली अलपत्र नेपालीलाई ल्याउन सीमानाका जाँदैछ भन्ने थाहा पाएपछि म पनि सोही टोलीसँगै बेलहिया नाकातर्फ लागें । साथमा तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरे, स्वकिय सचिव विष्णु अर्याल र प्रेस सल्लाहकार बिपी गौतम पनि थिए ।

नाकाबाट कति नेपाली ल्याउने भन्ने यकिन जानकारी थिएन । नाका पुग्नुअघि हामी जिल्ला प्रशासन कार्यालय भैरहवामा दिउँसो १ बजेतिर पुग्यौं । त्यहाँ सीमापारीबाट आउने नेपालीहरुको व्यवस्थापन कसरी गर्ने र सुरक्षाको प्रवन्ध कसरी मिलाउने भनेर छलफल गरिरहेका थिए । छलफलमा सहभागी भएका नेपाली सेनाका लेफ्टिनेन्ट कर्णेल ज्योती थापाले आर्मीको सुरक्षा आवश्यक पर्ने भए आर्मी क्याम्प नजीकको दूरीमा क्वारेन्टाइन व्यवस्थापन गर्नुपर्ने बताइरहेका थिए । रुपन्देहीका प्रहरी उपरीक्षक हेमकुमार थापाले महाविपत्तिको बेला भएकाले सैद्धान्तिक कुरा भन्दा पनि व्यावहारिकतालाई ख्याल गर्नुपर्ने र सुरक्षामा सेनाले पनि सघाउनुपर्ने धारणा राखिरहेका थिए । प्रहरीको जनशक्ति कम भएको तर क्वारेन्टाइनस्थल धेरै भएकाले प्रहरीले मात्रै सुरक्षा दिन कठिनाइ हुने उनको तर्क थियो । छलफलमा सहभागी प्रमुख जिल्ला अधिकारी महादेव पन्थले स्थानीय तहले निकै मिहनेतका साथ क्वारेन्टाइनको व्यवस्थापन गरेकाले नेपालीहरुलाई ल्याउन सके संक्रमणको जोखिम कम हुने बताइरहेका थिए ।

तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले मुख्य नाकाबाट ल्याउन नसके चोर बाटोबाट नेपालीहरु भित्रिने र अवस्था भयावह हुने भन्दै नेपालीहरुलाई ल्याउनैपर्ने र यसका लागि तिलोत्तमा आवश्यक सहयोग गर्न तयार रहेको बताइरहेका थिए । छलफलकै क्रममा सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरिप्रसाद अधिकारी आइपुगे र उनले आफ्नो क्षेत्रमा २ सय जनालाई व्यवस्थापन गर्न सकिने बताए । दुवै नगरपालिकाले पाँचसय नेपालीको व्यवस्थापन गर्ने बताएपछि बिहीबार नेपालीहरु आउने छिनोफानो भयो र त्यसक्रममा तिलोत्तमा नगरपालिकाले २३३ र सिद्धार्थनगर नगरपालिकाले २७७ जना ल्याएर आ–आफ्नो क्वारेन्टाइनमा राख्ने सहमति भयो ।

प्रमुख जिल्ला अधिकारीले उपलव्ध गराएको नामावलीको लिस्ट बोकेर दुवै नगरप्रमुख सीमा क्षेत्रतर्फ लागे । म पनि तिलोत्तमा नगरपालिकाको टोलीसँगै सीमा क्षेत्र पुगें । त्यहाँ पुग्दा करिव साढे ४ बजेको थियो ।

सीमा क्षेत्रमा खटिएका सुरक्षा अधिकारीहरु सुनौलीमा करिव २ हजारदेखि २५ सय नेपाली रहेको बताउँदै थिए । उनीहरुको भनाइ अनुसार ९७६ जनाले १४ दिनको क्वारेन्टाइन बसाइ पूरा गरिसकेका छन् । सीमामा खटिएका एकजना सुरक्षा अधिकारीले भने–“भारतीय प्रहरीले नेपालीहरुलाई लैजानका लागि तीव्र दवाव दिइरहेको थियो भने हेपाहा प्रवृत्ति देखाएको थियो, आज केही सामान्य हुने देखियो ।”

भारतीय भूमी नौतनवामा नौवटा क्वारेन्टाइनमा नेपालीलाई राखिएको जानकारी हामीलाई थियो । त्यसमध्ये तीनवटा क्वारेन्टाइनमा रहेकालाई ल्याउने गरी तयारी भैरहेको थियो । सीमा क्षेत्रमा गएको कारण म आफूलाई पनि कतै संक्रमण भै पो हाल्ने हो कि भन्ने डर थियो सँगसँगै रिपोर्टिङको दायित्व पनि पूरा गर्नुपर्ने बाध्यता थियो । तसर्थ सामाजिक दूरी कायम राखी टाढैबाट मोवाइल क्यामेरा अन गरी बसेको थियो । मास्क लगाएको थिएँ भने १०–१५ मिनेटको अन्तरालमा सेनिटाइजर पनि दलिरहेको थिएँ । नाकामै रिपोर्टिङका लागि आएका एपीवान टेलिभिजनका पत्रकार राधेश्याम विश्वकर्माले भन्दैथिए–“ओ हो तपाईं त एउटा मात्रै मास्क लगाएर आउनु भएछ, सीमा नाकामा एउटा मात्रै मास्कले संक्रमण रोक्दैन, दुईवटा लगाउनु पर्छ ।” उनले भनेजस्तै सीमा नाकामा रहेका कतिपयले दुइवटा मास्क लगाएका थिए भने धेरैको मुखमा एउटै मास्क देखिन्थ्यो । सीमानाकाबाट तरकारी र फलफूल तथा औषधिजन्य सामग्री बोकेका थुप्रै ट्रक तथा कन्टेनरहरु वारपार गरिरहेका थिए ।

करिव साढे ५ बजे नेपालीहरुलाई लिनका लागि ९ वटा बस पुगे । त्यसको केही बेरमै सीमानाकाबाट नेपालीहरु एक–एक गर्दै भित्रिए । उनीहरु भित्रिंदाको दृश्य निकै भयावह देखिन्थ्यो । कोही महिलाहरु स–साना बालबच्चा बोकेर रुँदै आफ्नो भूमिका टेकेका थिए भने धेरै युवायुवती निकै थकित मुद्रामा देखिन्थे । त्यो दृश्य देखेपछि तिलोत्तमा नगरप्रमुखका स्वकिय सचिव विष्णु अर्यालले आँखाबाट आँशु खसाले । मलाई पनि निकै भावव्हिल बनायो । उनीहरुले “नेपाल आमाकी जय” नारा लगाएका थिए ।

सीमानाकाबाट नेपालीहरु भित्रिंदा साँझ करिव साढे ६ बजिसकेको थियो । उनीहरुमध्ये २७७ जनालाई सिद्धार्थनगर नगरपालिकाले व्यवस्थापन गरेको क्वारेन्टाइनतर्फ लगियो भने म तिलोत्तमा नगरपालिकाको टोलीसँग मधवलिया माविको क्वारेन्टाइनस्थल पुगें । त्यहाँ खटिएका स्वास्थ्यकर्मीहरुले प्रत्येक नेपालीलाई सेनेटाइज गर्दै भित्र प्रवेश गराए । निकै दिनको भारतीय भूमिको बसाइपछि थाकेका नेपालीहरु विद्यालयको चौरमै सुतिरहेका देखिन्थे भने बालबच्चाहरु भोकले रोइरहेका थिए । त्यहाँ नगरप्रमुख घिमिरेले केहीबेर संबोधन गर्दै मानवीय दायित्व बोध गरी नेपालीहरुलाई भित्र्याइएको भन्दै सबै कुराको व्यवस्थापन गरिएको र पिसिआर परीक्षणपछि घर पठाइने जानकारी दिए । आफूहरुलाई नेपाल ल्याएको उनीहरुले सामूहिक रुपमा नगरपालिकालाई धन्यवाद दिइरहेका थिए ।
त्यसक्रममा नगरपालिका स्वास्थ्य शाखाका अधिकृत गणेश गौतमले स्वास्थ्य र सुरक्षाको सबै प्रवन्ध क्वारेन्टाइनस्थलमा गरिएको बताए । तिलोत्तमाले ल्याएका २३३ मध्ये ३७ जनालाई भने शंकरनगर दुर्गादत्त माविको क्वारेन्टाइनमा लगियो ।

भारतीय भूमिबाट आएका नेपालीहरुसँग प्रतिक्रिया लिने मन थियो, तर नजीकै जाने आँट भने आएन । किनकी स्वास्थ्य भन्दा ठूलो अरु कुरा हुँदैन भन्ने लाग्यो । त्यसैले तिनीहरुको क्वारेन्टाइनमा व्यवस्थापन भइसकेपछि हामी त्यहाँबाट साढे ८ बजे फर्कियौं ।

सबैसँग बिदा भएर म घरमा आएँ । तर, रातभर निदाउन सकिनँ । सीमा नाकामा गएर आएकोले कतै संक्रमण त भएन भन्ने चिन्ताले सताइरह्यो । फेरि नेपालीहरुको भयावह अवस्था रातभर मनमा खेलिरह्यो । मनमा खेलेका विभिन्न तर्कनाहरुसँगै बिहान भयो । मन भने अहिलेसम्म उस्तै भारी नै छ ।

प्राप्त प्रतिकृयाहरू

To Top