जिउँदै मार्ने रोग रहेछ कोरोना

बिचार चैत्र २४ २०७६ ekhabarnepal
Dr ghimire

 रोगभन्दा भोक ठूलो, भोकभन्दा शोक ठूलो 

डी.आर.घिमिरे
 कोरोनाभाइरस एउटा अजिव चिज रहेछ । यसले छोएपछि मान्छे त्यसैपनि अत्तालिएर मार्ने रहेछ । यो यस अर्थमा कि अरु सवै रोगमा मान्छेसंगको सामिप्यता रहन्छ । विरामीलाई कुर्ने । औषधिमूलो खुवाउने । सञ्चो विसञ्चो सोध्ने । अलिकति सुधार हुँदा पनि परिवार, इष्टमित्र, साथीभाई, नातागोता सवैलाई सुनाउन पाइने । यसो गर्दा आडभरोसा पनि हुने । 
विरामी भेट्न आउनेहरु फलफूल ल्याउँछन् । जुस ल्याउँछन् । ग्लुकोज ल्याउँछन् । दाल खा भन्छन् । रातो चिया खा भन्छन् । कसैले तातो पानी खान भन्छन् । कसैले चिसो पानी खान   भन्छन् । दुध, अण्डा लिएर आउँछन् । अनेक गर्छन् ।
शरीर तातो भने चिसो कपडा पानीमा भिजाएर टाउकोमा थपथपाउँछन् । घरी घरी डाक्टर आउँछन् । नर्स त जतिवेला वोलायो त्यतिवेला आउँछन् । स्लाइन दिनुपरे वा वन्द गर्नुपरे नर्सहरु आइनै हाल्छन् । इष्टमित्र पनि कसैले फोन गर्लान् । कसैले भेट गर्लान् । कसैले म आउन पाइन है भनेर स्वास्थ्य लाभको कामना गर्लान् । 
केही न केही गतिविधि भइरहेको हुन्छ । रातीमा हो अलि समय विताउन गारो हुने दिउसोमा त सजिलै जान्छ । 
खाना खायो । चियो खायो । पानी खायो । जुस खायो । जे खाएपनि भाँडा माझ्नु नपर्ने । खाइदिए हुने । दिसा पिसाव लाग्ला, वाथरुममा गए हुने । सफा गर्नु नपर्ने । पखाला लागेको रहेछ भनेपनि अर्को आउँछ सफा गर्छ । 
तर, यी सवै छूट कोरोनामा रहेनछ । सवै काम आफै गर्नपर्ने । अथवा विरामी पनि आत्मनिर्भर हुनुपर्ने । खाना टाढैवाट दिएपनि धोइपखाली आफै गर्नुपर्ने । अलि सकश हुँदा अर्कैले खुवाइदिनु पर्ने पनि त हुन सक्छ । तर, अहँ यो छुट यसमा छैन । घरमै वनाएको क्वारेन्टाइनमा वसियो अथवा आइसोलेशन भएर वसियो भने पनि आफुले प्रयोग गरेका भाँडा कुँडा आफैले सफा गर्नुपर्यो । लत्ता कपडा आफैले धुनु पर्यो । वाथरुम आफैले सफा गर्नुर्यो ।
कसैको माया नपाइने । कसैको वोली सुन्न नपाइने । डाक्टर एकआध पटक आउला । दवाई खुवाउला जाला । विरामीसंग त्यति धेरै कुरै के गर्छन् र डाक्टरले । यसो अनुहार हेरेर मनोविज्ञान पढेर जान्छन् र परिवार वा साथीभाईलाई ठिक छ भनेर सुनाउने त हो । धेरै भने विरामी वोल्न सक्छ या सक्दैन भनेर सुनाइदिन सक्छन् । यो भन्दा वढी भन्दैनन् । भनिसाध्य पनि हुन्न ।
यसो सोंचौ त यदि कोही ब्यक्तिलाई विरामी भएर हैन सञ्चै अवस्थामा पनि यही हालत भयो भने के होला ? उसको मनमा के कुरा उब्जलान् ? एकपटक प्रयोग गरेर हेरौ—ं २४ घण्टा म कसैसंग वोल्दिन, कुरा गर्दिन, घरवाट वाहिर निस्कन्न । दिएको खान्छु । नदिए वोल्दिन भन्यो भने के हुन्छ ? के यो सम्भव छ ?
मलाई लाग्छ, यात ऊ विरामी हुन्छ । यात वहुलाउन थाल्छ । मानिसलाई एक्लै राख्नु भनेको एक प्रकारको सँजाय हो । त्यसैलेत मान्छेलाई सामाजिक प्राणी भनेको होला । ऊ समाज नभई एकछिन पनि अडिन सक्दैन । अनि विरामीलाइनै जव एक्लै राख्नुपर्छ भने हालत के होला  ?
अहिलेसम्म जेजति मान्छे मरेका छन् । तिनीहरु शायद यस्तै भएर मरे होलान् । त्यसैलेत यो  रोगलाई जिउँदै मार्ने रोग भनेको हूँ मैले । हुनत यसले वृद्वहरुलाई वढी लखेट्न खोज्दो रहेछ । तर, सवै वृद्वहरुलाई हैन । सवै वृद्वहरुलाई यस कारणले हैन कि भारतको केरलामा ९३ वर्षिय पुरुष र उनकी ८८ वर्षीय श्रीमति, ७१ वर्षीय वेलायती राजकुमार चाल्र्स निको भएर घर फर्केका छन् ।
हो साँच्चै यो जिउँदै मार्ने रोग हो । मान्छेलाई अतास्सिएर मार्ने रोग हो । चिन्तै चिन्ताले मार्ने रोग हो । भुटभुटिएर मार्ने रोग हो । खान नपाएर भोकै मार्ने रोग हो । परिवार र आफन्तको अभावमा चाम्रिएर मार्ने रोग हो । 
अलि लामो समय हुनुपर्छ, रोगले भन्दा भोकले धेरै मर्नेछन् । अहिले त खासै समस्या छैन खानका लागि । घरभित्रै रहेको अन्न खाएर जीवन चल्दैछ । जव जीवन चल्दैन त्यतिवेला के होला ? यसको पराकाष्टा के होला ? जव भोकले मान्छे आत्तिन्छ । जव भोकले मान्छे मर्न थाल्छ । त्यतिवेला कसको घरमा अन्न छ, त्यही अन्न निकालेर खाने अवस्था आउन सक्छ । 
संसारमा यस्तो महामारी पहिलोपटक पनि त आएको हैन । जापानी इन्फ्लुएन्जा, सार्स, मर्स, स्वाइन फ्लुजस्ता तमाम महामारीहरु यस अघि पनि आएकै थिए । आएका मात्र हैनन् ती सवैको औषधी पनि पत्ता लागेकै हो । तर, कोरोनाको औषधी किन किन पत्ता लागेको छैन आजका दिनसम्म । यसको अर्थ सधै यस्तो त नहोला नि । हुँदैन यस्तो पटक्कै हुँदैन । किनकि चिनले एक खालको खोप पत्ता लगाएर परीक्षण गरिरहेको भन्दैछ । अमेरिकाले गरेको  प्रयास पनि अन्तिम अवस्थामा पुग्ने आशा जागेको छ । सिंगापुर, इजरायल नेदरल्याण्ड, क्यानडा, जापानलगायतका देशहरु पनि खोप पत्ता लगाउन कस्सिएर लागिरहेकै छन् ।
त्यसैले त  अझैसम्म सम्पूर्ण आशा मरेको छैन ।
आश नमरेर के गर्नु ? रोगलेभन्दा भोकले, भोकलेभन्दा शोकलेनै धेरै मान्छे मर्लान् जस्तो छ । 

प्राप्त प्रतिकृयाहरू

To Top