कहिल्यै नथाक्ने लामा सधैका लागि थाकेर गए

समाज बैशाख १ 2077 ekhabarnepal
Dr ghimire

डी.आर.घिमिरे
आज नयाँवर्षको दिन विहान हिडेर घर आइपुग्दा नपुग्दै दीनेश पाण्डेले नर्वु लामाले संसार छोडेको आशंका ब्यक्त गर्नुभयो । उहाँले मसंगवाट प्रमाणित गर्न खोज्नुभएको थियो । तर, म अनभिज्ञ थिएँ । मैले तेजप्रसाद पाठकलाई फोन गरें । उठेन । फेरि ऋषि आजादलाई गरें तै पनि थाहा भएन । आधिकारिक सूचनाका लागि पाठकजीकै फोन उठ्नुपर्थ्यो । घरमा आएपछि वाथरुम छिरें ।
त्यही वचिमा फोन आयो । हो रहेछ । यो सूचना सार्वजनिक गर्नु आवश्यक हुन्थ्यो । लामाकोवारेमा मलाई धेरैले सोधपुछ गर्नेभएकोले सामाजिक सञ्जालवाट पोष्ट गरें । त्यसपछि अतितका कुरा एक सरो दिमागमा आए । उपभोक्ता हित संरक्षण मञ्चको स्थापना देखि अर्थात् ०५५÷०५६ सालदेखि म उहाँसंगै छु । 
उहाँको नेतृत्वमा स्थापना गरेको मञ्चमा उपाध्यक्ष श्याम पाठक, सचिव म स्वयं, कोषाध्यक्ष तेजप्रसाद पाठकसहित थियौं । श्याम दाई पछि काठमाण्डौ जानुभयो । लामा सरले जहिले नि नेतृत्व फेरौं भन्ने । हामीहरु नमान्ने । उहाँको आशय एउटै ब्यक्ति भइरहँदा राम्रो भएन भन्ने थियो । तर हामी खासमा तेजप्रसाद पाठक र मैले विभिन्न वहाना गरि वर्षौसम्म परिवर्तन हुन दिएनौं । हाम्रो आशय के थियो भने त्यो सस्थाका लागि उहाँ अत्यन्तै उपयुक्त पात्र हुनुहुन्थ्यो । यो सस्थानै कस्तो भने अलिकता नियत खराव हुने हो भने उद्योगी ब्यवसायीसंग मोलमोलाइ गरेर खेतिपाती गर्ने डर हुन्थ्यो ।
हामी दुवैजना जिम्मेवारी लिने अवस्थामा थिएनौं । धेरै वर्षसम्म हामीले यसरीनै थाम्दै ल्यायौं । विचमा श्याम दाई नआउने भएपछि तेजप्रसाद पाठकलाई उपाध्यक्ष वनायौं । र सो ठाउँमा अर्थात् कोषाध्यक्षमा ऋषि आजादलाई मनोनयन गरियो । 
जव लामा सर अलि गरेको महसूस हुँदै गयो । उहाँ पनि कहिले काठमाण्डौ कहिले दाउन्नेतिर गएर वस्न थाल्नुभयो । त्यसपछि उहाँको आत्माले पनि के भन्ला भन्ने डर भयो । अनि तेजप्रसादजीलाई मैलेनै तँपाई अध्यक्ष हुनुस् भनें । प्रक्रियामा जाँदा अधिवेशन गर्नुपर्ने भएकोले कार्यवाहक वनाएर काम चलाउ हुने अवस्थामा पुग्यौं ।
त्यसैवीचमा म केन्द्रीय सदस्य भएँ । अव जिल्ला छोड्छु भनें । अहँ लामा सरलेनै मान्नुभएन । मैले कतिपय अफ्टेरालाई सहज वनाइदिने र कार्यक्रम आदि गर्नुपर्नेमा उहाँ धेरै चिन्ता गर्ने । मैले त्यो मनोविज्ञान वुझेर यसमा तँपाइले चिन्ता लिनु पर्दैन हामी गर्छौ भनिदिन्थे । उहाँलाई पनि हामी वोलेपछि भरोसा हुन्थ्यो । तेजप्रसाद पाठकले त उहाँलाई मोटरसाइकलमा वोकेर हरेक कार्यक्रममा लैजानुभयो । आवश्यक परे काठमाण्डौ लैजानुभयो । धेरै दुःख सुखमा आर्थिक सहयोग पनि गर्नुभयो । उहाँले जति त मैले गर्न सकिन तर त्यसपछिको नम्वर शायद मेरै आउँथ्यो एउटा कालखण्डसम्म । संयोगले हामी मेचीकाली दैनिकमा पनि संगै भयौं । त्यो अर्को अनुकुल थियो ।
हालै जव उहाँ अलिवढी सिकिस्त हुनुभयो त्यस यता मासु ब्यवसायी दीपक आचार्यको सहयोग अतुलनीय रह्यो । चितवन अस्पतालमा जाने, ल्याउने, हेरविचार गर्ने यावत् काम दीपकजीले गर्नुभयो ।  एकदिन असाध्यै गलेको अवस्थामा तेजप्रसाद पाठक, तेजेन्द्र केसी र म घरमा गएर कुरा गर्दैथियौं । उहाँ आफैले दीपकजीको कुरा गर्नुभयो् । खै किन हो दीपकले मलाई असाध्यै मायाँ गरेको छ । मेरो छोरोनै उही हो कि जस्तो भयो भन्दै गला अवरुद्व गर्नुभयो । वातावरण सुनसानजस्तै भयो ।
मलाई लाग्छ यसविचमा आवश्यक रकमकलम जोहो गर्ने काममा पनि दीपकजी ज्यादै लाग्नुभयो । उपभोक्ता हित संरक्षण मञ्चको खातामा पनि एकआध लाख रुपैयाँ थियो । तेजप्रसाद पाठक र मैले सल्लाह गरेर सवै साथीहरुसंगको सहमतिमा सो रकम उपचारमा खर्च गर्ने निर्णय गर्यौं ।
लामा सर यस्तो मामलामा अलि अनुदार हुुनुहुन्छ । कतै मान्नुहुन्न कि भनेर पाठकजीले कुरा गर्नुभयो । मैले कुरा गर्छु भनें । संयोग त्यही दिन हामी संगै भएको वेला हामी यसो गर्दैछौं भनें । उहाँले अलि अफ्टेरो त मान्दै हुनुहुन्थ्यो तर यसमा तँपाइले कुरा गर्ने हैन । जव तँपाई सञ्चो हुनुहुन्छ त्यसपछि जति चाहियो त्यति पैसा संकलन गर्छौ भनें । हुन पनि सो पैसा सस्थाको लागि खर्च गरेको भए उहिल्यै सकिन्थ्यो । सस्थाको स्थापना पश्चात् पाँच पाँच हजार उठाएर मुद्वति खातामा राखेको पैसा थियो त्यो । ब्याजवाट सस्थाका दैनिक गतिविधि चलाउने मनसाय थियो हाम्रो । सो कोष वनाउनका लागि स्व. गणेशमान सैंजूको विशेष योगदान थियो । तर, हामीले त्यसवाट खर्चै गरेनौं । 
आफुलाई  जे लाग्छ त्यहीवाहेक अरु कुरा पटक्कै नमान्ने उहाँको स्वभाव थियो । शुरु शुरुको कुरा हो कतिपय अवस्थामा उपभोक्तासम्वन्धी कार्यपत्र लेखेर पेश गर्नुहुन्थ्यो । अनि त्यसको पारिश्रमिक पाउँदा उहाँलाई असजिलो लग्थ्यो र भन्नुहुन्थ्यो हैन यो पैसा मैले कसरी राख्ने ?
एकपटक पाँच हजारनै पाउनुभएछ क्यारे । उहाँलाई सित्तैमा आएजस्तो लागेछ । मनमा कति कुरा खेले होलान् । मैले अनुमान मात्र गर्छु । साँझ फोन गर्नुभयो र भन्नुभयो—डीआरजी यति धेरै पैसा  मैले के गर्नु ? मलाइ त पाप लाग्छ कि क्यो हो, यो त अलि पच्दैन कि ? मैले भनें । यो उनीहरुको नियम अनुसारकै हो । तँपाइलाई थोरै दिएका हुन् । उनीहरुले दश हजार वुझे होलान् । ढुक्क वनाउन मैले यसो भनेको थिएँ ।
त्यसपछि क्रमसः पारिश्रमिक हो भन्ने वुझाई भयो । यस्ता अनगिन्ती अनुभव तेजप्रसादजीसंग पनि छन् । पारिश्रमिक वुझ्दा पाप र धर्म सम्झने लामा साँच्चिकै इमान्दारिताका प्रतिमुर्तिे हुनुहुन्थ्यो । 
कलाको क्षेत्रमा पनि उहाँको अतुलनीय योगदान छ । तर, विडम्वना ती कलाको महत्व सत्ताम हुनेले वुझेनन् । वुद्वको जीवनचक्र असाध्यै मेहनत गरेर वनाइएका कला थिए । ती कुनै एउटा ठाउँमा राख्न सकेको भए त्यसको महत्व कति हुन्थ्यो होला ? तर त्यो हुन सकेन । ती मध्ये केही बुटवल उपमहानगरमा र केही लुम्विनी विकास कोषमा छन् कि ? मैले एकपटक ती सवैको फोटो खिचेर राखेको थिएँ । आज दराज खालेर हेर्दा भेटाएँ । आफैलाई धन्य सम्झें ।
लुम्विनी भ्रमण वर्षको सन्दर्भमा ती कलाका कुरा उठे । उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री लीला गिरीलाई कुनै न कुनै रुपमा उहाँका कलात्मक मूर्तिलाई एक ठाउँमा राख्न पाए हुन्थ्यो भन्ने लागेको थियो । यो कुरा उहाँले हामी केही ब्यक्तिहरुको विचमै ब्यक्त गर्नुभएको थियो । ती कलालाई एक ठाउँमा राख्ने हो भने पर्यटकको एउटा राम्रो गन्तब्य वन्न सक्दो रहेछ । 
एकदिन आन्तरिक मामला मन्त्री कुलप्रसाद शर्माले पनि आफै यो कुरा उठाउनु भयो । प्रसंगवस केही साथीहरुसंग मन्त्रालयमा गएको वेला यो कुरा उठ्यो । अनि उहाँ आफैले ती तस्वीरहरु एक ठाउँ राख्ने ब्यवस्था मिलाउन पहल गर्नुस्न भन्नुभयो । भएको के रहेछ भने कसैले लामाको कुरा गरेपछि उहाँ पनि घरमै गएर हेर्नुभएको रहेछ र असाध्यै प्रभावित हुनुभएको रहेछ । तर, विडम्वना के छ भने सरकारी प्रक्रियानै त्यस्तै छ भनौं कि कर्मचारीले नचाहेसम्म हुँदैन भनौं । मन्त्रीहरुको इच्छा भएर पनि कामले पूर्णता पाउन सकेन । यो काम अव पनि गर्न नसकिने त छैन तर, अगुवाई कस्ले गर्ने ?
उपभोक्ता आन्दोलनमा लागेपछि उहाँलाई नामको पछाडि केही जोड्ने मन लागेछ । “नथाक” भनेर प्रस्ताव गर्नुभयो । यसो हेर्दा ठिकै लाग्यो । स्वभावमा खरो र जतिवेला पनि हुटहुटी चलाइरहने भएकोले त्यसलाई ठिकै मानियो । हुनपनि उहाँ जीवनमा कहिल्यै थाकेको महसूस गर्नुभएन । एउटा छोरा तिनाउ नदीमा हेलिएर मृत्युभयो । उहाँले हार्नु भएन । अर्को छोरालाई कुकुरले टोकेर रेविजले सताउँदा शायद उहाँलाई असाध्यै पिडा भयो । त्यतिवेला हार मान्नुभयो । यस्तो दुःख मैले कसरी हेर्नु भन्दै छोराको स्वेच्छिक मरणका लागि आर्तनाद गर्नुभयो । त्यतिवेला त यस्तो मान्छे जो कोही भएपनि परिवारको सल्लाहमा मार्न पाउनुपर्ने धारणा पनि राख्नुभयो । त्यो वेला उहाँको आवाज कसैले सुनेन । किनकि त्यस प्रकारको मृत्युलाई नेपाली कानुनले मान्यता दिएको थिएन । अहिले युरोपका कतिपय ठाउँमा भएपनि यहाँ छैन ।
बुटवल गोलपार्कमा आफ्नै विशाल घरमा वोडिङ्ग स्कुल चलाउनुभएको थियो । निजी स्कुल चलाउनेहरु सवैजनाको औकात देखिएकै छ । उहाँत प्रारम्भिक चरणको हुनुहुन्थ्यो । नाम दाम सवै कुरा हुनुपर्ने थियो । तर, त्यसवाट पनि उहाँलाई केही भएन । उल्टंै सडकमा आउनुभयो । तैपनि जीवनदेखि हरेस खानुभएन । निरास हुनु भएन । अर्थात् थाक्नु भएन । जव थाक्नुभयो र ढल्नुभयो त्यसपछि कहिल्यै नउठ्ने गरि अस्ताउनुभयो । अर्थात् साँच्चिनै उहाँ जीवनदेखिनै थाक्नुभयो । हार्दिक श्रद्वाञ्जली ।

प्राप्त प्रतिकृयाहरू

To Top