सडकमा पोखिएको नेकपा विवाद र कार्यकर्ताको मनोदशा

राजनीति बैशाख १५ 2077 ekhabarnepal
Dr ghimire

डी.आर.घिमिरे
नेपाल कम्युनिष्ट पार्टीको आन्तरिक विवाद यतिवेला सडकमा छताछुल्ल भएको छ । लकडाउनका कारण धेरैले पत्तो नपाएपनि भित्रभित्रै विषयहरु गंभीर रुपलेनै उठेको अनुमान गर्न सकिन्छ । यद्यपि यी विवादका विषयहरु राजनीतिक नभएर कार्यनीतिक प्रकृतिका छन् । कम्युनिष्ट पार्टीमा रणनीति र कार्यनीति असाध्यै चलनचल्तीका शब्द हुन् । रणनीतिक विवादले पार्टी विभाजनको तहसम्म लैजान सक्छ भने कार्यनीतिक विवादले आपसी तिक्तता र मनमुटाव सृजना गर्छन् । परिणाम एकअर्कावीच असहिष्णुता सृजना हुन्छ । अहिले ठ्याक्कै यही अवस्था छ । असहिष्णुता यस्तो छ कि वालुवाटार, भैंसेपाटी, खुमलटार, कोटेश्वरमध्ये को कहाँ गयो भनेर विचार निर्माण हुन थालेका छन् । एउटादेखि अर्को तर्सने यो अवस्था छिटै अन्त्य नगर्ने हो भने कार्यकर्तारु भाँडिनसक्ने खतरा पनि छ ।
यस्तो वेलामा पार्टी भित्रका विचौलियाहरुको चुरीफुरी अलि वढीनै हुन्छ । थाहा छैन उनीहरुले पार्टी विभाजन हुँदा के पाउने हुन् ? होला नेतृत्वका वीच विभिन्न कारणले मनमुटाव हुन सक्छ । ती मनमुटाव मिल्नै नसक्ने खालका हुँदैनन् होला । यदि छन् भने पनि तिनलाई कसरी सहजीकरण गर्ने ? कसरी मल्हमपट्टी लगाउने ? नेताहरुमा गलत वुझाई रहेछ भनेपनि दुवैतिर सकारात्मक भावनाको विकास कसरी गर्ने भनेर लाग्नुको सट्टा उल्टै धारे हात लगाएर दुरी झन वढाउने काम भइरहेका हुन्छन् । दुरी वढाउँछन् मात्र हैन नेतृत्वलाईनै खुइलाउन थाल्छन् । एउटाले अर्कोलाई खुइल्याउँदा फेरि त्यही क्रम दोहोरिन्छ भन्ने कुरा उनीहरु विर्सन्छन् त्यतिवेला । 
यसको अर्थ आलोचननै नगर्ने भन्ने हुँदैन । आलोचना विध्वंसात्मक हैन रचनात्मक हुनु पर्यो । आलोचना यसरी गर्नुपर्यो कि त्यो आलोचनाले उसैलाई लज्जित वनाओस् । 
यसैले त होला प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोख्रेलले हिजो फेसवुक वालमा स्टाटस राखेरै आपसी कटाक्ष र टिप्पणी वन्द गर्न अनुरोध गर्नुपर्यो । पोख्रेलको स्टाटसमा भनिएको छ— 
पार्टी एकता जोगाउन विश्वासको वातावरण तयार गरौ । आपसी कटाक्ष, टिप्पणी वन्द गरौ । मिले जितिन्छ, झगडाले नासिन्छ, गंभीर बनौ ।
यो विचारले केही विचौलियावाहेक धेरै कार्यकर्ताको भावनालाई प्रतिनिधित्व गर्दछ ।
कुरा यति मात्र हैन नेकपाका महासचिव विष्णु पौडेल सचिवालयका ६ जनाको वैठकमा गएको कुरालाइृ गुट फेरेको अतिरञ्जना गरेर मिडियाले पस्किए पछि खिमलाल भट्टराइले स्पष्टिकरण दिनुपर्यो । कार्यकर्ताले के वुझे वा त्यसो भनेर कस्तो सन्देश दिन खोजिएको हो ? त्यो फरक पाटो हो । तर महासचिव हुनुको कारणले दुवै तिरका सम्वेदनशीलतालाई वुझेर सहमतीय धारणा वनाउन पनि त त्यसो गर्नु पर्दथ्यो । 
पार्टी भित्र दुइवटा हैन प्रष्ट देखिन मिल्ने तीन गुट छँदै छन् । ती सवैले एकले अर्कोलाई कटाक्ष मात्र गर्ने हो र भेटघाट वा वोलचालनै नगर्ने हो भने परिस्थिति कस्तो होला ? पार्टी एउटै रहला वा नरहला ? एकपटक आम कार्यकर्ताले पनि सोँच्नुपर्ने हैन ? त्यसैले अहिले पार्टीलाई तीनै पक्षका किचनमा गएर कुरा गर्न सक्ने ब्यक्तिको खाँचो छ । शायद सचिवालयमा भएको त्यसतो ब्यक्ति विष्णु पौडेलवाहेक अरु कोही छैन । यसलाई कसैले कमजोरी मान्छ भने त्यो दृष्टिदोष मात्र हो । 
त्यसवाहेक एउटा प्रदेशको मुख्यमन्त्री हुनुको कारणले आफ्नै प्रदेशमा वेसी लाग्नुपर्ने वाध्यताका वीच शंकर पोख्रेल पनि अहिले पार्टीमा देखिएका तीनवटै केन्द्रमा गएर सम्वाद र सहजीकरण गर्नुभएको वुझिन्छ । यसरीनै हो पार्टीलाई एकतावद्व वनाउँदै जाने तरिका । अव यो काम हरेक युवाहरुले गर्नुपर्छ । युवाहरुले किन पनि गर्नुपर्छ भने पार्टी टुटफुट वा विभाजन हुँदा त्यसवाट सवैभन्दा ठूलो क्षति युवाहरुलेनै ब्यहोर्नुपर्छ ।
एकपटक ठण्डा दिमागले सोंचौं त— जो राजकीय हिसावले उच्चस्थानमा पुगिसक्नुभयो, उहाँहरुलाई हुन्छ के ? 
अर्को कोणवाट हेरौं—जिन्दगीभरी पार्टी भनेर लागेका युवाहरु जसले अहिलेसम्म राजकीय ठाउँमा जाने अवसरनै पाएको छैन उसको हालत के होला ? 
कुरा यतिमात्र हैन एकपटक पछाडि फर्केर आफ्नै वालवच्चाको अनुहार हेरौं, उनीहरु जस्ता लाखौं वालवच्चाको भविष्य वनाउनका लागि हिडेको हैन र ? अव भन्नुस् उनीहरुको हालत के होला ?
त्यसैले स्थिति सम्हाल्ने हो भत्काउने हैन । भत्काउन त्यति धेरै मेहनत गर्नुपर्दैन । यसका लागि वाहिरी शक्तिले पनि मनग्गे सहयोग गर्छन् । सम्हाल्नका लागि असाध्यै मेहनत गर्नुपर्छ र यो भित्रवाट मात्र सम्भव छ । वाहिरवाट कुनै सहयोग पाइदैन । 
यसै सन्दर्भमा गुल्मीका प्रदेश सांसद कमल श्रेष्ठको स्टाटस पनि सम्वेदनशील छ । उहाँले पनि हिजो वैशाख १४ गते साढे ५ वजेतरि पोष्ट गरेको यो स्टाटसमा धेरैले सहमति जनाएका छन् । उहाँको स्टाटस यस्तो छ—
‘अहिले पार्टीको आन्तरिक एकतालाई मजवुत वनाएर कोरोना लगायत सवै चुनौतिको सामना गर्ने वेला हो । यस्तो संगीन अवस्थामा पार्टीका सम्मानित नेताहरुलाई तथानाम गाली गर्ने, नेताहरुले भन्दै नभनेका कुराहरु फलानाले यसो भन्यो उसो भन्यो भन्ने र अत्यन्त अमर्यादित भाषा प्रयोग गर्ने प्रवृत्ति वढेको छ । यसले कसैलाई पनि हित गर्दैन । अतः यस्ता कृयाकलाप वन्द गर्नुहुन नेकपाका कार्यकर्ता र हितैषीहरुलाई नम्रतापूर्वक अनुरोध गर्दछु । नेता कमरेडहरुलाई आफ्ना मतभेदहरु भए पद्वतिसंगत ढंगले समाधान गर्नुहुन अनुरोध छ । हाम्रो आपसी खिचातानीले यो उपलब्धी गुम्यो भने पछि पछुताउनु सिवाय केही हुने छैन । इतिहासले कहिल्यै क्षमा गर्ने छैन’ । 
यतिवेला सवै कार्यकर्ताले हेक्का गर्नैपर्ने कुरा के हो भने धमिलो पानीमा माछा मार्ने काम सवैले गर्नसक्छन् । हरेकका विचार तोडमरोड भएर आउन सक्छन् । त्यसैले प्राप्त सूचनालाइृ प्रशोधन गरेर मात्र वुझ्ने प्रयास गर्नुपर्छ ।
एकपक्षीय रुपमा हुने सूचनाको सम्प्रेषणले गलत ठाउँमा पुर्याउन सक्छ भन्ने कुरा पार्टी उपाध्यक्ष वामदेव गौतमकै दुइदिनका दुइवटा कुराले स्पष्ट गर्दछ । 
अघिल्लो दिन प्रधानमन्त्रीलाई राजीनामा दिनस् भनेको कुरा मिडियामा आउने र त्यसको दुइ घन्टा पछि हैन भनेर आएपछि त्यस्ता सञ्चारमाध्यमको कसरी विश्वास गर्ने ? अझै अगाडि वढेर भन्दा नेकपा यतिधेरै वलियो वनेको, दुइतिहाइको सरकार वनाएको चित्त कसलाई पो वुझेको छ र ? अनि त्यस्ता अदृश्य शक्ति नेकपालाई विभाजन गर्न वा कमजोर वनाउन लाग्दैनन् भनेर कसरी विश्वास गर्ने ?
यस्तो वेलामा सरकारले दुइतिहाइ छ भनेर ढुक्क हुने हैन कि दुइ तिहाइ हुनुको कारण असुरक्षित हुन सक्छौ भनेर विशेष हेक्का राख्नुपर्ने अवस्था हो । यसलाई कार्यकर्ता तहवाट पनि यही रुपमा बुझ्न सक्नुपर्छ र नेतृत्वले पनि वुझाउन सक्नुपर्छ ।
 विवादको चुरोे ?
सरकारले राजनीतिक दल विभाजन र संवैधानिक परिषद कोरमसम्वन्धी अध्यादेश ल्यायो । त्यसपछि भित्र वाहिर दुवै क्षेत्रवाट ब्यापक विरोध भयो । परिणाम सरकार एक कदम पछि हट्यो । यसपछि खास विवाद सकियो । तर, राजनीतिमा त्यस्तो हुँदैन । यसपछि अनेक हाँगाविँगा पलाए । सामान्यतः सधैभरी चट्टानी अडान देखाउने प्रधानमन्त्री एक कदम पछाडि फर्किए पछि झन धेरै आशंका वढे ।
अहिले सरकार फेर्ने कुरा जोडतोडले उठेको छ । तर यो कुराको जग डा. बाबुराम भट्टराईसमेतका ब्यक्ति र दल हुन् । उनीहरुको पार्टी विभाजनको संघारमा पुगेको रहेछ । संयोग कहीकतै प्राविधिक गल्ती हुनुको कारणले त्यसको फाइदा उनीहरुलाइनै भयो । जे भयो त्यो राम्रै भयो भन्नुपर्छ अव ।
त्यसोत अपहरणको कथा वुनेर मुद्वामामिलाका कुरा पनि आएका छन् । पीएसओसहित आफ्नै गाडीमा आउने, पाँच तारे होटलमा वस्ने, मन लागेका मान्छेसंग फोनमा कुरा गर्ने, मन लाग्दा उठेर हिड्ने अनि अपहरण भन्ने ? यो पनि एउटा विचित्रको नाटकनै हो । यसवारेमा अलग्गै वहस चलाउन सकिन्छ । तर, यही रिसले आगो भएका भट्टराईसमेतहरुले राजीनामा मागेका कारण पार्टी भित्र राजीनामाको होंडलो मच्चाएर हिड्नु किमार्थ उचित हुन्न । 
र यही कारणले नेकपा विभाजित हुन्छ कि भनेर संसय उत्पन्न गरेर कार्यकर्ताहरुको निद्रा हराम गर्ने अपराध पनि गर्नुहुन्न । 
अहिले सरकार फेरेर कोही कसैले मन्त्री पाउला वा केही लाभ होला तर, त्यस्तो अल्पकालिन फाइदाको पछाडि दौडेर कुनै फाइदा छैन  । यो पार्टी र सरकार दुवैका लागि धेरै महंगो हुन सक्छ भन्नेतर्फ समयमै विचार पुर्याउन आवश्यक छ । यसको अर्थ सरकार फेर्नै हुन्न भन्ने हैन तर, त्यसका लागि पार्टीभित्रै एउटा वातावरण वनाउन जरुरी छ । 
समस्या कहाँ हो ? त्यसको खोजी गर्नुपर्यो । सरकार चलाउने संयन्त्र वनाउन जरुरी हो भने त्यसको निर्माण गर्नुपर्यो । पार्टीका नेताहरु बाबुराम भट्टराईको माग पूरा गर्न दौडेको हो भने त्यो अलि सुहाएन । राजीनामा माग्दा पनि आफ्नै जगमा टेकेर माग्न सक्नुपर्यो । वर्षाको भेलजस्तै बाबुरामले मागेको वेला हामीले पनि माग्ने हो भने पूरा भइहाल्छ कि भन्ने हो भने त्यसले कसरी हित होला र ? 
निश्चयनै सरकार सञ्चालनमा कतिपय गुनासाहरु पहिले देखिनै आएका हुन् । एउटा जीवन्त पार्टीमा छलफल गरेर सहमति कायम गर्न नसक्ने हो र अन्तर पार्टी समाधान गर्न वाहिरवाट खेतारो खोज्ने हो भने त्यसले कस्तो सस्कार वसाल्छ र कस्तो कम्युनिष्ट पार्टी वन्छ ?
पार्टी स्थायी समिति सदस्य देवेन्द्र पौडेल पनि तत्काल सत्ता परिवर्तन गर्दा राम्रो सन्देश नजाने कुरामा सहमत देखिन्छन् । 
उनले एउटा अनलाइनसंगको कुराकानीमा भनेका छन्—‘पाँच वर्षका लागि सत्ताको नेतृत्व गर्ने सहमति भइसकेको अवस्थामा तत्काल फेर्ने कुराले जनतामा राम्रो सन्देश जाँदैन,’ ‘त्यही भएर सरकार परिवर्तन होइन पार्टीमा जिम्मेवारी थपघटको कुरा हुनसक्छ, त्यसकै लागि स्थायी समितिको बैठक माग गरिएको हो ।’
यदि यसो हो भने सवैभन्दा पहिला सचिवालयमा एकमत हुन आवश्यक छ । सचिवालयले एउटा ठोस निर्णय गरेर एकीकृत मतसहित स्थायी कमिटीमा जानसक्ने वातावरण वनाउन सक्नुपर्छ । कार्यकर्ताहरु नेतृत्वमा देखिएको ङ्यार्ङुरवाट सन्तुष्ट छैनन् । नेतृत्वले पार्टी भित्रका विचौलियाको हैन आम कार्यकर्ताको भावना सुन्न र वुझ्न सक्नुपर्छ ।
 
 

प्राप्त प्रतिकृयाहरू

To Top