महामारी ःकोरोनाको भन्दा वढी सामाजिक सञ्जालको 

बिचार चैत्र २० २०७६ ekhabarnepal
Dr ghimire

अहिले सैनामैनाका युवाको मृत्यु कोरोनावाट हैन भनिएको छ, तर समाचारमा जवर्जस्त डाक्टरको हवाला दिएर कोरोना प्रमाणित गरिएको छ । यो आचारसंहिताको पालना हो कि उल्लंघन ?
यस्ता कुरामा मिडिया सम्वेदनशलि हुन आवश्यक छ । हामीले कोरोना हो भनेर जवर्जस्त दलील गर्नुको के अर्थ होला ?

डी.आर.घिमिरे
देश विदेशमा, समाजमा विभिन्नखाले परिस्थति आउँछ जान्छ । हरेक पेशा ब्यवसायका आ—आफ्ना सीमितता हुन्छन् । तर, पत्रकारिता त्यस्तो पेशा हो जसले आफ्टेरो वा सहज, संकट वा सम्वेदनशील, चाडवाड वा खुशी हुने अवसर जस्तोसुकै अवस्थामा पनि असाध्यै विवेक पुर्याउनु पर्ने हुन्छ । कतिपय अवस्थामा विगतको अनुभवलाई पालना गरौं भन्न पनि नपाइने । वडो कष्टसाध्य पेशा । 
चाडवाडमा धेरै खुशी हुन नपाइने, आफूभित्र खुशी लागे पनि प्रकट गर्न नपाइने । कहीँ ज्यादै दुःखद अवस्था छ । चिच्याएर रुन मन लाग्ला तर, रुन नपाइने । कसैले रामो काम गर्यो, उसलाई भित्रैदेखि असाध्यै प्रशंसा गर्न मन लाग्ला त्यो पनि गर्न नपाइने । कसैले ज्यादै चित्त दुखाउने काम गर्छ, उसलाई जथाभावी गाली गर्न मन लाग्ला । त्यो पनि गर्न नपाइने । 
किनकि पत्रकारितामा सन्तुलन भन्ने जो हुन्छ त्यसको पालना गर्नैपर्छ । त्यसैले शलामी खाँदा वा मलामी जाँदा दुवै अवस्थामा सन्तुलन मिलाउनैपर्छ । तँपाई धेरै प्रभावित भएर प्रशंसा गर्न थाल्नु भयो भने भाट वनिएला र कसैले त्यही विल्ला लगाइदेला भन्ने डर । धेरै आलोचना गर्नु भयो भने पूवाग्रही भएको आरोप लाग्ला भन्ने डर । मिठो मसिनो खानु पर्दा खान पाएपछि जे पनि लेख्छन् भन्लान् कि भन्ने डर । साँच्चै खान नपाएर भोक लागेको अवस्था होस् तर, पनि लेख्न नहुने । किनकि खान नपाएर लेख्यो भन्ला भन्ने डर ।
अर्थात् रुन पनि नपाइने । हाँस्न पनि नपाइने । शायद यसैले होला यो पेशानै असाध्यै सम्वेदनशील । 
अहिले हामी कोरोना भाइरसको आतंकले प्रताडित छौं । अर्थात् यो शताब्दीकै लागि नयाँ चरणमा छौं । हरेक शताब्दीमा यस्ता घटनाहरु आउँदा रहेछन् भन्ने कुरा इतिहासले देखाएकै छ । यही प्रसंगमा पत्रकारिता पनि चरम संकटमा छ । 
प्रविधिले छापा पत्रकारितालाई चुनौति दिएकै थियो । समयले पनि दियो । अहिले पत्रिकाहरु लकडाउनमा छन् । यद्यपि यो सवै अस्थायी हो भनेर चित्त वुझाउन त सकिन्छ । तर, त्यसो भनिरहँदा स्थायी के हो भनेर पनि जवाफ दिनुपर्ने हो भने त्यसको उत्तर के होला ? वौद्व दर्शनको थोरवहुत जानकार भएकालाई यसको जवाफ दिन त्यति धेरै समय नलाग्ला । किनकि वुद्वले उहिल्यै हरेक चिज अस्थायी हो भनेर भन्दिएका थिए ।
 जे होस् कोरोना भाइरसले नयाँ प्रयोगको अवस्था ल्याएको छ । हामी यो पुस्ताका ब्यक्तिले यस प्रकारको अनुभव कहिल्यै गर्न नपरेकोले केही जटिल अवस्था ब्यहोर्दै छौं । 
खासगरि यस्ता संकटमा कसरी समाचार प्रवाह गर्ने ? मानिसलाई आशा जगाउने कसरी ? भ्रमित सूचनावाट कसरी मुक्त गर्ने ? मनोवैज्ञानिक आतंक सृजना गर्ने कि आतंकवाट मुक्त गर्ने ? मलाई लाग्छ यो संकट टरिसकेपछि सवैजना प्रकोप पत्रकारिताका विज्ञ भएर निस्कनेछन् । किनकि सवैका अनुभवजन्य कुरा त हुनेनै भए ।
के सूचना प्राथमिक हो ?
सूचना सवैभन्दा ठूलो प्राथमिक विषय हुन्छ हुनुपर्छ । सूचनामा खेल्ने काम पत्रकारहरुले गर्नुपर्छ । गर्दछन् । के सूचनानै सवै कुरा हो ? यस्तो वेलामा सूचनाको दायरा साँघुरो हुँदो रहेछ । कोरोना संक्रमण कतिलाई भयो ? उनीहरुको उपचार के भइरहेको छ ? उपचारका लागि अस्पताल गएकामध्ये कति जना निको भए ? कसैको मृत्यु भयो वा भएन ? भयो भने कसको मृत्यु भयो ? मृतक परिवारको अवस्था के छ ? सरकारले के गर्दैछ ? महामारी नियन्त्रणका लागि सरकारको योजना के छ ? कसको घरमा खाना सकियो वा कुन वर्गको ? राहतको अवस्था ? राहत सामाग्री खरिदमा कतै भ्रष्टाचार भयो कि ? आदि इत्यादि ।
यी यस्ता विवरण हुन् जसले हरेक नागरिकलाई सुसूचित गर्दछ । यस्ता सूचनावाट एक हदसम्म सन्तुष्टि दिलाउँछ । विवरणका आधारमा हरेकले आ—आफ्नै खालको दृष्टिकोण वनाउन सक्छन् । भनिन्छनै पत्रकारिताले जस्ताको तस्तै सूचना पस्कने हो, दृष्टिकोण वनाउने काम पाठक आफैले गर्दछ । 
तर, मनोविज्ञान भन्ने कुरा जो हुन्छ त्यो मिडियाले वनाउन सक्छ । मानिस आत्तिएको हुन सक्छ । भयभित हुन सक्छ । पीडित ब्यक्तिको मनोविज्ञान कमजोर भयो भने ऊ मर्न सक्छ । कसैले कसैलाई मार्दा २० वर्ष जेल सजाय हुन्छ तर, यसरी मर्दा केही हुन्न भने सोंचौ त कति ठूलो अन्याय भयो ।
 जो मोर्चा सम्हालेर वसेको छ, ऊ झन वढी हतोत्साही हुन सक्छ । मोर्चा सम्हालेर वसेको ब्यक्ति पछाडि हट्यो भने के हुन्छ ? राजनीतिमा यसको जवाफ सहज हुन सक्छ । किनकि अर्कोले अवसर पाउन सक्छ । तर, योनै अन्तिम सत्य हैन । यस्तो विपत्को वेलामा हरेक मोर्चा सम्हाल्नेलाई उत्साह र प्रोत्साहनको खाँचो हुन्छ ।
त्यसैले एकपटक सोंचौ सवैजना घरमा सुरक्षित वसेका छन् । तर, जो मोर्चामा गोली गठ्ठा लिएर उभिएको हुन्छ उसैलाई गाली गर्न थालियो भने के होला ?
त्यसैले पहिलो कुरा वाँच्नुपर्यो । वाँचेपछि सवै कुरा देख्न सकिन्छ । देख्न पाइन्छ । कमी कमजोरीलाई केलाउने काम पछि गर्दा पनि विग्रदैन । 
मिडिया प्रो—एक्टिभ हुने कि ?
विस्तारै यो विपत्तिको परिणाम देखिन थालेका छन् । कोरोनाले नेपालमा प्रवेश पाएको छ ।  आतंक भयानक छ । यसको अर्थ मिडिया चुप लागेर वस्ने हैन । यतिवेला मन्छे झन वढी वेरोजगार भएको छ । त्यसैले यस्तो वेलामा हरेक सूचना मात्र हैन ज्ञानगुनका कुरा, समाजका कुरा, सस्कृतिका कुरा पस्कदै जानुपर्छ । यस्ले मान्छेलाई शिक्षा र ज्ञान प्रदान गर्छ । कैयौं विषय पढ्न नपाएर रहेका हुन्छन् । ती विषयलाई पस्कन सकिन्छ । 
यसवाट मिडिया दुःख सुःखको साथी पनि हो भन्ने अनुभूति गराउँछ ।
त्यसैले यस्तो वेलामा मिडियाको भूमिका उच्च रहन्छ । कुनै दल वा संगठन कसैले पनि मैदानमा गएर काम गर्न सकेका छ्रैनन् । वोल्नेहरु सकारात्मक ढंगले भन्दा पनि नकारात्मक ढंगले प्रस्तुत भइरहेका छन् । हरेक कुराको विकल्प नदिइ वोल्नुको कुनै औचित्य रहँदैन भन्ने कुरा वुझ्न सकिएन भने वोल्नेहरुको पिठो धेरै दिन विक्दैन । 
यस्तो अवस्थामा मिडिया प्रो—एक्टिभ भएर विषयको उठान गर्नुपर्छ । कतिपय सन्देशमूलक कुरा दिन सक्नुपर्छ । आवाजविहीनको आवाज उठाउनुपर्छ । ब्यावसायिक सस्थाहरुले प्रायः आफ्नो कुरा उठाइनै हाल्छन् सामाजिक सस्थाले समुदायको आवाज उठाइदिनुपर्छ । यसको महसूस मिडियाले गराइदिनुपर्छ ।
हरेक संकटवाट एउटा गिरोहले फाइदामात्र लिने गर्छ । विगतमा भुकम्प जाँदा पनि यस्ता घटना फाट्टफुट्ट देखा परेका थिए । यस्ता वेलामा सुरक्षा निकाय एउटा भरपर्दो क्षेत्र हो । त्यसवाहेक राजनीतिक पार्टी, नागरिक समाज, उद्योग–वाणिज्यसम्बद्ध संघसंस्थाहरुले पनि समुचित भूमिका निभाउनु पर्नेछ । उनीहरुलाई कसरी जिम्मेवार वनाउने भन्नेवारे पनि उत्तिकै ध्यान दिनुपर्छ ।
यस्तोवेलामा सरकारले बुझ्नै पर्ने तथ्य के हो भने सरकार एक्लैले जतिसुकै पैसाको ओइरो लगाए पनि केही हुन्न । सवै क्षेत्र, समुदायको परिचालन गर्नुपर्छ । समुदायलाई गर्न खोजेको काम वुझाउन सक्नुपर्छ । यसो भयो भने मात्र गलत सन्देश लैजान खोज्नेहरु हतोत्साही हुन्छन् । 
सामाजिक सञ्जालको आतंक ः
यतिवेला सामाजिक सञ्जालको महामारी पनि ब्यहोर्नुपरेको छ । मोवाइल हातमा हुनेहरु सवै पत्रकार भएका छन् । यो मेरो कुनै आरिस हैन । वस्तुगत सत्य हो । पत्रकारिताको मर्म, धर्म केही पनि नवुझ्नेहरुवाट हामीले गलत सन्देश प्रवाह हुनसक्ने देख्छौं । तर, विगविगी यीनकै छ । असन्तुलित, एकपक्षीय, आक्रोस, कुण्ठा पोख्ने मौका पाएका छन् । यस्तै सूचनाले आक्रो पैदा गर्छ ।
बुटवलको धागो कारखानामा रहेको क्वारेनटाइन कति ठिक कति वेठिक भन्ने होला । तर, तत्कालको लागि त्यो पनि एउटा विकल्प त हो । मान्छे मर्नु गलत भयो । यसको अर्थ ऊ कसरी मर्यो भनेर किटान गर्ने कसरी ? जानकार ब्यक्तिको राय प्रतिक्रिया चाहिने कि नचाहिने ? कि सवैजना विज्ञ ? हामीजस्ता सवैले प्रश्न उठाउन सक्छौं तर, उत्तर पनि हामीलेनै दिने ? 
बुटवल कोरोना विशेष अस्थायी अस्पतालमा भर्ना भएका १८ जना बिरामीमध्ये १६ जनाको त उपचार पछि डिस्चार्ज भएका छन् । सो ठाउँलाई मसानघाट भनिरहँदा निको भएर जानेहरुले के भन्लान् ? त्यसैले यस्ता विषयमा सम्वेदनशीलताको खाँचो छ ।
एकदिन साँझपख म आफै घर वाहिर निस्केको थिएँ । कुनै एउटा सञ्जालको कुरा सुनेर उनले मलाई सुनाए—रुसमा सरकारले लकडाउन गरे पनि मानिसले नमानेपछि चिडियाखानामा रहेका वाघलाई सहरमा पसालियो रे । जंगली वाघ सहरमा दौडेपछि वल्ल मानिसले ढोका वन्द गरेर भित्र वस्न थाले । 
मलाई एकछिन त विश्वास लाग्यो तर होइन रहेछ ।
यूट्यूव पत्रकारिताले आफूलाई सामाजिक अभियान्ता वनाएका छन् । उनीहरुले धेरैको घर विगार्ने काम गर्दैछन् । प्रहरीजस्तो लोग्ने स्वास्नीका झगडा संगै राखेर लाइभ प्रशारण गर्दैछन् । अहिले कपिलवस्तु, रुपन्देहीकै पनि कतिपय घटना मैले हेरेको छु । दुई पैसा आउँछ भनेर मानवीय संवेदनालाई बिक्री गर्दै दुइपैसे अन्तरर्वार्ता लिने काम कसले रोक्ने ? 
मिडियाले सकटको समाधान हैन संकटको सृजना गर्दैछन् । प्रविधिको सदुपयोग हैन प्रोपोगण्डा गरेर दुरुपयोग गरिदैछ । डा.डम्वर चेम्जोङ्गले भनेजस्तै ज्ञानको प्रचार हैन नव उदारवादी पूजिवादले नाफा कमाउने वनायो । द्रब्य पिचासमय भयो । कति डलर आउँछ भनेर हेरेपछि यस्तै हुन्छ । 
नकारात्मक विषयको प्रचार स्वतः वढी हुन्छ । त्यस्ता विषयको उत्पादन वा पोष्टिङ्ग मात्र हैन शेयरिङ्ग पनि धेरै हुनेनै भयो । जति धेरै शेयरिङ्ग भयो उतिनै मख्ख पर्ने भएपछि यसले समाजलाई कता लैजान्छ ?
सामाजिक सञ्जालको आतंकले सवैभन्दा वढी त्रसित मिडियालाइनै वनाएको छ । मिडियालाई कमजोर वनाएको छ । त्यसैले यस्ता मिडियालाई कानुनको दायरामा ल्याउनका लागि सञ्चारगृहकै अगुवाई जरुरी छ ।
अहिले दर्ता नभएका कतिपय अनलाइनहरुले पनि आतंक मच्चाएका छन् भन्ने कुरा प्रेस काउन्सिल नेपालले गरेको कारवाहीवाटै स्पष्ट हुन्छ । विगत एक हप्ताको विचमा १४ वटा अनलाइन प्रकाशन÷प्रसारण नहुने गरी ब्लक गरिएका छन् । दर्ता भएका ३६ वटा अनलाइनलाई स्पष्टीकरण सोधिएको छ । कथा बुनेर, अनुमानका भरमा, पुष्टि नै नभएका र समाजलाई आतंकित र उत्तेजित बनाउने खालका सन्देश प्रवाह गरेको आरोप उनीहरुलाई लागेको छ ।
ति अनलाइनहरुले के सम्म गरेनन् ?
 धनुषाका जिल्लाका २ जना युवामा कोरोना भाइरस भेटियो । वीरगञ्जमा एकजनामा देखियो कोरोना भाइरस । नेपालमा कोरोना भाइरस लुकाउने कोसिस, इटालीको भन्दा भयावह अवस्था आउनसक्ने ः डब्लुएचओ । वीरगञ्जमा सिरहामा एकजना विरामीमा कोरोना संक्रमणको लक्षण देखियो । दार्चुलामा भेटियो कोरोना भाइरस । पत्रकार सम्मेलनमा गएका पत्रकार कोरोना संक्रमित । कोरोनाको मौका छोपी प्रहरी पत्रकार नै लुटपाटमा लागेपछि ।  छोरीमा समेत पोजिटिभ । मौसूफ नारायणहिटी सर्ने तयारी गर्नुहोस् ः योगी आदित्यनाथ । ‘राजाको सक्रियताले प्रचण्ड चिन्तित । न्यूज २४ का दुईजना पत्रकारलाई कोरोना भाइरसको संक्रमणको पुष्टि । चितवनमा मृत यादवलाई कोरोना भएको रिपोर्ट । खुशीको खबर ः कोरोनाबारे नयाँ तथ्य पत्ता लगाए वैज्ञानिकले ।   सिराहामा ९ जना कोरोनाका बिरामी भेटिए । डब्लुएचओको चेतावनी ः पहिलो चरणमै कोरोना संक्रमण रोक्न नसकिए नेपालमा महामारी । 
एकजना विवेक थापा मगरले काठमाडौँमा केहीलाई कोरोनाको संक्रमण फैलिसकेको अडियो सामाजिक सञ्जालमा भाइरल बनाएका थिए । जव यस्ता उरन्ठेउला समाचार लेखेर प्रोपोगण्डा गरिन्छ भने त्यो भन्दा दुर्भाग्य अरु के हुन सक्छ ? सञ्चारमाध्यमको विश्वसनीयता कसरी वढ्छ ?
के यस्तो अवस्थामा समाचार ‘ब्रेक’ गर्ने वा ‘सेयर’ गर्ने हतारो गरेर हामीले सामाजिक उत्तरदायित्व पूरा गरेका छौं ? महामारीको समयमा समाचार ‘ब्रेक’ गरेर आतंकित पार्नुभन्दा आशा जगाउने खालका समाचार दिनु उचित हैन र ?
धेरै पत्रकारलाई आचारसंहितावारे जानकारी छ । तर, कोरोना केन्द्रीत संहितावारे शायद जानकारी छैन । अहिले प्रेस काउन्सिल नेपालले कोरोना महामारीलाई केन्द्रीत गरेर आचारसंहितानै सार्वजनिक गरेको छ । 
हुनपनि यस्तो महामारी नेपालमा १ शय २० वर्ष पछि आएको छ । त्यसैले आधिकारिक स्रोतबाट पुष्टि भएका सूचना सम्प्रेषण गर्नुपर्ने, पत्रकार तथा सञ्चारमाध्यमले सामाजिक सञ्जालमार्फत् प्रवाह गर्ने कोरोनासम्बन्धी समाचार, लेख, सूचना वा जानकारी मर्यादित, सत्य, तथ्यपूर्ण र आधिकारिक हुनुपर्ने भनेको छ । 
अनलाइन र सामाजिक सञ्जाललाई केन्द्रीत गरेर कुनैपनि समाचार, जानकारी वा लेख र कमेन्टहरूलाई शेयर, लाइक वा रिट्विट गरी पुनः प्रकाशन गर्दा पनि पत्रकार तथा सञ्चारमाध्यमले आफूले प्रकाशन गरेसरह ख्याल गरी सम्प्रेषण गर्नुपर्ने ब्यवस्था गरेको छ ।
त्यस्तै व्यक्तिगत गोपनीयतामामा ध्यान दिनुपर्ने, कुनै पनि सङ्क्रमित व्यक्तिलाई लाञ्छना वा आरोप लगाउन नहुने, कसैमाथि भेदभाव हुने वा घृणा उत्पन्न गर्ने गरी समाचार सामग्री उत्पादन, प्रकाशन,  प्रसारण र वितरण गर्न नहुने, डर, त्रास र सनसनी फैलने गलत, अतिरञ्जनापूर्ण र अनाधिकृत सूचना वा हल्लाहरुलाई स्थान दिन नहुने भनेको छ ।
 घटनासँग असम्बन्धित व्यक्तिको नाम, ठेगाना र पहिचान उल्लेख गर्न नहुने, दृश्य र तस्बिर प्रकाशन वा प्रसारण गर्न नहुने, पत्रकार तथा सञ्चारमाध्यमले सङ्क्रमण भई निधन भएका व्यक्तिको दृश्य एवं तस्बिरहरू सम्प्रेषण गर्न नहुनेसमेत आचारसंहितामा उल्लेख छ ।
एकपटक हेरौं हामीले— 
अहिले सैनामैनाका युवाको मृत्यु कोरोनावाट हैन भनिएको छ, तर समाचारमा जवर्जस्त डाक्टरको हवाला दिएर कोरोना प्रमाणित गरिएको छ । यो आचारसंहिताको पालना हो कि उल्लंघन ?
यस्ता कुरामा मिडिया सम्वेदनशलि हुन आवश्यक छ । हामीले कोरोना हो भनेर जवर्जस्त दलील गर्नुको के अर्थ होला ?
 
 

प्राप्त प्रतिकृयाहरू

To Top