नेकपाका नेताहरु ख्याल गर्नुस् कार्यकर्ताहरु धुरु धुरु रुँदैछन्

राजनीति बैशाख १९ 2077 ekhabarnepal
Dr ghimire

डी.आर.घिमिरे
वैशाख १७ गते वुधवार नेकपाको सचिवालय वैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले वामदेव गौतमलाई प्रधानमन्त्रीको रूपमा र माधव नेपाललाई तेश्रो अध्यक्षको रुपमा प्रस्ताव गरेपछि धेरैले नेकपाको संकट टरेको निष्कर्ष निकाले । धेरैलाई लागेको थियो ओली यति सारो गलेर आउने छैनन् । तर, ओलीले अप्रत्याशित रुपमै प्रस्ताव ल्याए । सो प्रस्ताव आउँदासाथ सवैजना अवाक् भए । किं कर्तब्य विमूढ भए । यो पंक्तिकारले नेकपा विग्रह हुनवाट वँचेको आशयसहितको एउटा आलेखनै सार्वजनिक गर्यो । 
वामदेव गौतमलाई प्रधानमन्त्रीको प्रस्ताव राख्दा मनमनै असन्तुष्ठि भएपनि त्यस्तो असन्तुष्ठि वाहिर देखिएन । सिस्नाले पोल्यो मनमनै भएछ कि क्या हो रात रहे अग्राख पलाउँछ भनेजस्ते सोही दिनकै रातीदेखि आशंका गर्दै उधारो आश्वासन हुँदैन भन्न थाले । १८ गते विहानका अनलाइन र अखवारमा असन्तुष्ठिका स्वरहरु आए । स्वर आएमात्र हैन त्यसदिन दिनभरी प्रचण्ड, नेपाल र गौतमका निवासमा कतिपय नेताहरु दौडधूप गरे र ओलीको भर नपर्न अनुनय विनय गरे । 
सचिवालयको वैठकमा ओलीले वामदेव गौतमलाई प्रधानमन्त्रीका लागि प्रस्ताव गरेको समाचार सार्वजनिक भएपछि नयाँनयाँ कार्डहरु पटाक्षेप हुँदै गए ।    
त्यसपछि दिनभरी हरेक अनलाइनका आ—आफ्नै विष्लेषण आए । हरेक ब्यक्तिका आफ्नै धारणा आए । कसैले ‘नयाँ कार्ड’ को संज्ञा दिए । कसैले ‘टाइम बाइ’ गर्न र केही समय सत्ता लम्ब्याउन ल्याएको प्रस्ताव भने । कसैले कुटील चाल भने । 
कसैकसैले त ओली को हो ? उसले दिने र अरुले लिने भनेर पनि भन्न भ्याए । यस्तै यस्तै गरेर अत्तो थाप्नेहरुले थापिरहे । आखिरी प्रस्ताव त कसैले राख्नुपर्दो हो । त्यो पनि अध्यक्षले प्रस्ताव नगर्ने हो भने कसले गर्ने ?
विडम्वना के छ भने १७ गतेको प्रधानमन्त्रीको प्रस्तावले दुवै पक्षका कतिपय नेतालाई १०४ डिग्रीको ज्वरो आएको छ । उनीहरुलाई यो प्रस्ताव कतै कार्यान्वयन भइहाल्छ कि भन्ने पिरलो छ । र वास्तवमा तीनै ज्वरो आउनेहरुलेनै एकीकृत पार्टी रहन दिन्नन् कि भन्ने आशंका वढ्दै गएको छ । 
हिजो बिहीबार खुमलटारस्थित प्रचण्ड निवास पुगेर स्थायी समिति सदस्यहरु भिम रावल, जनार्दन शर्मा, सुरेन्द्र पाण्डे, मातृका यादव, हरिबोल गजुरेल र केही केन्द्रीय सदस्यले प्रधानमन्त्री ओलीको राजीनामा सम्बन्धी शर्तबाट दायाँबायाँ नगर्न सुझाव दिएर फर्के । 
उनीहरुले त्यति मात्र गरेनन् उपाध्यक्ष वामदेव गौतमलाई भेट्न भैसेपाटी गए र अडानमा वस्न आग्रह गरे । 
त्यसवाहेक वरिष्ठ नेता माधव नेपाललाई पनि भेट गरेर तेश्रो अध्यक्ष अस्वीकार गर्न दवाव दिए ।
यसैवीच गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ माधव नेपाललाई तेश्रो अध्यक्ष बनाउन पनि नसकिने अभिब्यक्ति दिदै हिडे । उनी वामदेव गौतमलाई प्रधानमन्त्री वनाउने प्रधानमन्त्रीको प्रस्तावलाई पनि अनुचित सम्झन्छन् ।
उता सुदूरपश्चिम प्रदेशका अध्यक्ष कर्णबहादुर थापाले एउटा सञ्चारमाध्यमलाई अन्तरवार्ता दिंदै भने—मलाई प्रधानमन्त्रीले राजीनामा दिनुहुन्छ भन्ने लाग्दैन । त्यतातिर अहिले नसोच्दा हुन्छ । 
वास्तवमा यस्तै यस्तै कुराले भएका सहमति पनि लागु हुन्छन् कि हुँदैनन् भन्ने आशंका उत्पन्न गराएको छ । यो वेलामा धैर्य भएर संयमतापूर्वक वस्ने हो । अनावश्यक गफ गरेर समस्या सृजना गर्ने हैन ।
निश्चयनै अहिले नेकपाको राजनीति ओली, प्रचण्ड, नेपाल र गौतमका वरिपरि घुमेको छ । यी नेताहरुले कतै सहमति कायम गर्छन् कि भनेर दोश्रो तेश्रो पुस्ता चिन्तित हो कि ? घटनाले त्यस्तै वताइरहेको छ ।
एकातिर प्रणाली वसाल्ने कुरा छ । त्यो गर्ने हो भने प्रणालीको कुरा गर्ने कि राजीनामाको ? के राजीनामानै प्रणाली वसाल्ने एकमात्र सूत्र हो ? प्रणालीको कुरा वसाल्ने हो भने वूँदागत रुपमा यसो गर्दा प्रणाली वस्छ भन्ने कि एकोहोरो राजीनामाको कुरा गरिरहने ?
हो यसमा विश्वासको संकट छ भन्न सकिन्छ । त्यो हो भने विश्वासको वातावरण कसरी सृजना हुन्छ ? त्यसको विधि के हुन सक्छ ? त्यसतर्फ सोंच्न सकिन्छ । पृथ्वी र कर्ण थापाहरुलेनै अविश्वास सृजना गर्छन् भने त्यसलाई चिर्ने संयन्त्र वनाएर जाऔं भन्ने कि सहमतिनै नगर भन्ने ? वडो गंभीर प्रश्न उठेको छ । 
उपर्युक्त घटनाक्रमले कार्यकर्ताहरुमा वेचैनी उत्पन्न भएको छ । एकथरी नेताहरु टेलिभिजनमा गएर मच्चिइ मच्चिइ वोल्दा कार्यकर्ताहरु धुरु धुरु रुँदैछन् । यस्तो वेलामा पनि संयमता गुमाएर एकले अर्काको उछितो काढ्दैछन् । उनीहरुले सोंच्नुपर्छ चुनावको वेलामा घामपसिना नभनेर टाउकोमा कफन वाँधेर मैदानमा जाने योद्वाहरुको चित्त दुःखाएर किमार्थ सत्ता प्राप्ति हुँदैन । त्यसैले वडो सुझवुझपूर्ण तरिकाले कदम चालियोस् । 
यहाँनिर हेक्का राख्नुपर्छ, दुइवटा पार्टी एकीकरण गरेर पनि एकीकरण प्रक्रियालाई समयमै पूरा गर्न नसक्नुले पार्टी तलैसम्म एक हुन सकेको छैन । एउटा पार्टीमा दुइवटा मनोविज्ञानले काम गरेको छ । नेतृत्व तहमा पनि त्यस्तै मनोविज्ञान छ । खासगरि सहमतिमा नेतृत्व वनाउँदै जाने कुराले एकथरि एमालेहरु कहिल्यै मौका आउँदैन कि भन्ने त्रासमा छन् होला । किनकि उनीहरुमा एउटा मनोविज्ञान के थियो भने एकपटक चुनाव हारेपनि फेरि जित्न सकिन्छ । तर, अव त्यो प्रक्रियानै अवरुद्व भएको छ ।
माओवादी मनोविज्ञान फरक छ । उनीहरुमा नेतामुखी प्रवृत्ति पहिलेवाटै छ । तदर्थवादमा चलेको पार्टी फरक ढंगले चल्दा असुरक्षित भइने हो कि भन्ने त्रास शायद उनीहरुमा छ । यद्यपि त्यही भित्र पनि लोकतान्त्रिक प्रक्रिया नभएको र कार्यकर्ताले चुन्ने चुनिने अवस्था नरहेकोले वर्षौसम्म दुःख पीडा सहेर पनि चित्त वुझाएको ठूलो पंक्ति छ ।
यो मनोविज्ञानको समाधान के हुन सक्छ भनेर सिद्वान्तका कुरा गरेर हुँदैन । सर्वमान्य सांगठनिक पद्वतिको विकास गर्नुपर्छ र मात्र समाधान हुन्छ ।
यसवाहेक पार्टी निर्माणको अर्को एउटा मनोविज्ञान छ । तत्कालीन एमाले पार्टी कार्यकर्ताले वनाएको र वँचाएको पार्टी हो भने माओवादी केन्द्र मुलतः नेताले वनाएको र वँचाएको पार्टी हो । एमाले तलवाट वनेको हो भने माओवादी माथिवाट । यसको अन्तरघुलन जति हुन पर्दथ्यो त्यति हुन सकेको छैन ।
त्यसैले पार्टी संकटमा पर्दा कार्यकर्तालेनै वँचाउने हो । मैले जानेवुझेसम्म अहिले कार्यकर्ता चूप लागेर वस्ने वेला हैन । देशैभरीवाट विभिन्न कमिटीहरुले आकस्मिक वैठक वसेर पार्टी एक नभए साथ दिदैनौ भन्ने धम्कीपूर्ण स्वर निकालेर केन्द्रमा पुर्याउनुपर्छ ।
त्यस अघि निम्नलिखित केही प्रश्न र जिज्ञासाको उत्तर आफैभित्र खोज्नुपर्छ ।
    जानेर वा नजानेर अहिले भइरहेका गतिविधिले स्थिरता, स्थायित्व र विकासका विरुद्ध देशलाई अस्थिरतातर्फ धकेल्ने प्रयास भएको छ । यसो गरेर हाम्रो राजनीतिक भविष्य सुरक्षित हुनेछैन । त्यतिमात्र हैन कम्युनिष्ट पार्टीले यसको कलंक ब्यहोर्नुपर्नेछ । यो कलंकको टिका ओली, प्रचण्ड, नेपाल, गौतममध्ये कुनै एकजनाले हैन सवैले लगाउनु पर्नेछ । 
    अहिले जे भइरहेको छ । यसले नेकपाको सुदुर भविष्यसम्म प्रभाव पार्ने देखिन्छ । यदि दुई तिहाईको जनमत टुटाएर र फुटाएर जाने हो भने र कहीँ कतै सम्झौता नगर्ने अडान राख्ने हो भने यो पुस्ताले फेरि सत्ताको स्वाद चाख्न पाउने छैन । इतिहासलाई सरापेर वस्नेवाहेक अरु उपाय हुने छैन । ७० वर्ष कटेका वुढा नेताहरुलाई यसले जति असर गर्ला त्यो भन्दा धेरै असर युवाहरुलाईनै गर्नेछ । अर्थात उहाँहरुको भविष्य समाप्त भएर जानेछ ।
    ओलीलाई राजीनामा गराउनु पर्छ भन्ने भैँसेपाटी गठबन्धनको मुख्य माग थियो । ओलीले राजीनामा गर्छु, गौतमलाई प्रधानमन्त्री बनाऔं भनेपछि के प्रचण्ड नेपाललाई धर्मसंकट परेको हो ? कतिपयले सामाजिक सञ्जालमार्फत् ओली पछि प्रचण्ड प्रधानमन्त्री वन्ने कुरा थियो भने वामदेवको प्रस्ताव किन भनेर खवरदारी पनि गरेका छन् । कतै प्रचण्डको आन्तर्यमा यो कुरा लुकेर वसेको त छैन ? प्रश्न उठेको छ । यो हो नै भनेपनि कुरा प्रस्टाप्रस्टी आउनु उपयुक्त हुन्छ । 
    वामदेवलाई प्रधानमन्त्री हुनका लागि आवश्यक तयारी गर्नुपर्छ । त्यो तयारी गरुन्जेल ओलीको किन विश्वास गर्ने भनेर वामदेवलाई उचाल्ने र त्यतिन्जेल अरु कोही प्रचण्ड वा नेपाल प्रधानमन्त्री भइहाल्ने तयारी भइरहेको अनुमान गर्न सकिन्छ । यस्तो निकृष्ट अविश्वास गरेर जानुभन्दा यही कुरालाई वैठकमा फरक ढंगले राखेर विश्वासको वातावरण वनाउने अरु केही विकल्प सुझाउन सकिदैनथ्यो र ?
    दोश्रो तेश्रो पुस्ताका नेताहरु ओली, प्रचण्ड, नेपाल र गौतमको ढोका चाहार्नुको साटो उहाँहरु सवैलाई सम्मानित नेता भएर वस्न अनुरोध गरेको भए नेपालको राजनीतिले फरक कोर्स लिन सक्थ्यो कि ? त्यस अर्थमा यो घटनालाई अवसरका रुपमा लिन किन सक्दैनन् ? यति गर्न सकेको भए नेपाली जनतामा पनि एक खालको विश्वास पैदा हुन सक्थ्यो । उल्टै एक अर्कामा विश्वासको वातावरण वन्न पनि नदिने खेती गरेर विचौलियाजस्तो भएर प्रस्तुत हुँदा उहाँहरुको गरिमा माथि उठेको छैन ।
 
२०७७ वैशाख १९

प्राप्त प्रतिकृयाहरू

To Top