बुद्ध जयन्तीको अवसरमा दीप प्रज्ज्वलन गर्न मुख्यमन्त्रीको अपील 

राजनीति बैशाख २५ 2077 ekhabarnepal
Shankar pokhrel1079

बुटवल,वैशाख २५
मुख्यमन्त्री शंकर पोखरेलले २५६४ औ बुद्ध जयन्तीको अवसरमा शुभकामना व्यक्त गर्दै आज साँझ घर—घरमा दीप प्रज्ज्वलन गर्न अपिल गर्नुभएको छ । 
कोरोना भाइरस विरुद्धको लडाईका कारण मुलुक डेढ महिनादेखि लकडाउनमा रहेकोले यतिवेला लुम्बिनी भ्रमण वर्ष कार्यक्रमको औपचारिक समापन गर्न समेत असमर्थ भएको र लुम्बिनीमा हुने बुद्ध जयन्तीको भव्य कार्यक्रम पनि नहुने कुराको जानकारी गराउँदै मुख्यमन्त्रीले विश्व शान्तिको कामनाका लागि र कोरोना विरुद्धको अग्रमोर्चामा खटिएका चिकित्सक सहितका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको सम्मानमा आज साँझ घर—घरमा दीप प्रज्ज्वलन गर्न आग्रह गर्नुभएको हो ।
मुख्यमन्त्रीले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ—
इसापूर्व ५६३ अर्थात आजभन्दा २५६४ वर्ष अघि लुम्विनीमा जन्मिएका सिद्धार्थ गौतम बुद्ध विश्व शान्ति र मानव कल्याणका अग्रदुत हुनुहुन्छ ।  वुद्धले मानव कल्याण, अहिंसा र शान्तिको खोजीका लागि २९ वर्षको उमेरमा राजगद्दीको उत्तराधिकार सहित गृहत्याग गर्नुभयो । हिंसा र दुखको कारणको खोजीमा गृह त्याग गर्नुभएका सिद्धार्थ गौतम् वुद्धले भातृत्व र मानव कल्याणका लागि महान दार्शनिक विचारवाट समाजलाई दिक्षित गर्नु भयो । र, मानिसलाई सत्कर्मको वाटोमा हिडाउन सफल हुनु भयो । वुद्धका उपदेश आज स्थापित वुद्ध दर्शन बौद्ध धर्मावलम्वीका लागि मात्रै नभएर सम्पूर्ण मानव जातिकै लागि अमुल्य निधि भएका छन् । 
पर्यटन प्रवद्र्धनको लागि बृहत्तर ढंगले काम गर्न आवश्यक रहेको तर्फ ध्यानाकर्षण गराउँदै बौद्ध सम्पदास्थलको खोज र अनुसन्धानका लागि लुम्बिनी बौद्ध विश्वविद्यालयसंग सहकार्य अघि बढेको जानकारी गराउनु भएको छ । उहाँले थप्नुभएको छ—प्राचीन कपिलवस्तु र कोलीय गणराज्यमा धेरै स्थलहरु माटोमुनि दविएर रहेका छन् । ती सम्पदास्थलको अन्वेषण गर्दै मानव जातिको अमुल्य निधिका रुपमा संरक्षित गर्नु आवश्यक छ । यस अवसरमा वुद्धकालीन सम्पदाका रुपमा रहेका ऐतिहासिक स्थलहरु तिलौराकोट, रामग्राम, देवदह, निग्लिहवा, गोटिहवा, सग्रहवा,अरौराकोट, सग्रहवाको खोज अनुसन्धान तथा पर्यटकीय हिसावले ती क्षेत्रको विकास जरुरी रहेको छ । 
उहाँले अन्तमा भन्नुभएकोछ —लकडाउनको पालना गर्दै सबै घर—घरमा बस्न सक्दा मात्रै कोरोना विरुद्धको संघर्षलाई सफल बनाउन सकिन्छ । तसर्थ म यस अवसरमा लकडाउनको पूर्ण रुपमा पालना गरी आफू पनि सुरक्षित हुन र अरुलाई पनि सुरक्षित बनाउन हार्दिक अपील गर्दछु ।


 

प्राप्त प्रतिकृयाहरू

To Top