लिपुलेक नजिक छाङरुमा सुरक्षा पोस्ट  स्थापना हुने , सशस्त्रको टोली प्रस्थान

राजनीति बैशाख ३१ 2077 ekhabarnepal
Kalapani helicopter


काठमाडौँ,बैशाख ३१ 
 भारतले नेपाली भूमि मिचेर बाटो बनाएको क्षेत्र लिपुलेक नजिकै नेपालले सुरक्षा पोस्ट खडा गर्ने भएको छ ।
दार्चुलाको व्यास गाउँपालिका–१ स्थित छाङरुमा सीमा निगरानी चौकी (बिओपी) स्थापनाका लागि काठमाडौँबाट नेपाली सेनाको हेलिकप्टरमा सशस्त्रको टोली त्यसतर्फ गएको छ । सेनाको एमआई–१७ हेलिकोप्टर सशस्त्रको टोली दार्चुला प्रस्थान गरेको छ।
 नेपाली सेनाको हेलिकप्टरमा गृह मन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई तथा सशस्त्र प्रहरीका एआइजी नारायणबाबुसहितको टोली बुधबार बिहान दार्चुलाको खलंगा गएको छ ।

खलंगाबाट सो हेलिकप्टरमा सशस्त्र प्रहरीका निरीक्षकको नेतृत्वमा २५ सुरक्षाकर्मीसहितको टोली लिपुलेक नजिकैको छाङ्गरु जाने छ । त्यहाँ सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बिओपी) खडा गरिने जनाइएको छ ।

भारतले धार्चुला हुँदै तिब्बतको मानसरोवरसम्म जाने बाटो बनाउने क्रममा नेपाली भूमि लिपुलेक–कालापानीको प्रयोग गरेको छ । वैशाख २६ गते भारतले ७९ किलोमिटरको बाटो उद्घाटन गरेपछि नेपालमा विरोध भइरहेको छ ।

सरकारले विरोध चर्किएपछि सो क्षेत्रमा सुरक्षा पोस्ट खडा गर्ने निर्णय गरेको थियो । सोही अनुसार बिओपी खडा गर्नका लागि गृह मन्त्रीका सल्लाहकार तथा सशस्त्रका एआइजी सुरक्षाकर्मीको टोली लिएर छाङ्गरु जाने भएका हुन् ।

प्राप्त प्रतिकृयाहरू

To Top