निर्वाहमुखी खेती, माटोको औषधी र कोरोनाको  लकडाउन

समाज चैत्र १९ २०७६ ekhabarnepal
Dr ghimire

डी.आर.घिमिरे
अहिले घर वरपर थोरै पनि जग्गाजमिन हुनेले मनग्गे फाइदा उठाएका छन् । उनीहरुलाई कशरत गर्न वा योगा गर्न परेको छैन । विहान उठ्यो खनी खोस्रो गर्यो । समय विताउने मात्र हैन अवको एकआध महिना पछि तरकारी किन्ने लेठोनै नपर्ने अवस्था आउँदैछ ।
करेसावारीमा गरिने सागसब्जी, दलहन, मकै, आलु, प्याज,लसुन, धनीया, फलफूलको रुपमा एउटा आँप, लिँची, अम्वा, कागती, मेवा आदि इत्यादिको खेतीलाई निर्वाहमुखी खेती प्रणाली भनिन्छ । सहरमा वसोवास गर्नेमध्ये थोरैले मात्र त्यस्तो अवसर प्राप्त गर्दछन् । किनकि सहरमा करेसावारी राख्ने हैसियत थोरैको मात्र हुन्छ । सहरको छेउँछाउँमा वस्ने वा जग्गा जमिन भएको ठाउँमा वस्नेलाई प्रसस्त सम्भावना हुन्छ ।
यस्तो खेतीलाई आजभोलि त्यति प्राथमिकता दिइदैन । किनकि समयले सवैलाई ब्यावसायिक वनाएको छ । एउटा उत्पादन गर्ने थोकमा र आफूसंग नभएको चिज खरिद गर्नेनै ब्यावसायिकता हो । सरकार, नीजि क्षेत्र सवैले यसैलाई प्राथमिकता दिने गर्छन् । तर, अहिले कोरोनाले करेसावारी चाहिने रहेछ भन्ने देखाएको छ । त्यो कसरी भने मानौं यही अवस्था एक, दुइ वा तीन महिना कायम रह्यो भने के हुन्छ ? किनेर खाने अवस्था नरहन सक्छ । घरमा जे छ त्यसैमा चित्त वुझाउनु पर्ने हुन सक्छ ।
  खानाका लागि एउटा चिज भएर हुँदैन । सवै चाहिने भएकोले त्यो आफ्नै घर वरपर हुनुपर्छ । त्यसका लागि हाम्रो परम्परागत करेसावारीको अवधारणा अति जरुरी रहेछ । 
अहिले म वसोवास गर्ने बुटवलको वेलवास जसलाई ग्रामीण क्षेत्र मानिन्छ । म २०५२ सालदेखि यसै ठाउँमा वस्ने गरेको छु । यसो घरवाहिर निस्कँदा सवैजना करेसावारीमै भुलेको देख्छु । सामाजिक सञ्जालको अध्ययन गर्दा पनि दुइ चार घण्टा करेसावारीमा विताएको कुरालाई सगौरव प्रस्तुत गरेको पाइन्छ ।
पहिलेदेखि कृषि कर्म गर्नेहरुले त गर्नेनै भए अन्य पेशा वा ब्यवसाय गर्नेहरु पनि लोभलाग्दो ढंगले काम गरिरहेका छन् ।
अहिले ठूला ठूला घर वने । जमिन टुक्रिए । थोरै जमिन भएपछि सुसार पाउने कुरा स्वभाविक हो । त्यसैले हरियाली देखिन्छ । सवैका घरमा वोटविरुवा, फलफूलले झपक्कै पारेको देखिन्छ । तर, त्यतिवेला जतिवेला म भर्खरै मात्र यस ठाउँमा आएको थिएँ । उराठिलो थियो । वगरजस्तो जमिन थियो । केही हुने छाँटकाटनै देखिदैनथ्यो । तैपनि त्यतिवेलाकै निकटतम साथीहरु पुरुषोत्तम घिमिरे र कृष्णवहादुर कुँवर मेहनती हुनुहुन्थ्यो । घिमिरे र कुँवर दुवैजनालाई यसै ठाउँले साथी वनाएको हो । संयोग हामीहरु एकैपटक यस ठाउँमा आएका रहेछौं ।
मेरो घर दुवैको विचमा पर्दछ । पुरुषोत्तमजीको घर भएनिर अलि उत्पादन हुने खालको माटो थियो । कृष्णवहादुरजीको घरनिर हाम्रो भन्दा  पनि कमजोर माटो थियो । तर, दुवैले खेती गर्न रुचाउने । म खेतीपातीको काममा अलि अल्छीनै थिएँ । 
बुवालाई यो ठाउँ  चित्त वुझेको थिएन । पहाडतिरवाट दाजुभाई इष्टमित्र आएभने बुबाले भन्नुहुन्थ्यो— मेहनतले फल्ने भए कृष्णकहाँ फल्थ्यो । माटोमा फल्ने भए पुरुषोत्तमकहाँ फल्थ्यो । कामै नगरि फल्ने भए हामीकहाँ फल्थ्यो । 
यसभित्रको राज  के थियो भने यो ठाउँमा पानीको अभाव थियो । पानी नभई केही हुन्न भन्ने आशय पनि बुबाको थियो । वास्तवमै पानीको ज्यादै दुःख थियो । कुलामा सिंचाइका लागि पानी आउँथ्यो तर त्यो पानी हामीजस्ता नवागन्तुकले प्रयोग गर्न पाइदैनथ्यो । मोटर लगाएर कुलाको पानीले घर वनाउँदा पनि अनुमति लिनु पर्दथ्यो । 
तर, अहिले समयले कोल्टो फेरेको छ । जग्गा जमिन थोरै थोरै हुँदै गएपछि र धेरैवर्षसम्म ढुंगाहरु टिप्दै फाल्दै गएपछि तरकारी वा अरु वोटविरुवा हुर्कने वातावरण वनेको छ । घरघरमा पानीका धारा आउँछन् । त्यसैले पनि करेसावारीको खेतीमा सिंचाइ गर्न समस्या छैन । अहिले त थोरै जग्गामा माटो ल्याएर पनि तरकारी खेती गर्न सकिन्छ ।
अहिले पनि कृष्ण कुँवरका वुढावुढीकै काम गर्ने तरिका रहर लाग्दो छ । यसका लागि जग्गा जमिनले पनि साथ दिएको छ । पुरुषोत्तम घिमिरे आमा विरामी भएका कारण अलि अफ्टेरोमा त हुनुहुन्छ । तर, वरपर खाली देख्न पाइदैन । हामी त्यतिवेलाका नवागन्तुक भएपनि अहिलेका नवागन्तुक तेजेन्द्र केसी हुनुहुन्छ । उहाँ पनि तरकारी खेतीमा अब्बल देखिनु भएको छ । वेलवास आएदेखि किनेर तरकारी खानु भएजस्तो लाग्दैन मलाई । कहिलेकाँही मैले पनि चाख्न पाएको छु ।  
छिमेकी केशव गौतम, सुरेन्द्र गौतम र गोविन्द मरासिनी पनि त्यतिवेलाकै हाराहारीमा आउनु भएको हो । उहाँहरुले पनि बाँझो राख्नुहुन्न । हामीभन्दा पहिलेदेखि वसोवास गर्नेहरुको त मुख्य पेशानै कृषि भयो । त्यसैले उहाँहरुको चर्चा गर्नै परेन ।
मैले यो प्रसंग यसकारणले निकालेको हूँ कि करेसावारीको महत्व कोरोनाले वढायो । निर्वाहमुखी खेती हाम्रो परम्परागत सस्कृति भएपनि यसको महत्व रहेछ भन्ने देखायो । यद्यपि ब्यावसायिक रुपमा ठूलो लगानी गर्नेहरुलाई धेरै ठूलो नोक्सानी पनि हुँदैछ । तर, मैले उठाउन खोजेको विषय करेसावारी सस्कृतिको हो । निर्वाहमुखी खेती प्रणालीको हो । ब्यावसायिकतालाई जोड दिइरहँदा निर्वाहमुखीलाई हेलोहोंचो गर्नु भएन । यसको आफ्नै महत्व रहेछ ।
अहिले स्थानीय पालिकाहरुले करेसावारी खेतीलाई खासै महत्व दिएको पाइदैन । तर,, गुल्मीको मुसीकोट नगरपालिकाले भने उच्च प्राथमिकता दिएको छ । २०७५ माघ २९ गते मैले नगरप्रमुख सोमनाथ सापकोटासंग कुरा गर्दा उहाँले करेसावारीमा किसानले आफूलाई चाहिने तरकारी उत्पादन गरेपनि ४ हजार रुपैयाँ अनुदान दिएको वताउनुभएको थियो । सापकोटाको वडो स्पष्ट धारणा थियो कि हरेक ब्यक्तिले घर खर्च उत्पादन गर्दापनि आयात प्रतिस्थापन गर्न सकिन्छ । यसो गर्दा कमसेकम गाउँको पैसा अनावश्यक रुपमा वाहिरीदैन ।
 निर्वाहमुखी अर्थतन्त्रका सकारात्मक पक्ष रहेछन् । यो कुरा अरु अवस्थामा ठिक नभएपनि अहिलेकोजस्तो अवस्थामा ठिक रहेछ भन्ने देखाएको छ । पहिला जस्तो खाद्यान्न नभएपनि दाल तरकारी नकिनेरै पनि खान सक्ने संख्या वढ्दै छ । खासगरि सहरको प्रायः पहाडतिर गइसकेकोले उनीहरु घरकै सागपात खाएर निर्वाह गर्न सक्छन् ।
अहिले हरेकले घर वरपर तरकारी खेती गर्न थालेका छन् । भएको जग्गामा खेती नगरेर पनि समस्या थियो । मलाई  लाग्छ अहिले कोरोनाको संक्रमणवाट वाहिर आउँदा धेरै मानिस तरकारीमा आत्मनिर्भर हुनेछन् । यो नयाँ सिकाइ अहिले भएको छ । यसले दीर्घकालिन रुपमा फाइदानै हुनेछ  ।
यसको अर्थ निर्वाहमुखी अर्थतन्त्रले देश वन्छ भन्न खोजिएको हैन तर संकटमा वँचाउन सक्दो रहेछ । यसलाई सम्पूर्ण रुपले मास्नुभन्दा करेसावारीको अवधारणालाइ जीवित राख्नुपर्ने देखाएको छ । यसले मानिसलाई आवश्यक पर्ने कशरतको माग पनि पूरा गरिदिन्छ ।
अहिले हाम्रो भान्सामा भित्रिने अधिकांश सागसब्जी बजारबाट आयात हुन्छ । बजारमा व्यवसायिक तरकारी खेतीबालाले अत्यधिक रासायनिक मलखाद, किटनाषक औषधी प्रयोग गर्छन् । खानेकुरामा प्रयोग गरिने यस्ता रसायनले क्यान्सर, मिर्गौलाको रोग, मुटु रोग जस्ता समस्याहरु वढ्दै गएका छन् । मलाई लाग्छ तरकारीमात्र घरको उत्पादन खाने हो भने धेरै हदसम्म उपर्युक्त रोगीको संख्या घटाउन सकिन्छ ।
त्यसोत सबैसँग खेतीयोग्य जमिन नहुन सक्छ र खेतीपाती गर्ने फुर्सद पनि नहोला । तर, जहाँ इच्छा त्याहाँ उपाय भनेजस्ते इच्छाशक्ति हुने हो भने घरको आसपासमा सानो करेसाबारीबाट र त्यो पनि नहुनेले बार्दली, छत, कौसी आदिलाई करेसाबारीमा रुपान्तरण गरेर आफुलाई खाने सागसब्जी उत्पादन गर्न सकिन्छ । 
यसो गर्दा शुद्ध, ताजा र जैविक सागसब्जी खान पाइन्छ र स्वास्थ्यलाई केही हदसम्म निरोगी वनाउन सकिन्छ । यो अभ्यास गर्ने वातावरण वन्यो भने हामीले कोरोनालाई त्यति विधि गाली गर्नुपर्ने छैन । वरु हाम्रो परम्पराको संरक्षणका लागि आएको रहेछ भनेर चित्त वुझाउनु पर्नेछ । यो परम्परा र सस्कृतिलाई हरेक पार्टीले लागु गर्ने हो भने यसको पूर्ण पालना हुन सक्छ । यो वातावरणले हरेक ब्यक्तिलाई विहान आधा घण्टा भएपनि माटोसंग खेल्ने वातावरण  वनाउँछ ।
भनिन्छ जापानीहरु विश्वमै लामो आयु र स्वस्थ्य जीवन बाँच्नेमा गनिन्छन् । यसको मुख्य कारण उनीहरु खेतीबालीको काममा बढी सक्रिय हुन्छन् । उनीहरु बुढ्यौली उमेरमा समेत आफ्नो खेतीबालीको काम गर्छन् । 
खेतीबालीको कामले अरु पनि धेरै फाइदा छन् । शारीरिक व्यायाम हुन्छ, सक्रियता बढ्छ । आफ्नो खेतीबालीमा काम गर्दा अनावश्यक तनावबाट पनि मुक्त हुन्छौं । सागसब्जी रोप्दा, फलाउँदा पनि हामीमा एक किसिमको उमंग छाउँछ । यसले हामीलाई मानसिक र शारीरिक रुपमै स्वस्थ्य तुल्याउँछ ।
संयोगवस यी अनुभूति लेखिरहँदा संविधानसभाका सदस्य नेत्र पन्थीले फोन गर्नुभयो । के गर्दै हुनुहुन्छ भनेपछि निर्वाहमुखी खेतीवारे लेख लेख्दै छु भनें । उहाँले वीपी कोइरालाको आत्मवृतान्त पढ्दै हुनुहुँदो रहेछ । वीपी चिन भ्रमणमा जाँदा त्याहाँको करेसावारीको खेती देखेर प्रभावित हुनुभएको रहेछ । यो कुरा उहाँले भनेपछि मैले पनि मेरो पुस्तकालयवाट सो पुस्तक निकालेर हेरें । 
वीपीले चिनको धेरैनै प्रशंसा गरेका छन् । यहाँ सवै कुरा लेख्न जरुरी भएन । उनी घुम्दै जाँदै रहेछन् । गाउँ पार गर्दा एउटा सूचना पाटी देखेपछि उनले सोधेछन् । शायद उनले करेसावारी देखे । त्यो देखेको कुरालाई स्मरण गर्दै उनले लेखेका छन्—
त्यहाँ के छ भने अलिकति सानो जग्गा ब्यक्तिगत रुपमा राख्न पाइँदो रहेछ । कम्युनको अतिरिक्त आफ्नो घरको चारैतिर तरकारी—बगैँचा जस्तो अलिकति कुखुरा पाल्ने र सायद गोठ राख्ने जग्गा दिएको छ । तरकारी—बगैँचाजस्तो ज्यादा उब्जा हुने, त्यति सानो जग्गामा । दिसा त्यही तरकारी—बगैँचामा गर्दारहेछन् । त्यहाँ त्यस ठूलो सूचना पाटीमा के लेखेको रहेछ भनें—“स्वार्थी नवन । दिसा आफ्नै जग्गामा मात्र नगर, कम्युनको खेतमा गर । ” 
वीपीले अगाडि लेखेका छन्— त्यो मलाई बडो शिक्षाप्रद लाग्यो । शिक्षाप्रद कुन अर्थमा भने मान्छेले आफ्नो भनेपछि सव कुरा गर्ने । त्यो सानो टुक्रा तरकारी—बगैँचा जस्तो थियो, त्यसमा गाई पनि पाल्न पाउने र अरु अरु पनि के के गर्न पाउने । त्यस्ता जग्गााहरुमा तरकारीहरु पनि राम्रो लागिरहेको थियो, कम्युनको जग्गामा थिएन ।  
पन्थीले यो प्रचलन अहिले पनि चिनमा रहेको वताउनु भयो । हालै चिन जाँदा त्यस्तो अनुभव प्राप्त गरेको उहाँको भनाइ थियो । 
वास्तवमा यसो गर्दा भान्सा र घरको फोहोर मैलाको पनि सदुपयोग हुन्छ । अर्थात् घरको फोहोर व्यवस्थापन हुन्छ । त्यतिमात्र हैन भाँडावर्तन माझेर वा अन्य प्रयोग गरेको फोहोर पानीलाई सदुपयोग पनि गर्न सकिन्छ । अहिले हामीहरु भान्साको पानी सोस्तामा लगेर फाल्छौ । घरको फोहोरदेखि भाँडावर्तन माझेको पानीलाई सदुपयोग गर्ने काम परिवर्तनका लागि कार्यरत महिला समुह(वाच) का नारायणकाजी श्रेष्ठले देवदहमा गराउनुभएको थियो । उहाँले गरिवीवाट समृद्वि कार्यक्रम चलाउनु भएको थियो केही वर्ष अघि । त्यो असाध्यै सफल कार्यक्रम थियो । तर, के गर्ने सरकारले ती सफल कार्यक्रमलाई अनुसरण गर्दैन ।
माटोले गर्ने फाइदा
अन्तमा माटोमा एकाकार हुँदा के फाइदा होला भन्नेवारेमा मैले थाहा पाएका र सुनेका त धेरै कुरा होलान् तर, थोरै यति कुरा राखिन भने पाठकप्रति अन्याय हुन्छ । यसको अर्थ म माटोको जानकार ब्यक्ति हैन ।
आजभोलि प्राकृतिक चिकित्साको प्रभाव वढ्दै गएको छ । तीन वर्ष अघि म पनि नवलपरासीको रजहरमा एक हप्ता विताएको छु । हरेक विरामीको उपचार माटो र पानीकै माध्यमवाट गरिएको हुनथ्यो । एकदिन मलाई माटोले लिपपोत गरेर एक घण्डा घाममा वसाले । माटो सुकेपछि शरीर कक्रक्क पर्यो । नुहाएपछि चङ्गा । वडो हल्का अनुभूति भयो । पहिला पहिला मेरो आमाले पनि माटो र खलीले नुहाएको देखेको थिएँ । खासमा यो औषधीनै रहेछ । हुनपनि मुल्तानी माटोलाई सौन्दर्यका लागिनै प्रयोग गरिन्छ । यसलाई फेसप्याक बनाएर लगाइन्छ ।
बच्चाहरु माटोमा खेल्दा, हिलै वनेर आउँदा,  पानीसँग रमाउँदा फोहोरी भनेर थाली गरिन्छ । विरामी होलान् भनेर डराइन्छ । तर प्राकृतिक चिकित्सकहरु यो कुरा मान्दैनन् । वरु उनीहरुमा रोगसँग लड्ने क्षमता बढाउँछ । मांशपेसी, हड्डी बलियो हुन्छ । शरीर लचिलो हुन्छ । रक्तसंचार राम्ररी हुन्छ र उनीहरु बलियो र तन्दुरुस्त हुन्छन् भनेर भन्छन् ।
हामीले यसै पनि हेर्दा गाउँघरमा हुर्किएका बच्चाहरुले जति रोगलाई पचाउन सक्छन् सहरमा हुर्कनेले सक्दैनन् । 
सुकिलो बनाएर, पोषिलो ख्वाएर भन्दा माटोमा हुर्किएका वच्चा किन स्वस्थ्य हुन्छन् ? यसको मुल कारण माटोको सामिप्यता हो । माटोले रोगसंग लड्ने प्रतिरोधात्मक क्षमता वढाउँछ । यो किन हुँदो रहेछ भने माटोमा खनिज, जल, वायु, कार्बनिक पदार्थ र अनगिन्ती जीवको जटिल मिश्रण पाइन्छ । माटोलाई पृथ्वीको छाला भनिन्छ । 
भनिन्छ के भने माटोमा गुड ब्याक्टेरिया पाइन्छ । जुन स्वास्थ्यमैत्री हुन्छ र बच्चाको मानसिक र शारीरिक विकासका लागि आवश्यक हुन्छ । 

 
 

प्राप्त प्रतिकृयाहरू

To Top