बुटवलमा कोरोना अस्थायी अस्पताल शुरु

राजनीति चैत्र ३० २०७६ ekhabarnepal
1

बुटवल। चैत ३०
अत्यन्तै चुनौतिपूर्ण अवस्थामा रहेको कोरोना अस्थायी अस्पताल आजदेखि शुरु भएको छ । प्रारम्भदेखिनै यसकावारेमा अनेक प्रश्न उठे । कोरोना अस्पताल कुनै एउटा चालु अवस्थाको अस्पताललाइनै वनाउनुपर्ने दवाव ब्यापक थियो । तर, यो अस्पताल लुम्विनी प्रादेशिक अस्पतालकै एउटा अंग हो भन्ने कुरा धेरैले वुझेनन् । बुटवल धागो कारखानामा वनाइएकोले पनि यसप्रति धेरैलाई विश्वास जाग्न सकेन । अझ एकजनाको मृत्युभएपछि त यसप्रति आम धारणानै नकारात्मक वन्न पुग्यो ।
यी सवै आरोपलाई कामवाटै जवाफ दिन सकिने भएकोले अस्पताल प्रशासन खासगरि भर्खरै नियुक्त अध्यक्ष सूर्यवहादुर भट्टराई र मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनाल मेहनतपूर्वक लागे । विडम्वना त के भयो भने संघीय सरकारवाट प्राप्त १ करोड र प्रदेश सरकारवाट प्राप्त २ करोड रुपैयाँको उपयोगनै हुन पाएन ।
नेपाल सरकारको आर्थिक नियमावलीलाई देखाएर लेखा शाखाले चेकनै काट्न नमान्ने अवस्था सृजना भयो । कानुन अनुसार टेण्डर प्रक्रियामा जाँदा काम शुरु हुन ३५ दिन त्यसै पनि लाग्ने भयो । यस्तो अवस्थामा यो काम फत्ते गर्नु सूर्यलाई कम चुनौति भएन । हरेक चुनौतिलाई पार गर्न सिपालु र ब्यावसायिक ब्यक्ति भएका कारण सूर्य चन्दा उठाएरै काम गर्ने मनस्थितिमा पुगे र अन्ततः आजका दिनसम्म ४१ लाख रुपैयाँ चन्दा उठ्यो र अस्पताल यो अवस्थामा आइपुग्यो ।
यसका लागि गौतमवुद्व सामुदायिक मुटु अस्पतालले दरो साथ दियो खासगरि प्राविधिक सहयोगका लागि । ४ वटा भेन्टिलेटरसहितका ८ वटा आइसीयू वेड निःशुल्क प्राप्त भयो । जसको मूल्य हिसाव गर्दा १ करोड ३० लाख रुपैयाँ पर्छ । अन्य निर्माण जेनरेटर, एयरकण्डिसन, टायल लगायत सवैको करिव ७० लाख गर्दा दुई  करोडको लागतमा यो अस्पताल वनेको देखिन्छ ।
निश्चयनै कानुनी जटिलताहरु छन् । कतिपय कानुन प्रदेशले फुकाइदिएर हुँदैन, संघीय सरकारलेनै फुकाउनु पर्छ । कर्मचारीले सामान्यतः कानुन विरोधी काम गर्दा भोलिका दिनमा उल्टै सजायँ भोग्नुपर्ने अवस्था भएकोले जोखिम मोल्न चाहाँदैनन् । यति ठूलो महाविपत्ति आउँदा पनि निकास निकाल्न किन सकिउको छैन ? यो गंभीर प्रश्न हो । मन्त्रिमण्डलको वैठक वसेर पनि संसोधन गर्नुपर्ने कानुन गरेर यसको निकास निकाल्नुपर्ने हो ।
मुख्यमन्त्री शंकर पोख्रेल यो विशेष अवस्था भएको कुरामा सहमत हुनुहुन्छ । आजै एक कार्यक्रममा उहाँले यसवारे आफ्नो धारणा स्पष्ट गर्नुभयो । प्रदेशले गाँठा फुकाउनका लागि वनाउनुपर्ने कार्यविधि वनाइसकेकोले ढुक्कसंग काम गर्न निर्देशन पनि दिनुभयो । उहाँले कर्मचारीलाई जोखिम मोल्न निर्देशन गर्दै यो वेलामा न गर्ने हो भने राष्ट्रसेवक कर्मचारीको के काम भनेर प्रश्न पनि उठाउनुभयो । तर, अस्पतालका अध्यक्ष भट्टराईको आशय यो भन्दा फरक छ । उहाँको भनाइ छ—महालेखा, कोलेनिकाजस्ता नियामक निकायले काम गर्ने वातावरण वनाइदिनुपर्छ । लिखित र औपचारिक ढंगले समाधान नगर्ने हो भने भावनाको कुरा गरेर निकास निस्कन्न ।
यस्तो समस्या हालै संघीय सरकारको स्वास्थ्य मन्त्रालयमा पनि आएको थियो । एकजना कर्मचारीले औषधी मगाउन नमानेर उसको सरुवा गरेको कुरा अहिले मिडियामा आइरहेको छ । सत्य तथ्य के हो त्यो फरक कुरा हो, प्रक्रियाको कुरा उठाएर चिनवाट औषधी मगाउने विषयमा विवाद भएको अनुमा लगाउन सकिन्छ ।
बुटवलमा भेन्टिलेटरसहितको अस्पताल वनिसकेपछि मनोवैज्ञानिक रुपमा सुरक्षित भएको महसूस भएको छ धेरैलाई । यो कुरा मुख्यमन्त्रीले पनि उठाउनुभएको छ । उहाँको भनाइ छ—कोरोनासंगको लडाई विश्वासले जित्ने हो जसका लागि यो अस्पताल महत्वपूर्ण औजार हो । आइसीयूमा विरामी लैजाने भनेको तेश्रो चरण हो, त्यस अर्थमा ८ वेडको यो तयारी तत्कालका लागि पर्याप्त छ र आवश्यकता अनुसार वृद्वि गर्न सकिने पूर्वाधार वनेकै छ । स्मरणीय छ अर्को १२ वेडका लागि सवै कुरा तयारी अवस्थामा छ । 
यो लडाइमा स्वास्थ्यकर्मीहरु अग्रभागमा हुनुहुन्छ । त्यसैले विरामीलाई आत्मवल प्रदान गर्ने र ढाडस दिने काम उहाँहरुकै भएको प्रसंग उल्लेख गर्दै मुख्यमन्त्री पोख्रेलले भन्नुभयो— उहाँहरुको सम्मान गर्ने कुरामा प्रदेश सरकार कमजोर हुने छैन ।

प्रधानमन्त्रीको आत्मवलले कोरोना जितेका छौं ः
समयमै लकडाउन गर्न सकिएकोले नेपालले कोरोनालाई जित्न सकेको ठम्याई मुख्यमन्त्रीको छ । भारतले तत्काल लकडाउन गर्न नचाहँदा नचाँहदै पनि प्रधानमन्त्रीको जोडवलले भारतलाई सहमत गराउन सकिएको स्मरण गर्दै कतिपय भावनाका कुरा उठे पनि अन्तरर्राष्ट्रिय समुदाय, विश्व स्वास्थ्य संगठनसमेतको जोड यसैमा रहेको विश्वास मुख्यमन्त्रीको छ ।
 

प्राप्त प्रतिकृयाहरू

To Top