जनता समाजवादी पार्टीले दल दर्ताका लागि निवेदन दियो 

राजनीति बैशाख ११ 2077 ekhabarnepal
15876199087

काठमाडौं,बैशाख ११ । 
समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल मिलेर बनेको जनता समाजवादी पार्टी, नेपालले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ । एकीकृत पार्टीले बिहीबार बिहान निर्वाचन आयोगमा पुगेर दर्ताका लागि निवेदन दिएको हो  । 

निर्वाचन आयोगमा पार्टी १३८८ नम्बरमा दर्ता भएको नेता राजेन्द्र महतोले जानकारी दिए । तत्कालीन राजपा र समाजवादीका नेताहरु शरदसिंह भण्डारी र उपेन्द्र यादवले हस्ताक्षर गरेको पार्टी एकताको निर्णयको पत्र पनि आयोगमा बुझाएका छन् । बाँकी कागजपत्र पछि बुझाउने गरी निवेदन दर्ता गरेको नेता राजेन्द्र महतोले जानकारी दिए । 


निवेदनका आधारमा निर्वाचन आयोगले कागजात अध्ययन गरी पछि आवश्यक निर्णय गर्नेछ । राजनीतिक दल सम्बन्धी ऐन २०७३ अनुसार एकीकरण पश्चात दल दर्ताका लागि निवेदन दिएपछि आवश्यक कागजात छानविन गरी ४५ दिन भित्र दल दर्ताको प्रमाण पत्र दिनुपर्ने व्यवस्था छ ।


समाजवादीका केही सांसदले पार्टी फुटाउने तयारी गरेपछि त्यसलाई रोक्न दुई दलले एकताको घोषणा गरेको भोलिपल्ट बिहीबार उनीहरु अयोग पुगेका हुन् । दल दर्ताका लागि राजेन्द्र महतो,उपेन्द्र यादव, महन्थ ठाकुरलगायत निर्वाचन आयोग पुगेका थिए । 

एकीकृत पार्टीको नाम जनता समाजवादी पार्टी नेपाल राख्न नेताहरु सहमत भएका छन् भने पार्टीको झण्डा समाजवादीले प्रयोग गर्दै आएको आयातकार आकारमा रातो र हरियो रंगको बीचमा तारा राख्ने र चुनाव चिन्ह राजपाले प्रयोग गर्दै आएको छाता राख्ने सहमति भएको थियो ।

प्राप्त प्रतिकृयाहरू

To Top