सम्वेदनशीलता वढेको छ रुपन्देहीका पालिकाहरुमा

समाज चैत्र २५ २०७६ ekhabarnepal
Dr ghimire

डी.आर.घिमिरे
शंकरनगर निवासी गिरीराज भट्टराइका अनुसार तिलोत्तमा नगरपालिकाले प्रहरी गस्ती वढाएको छ र वाहिरतिर निस्कन दिदैन । खासगरि भारतको कोल्हुइमा संक्रमित फेलापरेपछि उसले नगरवाहिर उत्पादित तरकारी पनि नखान अनुरोध गरेको छ । सार्वजनिक रुपमा मिडियामा आएको कुरा यही हो । 
मैले यसको वास्तविकतावारे जान्नका लागि पत्रकार दीनेश पाण्डेलाई फोन गरें । कुरा उहीनै थियो । अर्थात् गस्ती गर्ने काम पर्याप्त मात्रामा भएको रहेछ । मान्छेलाई वाहिर निस्कन नदिने, आवश्यकता अनुसार समयको ब्यवस्थापन गरेर मात्र दिइएको रहेछ ।
यसपछि मैले आजै विहान ८.३० वजे नगर प्रमुख वासु घिमिरेलाई सम्पर्क गर्दा उहाँले शान्तिचोकमा रहेको वताउनुभयो । नगरप्रहरी, सशस्त्र र जनपद प्रहरीसमेतको सहयोग लिएर गस्ती वढाइएको कुरा सुनें । राजमार्ग क्षेत्रमा हिड्नेको कडाइपूर्वक निगरानी गरिएको र तिनाउ तथा रोहिणी नदी आसपासमा टोल विकास समितिलाई परिचालन गरिएको, प्रमुख उपप्रमुख गस्तीमा दौडिरहेको, कसैलाई छिसिक्क वाहिर निस्कन नदिने गरि योजना वनाएको कुराले अत्यन्तै खुशी लाग्यो ।
जनप्रतिनिधिको पहिचान दिन सकेकोमा गर्व पनि लाग्यो । यसरीनै सवैले सक्रियता वढाउन आवश्यक छ । हरेक ब्यक्तिको पहिचान यस्तै अफ्टेरो वेलामै हुने हो । अहिले जनतालाई घरभित्र वसाल्ने र प्रतिनिधिहरु अनुगमनमा निस्कने, दुरी कायम गरेर वैठक वस्ने र योजना वनाउने समय हो । यो अभ्यासलाई सवैले अनुसरण गरुन् भनेर अपेक्षा गर्नु अन्यथा हुने छैन ।
तिलोत्तमाले यस अघिनै वाहिरवाट आउने तरकारीसमेत नखान अनुरोध गर्दै आएको छ । दिउसो १२ देखि २ वजेसम्म पसल खोल्न दिने नीति वनाएको छ । यो समय यस अर्थमा पनि ठिक छ कि दिउसोको गर्मीमा धेरैवेर कोही पनि मान्छे वाहिर वस्न चाहन्नन् । त्यस्तै किसानले दुध वेच्नका लागि विहान ६ देखि ८ वजेसम्म र साँझ ३ देखि ५ वजेसम्म समय ब्यवस्थापन गरिएको रहेछ । 
यस्तै प्रयास सिमा क्षेत्रका पालिकाले गरिदिएमा धेरै ठूलो उपलब्धी प्राप्त हुने थियो । जिल्ला प्रशासन कार्यालयले २३ गते आइतवारकै दिन ६० किमि क्षेत्रमा सशस्त्र प्रहरी परिचालन गर्ने कुरा आएको थियो । शनिवारनै ८० जना प्रहरी परिचालन भएका थिए । 
मैले आज विहान रुपन्देहीका प्रहरी उपरिक्षक हेम कुमार थापासंग सम्पर्क गर्दा अलिकता खुशी लाग्यो । उहाँले पूरै सीमा क्षेत्र वन्द गरिएको र प्रहरीलाई खटाइएको वताउनुभयो । हिजो पनि समरीमाइ गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्लालाई लिएर घुमेको स्मरण गर्नुभयो । स्थानीयहरुमा एक किसिमको डर उत्पन्न भएकोले उनीहरुमा संवेदनशीलता वढेको विश्वास थापाको छ ।  
समरीमाई पालिकाका अध्यक्ष शुक्लासंग सम्पर्क गर्दापनि भारततिरवाट आउनेलाई पूर्णरुपले वन्द गरिएको वताउनुभयो । कोल्हुइमा ७ जनावाट वढेर १० जनामा संक्रमित भएको रहेछ । त्यसवाट एकप्रकारको डर उत्पन्न भएको छ, हामी आफैपनि लागेका छौं र प्रशासनको दृष्टि पनि वढेको छ ,शुक्लाको भनाइ थियो ।
रुपन्देहीमा मात्र हैन कपिलवस्तुमा पनि कडाई गर्न शुरु गरिएको छ । मैले आजै कपिलवस्तुका पत्रकार विकास वन्जाडेसंग सम्पर्क गर्दा तीन दिनदेखि कडाई भएको पाएँ । जेहोस् क्रमसः जागरुकता वढेको रहेछ । यो आफैमा खुशीको कुरा हो ।
हिजो मुख्यमन्त्री शंकर पोखरेलले अरू प्रदेशबाट आउने नाकामा कडाइ गर्न एकीकृत भिडियो संवाद गर्नुभएको छ । सीमा जोडिएका स्थानीय तहका प्रमुखहरूलाई उँहाले  निर्देशन दिएपछि शायद यो क्रम अझै वढ्ने विश्वास गर्न सकिन्छ । यसवाट जिम्मेवारीबोध वढकेको वा वढ्ने आशा गर्न सकिन्छ । 
खासगरि सुदूरपश्चिम र गण्डकी प्रदेशका नागरिकमा कोरोना संक्रमण पुष्टि भएपछि  गण्डकी, सुदूरपश्चिम र भारतसँग सीमा जोडिएका स्थानीय तहका प्रमुखहरूले विशेष चासो दिनुपर्ने अवस्था आएको छ । 
मुख्यमन्त्रीले कर्णाली प्रदेशसँग सीमा जोडिएको ठाकुरबाबा नगरपालिकाका प्रमुख घननारायण श्रेष्ठ र राजापुर नगरपालिकाका प्रमुख शिवप्रसाद चौधरी, गण्डकी प्रदेशसँग सीमा जोडिएका बर्दघाट नगरपालिकाका प्रमुख धीरज शर्मा बस्याल र मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटा, भारतसँग सीमा जोडिएको रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरी र पाल्पाको बगनासकाली गाउँपालिकाका प्रमुख कृष्णप्रसाद बस्यालसँग भिडियो संवाद गर्नुभएको छ ।
पालिका प्रमुखहरूले भारतलगायत विदेशबाट आएका नागरिकको तथ्यांक संकलन, क्वारेन्टाइन निर्माण र दैनिक ज्यालादारी गरी खाने नागरिकको तथ्याङ्क संकलन गरी राहत वितरण गर्न थालेको जानकारी  गराएका छन् । 
यसवाहेक अरु पनि पालिकाहरु छन् जससंग अविलम्व छलफल अगाडि वढाउन जरुरी छ । 
तर, मैले लुम्विनी क्षेत्रको अवस्था वुझ्न स्थानीय सन्दिप गुप्तालाई फोन गर्दा भने त्यति संतोषजनक खवर पाइएन । वरु तरकारी ल्याउनेहरुको वाक्लै लाम देखिएको सुनें । उनीहरु खेतैखेत नेपाल आउने गरेका छन् । कुरा त्यत मात्र हैन अस्ति २३ गते मात्र लुम्विनी आदर्श नगरपालिका भुजहियाको एक विद्यालयमा विद्यार्थीहरुको भिड लगाएर छात्रवृत्तिको फर्म भरिएको रहेछ । 
 खासगरि मर्चवारीमाई, समरीमाइ, कोटइमाई, लुम्विनीजस्ता पालिकामा लापरवाही भएको आशंका छ । हिजो मात्र रुपन्देही तथा सशस्त्र प्रहरी उपरीक्षक द्वय र सेनाका कर्णेलले सीमा क्षेत्रको अवलोकन गरेका थिए । यो अनुगमन पश्चात् भने फरक भएको अनुभूति गरिएको छ । पछिल्लो दुइ दिनदेदिख परिवर्तनको अनुभव गर्नुको अर्थ नेपाल सरकारले थप कडाइ गर्ने निर्णय गरेपश्चात् सवै तहमा सुधार भएको छ ।
हेक्का रहोस् यो सवै नियन्त्रण गर्न प्रहरी परिचालनले मात्र हुँदैन । स्थानीय पालिकाले जति मेहनत गर्छन् त्यतिनै सकारात्मक परिणाम देखिनेछ । पालिकाले चाह्यो भने गस्ती गरेर पनि रोक्न सक्छ । अर्को डर लाग्दो पक्ष यो छ कि पूर्वी नेपालमा नेपाल सुरक्षित भएको महसूस गरि प्रायः नातागोताहरु  आउने क्रम  वढेको छ । यस अर्थमा होसियारीको खाँचो छ । 
 अन्तमा कोरोना भाइरसवारे केही त चर्चा गर्नैपर्छ । यो भाइरस अत्यन्तै खतराक छ भन्ने कुरा विभिन्न माध्यमवाट सार्वजनिक भएकै छ । यो मानिसबाट मानिसमा सर्ने मात्रै होइन, कुनै पनि संक्रमित व्यक्तिबाट सजिलै अन्य व्यक्तिमा सर्ने लगायत हावाका माध्यमबाट ड्रपलेट (थूक,खकारका छिटा) का माध्यमले जुनसुकै सतहबाट सर्ने कुरा प्रमाणित भएको छ ।  
यसको अर्थ संक्रमित ब्यक्तिले खकार गर्दा पनि छिटा नपर्ने भएर दूरी कायम गर्नुपर्दो रहेछ । संक्रमित व्यक्तिले बोल्दा अथवा खोक्दा निस्केका जलबिंदु टेबल, कुर्सी, ढोका, ढोकाको ह्यान्डल, भाडाकुडा, टिभीको रिमोट, कम्प्युटरको किबोर्ड, रूपैयाँ, कागजपत्रजस्ता कुनै पनि वस्तुमा परेर त्यहाँ भाइरस रहेका हुन सक्छन् । 
यसैले यस्ता वस्तुलाई अरु कुनै सामान्य व्यक्तिले हातले छोयो भने भाइरस हातमा सर्न पुग्छ । यद्यपि यतिसम्म पनि खतरा मानिदैन । कुनै पनि व्यक्तिका हातमा पुगेका भाइरसले कुनै पनि हानि गर्दैनन् । यतिमै कसैले सावुनपानीले हात धोयो भने वा सेनेटराइजले हात धोयो भने पनि सर्दैन । तर, कसैले हात नधोई मुख, नाक, आंखा छोएमा भाइरस शरीरभित्र प्रवेश गर्छ । 
यो कुरा असाध्यै बुझ्नुपर्ने छ । त्यसले त हात धुने कुरालाई उच्च प्राथमिकता दिइएको छ । 
यसको खतरनापूर्ण अर्को पक्ष पनि छ । त्यो हो कोरोना संक्रमित मानिसमा प्रारम्भिक लक्षण तत्काल देखिदैन । अहिलेसम्मको तथ्यांकअनुसार झन्डै एक चौथाइ संक्रमित व्यक्तिमा संक्रमणका कुनै लक्षण नदेखिने सम्भावनाहुन्छ । तर उनीहरुबाट अन्य व्यक्तिमा संक्रमण हुन सक्छ ।
जुन व्यक्ति कोरोना संक्रमित भएर पनि यसका कुनै लक्षण देखिदैनन् त्यो थप डरलाग्दो अवस्था  हो । किनकि ती व्यक्तिले अरुलाई संक्रमित बनाउन सक्छन् र बनाइरहेका छन् ।
अव नेपालमा यही खतरा छ एक दुइ हप्ताका लागि । यदि यसविचमा वँच्न सकियो भने हामी कोरोनालाई परास्त गर्न सक्ने छौं । यसका लागि स्थानीय पालिकाहरु सवैभन्दा सक्रिय हुनुपर्ने अवस्था सृजना भएको छ ।
 

प्राप्त प्रतिकृयाहरू

To Top