कसरी दिऊँ शुभकामना

बिचार चैत्र ३० २०७६ ekhabarnepal
Dr ghimire

डी.आर.घिमिरे
भोलिदेखि २०७७ साल प्रारम्भ हुने दिन । अर्थात् नयाँ वर्षको पहिलो दिन । त्यसोत मैले प्रायः यस्ता औपचारिकता पूरा गर्ने काम गर्दिन । तैपनि फेसवुक वालवाट शुभ होस् भनेर उपस्थितिसम्म जनाउने काम गर्दथें विगतमा । धेरै साथीभाइहरुले म्यासेन्जरमा शुभकामना पठाउनुहुन्थ्यो । त्यसलाई सहश्र स्वीकार्दै धन्यवाद भनिन्थ्यो र मेरो तर्फवाट पनि भनेर औपचारिकता पूरा गरिन्थ्यो । अहिले पनि त्यति सम्म गर्न सकिन्थ्यो होला । सवैले गरेकै छन् । तर, मलाई त्यसो गर्न मन लागेन । 
बुटवल खासगरि वेलवासमा वस्न थालेपछि होली पर्व राम्रै गरि मनाउन थालियो । कैयौं वर्षसम्म ड्राई र घरमै वनाएका परिकार लगेर पनि ती पर्व मनाउने प्रचलन वसाल्यौं कुनै वेला । शुरुका दिनमा मसहित धु्रव पन्थी, यमलाल लोहनी, कृष्ण कुँवर, पुरुषोत्तम घिमिरे र स्व. नित्यानन्द खनाल (वुवा—तिलक भुषाल) ले जवइ चौरमा गएर रमाइलो गर्ने परम्पराको शुरुवात गरेका थियौं । जवइको वाटरपार्क हाम्रो गन्तब्य हुन्थ्यो ।
पछि बुटवल फूलवारी अर्थात् मणिमुकुन्दसेन उद्यान पार्कलगायत नयाँनयाँ ठाउँमा जान थालियो । यस कुराको प्रचार हुन थालेपछि वजारतिर वस्ने साथीहरु वलवहादुर आचार्य,  तेजेन्द्र केसी, वसन्त खनाल, तिलक आचार्य, तिलक भुषाल, खेमप्रसाद लुइटेल, वसन्त पोख्रेललगायतका साथीहरु पनि आउन थाले । समुह ठूलो हुन थालेपछि खसी वोका लगेर पिकनिकजस्तो गर्न थालियो र समय क्रममा छोडियो ।
नयाँवर्षमा पनि कहिलेकाँही यस्तै रमाइलो गरियो कैयौं पटक । रमाइलोको अर्थ विभिन्न परिकारका खाना खानु, गफगाफ गर्नु, नाचगान गर्नुनै हो । पत्रकार महासंघमा सक्रिय हुन थालेपछि पत्रकारहरुसंग पनि मनाउन थालियो । विस्तारै त्यता पनि छाडियो ।
पछिल्ला दिनमा सामाजिक सञ्जालको भरमा मनाउन थालियो । यसैले काम चलेको थियो  । तर, यो पटक अलि असमान्जस्यमा परियो । यद्यपि कसैकसैले घरमा खाना पकाउने खाने, नाचगान गर्ने, टिकटक वनाएर आनन्द लिनेजस्ता कामले पनि समय ब्यतित गरेको पाइन्छ । तैपनि यो वर्ष सवैको नयाँ वर्ष घरमा कैद भएको छ । भर्खरैजस्तो लाग्छ चिनियाँहरु नयाँ वर्षमा वाहिर निस्कन पाएनन् भनेको, देखेको र लेखेको । 
 नयाँ वर्षमा बुटवलको आसपास हेर्दा अचम्मै हुन्थ्यो । घरवाट हिंडेपछि वजार निस्कँदा फूलवारी चोकमा ट्राफिक जाम हुन्थ्यो । गेट अघि टक्क उभिएर हेर्दा युवा युवतीको लस्कर देखिन्थ्यो । जाने फुर्सद नभएपनि जानु पाए हुन्थ्यो कि भन्ने लाग्दथ्यो । कहिलेकाँही त गेटमै पुगेर रमिता हेरेर फर्केको पनि छु । सहरभरी मान्छेको भिड उत्पातै हुन्थ्यो । सिद्ववावा मन्दिरमा पूजाआजा गर्नेको लर्को हुन्थ्यो विहानैदेखि । हिलपार्क, शंकरनगर वनवाटिका, पछिल्ला चरणमा ढवाहको शान्ति पार्क, मिलन पार्क, जवइ चौर । जताततै मान्छेको भिड हुन्थ्यो । जवइ चौरमा वर्षेनी भूपूहरुको समूहले विभिन्न खेलहरुको प्रदर्शन गर्दथे ।
सवै ठाउँमा जान नसकेपनि र आफूले महसूस नगरेपनि साँझमा जव समाचार सेटिङ्ग गर्ने समय हुन्थ्यो त्यतिवेला सवै ठाउँमा गएजस्तो हुन्थ्यो । रेडियो टेलिभिजनवाट सुन्दा हेर्दा पनि साँच्चिकै नयाँ वर्ष आएजस्तो हुन्थ्यो । सामाजिक सञ्जालमा फोटो पोष्ट गर्नेहरुले पनि मन लोभ्याउँथे ।
बुटवलमा वस्न थालेको ३५ वर्ष भयो । यसवीचमा केहीन केही नयाँपनको महसुस हुन्थ्यो । गत वर्ष आरम्भ रिसोर्टमा नयाँ वर्ष मनाइएको थियो । कलाकारहरु वोलाएर रमाइलै गरिएको थियो । यद्यपि त्यो रमाइलो आफ्ना लागिभन्दा अरुका लागि वढी थियो ।
यो वर्ष पनि धेरैले नयाँ वर्षको कार्यक्रम वनाएका थिए । होटल रिसोर्टहरुले कलाकारलाई पेश्की दिएर वुक गरिसकेका थिए । कोकाकाला वा पेप्सीजस्ता चिसो पेय पदार्थ र विभिन्न जुस कम्पनीहरुले, मदिरा कम्पनीहरुले, खाद्य उद्योगहरुले विभिन्न अफरको योजना वनाउँदै थिए । तर, सोंचेजस्तो सधैभरि कहाँ हुन्छ र ? ताक्नत सवैले मुढालाईनै ताक्छन् तर, विडम्वना घुँडामा आएर ठोक्कियो नयाँवर्ष । 
नयाँ वर्षमा नागरिकका पिडा छन् । यसो सडकमा निस्कन्छु । पैदल हिडेर दाङ्ग, धनगढी जानेहरु भेटिन्छन् । यसो अनलाइनमा समाचार हेर्छु सोलुवाट काठमाण्डौ हुँदै कैलाली जानेहरुको कथा भेट्छु । नाङ्गै महाकाली तरेर नेपाल आएका समाचार पढेको स्मरण गर्छु । कोरोना संक्रमितहरुको अवस्था सुन्छु । त्यत्तिकै मन भक्कानिएर आउँछ । यसो सोँच्छु त्यो अवस्था म आफैलाई परेको भए के हुन्थ्यो ?
खान नपाएर भोकै रहनेको ब्यथा यो वेलामा कस्तो होला ? कोरोनाको पिडा यस्तो पिडा हो जसले संक्रमितलाई मात्र हैन हरेक नागरिकलाई प्रभाव पारेको छ । वरु मर्नेहरुले दुःख लुकाए होलान् वाँचेकाहरुले त्यो भन्दा कम दुःख पाउनेवाला छैनन् । 
वैश्वीकरणले कति सारो प्रभाव पारेछ कुन्नी । चिन होस्, इटाली वा स्पेन होस्, अमेरिका वा अष्ट्रेलिया होस्, अफ्रिका होस् वा जुनसुकै महादेश होस् । सवैलाई यसले छोएको छ ।
अन्तर्राष्ट्रिय श्रम संगठन, आइएलओले दुई दिन अघि शुक्रबार भनेको छ—कोरोना भाइरसका कारण विश्वमा १ अर्ब २५ करोड मानिसको रोजगारी जोखिममा छ । पूर्ण या आंशिक रुपमा करिव २ अर्ब ७० करोड कामदार प्रभावित भइसकेका छन् । यी मानिसलाई अहिले मात्र हैन यीमध्येका धेरै मानिस भोलि पनि कामविहीन बन्दै छन्  । यो तथ्यांक भनेको विश्वको समग्र जनशक्तिकोे ८१ प्रतिशत हो । अमेरिकामा मात्र ४३ प्रतिशत मानिस वेरोजगार हुनसक्ने सम्भावना छ ।
भनिन्छ ‘ब्ल्याक डेथ’ को नाममा चिनिने चौधौँ शताब्दीको प्लेग महामारीको नरसंहारले युरोपको इतिहास बदलिएको थियो । चीनको सिल्क रोडहुँदै युरोप भित्रिएर करिब ३४ महिना चलेकोे त्यो महामारीले युरोपको ठूलो जनसंख्यालाई मृत्युको मुखमा धकेलेको थियो । खासमा त युरोपको अर्थराजनीतिमा नै परिवर्तन ल्याइदिएको थियो । अहिले युरोप वा एशिया हैन विश्व अर्थतन्त्रलाइनै वेहाल वनाउँदै छ ।
अव भन्नुस् यो वेलामा कसरी नयाँ वर्षको शुभकामना भनुँ । शुभकामना एउटै अर्थमा भन्न सकिएला अव घरभित्रै वस्ने हैन वाहिर निस्केर खेतीपातीमा लाग्ने समय हो । त्यता लागौं । उद्योगी ब्यवसायीले निश्चित कामदारलाई निश्चित ठाउँमा राखेर थोरै थोरै काम धन्धा गरौं । विद्यार्थीले घरवाटै भएपनि प्रविधिको प्रयोग गरेर अध्ययनलाई जीवित राखौं । शिक्षकले प्रविधिको माध्यमवाट अध्यापन गराऔं । 
मन्त्री वसन्त नेम्वाङ्गले काठमाण्डौका सडक चिल्ला वनाएका छन् । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोख्रेल र स्वास्थ्यमन्त्री भानुभक्त ढकाल कोरोना विरुद्वको लडाइमा मैदानमा डटेका छन् । चिकित्सक, स्वास्थ्यकर्मी कोरोनालाई पराजित गर्न अग्रपंक्तिमा लडेकै छन् । सुरक्षाकर्मीहरुले चुनौतिको सामना गरेकै छन् । त्यसैले अव हटेर हैन डटेर लड्ने वेला हो । यो वेलामा कतिपय पालिकाहरुले आफ्नो पालिकालाई खुला गरेर उत्पादनमा छलाङ्ग मार्न सक्छन् । अथवा अव कोरोनालाई समस्या हैन अवसरका रुपमा लिनुपर्छ । २०४५ सालमा जव भारतले नाकावन्दी लगायो पाल्पालीले तरकारी खेती गर्न सिके र आत्मनिर्भर वने । अव फेरि पालो आएको छ—तरकारी, मासु, लसुन प्याज, धनियाँ, फलफूललगायत खाद्यान्नमा आत्मनिर्भर हुने । 
विकासका काम र निर्माणका कामलाई सामाजिक दुरी कायम गरेर ब्यवस्थापन गर्न सक्छन् । अहिले पनि भैरहवाको गौतमवुद्व एयरपोर्टको काम भएकै छ । केही जलविद्युत आयोजनाहरुको काम भएको छ । स्थानीय तहले पहिलो चरणमा आफ्नै नागरिकले गर्ने काम जे हुन्छ त्यसलाई शुरु गरिहाल्दा हुनछ । निर्माण सामाग्री प्रयोग गरेर हुने काम गर्न सक्छन् । यस्ता काम के गर्न सकिन्छ तिनको सूचि तयार गरेर विस्तारै गेयर थिच्दै जानुपर्छ । यसो गर्दा अलिकता चलायमान हुन सक्छ हाम्रो अर्थतन्त्र । दलका नेताहरु यस्तो वेलामा संयन्त्रको गठन नभएकोमा खोंचे थापेर मात्र वसेका छन् । के यस्तो वेलामा सहजीकरण गर्नुपर्दैन ? 
 

प्राप्त प्रतिकृयाहरू

To Top