संकटमा प्रविधि

समाज बैशाख ११ 2077 ekhabarnepal
Dr ghimire

डी.आर.घिमिरे
कोरोनाभाइरसले विश्वभरी आतंक मच्चाइरहेपनि प्रविधिमैत्री वन्न र वनाउन भने सहयोग पुर्याएको छ । यतिवेला क्याम्पस कलेजहरुले प्रविधिको प्रयोग गरेर कक्षा लिने र उस्तै परे जाँच लिनेसम्मको उद्वेश्य लिन थालेका छन् ।
अहिले जुम र टिम नामक सफ्टवेयरको प्रयोग ब्यापक वढेको छ । जुमले कोरोना भाइरसको महामारी भएयता अरवौं डलर कमाईसकेको छ । यसको माध्यमवाट विश्वमा ५ लाखभन्दा वढी वैठक वा कक्षाहरु संचालनमा आइसकेका छन् । टिमको पनि यस्तै अवस्था होला ।
कलेजहरुमा यसरी अनलाइनमा पढाइ भएपनि विद्यालयस्तरमा रेडियोवाट विभिन्न समयमा कक्षाहरु सञ्चालन हुँदै आएका छन् । लकडाउन पछि कैयौं विद्यालयले यस्तो अभ्यास गरिरहेका छन् । 
शिक्षाविद् प्रा. डा. विद्यानाथ कोइराला विपद्मा रेडियोबाट कक्षा चलाउनुलाई सकारात्मक मान्नुहुन्छ । यसलाई प्रभावकारी बनाउन सकेमा विद्यार्थीलाई स्कुल जानै नपर्ने दाबी कोइरालाको छ । तर रेडियोको कक्षा अन्तरक्रियात्मक हुनु जरुरी भएको उहाँको भनाइ छ । 
यस अघिका अध्ययनले भूकम्प र बाढी पहिरोका बेलामा रेडियोबाट विद्यार्थीले राम्रो शिक्षा पाएको देखिएको छ । सामुदायिक रेडियो कलेज स्कुलले चलाउन आवश्यक हुने यस्तै कारणले हो ।
लुम्विनी वौद्य विश्वविद्यालयले कक्षा प्रारम्भ गरिसकेको छ । विश्वविद्यालयका रजिष्ट्रार तिलक आचार्यका अनुसार वन्दावन्दीको २२ आंै दिन अर्थात् वैशाख ३ गतेदेखि वीए एलएलएम, वीटीटीएम तथा माष्टर्स इन वुद्विजमका कक्षा शुरु भएका छन् । 
अहिले दैनिक कक्षा चलेका छन् । सवै विद्यार्थी अनलाइनमा आउन नसकेपनि ९० प्रतिशत विद्यार्थी अनलाइनमा अध्ययन गर्न अभ्यस्त भैसकेका छन् ।
बुटवल वहुमुखी क्याम्पसमा पनि कक्षा चालु गर्ने तयारी भइरहेको छ । बुटवल वहुमुखी क्याम्सका प्राध्यापक तिलक भूसालका अनुसार त्रिभुवन विश्वविद्यालयलेनै परिपत्र गरेर जे सकिन्छ त्यो गर्ने भनेकोले तदनुसारको तयारी भएको छ । 
यद्यपि केही प्रविधिमैत्री अध्यापक नहुनुले समस्या नभएको हैन । तर, शुरुवात गरेपछि सवैलाई ढिलो चाँडो प्रविधिसंग नाता गाँस्नुपर्ने वाध्यता आउँदै छ । नोट वनाउने र स्लाइड वनाउन नजान्ने हो भने अध्यापननै गर्न नसक्ने अवस्था आएकोले सिक्नुपर्ने वाध्यता पनि सृजना भएको छ ।
त्यसोत यसरी लिइने कक्षा सवैमा लागु नहुन सक्छ । तर, प्रारम्भ गरेपछि क्रमसः विद्यार्थी र शिक्षक दुवै पक्ष अपडेट हुनुपर्ने अवस्था आउने देखिन्छ । अहिले स्नातकोत्तरमा अध्ययनरत विद्यार्थीलाई केन्द्रीत गरिएको भएपनि क्रमसः स्नातक तहमा पनि लागु गर्ने सम्भावना वढेको छ ।
शहरवजार तथा तराइका प्रायः सवै जिल्लामा इन्टरनेटको पहुँच पुगेकोले खासै समस्या देखिदैन पनि । तर, पहाडी जिल्लामा रहेका विद्यार्थीहरुलाई कही हदसम्म समस्यानै छ । तथापि थोरै विद्यार्थीहरुका लागि कुर्ने अवस्था भने छैन । 
तिलोत्तमा कलेजले एक हप्ता अगाडिवाटै वीवीएको कक्षा शुरु गरिसकेको छ । हरेक सेमेष्टरका विद्यार्थीहरुको अलग अलग ग्रुप वनाइसकेपछि गृहकार्य दिन वा सिकाउन सजिलो हुने भयो । एउटा ग्रुप म्यासेजले सवैलाई काम गर्ने भयो । त्यही प्रक्रिया अनुसार कक्षा सञ्चालन भएका छन् ।
कतिपयले वैठक आदि पनि यस्तै सफ्टवेयरमार्फत गरेका छन् । यसरी हेर्दा संकटमा प्रविधिले ठूलै फड्को मार्ने अवस्था सृजना भएको छ ।
यद्यपि यसभित्र पनि कैयौं समस्या नभएका हैनन् । पहिलेवाटै अभ्यस्त नभएकाले कानुनी तथा प्राविधिक समस्या एक हैन अनेक छन् । 
यसवारेमा मेरो तिलक आचार्यसंग केही दिनदेखि कुरा भइरहेको थियो । उहाँले अनलाइन  कक्षा चलाउने भनेदेखिनै यसका सवल र दुर्वल पक्षमा कुरा हुँदा उहाँले केही समस्या पनि तेर्साउनु भएको थियो । ती समस्याहरु यस्ता छन्—
पहिलो विद्यार्थी अध्यापक दुवै प्रविधिमा पारंगत नहुनु । अधिकांश प्रविधिमैत्री छन् । तर, सवैजना छैनन् । यो समस्या दुवैमा छ । विना प्रविधि एउटा पनि कक्षा नहुने भएपछि प्रविधिमैत्री नहुनेलाई समस्या त पर्नेनै भयो । फेरि अनुहार हेरेर र आँखा जुधाएर पढ्ने वानी परेकालाई यसमा अभ्यस्त हुन पनि केही समय लाग्नसक्छ ।
दोश्रो सवै विद्यार्थीसंग ल्यापटप वा स्मार्ट फोन नहुनु । यी दुइमध्ये कम्तिमा एउटा साधन अनिवार्य छ । त्यसैले अव ल्यापटप नभएपनि हातहातमा स्मार्टफोन हुन आवश्यक भयो । सवैले किनेर प्रयोगमा ल्याउन सक्लान् या नसक्लान् ? यो एउटा अर्को जटिल प्रश्न हो ।
तेश्रो वैधताको समस्या छ । कहीँकतै अनलाईन कक्षा लिने भनेर लेखिएको छैन । त्यसैले यसलाई कानुनी मान्यताको कुरा उठाएर कसैले अदालतमा गुहार माग्यो भने के होला भन्ने प्रश्न छ ।
चौथो अध्यापन गराउनेको हाजिरी रेकर्ड कसरी ब्यवस्थापन गर्ने ? यो पनि प्रशासनिक हिसावले चुनौतिपूर्णनै छ । पाँचौ गोपनियताको कुरा के होला ? छैठौं पढाएको विषयवस्तुको स्टोर कसरी कहाँ गर्ने ?
सातौं यस्तै डाटा होष्टिङ्गको पनि समस्या छ । अहिलेसम्म नेपाल सरकारले आधिकारिक रुपमा होष्टिङ्गको ब्यवस्था गर्नसक्ने अवस्था छैन । निजी क्षेत्रले आ—आफ्नै तरिकाले काम चलाएका छन् । निजी कम्पनीवाट काम चलाउँदा सर्वर डाउन भयो भने के गर्ने ? यो पनि अर्को समस्या हो । 
आठांैं काम चलाउ हिसावले पढाइ त होला तर, जाच लिने कसरी भन्ने अर्को समस्या छ । भारतमा अध्ययनरत कतिपय पवद्यार्थीले घरै वसेर जाँच दिइसकेका छन् । त्यस अर्थमा नेपालका विश्वविद्यालयहरुले पनि तदनुसारको तयारी गर्नुपर्ला कि ? 
यी र यस्ता समस्या धेरै छिटो समाधान हुनेवाला छैनन् । हल्का गाँठो फुकेपनि पूर्णरुपले निकास निस्केर साविक अवस्था आउनेवाला छैन । त्यसैले अव खाँचो छ,  यी र यस्ता समस्याको समाधान गर्दे संकटले ल्याएको आवश्यकतालाई पूरा गर्नु । 
 

प्राप्त प्रतिकृयाहरू

To Top