स्थानीय तहको सक्रियता वढाऊ, रुपन्देहीको ६० किमि नाका ठप्प

बिचार चैत्र २३ २०७६ ekhabarnepal
Dr ghimire

डी.आर.घिमिरे
नेपालमा कोरोना भाइरसको संक्रमण दोस्रो चरणमा पुगेको छ । स्थानीय व्यक्तिमा भएको यो संक्रमणलाईनै दोश्रो चरण भनिएको हो । यसलाई जानकारहरु समुदायस्तरमा संक्रमण भएको भनेर वुझाउने प्रयत्न गर्दैछन् ।
खासगरि हिजो २२ गतेका दिन कोरोना भारइस संक्रमित थप तीनजना फेला परेपछि त्यसले उक्त निष्कर्षमा पुग्न वाध्य वनाएको हो । 
अहिलेसम्म विदेशवाट आएका नेपालीमा देखिएको कोरोना पहिलोपटक स्थानीय ब्यक्तिमै देखिएपछि नयाँ चुनौति थपिएको छ । यस अघि संक्रमित सवैजना विदेशवाट आएका थिए । 
विज्ञहरु यसरी स्थानीयस्तरमा भेटिनुलाई समुदायस्तरमा भाइरस सरेको भनेर मान्दा रहेछन् । यसले संकेत गरेको अर्को तथ्य यो हो कि हामी भारतवाट वढ्तै होसियार हुुनुपर्ने वेला आएको छ । सुदुर पश्चिम जति खतरनाक देखिएको छ त्यस आधारमा हाम्रो ५ नं. प्रदेश पनि त्यत्तिकै जोखिमयुक्त रहेको हुनसक्ने अनुमान लगाउन सकिन्छ । किनकि यस प्रदेशमा १७ वटा नाका भारतसंग जोडिएका छन् ।
अव नेपालमा नौ जना संक्रमित भएका छन् । चैत ४ गते कतार एयरवाट आएका ३ महिला र युएईवाट आएका २ युवामा संक्रमण देखिएपछि कोरोनाले नेपाल प्रवेश गरेको थियो । 
यसरी भारतवाट आएका ब्यक्ति संक्रमित हुन थालेपछि नेपालीहरु अलि वढी आतंकित हुनु स्वभाविक हो । धनगढीमात्र हैन यता रुपन्देहीको सीमावर्ती भारतीय गाउँमा ६ जना संक्रमित भेटिएपछि झन आतंक भएको छ । हिंजो धेरैले चिन्ता पनि प्रकट गरे ।
यद्यपि यसै कुरालाई ध्यान दिदै सीमा क्षेत्रमा थप कडाई गर्ने निर्णय भएको छ ।
 शनिबार रुपन्देहीको मर्चवारीमाई गाउँपालिकासँग सीमा जोडिएको भारतीय गाउँ कोल्हुई र पुरन्दपुर थाना आसपासका गाउँमा ६ जनामा कोरोना संक्रमण भएको थाहा लाग्यो । कोल्हुई र मर्चवारीमाई गाउँपालिकाको पैदल दूरी १० मिनेटको मात्र छ । 
मर्चवारीमाईका अध्यक्ष केशवनन्दन बानियाँका अनुसार सीमावर्ती भारतीय गाउँमा ६ जनामा कोरोना संक्रमण भेटिएको जानकारी पाएसँगै मर्चवार क्षेत्र पूरै त्रसित छ । उनका अनुसार कोही पनि घरबाहिर निस्कन सकेका छैनन् । 
कोल्हुई मर्चवारवासीको प्रमुख बजार रहेकोले र त्यतैवाट तरकारी ल्याई नेपालमा वेचिने भएकोले पनि अलि वढी डर लागने अवस्था सृजना पैदा भएको छ । 
यसैप्रति लक्षित गर्दै भरत पोख्रेलले यस्तो स्टाटस राखेका छन्— भैरहवाका मान्छेहरु धेरै रगरग नगरम् है । त्यही पल्तिर कोल्हुइमा ६ जनामा कोरोनाको गुजी भेट्टियो रे । थपक्क ज्ञानी वनेर घर वसौं । 
बानियाँका अनुसार उनीहरू दिल्लीको तबलिगी मरकजमा सहभागी भएर आएकाहरू भएका हुन् । उनीहरूलाई भारतीय प्रहरीले गत बुधबार नियन्त्रणमा लिएर बिआरडी मेडिकल कलेज गोरखपुरमा नमुना परीक्षणका लागि पठाएको थियो ।
अझै डर लाग्दो कुरा यो छ कि भारतको राजधानी नयाँदिल्लीको निजामुद्दिनमा हालै सम्पन्न मुस्लिम धार्मिक भेलावाट फर्केका नेपालीले के गर्लान् ?सोही भेलामा सहभागी पर्सा निवासी ६६ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ । उनी दुई साताअघि हरियाणाको अम्बाला पुगेको समाचार हिजोको कान्तिपुरले लेखेको थियो । भेलाका अन्य दश जना सहभागीसहित उनी हरियाणाको अम्बालाको महेशनगरस्थित मस्जिदमा बस्दै आएका थिए । दुई साताअघि बंगेलवाली मस्जिदमा भएको तबलिगी समुदायको अन्तर्राष्ट्रिय भेला (जमात) मा सहभागी उनीहरु अम्बाला पुगेका रहेछन् । तिनीहरु सवै नेपाली पर्सा जिल्लाका हुन् ।
५ मार्चदेखि १३ मार्चसम्म चलेको उक्त भेलामा भारतीय र विदेशीगरी चार हजारभन्दा बढीको सहभागिता रहेको बताइएको थियो । तिनीहरुमध्ये एक हजार पाँच सयभन्दा बढी २४ मार्चअघि नै हिँडिसके पनि बाँकी लकडाउनका कारण त्यहीँ वसेका रहेछन् ।
सो भेलामा सहभागीहरुनै भारतका लागि पनि टाउको दुखाई वनेका छन् । दिल्ली, आन्ध्र प्रदेश, तमिलनाडु, तेलांगनामा विगत केही दिनयता पहिचान भएका कोरोना संक्रमित सबैजसो सोही भेलाका सहभागी हुन् । भेलाका सहभागीलाई प्रहरीले खोजविन गर्दै जाँदा महेशनगरको मस्जिदमा छापा मारेको र सोही क्रममा नेपाली आठ, श्रीलंकाका एक र बाँकी दुई जना भारतकै राजस्थान र आसामका नागरिक बस्दै आएको पत्ता लागेको रहेछ ।
तिनीहरु सवैजनालाई प्रहरीले क्वारेन्टाइनमा पठाएकोमा कोरोनाको लक्षण देखिएका दुई जना नेपाली र एक श्रीलंकालीलाई भने आइसोलेसनमा राखिएको थियो । अर्का नेपालीको रिपोर्टमा भने केही देखिएको छैन । अम्बाला पुगेका अन्य ६ जना नेपालीको भने परीक्षण हुन बाँकी छ । खतरा के छ भने भेलामा सहभागी भएकाहरुमध्ये दिल्लीका २४ जनामा कोरोना देखिएको थियो ।
दिल्लीस्थित नेपाली दूतावासका अनुसार उक्त भेलामा २० जना नेपाली सहभागी थिए । त्यसबाहेक निजामुद्दिनकै मदरसामा अध्ययनरत १३ जना विद्यार्थी पनि भेलामा सहभागी रहेको हुनुपर्छ । 
भारतको स्वास्थ्य मन्त्रालयले हालसम्म पहिचान भएका २ हजार ६ सयभन्दा बढी कोरोना संक्रमितमध्ये ६४७ को सम्बन्ध त्यही भेलासँग जोडिएको दाबी गरेको छ । भारतमा देखिएकामध्ये एक चौथाइको तार निजामुद्दिन भेलासँग जोडिएको दाबी भारतीय अधिकारीहरुले गरेका छन् । 
त्यसैगरी भारतका १८ राज्यहरुमा पहिचान भएका संक्रमितहरुको सम्पर्क दिल्लीको तबलिगी जमातसँग रहेको दाबीसमेत मन्त्रालयको छ । भारतमा हालसम्म कोरोनाका संक्रमणबाट ६२ जनाको मृत्यु भएको छ भने १६३ जना उपचारपछि निको भइसकेका छन् ।  
 सीमा क्षेत्रमा थप कडाइ
निश्चयनै सीमावर्ती भारतीय गाउँमा कोरोना संक्रमित भेटिएसँगै रुपन्देही प्रशासनले सीमा क्षेत्रमा थप कडाइ गरेको छ । सीमा सिल गर्न थालिएको भन्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले सीमा क्षेत्रमा एकले अर्कोलाई देख्ने गरी सशस्त्र प्रहरी परिचालन गर्न लागिएको बताउनुभयो । रुपन्देहीमा ६० किलोमिटर सीमा क्षेत्र पर्दछ । त्यसमा पूरै वन्द गरिएको छ । यो वन्दी चौवीसै घण्टा भएकोले अव भारतवाट मान्छे छिर्ने सम्भावना छैन । यद्यपि यसका लागि स्थानीय मानिसले देखभाल गरिदिए राम्रो हुने धारणा उहाँको छ । यसका लागि पालिकका जनप्रतिनिधिहरुनै चनाखो वन्नुपर्ने छ । 
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका वरिष्ठ चिकित्सक क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुनका अनुसार अहिलेको अवस्था गम्भीर छ, तर एकदमै गम्भीर हैन । अर्थात् कोरोना महामारी रोक्न सकिने अवस्थामा छ ।
अव विदेशबाट आउनेको व्यापक निगरानी गर्न आवश्यक छ । हरेक ब्यक्तिलाई क्वारेन्टिनमा राखेर नमुना परीक्षण गर्नुनै एकमात्र विकल्प हामीसंग छ ं। यद्यपि यस्तो वेलामा गंभीरताको कुरा भन्दा भावनाको कुरा गरेर कतिपयले ब्यक्तिलाई भड्काउन खोज्दैछन् ।
अहिले एउटा मनोविज्ञान के खडा भएको छ भने आइसोलेशनमा घृणा हो । कस्तो लाग्छ भने कोरोना संक्रमित हुनु भनेको एचभाइभी एड्स जस्तै हो । यस कुरामा हरेकले स्पष्ट पार्नुपर्ने आवश्यक छ । नेविसंघका उपाध्यक्ष मुक्ति पौडेल आफै आइसोलेशनमा वसेका छन् । यस्ता विषयलाई वकायदा सार्वजनिक जानकारी गराएर । यसवाट अरुले पनि पाठ सिक्नुपर्छ ।
त्यसैले अब १ मिनेट पनि ढिला नगरी जहाँ स्थानीय व्यक्तिमा संक्रमण सरेको पुष्टि भएको छ त्यस ठाउँलाई तुरुन्त सिल गरी परीक्षणलाई व्यापक बनाउनुपर्छ।
आजसम्म आइपुग्दा हरेक प्रदेशमा प्रयोगशालाहरु स्थापित भइसकेका छन् । अव शंकास्पदले परीक्षण गराएर आफुलाई ढुक्क हुने अवस्था सृजना गर्नुपर्छ । सरकारले एक पालिकावाट अर्को पासलकामा पनि जान नदिने निर्णय गरेको छ । धेरैले यसलाई वोझ मान्दैछन् । वास्तवमा यो आफ्नै लागि हो भन्ने कुरा नवुझेसम्म हामीले मुक्ति पाउनेवाला छैनौं ।
अहिलेसम्म त एक व्यक्तिबाट अर्काे व्यक्तिमा मात्र सरेको छ । भोलि एक गाउँ वा समुदायबाट अर्काे गाउँ वा समुदायमा संक्रमण हुन थाल्यो भने के होला ? 

प्राप्त प्रतिकृयाहरू

To Top