फेरिएको जीवनशैली

बिचार चैत्र २७ २०७६ ekhabarnepal
Dr ghimire

डी.आर.घिमिरे
विहान उठेर हिड्न सधै हतार हुन्थ्यो । उस्तै परे चिया खाने फुर्सद हुँदैनथ्यो । ब्यापारी, ब्यवसायी वा अन्य कारोवारियालाई रातभरी सपनामा पनि ब्यवहारको कुरानै आउँथ्योहोला । फोन आयो कि झसंग हुनुपर्ने । नचिनेको फोन उठाउनै नहुने । मसान्त आएपछि के गरौं कसो गरौं भनेर अफन्नाउनुपर्ने । ब्याज किस्ता, ऋण यस्तै यस्तैमा जिन्दगी ब्यस्त । साँझ पख मस्ती जिन्दगी पनि धेरैको थियो ।
विद्यार्थीलाई जाँचकै कुरा हुन्थ्यो । साना वालवालिकालाई सकि नसकि पुस्तकको झोला वोकेर हिड्ने चिन्ता हुन्थ्यो । निद्रामै उठेर खाना खाइवरी हिड्ने लठारो हुन्थ्यो । 
सडक, अड्डाअदालत, विद्यालय, कलेज, मालपोत, नापी, मन्त्रालय, विभाग, निर्देशनालय, यातायात, वैंक, पालिकाहरु सवैतिर किरा परेजस्तै मान्छेको ताँति हुन्थ्यो । दुकानमा एकछिन फुर्सद हुदैनथ्यो । होटलमा चिया पकाउन भ्याइनभ्याइ हुन्थ्यो । सडकमा तरकारी फलफूल वेच्नेहरु पनि ब्यस्तै हुन्थे । वसलाई यात्रु चढाउने हतार हुन्थ्यो । यात्रुलाई कसरी आफ्नो गाडीमा चढाउने भनेर तानातान हुन्थ्यो । ट्रकलाई मस्ती थियो । खुरुखुरु सामान वोक्यो हिड्यो । कारमा, मोटरसाइकलमा हिड्नेलाई पनि कम्ति हतारो थिएन । साइकलको कुरै नगरौं । सिलित्त गरेर यतावाट उता उतावाट यता हिड्यो ।
पेशामा लाग्नेलाई पनि फुर्सद थिएन । वकीललाई अदालत ठिक्कै थियो । विहानदेखि साँझसम्म अदालत, अफिस गर्दैमा ठिक्क थियो । दुइचार जना वकीलसंग र श्रीमानहरुसंग वाहेक अरुसंग संगतनै थिएन । थियो त तिनै झगडियाहरुसंग । मुद्वामामिलावाहेक अरु कुरा गर्ने फुर्सद हुँदैनथ्यो । हुने कुरा पनि भएन ।
शिक्षक, प्रशिक्षक, प्राध्यापक सवैलाई यस्तै हुन्थ्यो । हेलमेट शिक्षक त्यसै भनिएको हैन । यता र उता दौड्दा ठिक्कै हुन्थ्यो । घडीको सुई जता दौड्यो उतै दौडन्थे । पत्रकारहरुको त कुरै वेग्लै । विहानदेखि राती १० वजेसम्मनै ब्यस्त । घरवाट निस्केपछि वच्चावच्चीले अनुहारनै हेर्न देख्न नपाउने अवस्था । अलि ठूलो होउन्जेल बाबुलाई नचिन्ने सम्भावना । एकदिन अनुपस्थित हुँदा के विराएँ भनेजस्तो हुने । कहिलेकाही त लाग्ने म नहुने हो भने यो संसार कसरी धानिएला ? मान्छेले कसरी न्याय पाउलान् ? सूचना कसरी प्रवाह होला ? 
वसपार्कमा वसको, रेल स्टेशनमा रेलको, हवाई अड्डामा जहाजको आवाजले कान खाला जस्तै हुन्थ्यो । जमिनको के कुरा गर्नु आकासलाई पनि फुर्सद थिएन । त्यसैले त जहाज आकासमै होल्डिङ्ग गर्नु पर्दथ्यो । 
खाने फुर्सद थिएन । कसैसंग मिठो मसिनो कुरा गर्ने फुर्सद थिएन । जन्त जानेहरु वढीमा खाना खाउन्जेल वस्थे । मलामी जानेहरु लासमा आगो लगाउन्जेल वस्थे । नातापाता इष्टमित्राई भेट्न जानेहरु पहिलेनै फोनवाट खानाको अर्डर गर्थे र त्यही पाकेको खाना खाउन्जेल वस्थे र भन्थे—नमरुन्जेल यस्तै त हो नि । 
तर, अहिले सवैजना घरमा वसेका छन् । विहान उठेदेखि राती अवेरसम्म वाहिरै हिड्ने मनुवाहरु अहिले घरमा छन् । घरको खाना मिठो नहुने कतिपय पुरुषहरु पनि अहिले घरमै छन् । कलेज जाने विद्यार्थीहरु जो चाउचाउ, चाउमिन खाएर दिन कटाउँथे तिनीहरु पनि अहिले घरमै छन्  । 
दालमा जिराको दाना निकालेर पानीजस्तो दालसंग भात खाने पनि अहिले घरमै छन् । युवा युवती जो पिज्जा खाएर घर जान्थे र घरको खाना खाने वेला मुख वटार्थे उनीहरु पनि घरमै छन् । घरको खाना नखाइकन स्कूल जाने र पपकर्न वा विस्कुट खानेहरु पनि घरमै छन् । दैनिक कोलाहल, दौडधुप र तनावबाट धेरैलाई केही समयका लागि भए पनि मुक्ति दिएको अनुभूति मिलेको छ । 
 वास्तवमा घर के हो ? परिवार के हो ? जीवन जगतको महत्व के रहेछ ? पैसा के रहेछ ? ज्ञान विज्ञान के रहेछ ? यी सवै कुराको अनुभूति यतिवेला शायद धेरैलाई भएकै होला  । 
कुरा यति मात्र हैन— 
एकजना लेखकले ठिकै भनेका छन्—अहिले संसारका प्रायः ठूला शहर र आर्थिक केन्द्रहरु पूर्ण रुपमा बन्द छन् । कुनै निमेष खालि नहुने र जहाज नउडेको पल नहुने विमानस्थलहरु चकमन्न छन् । करिब २४ घण्टा खुल्ने मेट्रोहरु, २४ घण्टा नै खुल्ने शहर, रातभर चल्ने डिस्को र बारहरु, आराम दायक क्रुजहरु, ठूला ठूला क्यासिनो, विद्यालय, विश्वविद्यालय, पार्क, सपिङ्ग मलहरु सबै ठप्प छन् । ठूला साना कलकारखाना ठप्प छन् । 
साँच्चै साँघुरा सडक फराकिला देखिन थालेका छन् । ध्वनी प्रदूषण छैन । आकास निर्मल र स्वच्छ छ । प्रदूषण मापक केन्द्रमा हरियो वत्ति वलेको वल्यै छ । आकासमा परेका प्वाल टालिन थालेका छन् । खोला नाला, नदी, समुन्द्र जताततै सफा हुन थालेको छ । तपाईं हामी सबैले सफा निलो आकाश, स्वच्छ हावा र शान्त वातावरण भएको महसुस गरेका छौं । जीवजन्तु, जंगली जनावर खुशी छन् । वनमा आगो लाग्ने समय हो तर, आगो लागेको छैन । जीवजन्तु र वनको मात्र कुरा हैन, दिनहु जति मान्छे मर्दथे त्यति मर्न पनि छाडेका छन् । 
हिजोसम्म खाना खान हतार थियो । वस पार्कमा वस चढ्न हतार थियो । रेल कुदेको कुदै गर्थ्यो भेटाउन हम्मे हम्मे थियो । अझै विदेशको के कुरा गर्नु । उनीहरु मान्छे हैन मेसिन जस्ता थिए । मलाई देशविदेश घुम्दाको अनुभव थियो—मान्छेलाई भेटाउन सकस हुन्थ्यो । कतिपयले भन्ने गर्दथे हाम्रो हिंडाइ र उनीहरुको हिंडाइमा हेर्नुत कति अन्तर छ । 
    हामी लमक लमक हिंड्छौं । विदेशतिर जाँदा थाहा हुन्छ—हाम्रो दौडाई र उनीहरुको हिंडाइको पारा एउटै खालको हुँदो रहेछ । यसलाई भनिन्थ्यो पनि—हाम्रो विकास यही गतिमा छ र उनीहरुको विकास त्यही गतिमा छ । 
ओ हो विचित्रै छ त । यसलाई संयुक्त राष्ट्रसंघका महासचिवले दोस्रो विश्वयुद्धपछिको सबैभन्दा ठूलो चुनौती भनेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो विश्वयुद्धको संज्ञा दिएका छन् । जर्मन चान्सलर एन्जेला मेर्केलले दोस्रो विश्वयुद्धपछि जर्मनीले भोगेको सबैभन्दा ठूलो चुनौती भनेका छन् । बेल्जियमका वैज्ञानिकहरुले मानवजातिका प्रायः गतिविधि जस्तै यातायात, हवाईजहाज ,आदिले पृथ्वीको चालमै केही परिवर्तन आएको बताएका छन् । हा्रम्रै प्रधानमन्त्री केपी शर्मा ओलीले यतिखेर जीवन कि वैयक्तिक स्वतन्त्रता भनेर वहस गर्नुहुन्न भनेर भनेका छन् । अर्थात् जीवनै रहेन भने के को स्वतन्त्रता ? जे होस् सवैले भनेको र मानेको कुरा यही हो—यो असाधारण समय हो, विश्वव्यापी संकटकाल हो ।  
यसले के गरेको छैन सवै थोक गरेको छ । संकट हैन महासंकट ल्याएको छ । रोजगारी गुमेर मान्छे सडकमा आएका छन् । आउँदै छन् । आखिरी एउटा भाइरस हो । तर, त्यही भाइरसले ल्याएकोे महामारीसंग लड्न नसकेर विश्व आजित भएको छ । सम्पूर्ण मानव जाति एकपटक भाइरसको बन्धक हुन पुगेको छ । 
एउटा भाइरससामु हामी लाचार छौं । ठूला ठूला जनावर, हात्ती, गैडा, वाघ, भालु, सिंहलगायतलाई थुनेर चिडियाखानामा तह लगाउने मान्छे आज एउटा भाइरसका कारण घरमै बन्धक भएर वस्नु परेको छ । त्यो पनि एक दिन हैन, हप्ता दिन हैन,  महिनौ दिन घरभित्र वस्न बाध्य हुनु परेको छ । आज तिनै जनावरहरु निर्भयताका साथ स्वतन्त्रपूर्वक विचरण गर्दै छन् । तर मानिस चिडियाखानामाजस्तै आफैंले बनाएको घरमा थुनिएर वस्नु परेको छ ।
आखिरी मान्छे कहाँ छ त ?
मान्छेले अव विकासको परिभाषा खोज्नुपर्ने छ । हिजो जस्तो विकास अवको दुनियामा आवश्यक छैन भन्ने कुरा स्थाापित भएको छ । वातावरण केही हैन भन्ने कुरा रहेनछ । वातावरण, जलवायु, जनस्वास्थ्य एवं स्वास्थ्य प्रणालीकै वारेमा गंभीर चिन्तन मनन गर्नुपर्ने भएको छ । खासगरि ठूला राष्ट्रले यसलाई आत्मसात गर्नैपर्ने भएको छ । हातहतियार, गोलीगट्ठा र सैनिक फौजहरु प्रयोजनविहीन बनेका छन् । शिक्षा र स्वास्थ्य सवैभन्दा वढी राज्यले लगानी गर्नुपर्ने क्षेत्र रहेछ भन्ने कुरा स्थापित भएको छ ।  
कुरा यति मात्र हैन, अन्ततः मान्छे कृषि युगतिर फर्केको छ । घर वरपर सानोतिनो खेती गरेर समय विताउँदै छ । हाम्रा पूराना रैथाने प्रचलन ठिकै रहेछन् भनेर भनिदै छ । ज्वरो आयो वा टाउको दुख्यो भनेर दवाई हैन वरपर रहेका झारपात, जडिवुटी खाएर सञ्चो हुने तरिकाको खोजी भइरहेको छ । तातो खाने, वासी खाना नखाने, विहान सवेरै उठ्ने कुरा कति वैज्ञानिक रहेछ भनेर भनिदै छ । एउटा कुरा चाँही फेरिएको छ, अचेल सावुन पानीले हात धुन कसैलाई भन्नु पर्दैन । मास्क लगाउन पनि सिकाउनु पर्दैन ।
चिनी लहरोको महिमा यतिवेला सवैले गाउँदै छन् । ज्वानो र वेसारको झोलको गन्ध पटक्कै मन नपार्नेहरु अहिले त्यसैको सुप मजा मानेर खाइरहेका छन् । कसैले गहुँत ठिकै रहेछ भन्दैछन् । इम्युनिटी अर्थात् जीवनी शक्ति कसरी वढ्छ भनेर अंग्रेजी दवाइ हैन जडिवुटी खोजिदैछ ।
 राती १ वजे सुतेर विहान ८ वजेसम्म सुत्नेहरु विहान चाँडो उठ्नुपर्ने रहेछ भन्दैछन् । भनिन्छ विहान ४ वजेदेखि ५ वजेसम्म उठ्ने हो भने ९० प्रतिशत कब्जियत ठिक हुँदो रहेछ र उनीहरु सवैले वुझ्दैछन् ९० प्रतिशत रोगको कारक कब्जियत हो भनेर पनि । कम्तिमा तरकारी घरकै उत्पादन खाने हो भने जटिल रोगवाट पनि मान्छे मुक्त हुन सक्छ भन्ने कुरा पनि स्थापित भएको छ । घर वरपरको जग्गा वाँझो राख्नुभन्दा खेती गर्नु उत्तम हो रहेछ भनेर वुझ्दैछन् । जतिसुकै ब्यस्त भएपनि अलिकता समय घर परिवारलाई छुट्टाउनै पर्ने रहेछ भन्ने पनि साँचो रहेछ ।
हो यसो गर्दा कसैकसैले अन्धविश्वासी कुरा पनि गरेका छन् भन्ने चाँही विर्सनुहुन्न । घरको मूलढोका अगाडि आँगन खनेर त्यहाँबाट निस्किने कालो माटोको टीका लगाउने, बत्ती बाल्ने,  शङ्घ र घण्ट बजाउने, कोरोनाभाइरस नेपालमा भित्रिन नदिन भन्दै यज्ञ र पूजाआजा गर्ने, यहाँसम्मकि एकजना इसाई पादरीले त कोरोनाभाइरस भगाउन भन्दै चिच्याएर प्रार्थनासमेत गराएको समाचार आएको थियो ।
 

प्राप्त प्रतिकृयाहरू

To Top