भारतले बहाना गर्न पाउँदैन, वार्तामा आउनैपर्छ : प्रधानमन्त्री 

राजनीति बैशाख ३१ 2077 ekhabarnepal
Kp sharma oli 1

काठमाडौं,बैशाख ३१ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूभाग हडपेकोबारेमा भारतले तत्काल वार्तामा आउनै पर्ने बताएका छन्। 

सरकारी निवास बालुवाटारमा आयोजित सर्वदलीय छलफलमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। 

 'भारतले अब वार्तामा आउनै पर्छ, कोरोना या अन्य कुनै पनि कारणलाई देखाएर टार्न पाउँदैन', प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भने, 'अब वार्ताका लागि भारतले कोरोना कारण देखाएर पन्छिन पाउँदैन, तत्काल वार्तामा आउनैपर्छ।'

 प्रधानमन्त्री ओलीले बैठकमा बोल्दै लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र अतिक्रमण गरेको बारेमा नेपालले गत कात्तिकदेखि नै वार्ताका लागि आग्रह गर्दा पन्छिने गरेको भन्दै असन्तुष्टि जनाएका थिए।

 'भारतले अहिलेसम्म वार्ता चाहेको छैन। अब भारतले वार्ता गर्नैपर्छ। यो नै दुवै देशको हितमा छ', बैठकमा प्रधानमन्त्री ओलीले भने, 'पुर्खाले लडेर बचाएको नेपाललाई अब अडेर बचाउनुपर्छ। पुर्खाले बचाएको उपलब्धि जोगाउन सरकार दृढ छ।'
 
प्रधानमन्त्री ओलीले भारतसँग असल मित्रता चाहेको बताउँदै नेपाली भूमि मिचिएको बहानामा सम्बन्ध बिगार्न नहुनेमा जोड दिए। 'हामी भारतसँग असल मित्रता चहान्छौं। नेपालको राष्ट्रिय रक्षा सर्वोपरी हुन्छ', उनले भने, 'वार्ता नै एक मात्र प्रभावकारी माध्यम हो। सरकारवार्ता चाहन्छ। त्यसका लागि अब भारत तयार हुनुपर्छ, कोरोनालाई देखाएर पन्छिन पाउँदैन।'

 प्रधानमन्त्री ओलीले भारतले नेपाली भूमिमा अतिक्रमण गरेर सडक खनेको बताउँदै कुनै पनि हालतमा आफ्नो भूमि छाड्न नसकिने भन्दै दलहरुसँग सहयोग मागेका थिए। उनले बरु भारतले खनेको सडक क्षेत्र उसलाई भाडामा दिन सकिने तर आफ्नो भूमि एक इन्च पनि मिच्न नदिने अडान राखेका थिए।

प्राप्त प्रतिकृयाहरू

To Top