यस्तो वन्दैछ बुटवलको कोरोना अस्पताल  ,सवाल प्रश्नको हैन समाधान हो

बिचार चैत्र २२ २०७६ ekhabarnepal
Dr ghimire

डी.आर.घिमिरे
बुटवल कोरोना विशेष अस्पतालकोवारेमा विभिन्न समाचारहरु प्रकाशित भइरहेका छन् । म आफैले पनि कोरोना विशेष अस्पताल एउटा कारखानामा लगेर राख्नु असान्दर्भिक भयो कि भनेर एकआध पटक कुरा उठाएको छु । यद्यपि मेरो आशय मनोेविज्ञानको रुपमा थियो । खासगरि कोरोनामा उपचाररत एकजनाको मृत्यु भएपछि त्यसवारेमा जेजति समाचार सार्वजनिक भए त्यस आधारमा विरामी ब्यक्ति पनि त्यस ठाउँमा उपचार गर्न जाने सम्भावना देखिएन ।
यद्यपि मैले केही दिन अघि लुम्विनी प्रादेशिक अस्पतालका अध्यक्ष सूर्यवहादुर भट्टराइलाई पनि यसवारेमा असन्तुष्टि पोखेको थिएँ । उहाँले एकपटक हेरेर मात्र टिप्पणी गर्न सुझाउनु भएको थियो र मैले पुनः भनेको थिए—यदि त्यसो हो भने पत्रकारहरुलाई स्थलगत भ्रमण गराएर सत्य तथ्य सन्देश प्रवाह भयो भने आम जनताको मनोविज्ञानमा परिवर्तन आउन सक्छ । यो वेला हरेक नागरिकले सुरक्षित छु र सुरक्षित हुन्छु भन्ने विश्वास जगाउनुपर्छ ।
संयोगले हिंजो अस्पताल जानु पर्ने भयो नीजि काम विशेषले ।
मेरो काम सकेपछि अस्पतालका अध्यक्ष सूर्यजीलाई फोन गरेको अस्थायी कोरोना अस्पतालमै हुनुहुँदो रहेछ । डा. शागरसहित हामी त्यतै गयौं । 
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लीला गिरी, संसदको विशेष समितिका सभापति दधिराम न्यौपानेसहित गौतमवुद्व मुटु अस्पतालका अध्यक्ष एजाज आलमलगायतसंग भेट भयो ।
मन्त्री गिरी छिटै फर्कनुभयो । हामी एकछिन हेर्यौं । मलाई त अलि धेरैनै हेर्नु थियो ।  आइसोलेसनमा राख्नुपर्ने एकजना विरामी मात्र थिए । म भित्रै गएर हेरें अलि टाढावाट । वेडको ब्यवस्था अलग अलग रहेछ । वेडको ब्यवस्थापन हेर्दा आवश्यक दुरी कायम गरिएको थियो । 
त्यो हेरिसकेपछि वन्दै गरेको आईसीयु हेर्यौं । काम दु्रत गतिमा भएको थियो । अवको तीन दिनमा भेन्टिलेटरसहितको आईसीयु तयार हुनेवाला रहेछ । जमिनमा टायल लगाउनुपर्ने भएकोले एकदिन ढिला हुन सक्ने सम्भावना भने मैले देखें । टायल लगाउँदा जडानवाट भाइरस छिर्ने सम्भावना हुने भएकोले त्यसको पनि आवश्यक ब्यवस्था हुनुपर्ने रहेछ ।
खुला चौर, हरियाली प्रसस्त, हल्लाखल्ला नहुने ठाउँ, विरामीका कुरुवा अथवा भेट्न जानेलाई वाहिर वाहिरै समय विताउन पर्याप्त स्थान, सुरक्षाकर्मीलाई पर्याप्त ठाउँ । यदि यी सवै चिज चाहिने हो भने रुपन्देहीका कुनै पनि ठाउँमा यति सुविधायुक्त ठाउँ हुने छैन जस्तो लाग्यो ।
त्यसैविच प्रादेशिक अस्पतालका मेसु राजेन्द्र खनालसहित अहिलेका सम्पर्क ब्यक्ति डा. सुदर्शन थापालगायत विभिन्न विभागकै उपस्थिति भयो । मेसु खनालका अनुसार अहिलेसम्म नेपालमा कोरोना अस्पतालहरु पुराना चालु अस्पतालमै रहे पनि यो कोरोना अस्पताल फरक ढंगको रहेछ । यसका सकारात्मक नकारात्मक पक्षवाट छलफल भयो । 
खासमा कोरोना अस्पतालमा कोरोना भाइरसका संक्रमित वा शंका लागेकै ब्यक्ति राखिन्छ । यहाँ वस्ने विरामीलाई आइसोलेसनमा राख्नु पर्ने भएकोेले अलग अस्पतालको खाँचो भएको हो । कोरोना संक्रमित भएको ठाउँमा अरु विरामी लैजानु त्यसै पनि घातक हुन्छ । मानिलिउँ कि लुम्विनी प्रादेशिक अस्पतालमा एकजना कोही कोरोना संक्रमितलाई भर्ना गरिएको छ भने त्यस ठाउँमा के अरु विरामी जान सक्छन् ?
अहिले भर्खरै मृत्यु भएका बाबुराम थापाको प्रयोगशाला परिक्षण नेगेटिभ आयो । तैपनि  डा. सुदर्शन थापाले कोरोनानै हो भनेर आफ्नो धारणा सार्वजनिक गर्दै आउनुभएको छ । यद्यपि यसो भन्न मिल्थ्यो कि मिल्दैनथ्यो त्यो अलग कुरा हो ।  बेलायतको लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिनबाट विश्व स्वास्थ्य र संक्रामक रोग विषयमा स्नातकोत्तर गरेका डा. सुरज भट्टराईका अनुसार पनि नमुना संकलन पद्धति, संक्रमण अवस्था अनुरूप नमुनाको प्रकार र ल्याब परीक्षण प्रक्रियामध्ये कुनै एकमा त्रुटिका कारण रिपोर्ट फल्स नेगेटिभ अर्थात् भाइरस नरहेको आउने गर्छ । 
कुनै कारणले नेगेटिभ भन्दाभन्दै पोजेटिभ रहेछ भने धेरै ठूलो नोक्सानी हुने अवस्था आउँछ । त्यसले परिवार र साथीभाइलाई जोखिममा पार्ने सम्भावना पनि हुन्छ । तसर्थ एकपल्टको परीक्षण रिपोर्ट नेगेटिभ आयो भन्दैमा ढुक्क भएर बस्न मिल्दैन होला ।
जेहोस् यस्तै कारणले हुनुपर्छ थापाका नगिचका कोही पनि त्यस ठाउँमा गएनन् । यसरी कोही नजानुको अर्थ के उनीप्रति मायाँ नभएर हो ? के उनका कोही ब्यक्ति नगिचका नभएर हो ? घरका ब्यक्ति मात्र हैन थापाकी श्रीमति जो जीवितै छन् । उनका माइति पनि आएनन् किन ? के उनीहरुलाई छोरी, दिदी वा वैनीको मायाँ नलागेर हो ? हैन । 
तर, अहिले उनको पक्षमा विज्ञप्ति निकालेर आँसु चुहाउनेहरु र पविारका सदस्यको कुरा फरक हो । पहिलो पक्षको आशय डर हो भने दोश्रो पक्षको आशय राजनीतिक मुद्वा हो । राजनीतिक मुद्वानै वनाउने हो भनेपनि अन्तिम सस्कारका काम गरेर वनाए राम्रो हुन्छ । मैले सुनेको थिएं— हरिवहादुरक्षेत्रीले क्षेत्री समाजको तर्फवाट १० लाख उठाएर दिने कुरा गर्नु भएको थियो । यो धेरै राम्रो कुरा हो । यस्तो काममा ढिलाई गर्नु हुँदैन । 
सवाल प्रश्नको हैन समाधान हो ः
बुटवलमा एकसेएक मानव अधिकारको पक्षमा विज्ञप्ति निकाल्ने सस्थाहरु नभएका हैनन् तर, उनीहरु पाँचौ छैठौं दिनसम्म किन चूप लागे ? अहिले राहत र क्षतिपूर्तिको माग गर्नेहरु हिजो राती ९ वजेसम्म एक्लै चौरमा प्रताडित भइरहँदा पनि किन पानी खुवाउन पुगेनन् ?
यस्ता अनगिन्ती प्रश्नहरु उठाउन सकिन्छ । तर, मलाई थाहा छ यो वेला  प्रश्न उठाउने समय हैन । समाधान पस्कने वेला हो । कसैलाई आरोप लगाउने र उपेक्षा गर्ने समय पनि हैन । यो महामारीसंग लड्ने भनेको एक्लै पनि हैन । सवै मिलेरै लड्ने हो । केही राहत र सहानुभूति प्रदान गर्नका लागि ढिलाई भएको अवश्यै हो । समयमा जे गर्न सकिन्छ त्यो भएको भए यति विधि हुने थिएन भन्ने पनि उत्तिकै साँचो हो । तर, संयम भएर कोरोनासंग लडिएन भने जित हैन हार हात लाग्नेछ । त्यो हारले यो वा त्यो नभनेर सवैलाई लैजाने छ भन्ने कुरा किमार्थ भुल्नु हुँदैन ।
तर, यति चाँही भन्नैपर्छ बाबुराम थापाको मृत्युवाट गंभीर पाठ सिक्नैपर्छ । ढिलो वा चाँडो मृत्युको कारण पत्ता लाग्नैपर्छ । यसका लागि आवश्यक पर्छ भने एउटा छानविन समिति वनाइनुपर्छ ।
मैले यी सव कुरा उठाउनुको एउटै कारण के हो भने कोरोनाको डरलेनै उनको नगिच कोही नगएको हो । नगिच मात्र हैन, कोरोना अस्पतालको गेटवाटै छिर्नेको संख्या अति न्यून छ । मृत्युसंग कसलाई डर छैन र ? सवैलाई छ । यद्यपि गेटवाट छिर्दैमा संक्रमण हुने हैन । संक्रमित ब्यक्तिसंग चार पाँच फिट टाढा वसेर कुरा गर्न नमिल्ने हैन । खाना, खाजा वा जुस जे खुवाउन मिल्छ त्यो लगेर अलि टाढैवाट दिन नमिल्ने पनि हैन । तैपनि मान्छेमा त्रास र भय उत्पन्न भइरहेको छ । 
हो यसै कारणले प्रादेशिक अस्पताल मात्र हैन कुनै पनि अस्पतालमा आइसोलेशन वार्ड वनाउनु हुँदैन । तत्काल वनाउन सकिएन भने एकछिनका लागि काम चलाउ गर्न त सकिएला । तर, नियमित रुपमा महिना दुइमहिना वनाउने कामले कसैको भलो गर्दैन । कुनै अस्पताललाई सम्पूर्ण रुपले कोरोना केन्द्रीत गरौं भने पनि भोलि त्यसको सरसफाई गर्ने वा भाइरसहरु निर्मूल पार्ने कुरा त्यति सहज छैन । त्यसैले अलग अस्पताल वनाउन सकियो भने त्योभन्दा राम्रो अरु हुनै सक्दैन । हामीले देखेका छौं कतार एयरवाट आएको एकजना ब्यक्तिमा कोरोना संक्रमण देखिएपछि त्यस जहाजमा आउने सवैको खोजी भइरहेको छ । भोलि कुनै अस्पतालमा एकजनामा संक्रमण भयो भने यसरीनै सो अवधिमा अस्पताल जानेहरु सवैको खोजी गर्नुपर्ने अवस्था आउन सक्छ ।  
वरु हामीले भन्न सक्नुपर्छ  त्यसरी वनाइने अस्पताल सुविधासम्पन्न हुनुपर्छ र डाक्टरको पहुँच पुर्याइरहनुपर्छ । अहिले यसका लागि सूर्य भट्टराई टाउकोमा कफन वाँधेर मोर्चा सम्हालिरहनु भएको छ ।  
कारोनाको अर्थशास्त्र ः  
डाक्टरको पहुँच पुर्याइरहनुको अर्थ के हो ? सामान्यतः कोरोना संक्रमितलाई दिइने औषधी एउटै हुन्छ । पोजेटिभ नेगेटिभ जे भएपनि दवाई एउटै हो । हरेक पटक विरामीसंग जाँदा, औषधी खुवाउँदा, सरसफाई गर्दा सुरक्षित भएर जानुपर्छ । अहिलेको भाषामा पीपीइ अर्थात् कोरोना संक्रमितको उपचार गर्दा लगाइने गाउन, पञ्जा, चश्मा र जुत्तासहितको सम्पूर्ण ड्रेस ( Personal Protective Equipment (PPE) ) । यस अन्तर्गत् पर्ने सवै चिजको मूल्य हिसाव गर्दा पाँच हजारदेखि आठ हजारसम्म पर्न सक्छ । यो एक पटक प्रयोग गरेपछि फेरि प्रयोग गर्न मिल्दैन । यसको अर्थ दिनमा कम्तिमा दुइपटक डाक्टरले, दुइ पटक नर्सले, एक पटक सफाइकर्मीले, खाना खुवाउने, विरामीलाई आवश्यक पर्दा वा वोलाउँदा समेत प्रयोग गर्दा पनि सात पटक मात्र प्रयोग गर्दा पनि ५० हजारभन्दा वढी खर्च हुन्छ । औषधीमूलो, स्लाइन वा यस्तै यस्तै हिसाव गर्दा दैनिक ६० देखि ७५ हजार रुपैयाँ खर्च हुन्छ । त्यसैले एक जनालाई भइ हालेमा दोश्रो ब्यक्तिमा नसरोस् भनेर उच्चस्तरको होसियारी अपनाउनु पर्छ ।
कोरोनाको अर्थशास्त्र यतिमात्र हैन । हरेक ब्यक्तिको प्रयोगशालाको परिक्षण खर्च आठ हजार रुपैयाँजति पर्छ । यसरी एक लाखको परिक्षण गर्ने हो भने ८० करोड लाग्छ । झण्डै एक खर्व । अस्पतालको खर्च दैनिक एक जनाको पौने एक लाख । १५ दिन अस्पताल वस्दा १२ लाख करिव । १ शयको १२ करोड  । यो हिसावले अत्यधिक महंगो हुन्छ । यसको अर्थ कसैगरि नेपालमा महामारी फैलियो भने धानिने सम्भावना छैन । हो यस कारण पनि यो विषय सम्वेदनशील छ ।
हेक्का रहोस् यो संसारभरकै कुरा हो । अमेरिका युरोपजस्ता कैयौं मुलुकमा वृद्वहरुलाई भेन्टिलेटर प्रयोग गर्न छोडिएको छ । यस्तो किन ? किनकि युवाहरुलाई वँचाउन पहिलो प्राथमिकता दिएर । कतिपय देशका वृद्वहरुले आफूलाई राख्नुपर्ने भेन्टिलेटरमा कुनै पनि युवालाई राख्न भनेर आफू मर्न तयार भइसकेका समाचार आइरहेका छन् ।
त्यसैले जव यो महामारी आउँछ त्यतिवेला के हुन्छ भन्ने कुरा कसैले कल्पना गर्न सक्दैन । दिनहुँ हामीले विश्वको अवस्था यसरीनै हेरिरहेका छौं  । यस कारणले कोरोना अस्पताल अलग वनाउनु दीर्घकालिन हिसावले अत्यन्तै महत्वपूर्ण छ । 
आजै मैले हेरें । धागो कारखानाको कम्पाउण्डमा वन्दै गरेको कोरोना अस्पतालमा आइसीयु कक्षका लागि दश वटा भेन्टिलेटरको तयारी भइरहेको छ । यसका लागि गौतमवुद्व सामुदायिक मुटु अस्पतालले आठ वटा भेन्टिलेटर उपलब्ध गराउँदैछ । वुद्व पावर कम्पनीका टंक पाण्डेले 10 लाखको जेनरेटर निःशुल्क उपलब्ध गराएका रहेछन् । 
त्यहाँ जे वनिरहेका छन् ती सवैजसो दानविरहरुकै सहयोगमा वन्दै रहेछन् । यो सानो कुरा हैन । चल्तीका अस्पतालको सुविधाभन्दा कमजोर वन्दै छैनन् यी अस्पतालहरु । मेसु राजेन्द्र खनाल, कोरोना सम्पर्क ब्यक्ति डा. सुदर्शन थापाहरुको विचारमा पनि यसको निर्माण पूर्णरुपले भइसकेपछि अरुभन्दा राम्रोनै वन्नेछ । यो एकप्रकारको भवितब्य हो । हामीसंग समय छ तयारीका लागि । त्यसैले पनि पूर्वाधारका लागि कुनै कसर बाँकी नराखेर काम गर्नुनै अन्तिम विकल्प हो ।
त्यसैले बाबुराम थापा मरेका कारण अहिले वन्दै गरेको कोरोना अस्पताल खराव हो या सुविधा अभावका कारणले खराव हो ? यी दुइमध्ये जे कारण भएपनि हामीलाई कस्तो मापदण्डको अस्पताल चाहिएको हो र मापदण्ड अनुकुल छ या छैन भनेर वहस गर्दै सो अनुकुल वनाउन सकियो भने त्यसले निकास र विकास दुवै दिन्छ । अव सवैको ध्यान यसतर्फ जाओस् ।
संघ सस्थाले के गर्ने ः
र अन्तमा भोलि कसैको मृत्यु भयो भने वा संक्रमित भएर दुइचार जना विरामीको उपचार गर्नुपर्यो भने यहाँका सामाजिक संघ सस्थाले के गर्नुपर्छ ? मेरो विचारमा निःशुल्क खानाको ब्यवस्था गर्न सकिएला । कसैको ज्यान गयो भने सद्गत गर्ने ब्यवस्था मिलाउनुपर्ला । संक्रमित परिवारका सदस्यको लागि मनोवल वढाउने चिन्तन प्रणालीको विकास गर्नुपर्ला ।
यस्तो वेलामा प्रतिरोधात्मक क्षमता वढाउने कैयौं जडिवुटी हाम्रै वरपर छन् तिनको वितरण गरेर पनि आशा जगाउन सकिएला ।
आर्थिक अभावमा लास उठाउन र काजक्रिया गर्न नसक्ने कोही रहेछन् भने तिनीहरुलाई आर्थिक सहयोग गर्नुपर्ला । कोही आवाजविहीनहरु रहेछन् भने तिनको पक्षमा वोलिदिनका लागि एक हप्ता कुर्न नपरोस् भनेर पनि तयारी गर्नुपर्ला । 
घरभित्र वसेर अनुमानको भरमा कैंची चलाउनुभन्दा स्थलगत अध्ययन गर्न र वास्तविकता पत्ता लगाउनका लागि पनि कसैले अगुवाई गर्नुपर्ला । खैत यस्ता विषयमा हाम्रो ध्यान गएको ? कृपया अवका दिनमा यस्ता कुरामा ध्यान गएन भने यत्तिकै अवस्थामा त हामी वाँचौला । यो भन्दा भयानक अवस्था आयो भने किं कर्तब्य विमूढ भएर वस्नेवाहेक अरु विकल्प रहने छैन । 

प्राप्त प्रतिकृयाहरू

To Top