लिपुलेकमा भारतले सहमति तोड्यो, दूतावासअघि प्रदर्शन,अखिलका नेता पक्राउ

राजनीति बैशाख २७ 2077 ekhabarnepal
158901058296372448 2869125146474915 1651

काठमाडौं, बैशाख २७
भारतले नेपाली भूमी लिपुलेक हुँदै चीनसम्मको सडक सुरुवात गरेपछि नेपालले त्यसको विरोध गरेको छ।

परराष्ट्र मन्त्रालयले शनिबार अपरान्ह जारी गरेको विज्ञप्तिलाई भारतको सो एकपक्षीय कदमलाई दुई देशबीचको द्विपक्षीय सहमती र दुई देशका प्रधानमन्त्री तहमा भएको समझदारीको पनि उल्लंघन भनेको छ।

‘भारतले हिजो (शुक्रबार) नेपाली भूमी लिपुलेक हुँदै लिंक रोड उद्घाटन गरेको कुरा नेपाल सरकारले दुखका साथ जानकारी पाएको छ,’ परराष्ट्र मन्त्रालयद्वारा शनिबार जारी विज्ञप्तिमा भनिएको छ।

सुगौली सन्धी (१८१६) बमोजिम नेपाल सरकारले काली (महाकाली) नदीदेखि पूर्वका लिम्पियाधुरा, कालापानी, र लिपु लेकसहित सम्पूर्ण भूमी नेपालको भएको कुरा निरन्तररुपमा स्मरण गराउँदै आएको परराष्ट्रले जनाएको छ।

सो तथ्य नेपाल सरकारले विगतमा धेरै पटक भारतसामु दोहो¥याएको र सबैभन्दा पछिल्लोपटक भारतले नयाँ राजनीतिक नक्शा जारी गरेपछि भारत सरकारलाई सम्बोधन गरी नोभेम्बर २०, २०१९ मा एक कुटनीतिक नोट पठाएको समेत मन्त्रालयले स्मरण गराएको छ।

‘यो एकपक्षीय कदम दुई मुलुकबीच भएका समझदारी र सीमासम्बन्धी विषयहरुको समाधान वार्तामार्फत् गर्ने भन्ने दुई मुलुकका प्रधानमन्त्रीको तहमा भएको समझदारीहरुको समेत विरुद्ध छ,’ परराष्ट्रको विज्ञप्तिमा भनिएको छ।

नेपालले सीमासम्बन्धी विषयहरु ऐतिहासिक सन्धी, दस्तावेजहरु, तथ्यहरु र नक्शाहरु र दुई मुलुकबीचको मित्रतापूर्ण सम्बन्ध र निकटताको भावनाअनुसार समाधान गर्नुपर्ने कुरामा कटिबद्ध रहेको जनाएको छ।

‘नयाँ घट्नाक्रमहरुको सन्दर्भमा नेपाल सरकार भारत सरकारलाई नेपाली भूमीमा भएका यस्ता गतिबिधिबाट टाढा रहन आह्वान गर्दछ,’ परराष्ट्रले भनेको छ।

भारतीय दूतावासअघि प्रदर्शन- अनेरास्ववियूका नेता पक्राउ


सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको भातृ संगठन अनेरास्ववियूले भारतीय दूतावास अगाडि लैनचौरमा प्रदर्शन गरेका छन्।

नेपालको भूमि लिपुलेक हुँदै चीनको मानसरोवर जोड्न भारतले सडक निर्माण गरी उद्घाटन गरेको विरोधमा शनिबार उनीहरूले शान्तपूर्वक प्रदर्शन गरेका हुन्।

प्रदर्शनमा सहभागी अनेरास्ववियूका पूर्वकेन्द्रीय सचिव सुदेश पराजुलीलगायत विद्यार्थी नेतालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यशु लामा, महेश श्रेष्ठ, अशोक थापा, उत्तर खड्का, प्रेम प्रधान, न्युसन लामिछाने, विनोद खुवाललगायत २० जनालाई प्रहरीले पक्राउ गरेको अनेरास्ववियूले जनाएको छ। उनीहरूलाई महेन्द्र पुलिस क्लवमा राखिएको छ।

भारतले नेपालको भूमि अतिक्रमण गरी सडक निर्माण गरेपछि नेपालमा विरोध भइरहेको छ।

यसअघि गत कात्तिक १६ गते भारतले जारी गरेको नयाँ राजनीतिक नक्सामा पनि लिपुलेक, लिम्पियाधुरालगायत नेपालका भूमि आफ्नो भू-भाग भन्दै समेटेपछि विरोध भएको थियो।

प्राप्त प्रतिकृयाहरू

To Top