कोरोनावाट भाग्ने हैन अवसरका रुपमा उपयोग गर्ने हो 

बिचार बैशाख ३१ 2077 ekhabarnepal
Dr ghimire

डी.आर. घिमिरे
कारोना भाइरसको संक्रमणका हिसावले अहिले ५ नं. प्रदेश इपिसेन्टर वनेको छ । मलाई याद आइरहेको छ, लकडाउनको शुरुवाती दिनमा रुपन्देहीका प्रहरी उपरिक्षकले रुपन्देही इटाली वन्न सक्छ भनेर अनुमान गर्दै थिए । उनलाई मैले कसरी भनेर भनिन । किनकि खुला सिमाका कारण हाम्रा केही अफ्टेरा थिए र छन् । जसलाई वडो सुझवुझपूर्ण तरिकाले समाधान गर्न आवश्यक छ ।
यतिनैवेला मैले स्मरण गरिरहेको छु—कोरोनावाट डराएर भाग्ने हैन यसलाई आत्मसात गरौं भनेर वारम्वार सांसद विष्णु पन्थीले फेसवुक स्टाटसमा लेखेको कुरा ।
यस्तै आत्मसात गर्ने कुरा ५ नं. प्रदेशका योजना आयोगका पूर्व उपाध्यक्ष डा. प्रकाश श्रेष्ठले पनि वारम्वार लेख्दै र भन्दै आइरहको कुरालाई पनि मैले स्मरण गरिरहेको छु । यो स्मरणको कुरा यस अर्थमा कि अहिले जे भइरहेको छ त्यो पूर्वानुमान अनुसारकै कुरा हो । 
हामी सवैले सोंचेजस्तो एक दुइ महिनामा सकिने खेल रहेनछ कोरोना भाइरस । लाग्दैछ यो त भर्खरै प्रारम्भ भइरहेको त छैन । दिनहुँ जसरी संक्रमितको संख्या वढिरहेको छ यसलाई हेर्दा विष्णु पन्थी र प्रकाश श्रेष्ठहरुको कुरानै सत्यजस्तो लाग्दैछ । अर्थात् अव कोरोना भाइरससंग डराएर हैन आमनेसामने भएर मुकाविला गर्नुपर्ने छ ।
अचम्म त यो छ कि यस्तो वेलामा शान्तिनगर गाउँपालिका चिराघाट दाङका अध्यक्ष कमानसिंह डांगीले वैशाख ३० गतेको मितिमा एउटा विज्ञप्ति प्रकाशित गरेर संक्रमितहरु कसैलाई पनि दाङमा ल्याउन नहुने जिकिर गरेका छन् । उनले जिकिर मात्र गरेनन् हिजो वर्दियावाट ल्याएकी एक वालिकालाई १८ घण्टासम्म रोकेर उपचार गर्न दिएनन् भन्ने कुरा पनि आयो ।
 उनको कुतर्क छ— यस (दाङ) जिल्लामा एउटा पनि संक्रमित नभएकोले वाहिरवाट उपचार गर्न ल्याउँदा जिल्लामा रोग भित्रिन्छ । यहाँसम्मकि त्यसरी वाहिरवाट ल्याएर उपचार गर्दा महामारीको जोखिम वढ्ने भएकोले त्यसवाट उत्पन्न अवस्थामा सम्पूर्ण जिम्मा सरोकारवालाले लिनुपर्छ भन्ने छ । 
यस्तो सन्देश एकाएक सामाजिक सञ्जालवाट सार्वजनिक भएपछि मुख्यमन्त्री शंकर पोख्रेलले सामाजिक सञ्जालवाटै जवाफ दिनुपर्ने अवस्था आयो । पोख्रेलको जवाफी स्टाटस यस्तो छ—“कोरोना संक्रमितलाई अस्पताल ल्याउनु भनेको सुरक्षित तरिकाले उपचार गर्नु हो । कोरोना विशेष अस्पतालवाट नेपालमा कोरोना फैलिएको छैन” । 
भारतले हिजोदेखि रेल सेवा शुरु गरेपछि अव भारतमा रहेका नेपालीको ठूलो संख्या आउनु स्वभाविक छ । यसको ब्यवस्थापनमा पनि ध्यान जानै पर्ने भएको छ ।
अव रेल चल्न थालेपछि सिमा क्षेत्रमा थाम्नै नसक्ने गरि मान्छेको ओइरो लाग्नेवाला छ । नेपालगञ्ज नाकाबाट भित्रिएका एक सय ८१ जनालाई नेपालगञ्जमा राख्दा स्थानीय प्रशासन, नेपालगञ्ज उपमहानगरपालिकाले ठूलो सास्ती व्यहोरिसकेका समाचार आइरहेका छन् । त्यसअघि चैत्र १० गते ८ सय ९९ जना एकै दिन भित्रिदा स्थानीय प्रशासनले ‘रोक्न’समेत सकेको थिएन । 
यस्तोमा अनुमान गरे अनुसार २८ हजार ब्यक्ति नेपालगञ्ज नाकाबाट भित्रिएमा कसरी व्यवस्थापन होला ? 
यो कुरा सवै क्षेत्रमा लागु हुन्छ । अर्थात् नेपालको दक्षिण सिमा १८ सय किलोमिटर लामो छ । त्यो सवै ठाउँमा यही हाल हुनेछ । हाल १ सय १९ वटा बोर्टर आउट पोष्ट(बीओपी रहेका छन् । शसस्त्र प्रहरीका निरिक्षकको कमाण्डमा रहने ३५ सदस्यीय एउटा बीओपीले औसतमा करिब १८ किलोमिटर लम्बाई हेर्नुपर्ने अवस्था छ ।
रुपन्देही कपिलवस्तुलगायतका जिल्लामा रातारात भागेर आउनेहरुले आतंकनै मच्चाइसके । अव आउनेहरु खेलेआम आउँदैछन् । उनीहरु सवैको आरडीटी जाँच गर्ने अवस्था पनि हाम्रो छैन । यस्तो अवस्थामा कोरोनासंग भागेर कसरी समाधान हुन्छ ? 
भारतले नेपालीलाई पठाउने नीति लागु गरेको छ । खुला रुपमा जाउ नभन्ने तर जानका लागि सहयोग गर्ने । 
भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले उत्तर प्रदेशमा रहेका घर फर्किन चाहने नेपालीको लागि घर फर्किने व्यवस्था मिलाउन निर्देशन दिएका छन् । 
सामाजिक सञ्जाल ट्वीटरमा उनको कार्यालयले उल्लेख गरे अनुसार आदित्यनाथले नेपाल नफर्की भारतमा नै बस्न चाहने नेपालीको लागि पनि आवश्यक व्यवस्था गर्न निर्देशन दिएको सन्देश पनि दिएका छन् । उनले हिजो दिउसो ट्वीटरमा यसो भनेका थिए—
उत्तर प्रदेश में निवासरत नेपाल राष्ट्र के जो लोग वापस जाना चाहते हैं, उनकी वापसी की व्यवस्था की जाए, तथा जो लोग यहां रुकना चाहते हैं, उनके लिए आवश्यक प्रबन्ध सुनिश्चित किए जाए । कुटनीतिक रुपमा वस्न चाहानेलाई राख्ने भनेपनि यतिवेला को वस्न चाहन्छ र ? त्यसैले मिठो भाषामा पठाउने आदेश दिइएको हो यो ।
जे होस् नेपालमा अव प्रक्रियासम्मत ढंगलेनै ल्याउनु आवश्यक छ । यो अवस्थामा चारवटा काम गर्न उपयुक्त हुने विचार हिजो मैले सामाजिक सञ्जालमार्फत् राखेको थिएँ । ती थिए—
१. अव सिमा क्षेत्रमा मात्र हैन हरेक पालिकाहरुले क्वारेन्टाइनको राम्रो ब्यवस्था गर्नुपर्नेछ । 
२. यस अघि सिमा क्षेत्रमा गएर कतिपय पालिकाहरुले आफ्ना नागरिकहरु लगेका थिए । अव पनि यो दायित्व उनीहरुलेनै पूरा गर्नुपर्नेछ ।
३. घर गएपछि उनीहरुलाई अनिवार्य रुपमा आइसोलेशनमा राख्नुपर्नेछ ।
४.खेतिपाति सहितको अन्य कामधन्धा गर्नका लागि आवश्यक ब्यवस्था मिलाउँदै जाऔ । कोरोना संक्रमितलाई घृणा नगरौं । यसले निकास निस्कन्न ।
तर, आज रुपन्देहीकै कतिपय ठाउँमा क्वारेन्टाइनमा पनि राख्न तयार नभएको सूचना प्राप्त भयो । दिउसो भैरहवाका पत्रकार दीपेश पछाइले सामाजिक सञ्जालमा राखेको यो सूचनाले त्यस्तै सन्देश दिन्छ । उनले लेखेका छन्—
“रुपन्देही प्रशासनले भारतीय क्वारेन्टाइनमा रहेका करिव एक हजार नेपालीलाई प्रक्रिया पूरा गरी स्वदेश ल्याउन लागेको अवस्थामा नेपालमा रहेको क्वारेन्टाइनमा राख्न नदिने भनेर केहीले विरोध शूरु गरेसंगै केही समस्या सृजना भएको छ । यस्तो कठिन अवस्थामा विरोध हैन सहयोग गरौं । प्रकृया पूरा गरेर ल्याउँदा केही समस्या हुँदैन भन्नेमा विश्वास दिलाऔं ।”
आजसम्म आइपुग्दा कपिलवस्तुले जिल्ला सिल गरेको छ । रुपन्देहीले दक्षिणी भेग खासगरि भारतसंग सिमा जोडिएका पालिकासंगको आवागमन वन्द गरेको छ । अर्घाखाँची गुल्मीले वाहिरका मान्छे जान नदिने नीति वनाएका छन् ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा आज बसेको जिल्ला सुरक्षा समिति र स्थानीय तहका प्रमुखहरुको बैठकले दुई नगरपालिका र पाँच गाउँपालिकामा बुधबारदेखि जेठ ५ गते राति १२ बजेसम्म आवागमन बन्द गर्ने निर्णय गरेको छ ।
आवागमन बन्द गरिने स्थानीय तहहरुमा सिद्धार्थनगर नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, सम्मरीमाई गाउँपालिका, मर्चवारी गाउँपालिका, कोटहीमाई गाउँपालिका, मायादेवी गाउँपालिका र रोहिणी गाउँपालिका रहेका छन् ।
लाग्छ अव यो प्रक्रिया वढ्नेछ ।
तर, के निकास यही हो त ?
हैन । सामान्यत नेपालमा संक्रमितमा लक्षणनै नदेखिएको अवस्था छ । जाँच गरे थाहा हुने नगरे थाहा नहुने । लक्षणनै देखाउन नसक्ने रोगवाट पनि डराएर वसिराख्ने कि केही गर्ने ?
त्यसैले मेरो विचारमा पीसीआरमा देखिदासाथ क्वारेन्टाइनमा वस्नुभन्दा पनि आइसोलेसनमा वस्ने ब्यवस्था मिलाउनु पर्ने हो कि ? जुन काम घरमै पनि गर्न सकिन्छ ।
कोरोनालाई घृणा गर्न छाडेर ब्यवहारिक वन्न पनि आवश्यक छ । अहिलेको अवस्थामा संक्रमित देख्ने हो भने उसले पानी खान पनि नपाउने अवस्था छ । जवकि संक्रमित हुँदासाथ घरमै वसेर पनि उपचार सम्भव छ भनेर विज्ञहरुनै भनिरहेका छन् । कुरा यति हो कि उसका लागि वस्ने कोठा अलग चाहिन्छ । उसले प्रयोग गर्ने ट्वाईलेट बाथरुम अलग हुनुपर्छ । अष्ट्रियाको भिएना निवासी, कोभिडको उपचारमा संलग्न सागर सुबेदीका अनुसार संक्रमितसंग १५ मिनेटभन्दा छोंटो कुराकानी गर्दा पनि संक्रमण नसर्न सक्छ । संक्रमितमध्ये करिव ८१ प्रतिशत त आफै सञ्चो हुन्छन् । वाँकी उपचार गरेर सञ्चो हुन्छन् । ३.५ प्रतिशतको मृत्यु हुन सक्छ । त्यो पनि उमेर र दीर्घरोगमा भर पर्दछ । 
त्यसैले अव गर्नुपर्छ—
    जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेका अनुसार घरमै बस्ने, हात धोइरहने, बाहिर जानु परेमा मास्क, चस्मा, पंजा, आउटर लगाउने, स्यनिटाइजर प्रयोग गर्ने तथा ६ फिटको व्यक्तिगत दुरी कायम गर्ने हो भने कोरोना भाइरस सर्दैन । 
    यसलाई हाउगुजी वनाउनुभन्दा अनुशासनमा रहने वस्ने र दैनिक काम गर्नेतर्फ ध्यान दिनुपर्नेछ । जहाँसम्म भारतवाट आउनेहरुको कुरा हो उनीहरुलाई सहज ढंगले गाउँ फर्काएर क्वारेन्टाइनमा राख्ने तयारी गर्नुपर्छ । यो काम सम्वन्धित पालिकाहरुलेनै गर्नुपर्नेछ । अन्यथा ब्यवस्थापनमा असहज हुन्छ । 
    सामाजिक अभियान्ता गणेश घिमिरेले भनेजस्तै क्वारेन्टाइनमा वस्नेहरुलाई कृषिसम्वन्धी तालिम दिएर भौतिक दुरी कायम गर्दै आवश्यक काममा लगाउन सकिन्छ । 
    सहजकर्ताको माध्यमवाट क्वारेन्टाइनवाट निस्केपछि के गर्ने भनेर योजना वनाउन सहयोग गर्न सकिन्छ । ताकि उनीहरु त्याहाँवाट निस्कदा साथ उनीहरु काममा लाग्न सकुन ।
    कोही सिपयुक्त छन् भने सो सिपको  प्रयोग गरेर कैदीहरुे जस्तै उत्पादन गराउन सकिन्छ र अरुलाई तालिम प्रदान गर्न सकिन्छ । 

२०७७ वैशाख ३१
 

प्राप्त प्रतिकृयाहरू

To Top